शिक्षकले नपढाए पनि र विद्यार्थीले नपढे पनि हुन्छ भन्ने बुझे

जो अब्वल छन् उनीहरु जिम्मेवार नै छन् र राम्ररी पढाएका पनि छन् । दोस्रो तहका शिक्षक जिम्मेवार छैनन् र उनीहरुलाई जिम्मेवार बनाउन अब्बल शिक्षकसँग जोडा बाधीदिनुपर्छ । तेस्रो तहका शिक्षक गर्न जान्दैनन् र गर्दैनन् । उनीहरुलाई समय दिएर काममा लगाउनु पर्छ । चौथो समूहमा पर्ने शिक्षकलाई तपाईं काम लाग्नु हुन्न, घर जानुस् भन्न सक्नुपर्छ ।

डा.विद्यानाथ कोइराला ।

पछिल्लो एसईई (माध्यमिक शिक्षा परीक्षा) को परिणाम सन्तोसजनक नभएको चर्चा चल्यो । परिणाममा सुधार आउँछ भनेर नयाँ पद्धति अपनाइएको थियो , तर भएन । किन खस्कदै छ- गुणस्तर र यसलाई कसरी उकास्न सकिन्छ ? यसको सेरोफेरोमा रहेर शिक्षाविद् डा. विद्यानाथ कोइरालासँग शिक्षक  मासिक का रामजी दाहालले कुराकानी गरेका छन् ।
माध्यमिक शिक्षा परीक्षा एसईईको परीक्षाफल प्रकाशित भएको छ । यसपालीको परीक्षाफल पनि आशातित छैन । किन होला ?
शिक्षकले मैले विद्यार्थीलाई नपढाए पनि हुन्छ भन्ने बुझ्यो । विद्यार्थीले मैले नपढे पनि हुन्छ भन्ने बुझ्यो । दुईटै (शिक्षक र विद्यार्थी) को गलत बुझाइको परिणती अहिलेको नतिजा हो ।

के कारणले यस्तो भएको होला ?

पहिले शिक्षक फेल गराउनेमा अभ्यस्त थियो । यति नम्बर नल्याई हुँदैन भन्ने थियो । कट प्वाइन्ट (छुट्याउने विन्दु) भन्ने चलन थियो । यति आए उत्तीर्णाङ्क, उति आए फेल भन्ने थियो । अहिले यो अक्षरांकनले फेल नभएपछि सबै पास भन्ने भयो । त्यो किसिमको पद्धतिमा सुधारात्मक कक्षा चाहिं हालिएन  (जो आवश्यक छ) । अहिलेको नतिजा चाहिं विद्यार्थीले जति नम्बर ल्याउँछ, त्यसैमा पास गराउने चलनले हो ।

भनेपछि अक्षरांकन पद्धति पर्याप्त गृहकार्य नगरी शुरू गरियो ?
ठिक भन्नु भयो ? किनभने शिक्षकको संस्कृति एउटा पाटो हो । शिक्षकको तागत अर्को पाटो हो । र उसको जिम्मेवारी तेस्रो पक्ष हो । यी तीन वटा पक्षलाई हामीले वास्तै गरेनौ भन्ने मेरो ठम्याई हो । शिक्षकको संस्कृति भनेको जिम्मा नलिने संस्कृति रहेछ । अक्षरांकन पद्धतिको लागि चाहिं शिक्षकले जिम्मा लिने संस्कृति चाहिने रहेछ । अक्षरांकन पद्धतिले ईमानदार शिक्षक खोज्दो रहेछ । तर, हाम्रो सबै शिक्षक ईमानदार नभएकोले यस्तो दुष्परिणाम भोग्नु पर्यो । विद्यार्थी कमजोर भयो भने यसो गरेर सक्षम बनाउँछु भनेर सोच्ने शिक्षक चाहिन्छ । हाम्रो शिक्षक चाहिं फेल भए त्यही हुन्छ । मलाई के को टाउँको दुखाई भन्ने खालका भए ।

यसमा तपाईं जस्तो विज्ञको सल्लाहा  सुझावले पनि काम गरेन ? वा कहाँ कमजोरी भयो ?
विश्व बैंकले अक्षरांकन पद्धतिले आन्तरिक सक्षमता बढ्छ भन्यो । फेल भएन भने गतिलो प्रणाली भयो (विश्व बैंकको अवधारणा अनुसार) । विश्व बैंकले आफ्नो यही  बुझाइ शिक्षा मन्त्रालयका कर्मचारीहरूलाई लाग्यो । शिक्षा मन्त्रालयका कर्मचारीहरुले ‘ज्यू’ हजुरीको प्रवृति देखाए । कर्मचारीहरुले हाम्रो संस्कार, संस्कृतिसँग यो पद्धति मेल खान्छ कि खादैन भनेर विश्लेषण गरेनन् । पहिल्यै ल्याइएको निरन्तर मूल्याङ्कन पद्धतिले ल्याएको परिणाम पनि विश्लेषण गर्नु भएन । दासता स्वीकार्ने मनोवृतिको देखियो र त्यसैको परिणाम भोग्नु पर्यो । यो पद्धति ल्याउने बेला पनि मैलो विरोध गरेको हो किनभने यसको लागि हाम्रो शिक्षक पनि तयार थिएनन् । हाम्रो संस्कृति पनि यस्तो पद्धति सुहाउँदो छैन ।

जति गुनासो गरे पनि शुरू नै भइसक्यो  । अब सुधारको लागि कसले कहाँबाट पहल गर्ने त ?
मैले के देखेको छु भने, अक्षरांकन र निरन्तर मूल्याङ्कन दुवै पद्धतिले खोजिरहने भनेको सुधारात्मक कक्षा कोठा हो । सुधारात्मक कक्षा कोठाको लागि जिम्मेवार हुनेपर्ने शिक्षक हो । अब त्यो शिक्षकलाई कसरी जिम्मेवार बनाउने भन्ने अहिलेको आवश्यकता छ । मेरो विचारमा शिक्षकलाई जिम्मेवार बनाउने हो भने शिक्षकको वर्गिकरण गर्न थाल्नु पर्छ । जो अब्वल छन् उनीहरु जिम्मेवार नै छन् र राम्ररी पढाएका पनि छन् । दोस्रो तहका शिक्षक जिम्मेवार छैनन् र उनीहरुलाई जिम्मेवार बनाउन अब्बल शिक्षकसँग जोडा बाधीदिनुपर्छ । तेस्रो  तहका शिक्षक गर्न जान्दैनन् र गर्दैनन् । उनीहरुलाई समय दिएर काममा लगाउनु पर्छ । चौथो समूहमा पर्ने शिक्षकलाई तपाईं काम लाग्नुहुन्न, घर जानुस् भन्न सक्नुपर्छ । यसो गर्यौ भने हामी गरिखान्छौं । नत्रभने यसरी नै चलिरहन्छ ।

यसमा अभिभावकको दायित्व वा भूमिका चाहिं कस्तो देख्नु हुन्छ ?
मेरो बुझाइमा चाहिं अभिभावकको दायित्व भनेर सम्झाउनु पर्ने केही छैन । किनभने अभिभावकले विकल्प देखेपछि त्यसको पछि दगुर्छ । ऊ निर्वीकल्प भयो भने छटपटाएर बस्दोरहेछ । त्यसो भएको हुनाले उसको दायित्व भनेको आफ्ना केटाकेटीलाई पढ भन्ने मात्र हो । तर आजकल केटाकेटी बाबुआमाले भन्दा शिक्षक र साथीले भनेर चाहिं पढ्न थालेका छन् । त्यसैले शिक्षकले जिम्मेवारी लियो भने राम्रो हुन्छ । त्यसैले पढाइ सुधार्नमा सिधा दायित्व अभिभावकको भन्दा पनि शिक्षकको हो ।

Comments are closed.

/*sign up form*/