शिक्षकको पप–व्याण्ड

by • • रिपोर्टComments (0)207

अनुशील

पाँच जना शिक्षक मिलेर शुरु गरेको साङ्गीतिक व्याण्ड ‘एमटी–८८४८’ क्रमशः नेपाली पप सङ्गीत विधाको उचाइतर्फ लम्कँदो छ । तर पप गायनबाट ख्याति कमाए पनि उनीहरू आफू शिक्षक हुनुमै बढी गर्व गर्छन् ।

विनोद लामा, निर्मल गड्तौला, दर्शन राई शिव लिम्बू र फणेन्द्र लिम्बू (बायाँबाट)

नेपाली पप सङ्गीतको क्षेत्रमा दुई वर्षयता देखा परेको एमटी ८८४८ (Mt. 8848) ब्याण्ड छोटो समयमै स्थापित भएको छ । ब्याण्डका पाँच युवा सङ्गीतकर्मी सबै पेशाले शिक्षक हुन् । उनीहरू सबै जना पप–ब्याण्ड स्थापना हुनुअघिदेखि नै राजधानीको ग्यालेक्सी स्कूलमा सङ्गीत शिक्षकको रूपमा कार्यरत छन् ।
ब्याण्डका सदस्यमध्ये वेस गिटारिष्ट फणेन्द्र लिम्बू सो स्कूलमा १० वर्षदेखि कार्यरत छन् भने गायक दर्शन राई ६ वर्षदेखि, लिड गिटारिष्ट निर्मल गड्तौला ४ वर्षदेखि शिक्षक छन् । ब्याण्डका ड्रमर विनोद लामा र गितार वादक शिव लिम्बूले विद्यार्थीलाई सङ्गीत सिकाउन थालेको तीन वर्ष भइसकेको छ । पाँचजना मध्ये फणेन्द्र धरानका र दर्शन दार्जीलिङका हुन् भने अरू विनोद, निर्मल र शिव तीनै जना काठमाडौँका हुन् ।
यो संसार नामक गीति अल्बम लिएर सङ्गीत क्षेत्रमा देखिएको यो समूहका बूढेसकालको लाठ्ठी…, मस्की–मस्की तर्केर हिँड्नेले…, रात गुजार्न… आदि गीत र यसका म्युजिक भिडियो पप–सङ्गीतप्रेमीमाझ् निक्कै चर्चित छ । गत वर्ष इमेज च्यानलले प्रदान गरेको सङ्गीत अवार्डमा यो ब्याण्डको गीतले ‘वेष्ट पप भोकल पर्फमेन्स अवार्ड’ र सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशनको अवार्ड हात पारेको थियो । नेपालका नाम चलेका पप ब्याण्डहरू १९७४ एडी, एक्स ब्याण्ड र सायस ब्यण्ड लाई उछिनेर सो अवार्ड हात पार्दाको क्षणलाई यी सङ्गीत शिक्षकहरू सोच्दै नसोचेको सफलता ठान्छन् । त्यो बेला अवार्ड पाउने आशै नभएको बताउँदै निर्मल भन्छन्, “१९७४ एडी जस्तो समूहसँग नोमिनेशनमा पर्नु नै हाम्रो लागि ठूलो कुरा थियो ।” पश्चिमा सङ्गीतलाई नेपालीमा ढालिएको तथा मौलिक नेपाली शब्द प्रयोग गरिएको आफ्नो पहिलो अल्बम नै सफल भएकोमा यी सबै माष्ट’साबहरू दङ्ग भएको पाइन्छन् । शुरुमा आफ्नै साथी र परिवारका लागि बनाएको अल्बम यसरी आम श्रोतामा चल्छ भनेर नचिताएको फणेन्द्र बताउँछन् । उनी भन्छन्, “पश्चिमा सङ्गीतलाई नेपालीमा गरेको फ्युजन श्रोताले रुचाए ।” यो समूहका गीतहरूमा पश्चिमा ज्याज, ब्लूज, रक, पपसँगै नेपालीपनको लोक पप पनि समेटिएको पाइन्छ ।
शिक्षकको रूपमा कार्यरत रहेर शिक्षण पेशाबाटै जीविकोपार्जन गरिरहेका यी ५ जना शिक्षकलाई अहिले आफूहरूलाई ‘सेलिब्रिटी’ बनिसकेको जस्तो लाग्दै लाग्दैन । विनोद भन्छन्, “हाम्रो गीतका धेरै श्रोता थपिएका छन्, ठाउँ ठाउँमा कन्सर्ट भइरहेछन् तर पनि हामीलाई खासै परिवर्तन महसूस भएको छैन, हिजो जस्तो थियो त्यस्तै लागिरहेछ ।” शिव थप्छन्, “हाम्रै विद्यार्थीहरूको हेराइमा भने केही परिवर्तन पाएका छौँ, पहिले हामी उनीहरूका शिक्षक मात्रै थियौँ; अहिले उनीहरूले हामीलाई घरको टेलिभिजन र शहरमा भएका कन्सर्टमा पनि देखेर होला अलि फरक व्यवहार गर्छन् ।”
विद्यालयको वार्षिक उत्सवका बेला विभिन्न १६ भाकाका गीत र बालगीत बनाउने क्रममा तीन वटा पप गीत पनि तयार पारेपछि अल्बम निकाल्ने चाहना बढेको फणेन्द्र बताउँछन् । उनी भन्छन्, “दुई वर्षअघि सामूहिक रूपमा यसरी गीत तयार गर्दा हाम्रो ब्याण्ड बनेकै थिएन ।” तीन वटा गीतमा अरू पाँच वटा थपेर अल्बम निकाल्ने भएपछि एमटी ८८४८ नाम राखेर पप ब्याण्ड बनाएको उनी बताउँछन् । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइबाटै आफ्नो ब्याण्डको नाम राख्नुको कारण बताउँदै उनी भन्छन्, “नेपालीपनमा वेष्टर्न टच दिनलाई एमटी ८८४८ नाम राखेका हौँ ।”


आफ्ना गीत चर्चित बनेपछि यो समूहको चर्चा र चिनारी विद्यालयको चौघेराबाट निक्कै टाढासम्म फैलिसकेको छ । राजधानीमा हुने अधिकांश साङ्गीतिक कन्सर्टहरूमा यो समूहलाई देख्न, सुन्न पाइन्छ । पछिल्लो समयमा राजधानी र बाहिरका बनेपा, पोखरा, धरान, बुटवल, नारायणगढ आदि स्थानहरूका साङ्गीतिक समारोहमा समेत एमटी ८८४८ ब्याण्डको माग निक्कै बढेको छ । स्टेज शो का लागि हालसम्म पोखरा मात्रै ९ पटक पुगिसकेको यो समूह यही चैत महिनामा निमा रुम्बा, सविन राई जस्ता चर्चित पप गायकहरूका साथ सुर्खेत, नेपालगञ्ज, धनगढीमा आफ्नो साङ्गीतिक प्रस्तुति लिएर जाने तयारीमा छ । मिशन पैसा नामक नेपाली चलचित्रको यो संसार… बोलको गीत पनि यही ब्याण्डले तयार गरेको छ ।
अहिले उनीहरू हप्ताको ६ दिन; बिहान ९ बजेदेखि ४ बजेसम्म शिक्षकका रूपमा व्यस्त रहन्छन् । त्यसपछि साँझ् ८ बजेसम्म विद्यालयहाताभित्रैको एउटा कोठामा ब्याण्डका गीतको अभ्यासमा मस्त हुन्छन् । फणेन्द्र भन्छन्, “स्कूलभित्र पसेपछि ९ देखि ४ बजेसम्मको समयमा हामी कोही पनि पप ब्याण्डका सदस्य रहन्नौँ; त्यतिबेला शिक्षक मात्रै हुन्छौँ ।” राजधानी र बाहिरका कन्सर्टहरूका लागि बढेको मागले उनीहरूलाई एकातिर विद्यालयबाट छुट्टी मिलाउनुपर्ने अवस्था छ भने अर्कोतिर देश–विदेशमा साङ्गीतिक पहिचानसँगै आर्थिक फाइदा पनि भइरहेको छ ।
लगातारको सफलताले यो समूहको हौसला बढेको छ । त्यसैले अहिले उनीहरू आफ्नो नयाँ अल्बमको तयारी पनि गरिरहेछन् । विद्यालयको शिक्षण र कन्सर्टहरूको व्यस्तताले गर्दा नयाँ अल्बम बजारमा ल्याउन ढिलाइ भएको उनीहरू बताउँछन् । पहिलो अल्बमका गीत नपत्याउँदो रूपमा श्रोताले रुचाएपछि अब नयाँ अल्बममा त्योभन्दा राम्रो सिर्जना पस्कनुपर्ने चुनौती आफूहरूसामु रहेको विनोद बताउँछन् । उनी भन्छन्, “हामीले व्यावसायिकता सोचेर अल्बम निकालेकै थिएनौँ तर चल्यो; अब योभन्दा राम्रो निकाल्ने चुनौती थपिएको छ । त्यसैले पहिलेभन्दा धेरै मिहिनेत गरिरहेका छौँ ।” सबैजना मिलेर सामूहिक रूपमा शब्द र सङ्गीत सिर्जना गर्ने भएकोले पनि आफूहरूका गीत श्रोताले रुचाएको ठहर उनीहरूको छ ।
पहिले शिक्षक अहिलेका पप ब्याण्डका सदस्य समेत रहेका पाँचै जना आफू शिक्षक भएर विद्यार्थीहरूलाई जानेको ज्ञान बाँड्न पाएकोमा आत्मसन्तुष्टि मिल्ने गरेको बताउँछन् । शिक्षण र गायन क्षेत्र एकअर्कामा धेरै फरक रहेको अनुभव उनीहरूको छ । साङ्गीतिक कार्यक्रमको मञ्चमा पप गीत गाउँदा उफ्रने, चिच्याउने यी शिक्षकहरू आफ्नो विद्यालय बाहिर र भित्र दुई चरित्र भएको बताउँछन् । बाहिर गीत गाउँदा आफ्नै स्वतन्त्रता र सङ्गीतको मस्तीमा झुमे पनि विद्यालयभित्रको जिम्मेवारी बढी महŒवपूर्ण भएको उनीहरूको ठम्याइ छ । आफूहरू शिक्षक भएकोमा गर्व गर्ने समूहका फणेन्द्र भन्छन्, “विद्यार्थीको भविष्य शिक्षकको हातमा रहेकाले हरेक शिक्षक जिम्मेवार र उदाहरणीय बन्नु जरुरी छ ।”
शिक्षक मासिक, २०६४ चैत अंकमा प्रकाशित

Related Posts

/*sign up form*/