शिक्षकसँग किन सन्तुष्ट छैनन् विद्यार्थी ?

by • • मनका कुरा (ब्लग)Comments (0)1552

– शेखर अर्याल
शिक्षा लिनु भनेको व्यवहारमा परिवर्तन गर्नु हो । व्यक्ति, समाज र राष्ट्रलाई गति दिनका लागि शिक्षा अपरिहार्य छ । शिक्षाले व्यक्तिको व्यक्तित्व विकासमा र सामाजिक परिवर्तनमा ठूलो सघाउ पु¥याउँछ भन्ने चिन्तनबाट हामी शिक्षण पेशामा आबद्ध भयौं । निजामती सेवाभन्दा शिक्षण पेशा मर्यादित हुने ठान्यौं । मेरो शिक्षण अनुभव २० वर्ष पुग्यो । यस अवधिमा आधा समय निजी विद्यालयमा शिक्षण गरें । निजी विद्यालयमा गरेको जस्तै मिहिनेत सर्वसाधारणका छोराछोरी पढ्ने सामुदायिक विद्यालयमा लगाउन सके झ्न् धेरै उपलब्धि हासिल होला भन्ने मेरो सोचाइ थियो । सोही अनुसार सेवा आयोग पास गरेर सामुदायिक विद्यालयमा पढाउन थालें ।
शिक्षकको घनिष्ट सम्बन्ध विद्यार्थीसँग र विद्यार्थीको शिक्षकसँग हुन्छ । यही विचारलाई शिरोधार्य गर्दै विद्यार्थीको हकहितका लागि आफ्नो कर्म र धर्म नछाडी शिक्षण कार्यमा लाग्ने प्रयास गरें । विद्यार्थीसँगको घुलमिल र उनीहरूका भावना साटासाट गर्ने क्रममा केही तथ्यगत लघु अनुसन्धान गर्ने कोशिश गरें । विद्यार्थी एकै प्रकृतिका हुँदैनन् । कोही छाडा छोड्यो भने खुशी हुन्छन् । कसैलाई नपढाइ फुक्र्याइदियो भने मक्ख पर्छन् । केही राम्रो शिक्षा आर्जन गर्न पाए खुशी देखिन्छन् । कोही कक्षाकोठा छाड्दा आनन्द ठान्छन् । कोही दुव्र्यसनको फन्दामा फस्दा रमाउँछन् त कोही अतिरिक्त क्रियाकलापमा सहभागी हुँदा उत्प्रेरित बन्छन् भने कोही असल शिक्षा प्राप्त गर्दा रमाउँछन् ।


तर, हामी शिक्षकहरू सच्चा गुरु भएर विद्यार्थीलाई अन्धकारबाट उज्यालोतर्फ लैजाने चिन्तनबाट क्रियाशील भएमा धेरैको जीवन सफल बनाउन सकिन्छ । घरपरिवारको रेखदेखमा कमी, शिक्षकको बेवास्ता, सामाजिक कुरीति, प्रशासनिक नियन्त्रणको अभाव तथा अनुगमन र निरीक्षण नहुनुले सुधारको पाटोलाई पूर्णता दिनसकेको छैन । किन यसो हुन्छ त ? यसमा शिक्षक के भन्छन् ? आजका विद्यार्थी किन सन्तुष्ट छैनन् ? अभिभावक के ठान्छन् ? जिम्मेवार निकायको सोच र व्यवहार के कस्तो छ ? यीमध्ये विद्यार्थीकै समकक्षमा रहेर गरिएको एक लघु अनुसन्धानबाट विद्यालयका प्रायः शिक्षकसँग विद्यार्थी सन्तुष्ट छैनन् भन्ने देखिन्छ । यो अनुसन्धान पढ्न चाहने लगनशील सिर्जनशील विद्यार्थीले दिएको विचार वा भनाइबाट बढी प्रभावित छ ।
सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले बताएका कुराहरूलाई आधार मानेर ती विद्यालयका शिक्षकसँग किन विद्यार्थी सन्तुष्ट छैनन् ? भन्ने कुरालाई बुँदागत रूपमा निम्न निचोड निकालिएको छः
१.विद्यालयमा हुने उपस्थितिमा बेवास्ता गरेको हुनाले,
२. विद्यार्थीकेन्द्रित शिक्षण विधिभन्दा शिक्षककेन्द्रित विधिको उपयोग गर्ने गरेकोले,
३. कर्म र धर्मको ख्याल नहुनाले,
४. आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा नपढाउनाले,
५. कक्षा कोठामा प्रवेश गर्ने समय ढिलो र निस्कने समय चाँडो गर्नाले,
६. शैक्षिक सामग्रीको उपयोग नहुनाले,
७. ‘पढ पढ’ विधिको व्यापक प्रयोग गर्नाले,
८. प्रोत्साहन÷उत्प्रेरणाभन्दा दण्ड–सजायलाई बढी उपयोगमा ल्याउनाले,
९. विना योजना शिक्षण गर्नाले,
१०. गृहकार्य नजाँचिदिनाले,
११. सोधेको प्रश्नको उत्तर नदिई हप्काउनाले,
१२. राजनीतिको आडमा जागिर खाएको हुनाले,
१३. शिक्षकको सरुवा तथा शिक्षक परिवर्तन नहुनाले,
१४. काम गर्ने भन्दा ठग्ने प्रवृत्ति बढ्नाले,
१५. बालमैत्री शिक्षा प्रदान नगर्नाले,
१६. पाठ्यक्रमको उपयोग नगरी शिक्षण हाँक्नाले,
१७. कापी जाँच्ने झ्न्झ्टबाट बच्न एकाइ परीक्षा नलिनाले,
१८. विद्यार्थीलाई सल्लाह सुझव नदिई छाडा छोड्नाले,
१९. पाठयोजना निर्माण नगरी शिक्षण गर्नाले,
२०. नयाँ पाठ्यक्रमले तोकेको ज्ञान, सीप शिक्षकबाट नपाउनाले,
२१. प्राक्टिकलको हाउगुजी देखाएर विद्यार्थी तर्साएकाले,
२२. अनुगमन तथा निरीक्षण नहुनाले,
२३. शिक्षकले जे गरे पनि छुटकारा हुने हुनाले,
२४. पुरस्कार र दण्डको व्यवस्था नहुनाले,
२५. योग्यभन्दा ‘भोगी’ को हालीमुहाली भएकाले,
२६. शिक्षक मिलेर प्रअलाई दबाब दिई काम नगर्नाले,
२७. स्थानीय शिक्षकको बाहुल्य भएकाले,
२८. कक्षामा पढ भन्दै कि कुर्सीमा बस्ने कि बाहिर निस्कने भएकाले,
२९. कक्षाकोठाको ढोकामा उभिई गफ गरिदिनाले,
३०. राम्रालाई भन्दा हाम्रा शिक्षकलाई जिम्मेवार निकायले संरक्षण दिनाले,
३१. प्रअ र विव्यसले अनुगमन तथा नियन्त्रण नगर्नाले,
३२. विव्यस निर्माणमा शिक्षकहरू सक्रिय भई राजनीतिक भागबण्डा गर्नाले,
यसरी विद्यार्थीहरू सामुदायिक विद्यालयमा पढाउने शिक्षकसँग राम्ररी सन्तुष्ट हुनसकेका छैनन् । उनीहरूको भनाइमा शिक्षकहरू विद्यालयमा आउने र पढाउने कुरामा बेवास्ता गर्छन् । यसले आफ्नो पढाइलाई असर पार्छ भन्छन् । शिक्षकका छोराछोरी हामीसँग नपढ्ने हुनाले हाम्रो वास्ता हुँदैन । त्यसैले कक्षामा आउँदा १० मिनेट वितिसकेको हुन्छ भने निस्कँदा पाँच मिनेट अगाडि नै निस्कनुहुन्छ । पढ भन्दै बाहिर निस्कने अरू कक्षाका शिक्षकसँग उभिएर गफ गर्दा हामीलाई दोहोरो बेफाइदा हुन्छ । अझ् त्यसमा पनि फोन आयो भने लामो कुराकानी गरेर हाम्रो सिकाउने समय खेर जान्छ । सोध्यो भने यति पनि जान्दैनस् ? भनेर ठाडो शब्दले होच्याएर बोल्दा हाम्रो बाल मनोविज्ञानमा असर पर्छ । रुचि लगाएर गृहकार्य गर्दा जाँचिन्न । कापी लगे पनि कतिका हराउँछन् त कतिका लामो समयसम्म जाँचेर दिइन्न । जाँचिहाले पनि मन दिइएर र सचेत भएर जाँचेको पाइँदैन ।


प्रश्न सोधे हपार्ने, ‘कसले के गर्न सक्छ, म पनि हेरुँ’ भन्दै गफ गर्दा त्यसको असर हामीलाई पर्छ । पढाउनेभन्दा कतिखेर निस्कने र भाग्ने भन्ने सोच देख्दा हामी पनि त्यस्तै सिक्न बाध्य भएको कुरा दुःखेसो गर्छन् । नयाँ जोशका शिक्षक नहुँदा हामी पनि निष्क्रिय भयौं भन्ने विद्यार्थीको भनाइ छ । ‘बालमैत्री’ भन्दै व्यंग्य गर्दै हाम्रो गल्ती पनि नदेखाइदिने हुनाले हाम्रो बानी बिग्रिएको हो । स्थानीय शिक्षक त्यसमा कोही त श्राद्ध, न्वारान तथा अन्य काम गर्न गएर आधा दिनमा आई हाजिर गर्दा अचम्म लाग्छ । कोही घरको काममा लखतरान भएर आई आराम गर्नाले हामीले राम्रा विषय सिक्न सकेका छैनौं ।
पढाइ भएन भनी प्रअलाई भन्दा ढाँट्ने, छल्ने, ठग्ने शिक्षक समूहले दबाब दिई उल्टै विद्यालयको पढाइमा असर पर्छ । त्यसमा पनि ‘पख, तिमीहरूले पोल लगाउने, अब प्राक्टिकलमा फेल बनाइदिंदा थाहा हुन्छ’ भनेर हाम्रो कलिलो मस्तिष्कमा असर पर्छ भन्ने भाव प्रकट गर्छन् । राजनीति गर्न आउने विव्यस अनि राजनीतिबाट आउने शिक्षक भए झ्न् पढाइनै हुँदैन । कुनै शिक्षकले राम्ररी पढाए ‘मेडल पाउँछस् वा पाउँछेस्’ भन्दै व्यंग्य गर्छन् । हामीलाई नियम लाग्छ तर शिक्षकलाई नियम लाग्दैन, त्यसले हाम्रो पढाइमा बाधा पर्छ । प्रअले नियम लगाउँदा शिक्षक नमान्ने शिक्षकले राम्रो नराम्रो जे गरे पनि प्रअ, विव्यसले वास्ता नगर्ने हुनाले र सम्बन्धित निकायबाट राम्ररी अनुगमन पनि नभएकाले हाम्रो ज्ञानमा असर परेको छ ।
यसरी, शिक्षकहरू विद्यार्थी नै पढ्दैनन्, अभिभावक वास्ता गर्दैनन् भनेर पन्छिने गर्छन् भने विद्यार्थीहरू शिक्षकले जिम्मेवारी पूरा नगरेकोले हामीले सोचे जस्तो उन्नति गर्न नसकेको हो भनी गुनासो गर्छन् । के अब यस विषयमा जिम्मेवार निकाय, तह, तप्काबाट विद्यार्थी र शिक्षकको गुनासोको अध्ययन गरी तथ्य कुरा के हो ? प्रमाणित गर्ने समय आएन र ? के कलिला मनमस्तिष्कले त्यत्तिकै आरोप मात्रै लगाए होलान् र ?
(प्रधानाध्यापक, जन उदय मावि, भैंसेपाटी, ललितपुर)

२०७३ फागुन अंकमा प्रकाशित

Related Posts

/*sign up form*/