शिक्षकका छोराछोरी पनि पढ्छन् !

by • • रिपोर्टComments (0)470

Print Friendly, PDF & Email

बाबुराम विश्वकर्मा

बोर्डिङ स्कूलमा छोराछोरी पढाउने होड चलेको बेला केही सरकारी स्कूलका शिक्षकहरूले भने आफैंले पढाउने स्कूलमा आफ्ना छोराछोरी पढाएका छन् । अरू शिक्षकले पनि यस्तै गर्ने हो भने सरकारी स्कूलको पठनपाठन धेरै हदसम्म आफैं सुध्रिन्थ्यो ।

छोराछोरीका साथ शिक्षक अशोक बोहरा ।

निजी स्कूलको दबदबाका कारण शहरी क्षेत्रका सार्वजनिक स्कूलका शिक्षकले सामान्यतया आफ्ना छोराछोरीलाई सरकारी-सार्वजनिक स्कूलमा पढाएको पाइँदैन । तर, दश वर्षदेखि काठमाडौंको रामहिटी बौद्धस्थित नवजागृति निमाविका पाँच जना शिक्षकले आफ्ना छोराछोरीलाई आफूले पढाउने स्कूलमा नै पढाउँदै आएका छन् । शिक्षकको जाँगर र मेहनत अनि अभिभावकको सक्रियताका कारण सामुदायिक भएर पनि नवजागृति निमावि उम्दा स्कूल बनेको छ । त्यसैले आफैंले पढाउने गरेको सार्वजनिक विद्यालयमा छोराछोरी पढाइरहेका नवजागृति निमाविका शिक्षकमा हिनताबोध र असन्तुष्टि छैन ।

शिक्षक दिलबहादुर सार्की मात्र होइन; प्रअ ठाकुरप्रसाद खकुरेलले पनि आफ्नी नातिनी प्रीसा खकुरेललाई नवजागृतिमै पढाएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लाक्पा लामाका छोरा ङिमानुरु लामा पनि उक्त स्कूलको कक्षा ७ मा छन् । त्यस्तै शिक्षकहरू दिलबहादुर सार्कीको छोरा सुजन बर्मा कक्षा २ मा, सविन पन्तका छोरा सुयोग पन्त कक्षा १ मा, शोभा भण्डारीका छोरीहरू एलिना कक्षा ३ मा र एकता कक्षा ४ मा तथा इन्दिरा थापाकी छोरी एलिना शिशु कक्षामा छन् । तीन वर्षअघि समुदायमा हस्तान्तरण भएपछि उक्त स्कूलले नर्सरी र युकेजी सकेपछि मात्र कक्षा १ मा भर्ना लिने व्यवस्था गरेको छ । समुदायले विद्यालयको व्यवस्थापन जिम्मा लिएपछि निमाविका सबै शिक्षकले अनिवार्य रूपमा अङ्ग्रेजी सिक्नुपर्ने नियम पनि बनाएको छ । फलतः शिक्षकहरूको भाषा र ज्ञानको क्षेत्र अन्य विद्यालयको तुलनामा विस्तारित भएको पाइन्छ ।

२२ जना शिक्षक रहेको उक्त स्कूलको पठनपाठन निजी विद्यालयको भन्दा स्तरीय रहेको बताउँछन् शिक्षक दिलबहादुर सार्की । उनको कथन छ, “शिक्षकहरूको सर्मपण र अभिभावको सक्रियताले पठनपाठन स्तरीय बनेको छ, आफ्ना छोराछोरीलाई आफैंले पढाउने स्कूलमा पढाउँदा हामीमा मेहनत गर्ने जाँगर पैदा भएको छ ।” उनका अनुसार कुनै प्रतियोगितामा भाग लिंदा नवजागृतिका छात्रछात्राले अहिलेसम्म रित्तो हात फर्किनुपरेको उदाहरण छैन । कोठाको अभावका कारण अहिले उक्त विद्यालयमा प्राविको पठनपाठन १० बजेदेखि ४ बजेसम्म चल्छ भने निमाविको बिहान ६ बजेदेखि १० बजेसम्म ।

वार्षिक रु.१२०० शुल्कमा स्तरीय शिक्षा पाइने भएकोले भर्नाताका स्कूलमा अभिभावकको घुँइचो लाग्ने गरेको छ । भर्ना हुने विद्यार्थीको चाप बढी भएका कारण एउटा कक्षामा ६० जनासम्म विद्यार्थी राख्नुपर्ने बाध्यता रहेको प्रअ खकुरेल बताउँछन् । उनी भन्छन्, “शिक्षकले सरकारी स्कूललाई जागिर पकाउने थलो मात्र होइन, आफ्ना छोराछोरीलाई पनि पढाउनुपर्छ, तब मात्र शैक्षिक स्तर अभिवृद्धिमा योगदान पुग्छ । हामीले सिकेको पाठ यही हो ।”

छोराछोरीका पनि शिक्षक
काठमाडौंको महेन्द्रबौद्ध स्रोत केन्द्र मातहतका आठ सार्वजनिक स्कूलमध्ये पाँचवटा स्कूलका केही शिक्षकले निजी स्कूलको सट्टा आफूले पढाउने स्कूलमै छोराछोरी भर्ना गरेको स्रोत व्यक्ति रामनारायण साहले जानकारी दिए । सरकारी स्कूलमा छोरा पढाउने शिक्षकमा पर्छन— यज्ञभूमि मावि कपनका शिक्षक श्यामकुमार नगरकोटी पनि । उनले आफ्ना छोरा राजकुमार नगरकोटीलाई यज्ञभूमि माविमा कक्षा ६ मा पढाएका छन् । जनजागृति मावि कपन जगडोलका शिक्षक श्यामकाजी श्रेष्ठका छोरा त्रिविक्रम श्रेष्ठ पनि आफ्नै बाबु शिक्षक रहेको स्कूलमा कक्षा ६ मा पढ्दैछन् । उक्त स्कूलका प्रअ रामकाजी के.सी.का छोरा विनयराज के.सी.कै स्कूलमा नर्सरीमा पढ्दै आएका छन् । काठमाडौंको महाँकालस्थित जनकल्याण उमाविका शिक्षक सृजना गुरुङले आफ्नी छोरी सविनालाई कक्षा ८ मा पढाएकी छन् । त्यस्तै महेन्द्र बौद्ध मावि, बौद्धका शिक्षक विनोद परियारले पनि छोरी टीना परियारलाई कक्षा १ मा आफ्नै स्कूलमा भर्ना गरेका छन् ।

काठमाडौंको डिल्लीबजारस्थित विजय स्मारक उमाविका शिक्षक अशोक बोहराले आफ्ना एक छोरा र एक छोरीलाई त्यही स्कूलमा पढाएका छन् । उनका छोरा अभिषेक कक्षा ४ मा पढ्छन भने छोरी अभिषा कक्षा १ मा । आफूले पढाउने स्कूलमा छोराछोरी पढाउने शिक्षक घरमा छोराछोरीको बुबा–आमा अनि स्कूलमा चाहिं छोराछोरीकै पनि सर अर्थात् शिक्षक बन्छन् । १३ वर्षदेखि उक्त स्कूलमा पढाउँदै आएका अशोक शिक्षकको आम्दानीबाट निजी स्कूलमा पढाउन नसकिने भएकोले आफैंले पढाउने सरकारी स्कूलमा छोराछोरी पढाएको बताउँछन् । विद्यालयले उनका छोराछोरीको मासिक शुल्क मिनाहा गरेको छ । भन्छन्, “आफूले जागिर खाने स्कूलमा छोराछोरी पढाउँदा राम्रो पढाउनुपर्छ भन्ने भावना पनि हुँदोरहेछ, आफ्नै निगरानीमा पढाउँदा छोराछोरी पनि सप्रिन्छन्, स्कूलको पढाइमा पनि सुधार आउँछ ।” स्रोत व्यक्ति रामनारायण साहको अनुभवमा विगतमा भन्दा सरकारी स्कूलको पढाइमा सुधार आउँदै गरेका कारण सरकारी स्कूलका शिक्षकका छोराछोरी सरकारी स्कूलमा पढाउने क्रम पनि बढ्न थालेको छ ।
निजी स्कूल नभएको ठाउँमा धेरैले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कूलमा पढाए पनि शहरमा भने शिक्षक र शिक्षा क्षेत्रका अगुवाहरूले समेत छोराछोरी निजी स्कूलमा पढाउने प्रवृत्ति आम रूपमा छ । सरकारी स्कूल उपेक्षामा पर्नु र शैक्षिक स्तर नसुध्रिनुमा शिक्षक, शिक्षा क्षेत्रका अगुवा र नीति निर्माताले आफ्ना छोराछोरीलाई सार्वजनिक स्कूलमा नपढाउनुलाई एउटा महत्वपूर्ण कारण मानिएको छ । अझ् सार्वजनिक स्कूलका शिक्षकलाई त स्कूललाई जागिर खाने थलो मात्र बनाएको आरोपसमेत लाग्दै आएको छ ।
तर, माथिका केही दृष्टान्तले सार्वजनिक स्कूलका शिक्षकले आफूले पढाउने स्कूलमा छोराछोरी भर्ना गर्दा विद्यालयको पठनपाठनमा स्वतः सकारात्मक सुधार आएको देखाएका छन् ।

निजीमा पढाए कारबाही
विगतमा निजी स्कूल बन्द गर्ने अभियान चलाएको माओवादी निकट अखिल नेपाल शिक्षक सङ्गठनका उपाध्यक्ष लालबहादुर बी.सी.ले आफ्ना छोरा सुजन बी.सी.लाई यसै शैक्षिक सत्रदेखि काठमाडौंको बाफलस्थित ज्ञानोदय माविमा पढाएका छन् । बी.सी.को कथन छ, “८० प्रतिशत जनताका छोराछोरी सरकारी स्कूलमा पढ्ने भएकोले मैले पनि ज्ञानोदयमा पढाएको हुँ, जनताका छोराछोरीको भविष्य जे हुन्छ, मेरो छोराको भविष्य पनि त्यही हुन्छ, यसबारेमा म चिन्तित छैन ।”

बी.सी.को सङ्गठनले १४ जेठ २०६५ मा आफ्ना सदस्य शिक्षकसहित सरकारी तलब खाने मन्त्री, सभासद्, निजामती कर्मचारी, सेना, प्रहरी आदि सबैले आफ्ना सन्तान सरकारी शिक्षण संस्थानहरूमै पढाउनुपर्ने निर्णय गरेको थियो । सङ्गठनको यो निर्णय अहिलेसम्म केन्द्रीय सचिवालय तहमा लागू भएको तथा सबै तहमा लागू गर्न आउँदो चैतदेखि ‘विशेष अभियान’ थालिने अध्यक्ष गुणराज लोहनीले शिक्षक लाई बताए । उनले आफूसहित सङ्गठनका पाँच जना उपाध्यक्ष, महासचिव र कोषाध्यक्षले आफ्ना छोराछोरी सार्वजनिक स्कूलमा पढाएको तथा सङ्गठनका कुनै पनि सदस्यले छोराछोरी निजी स्कूलमा पढाएको पाइएमा तत्काल छानबिन गरी कारबाही गरिने जानकारीसमेत दिए । लोहनीले भने, “हाम्रो यो निर्णय माओवादीका नेताले पनि पालना गुर्नपर्छ, निजी स्कूलमा छोराछोरी पढाउनेले हाम्रो सङ्गठनको कुनै पनि पदमा बस्न पाउँदैन ।”

यता, नेपाल शिक्षक सङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, नेपाल शिक्षक मञ्च, नेपाल शिक्षक परिषद्ले भने अहिलेसम्म यसबारेमा कुनै निर्णय गरेका छैनन् । तर नेपाल शिक्षक युनियनका अध्यक्ष केशवप्रसाद भट्टराई सरकारी स्कूलको पढाइ सुधार गर्न हरेक शिक्षकले आफ्ना छोराछोरीलाई सरकारी स्कूलमै पढाउनुपर्ने पक्षमा छन् । आफूले पनि आफ्ना छोराछोरी आफैँले पढाउने विद्यालयमा पढाएको अनुभव सुनाउँदै भट्टराईले भने, “शिक्षकले आफ्ना छोराछोरी आफूले पढाउने स्कूलमा नपढाउने हो भने अरूका छोराछोरीलाई आफ्नो स्कूलमा भर्ना गर भन्ने नैतिक आधार रहँदैन ।” युनियनले शिक्षक तथा शिक्षाका सरोकारवालाका लागि तयार गरेको आचारसंहितामा पनि यसबारेमा कुनै प्रावधान राखिएको छैन । आचारसंहितामा व्यवस्था गर्दा कार्यान्वयन गर्ने संयन्त्र नभएकोले समस्या पर्ने उल्लेख गर्दै अध्यक्ष भट्टराईले आफूहरूले हरेक सार्वजनिक कार्यक्रममा सरकारी स्कूलका शिक्षकलाई आफ्ना छोराछोरीलाई सार्वजनिक स्कूलमा पढाउनुपर्छ भन्दै आएको बताए ।
२०६५ माघ अंकमा प्रकाशित ।

 

Related Posts

/*sign up form*/