विद्यालय व्यवस्थापनमा प्रधानाध्यापकको भूमिका: देश–विदेशका अभ्यास र हाम्रा अपेक्षा

by • • आवरणComments (0)6695

mahashram-sharma

लेखकः महाश्रम शर्मा

कुनै पनि संगठनको लक्ष्य तथा उद्देश्य हासिल गर्नका लागि प्राप्त जिम्मेवारी कुशलतासाथ वहन गर्न सक्नु नै सफल नेतृत्वको द्योतक हो । एउटा प्रधानाध्यापकमा विद्यालयको सामूहिक लक्ष्य हासिल गर्नका लागि सरोकारवालालाई प्रभावित पार्न सक्ने क्षमता हुनुपर्दछ । दार्शनिक सुकरातले नेतालाई ‘योग्य शिक्षकद्वारा प्रशिक्षण दिनुपर्दछ’ भनेका थिए । यसले शिक्षकमा र अझ् शिक्षकका पनि गुरु, प्रधानाध्यापकमा नेतृत्व सीप हुनुपर्ने मान्यतालाई स्पष्ट पार्दछ ।
सामान्यतया विद्यालयको कुरा गर्दा, त्यहाँको व्यवस्थापन कस्तो छ, समिति कस्तो छ, कस्तो प्रधानाध्यापक छ भनेर प्रकारान्तरले प्रधानाध्यापकको नेतृत्वकै कुरा उठाइरहेका हुन्छौं । कुनै विद्यालयको शैक्षिक अवस्था, विद्यार्थीको सिकाइ स्तरको कुरा गर्दा कस्ता शिक्षकले शिक्षण गर्छन् र कस्तो प्रअले नेतृत्व गरेको छ भन्ने कुराले प्रधानता पाउँछ ।
नेपालमा विद्यमान नीतिगत व्यवस्थालाई हेर्दा गुणस्तरयुक्त शिक्षाको प्रबन्ध मिलाउन प्रधानाध्यापकको नेतृत्वदायी भूमिकाको अपेक्षा गरेको देखिन्छ । यस पृष्ठभूमिमा विद्यालयको सफलता र असफलता विद्यालयको प्रअले खेल्ने भूमिकामा नै निर्भर रहेको देखिन्छ । कतिपय विद्यालयको विकासका लागि विद्यालय व्यवस्थापन समितिले महत्तवपूर्ण भूमिका खेलेको देखिए पनि त्यहाँ सदस्यसचिव भएको नाताले प्रधानाध्यापक नै मुख्य रहन्छन् ।

नेपाली शैक्षिक परम्परामा गुरुको स्थान
हाम्रो समाजमा गुरुको स्थान आदरणीय र महान पाउँछौं । गुरु भन्ने बित्तिकै हाम्रो मन र मस्तिष्कमा यस्ता शब्द चित्रित हुन थाल्छन्— चरित्र निर्माण, नैतिक मूल्य, आचरण, बौद्धिक व्यक्तित्व, विश्वासयोग्य, निष्पक्ष, जिम्मेवारीबोध भएको, आदरभाव भएको, सामाजिक व्यक्तित्व, अनुकरणीय आदि आदि । यी विचारहरूको मूल निचोड के हो भने गुरुले विद्यार्थीलाई असल कुराहरू सिकाउँछन् । विद्यार्थीले गुरुबाट असल कुराहरू सिक्छन् । गुरुहरूका पनि ‘गुरु’ को भूमिकामा आसीन प्रधानाध्यापकबाट गुरुहरूले पनि सिक्ने, विद्यार्थीले पनि सिक्ने र समाजले पनि सिक्ने हुन्छ, त्यसैले ऊ निश्चय पनि असल हुनुपर्दछ ।
“यद्यदाचरती श्रेष्ठस्तत्तदेवेतरो जनः ।
स यत्प्रमाणं कुरुते लोकस्तदनुवर्तते ।।
ठूलो मान्छेले जस्तो व्यवहार गर्दछ त्यही कुरा मानेर अरूले पनि त्यस्तै व्यवहार गर्दछन् ।”
यसबाट पनि के स्पष्ट हुन्छ भने प्रधानाध्यापक विद्यालय मात्र नभएर समाजको पनि ठूलो मान्छे भएकाले उसबाट शिक्षक, विद्यार्थी र समाजले धेरै कुरा सिक्नुपर्ने हुन्छ । त्यसनिम्ति प्रधानाध्यापक असल हुनुपर्दछ र उसमा माथि उल्लेख गरिए बमोजिमका र अन्य अनुकरणीय आचरण हुनुपर्दछ ।

शैक्षिक इतिहासमा नेपालले परिकल्पना गरेको प्रअ
वि.सं. १९९६ मा जारी गरिएको पहिलो इस्तिहारमा विद्यार्थीले हेडमास्टरको स्वीकृतिमा मात्र विदा पाउने, हेडमास्टरको तजबिजले विद्यार्थीलाई प्रमोशन दिने र हेडमास्टर भर्ना गर्दा सबैभन्दा योग्यलाई भर्ना गर्नु भन्ने उल्लेख भएको देखिंदा योग्य प्रधानाध्यापकलाई विभिन्न क्षेत्रमा जिम्मेवार बनाउने प्रयास गरेको पाइन्छ ।
वि.सं. २००७ पछि विद्यालय शिक्षाको विकासमा प्रअको भूमिकाको सन्दर्भमा नेपाल राष्ट्रिय शिक्षा आयोग २०११ को प्रतिवेदनले निम्न कुराहरू उल्लेख गरेको पाइन्छः
“– हेडमास्टर नै स्कूलको उत्साह वा हतोत्साह, सफलता वा असफलताको मूल कारण हुन् । निजको मुख्य कार्यको प्रकृतिले नै यस्तो पारेको हो । स्थानीय बोर्डको कार्यकारी कर्मचारीको रूपमा, सफलतापूर्वक स्कूल बनाउने हिसाबले त्यस स्कूललाई व्यवस्था गर्ने र नीति चलाउने भार उनलाई सुम्पनुपर्छ ।
– हेडमास्टरले निरन्तर प्रोत्साहन दिनुपर्छ । शिक्षकहरूलाई आ–आफ्ना समस्या हल गर्न मद्दत गर्ने, साधारण पाठ्यक्रम सपार्नमा उनीहरूलाई बाटो देखाउने विधिहरू प्रदर्शन गर्ने, नयाँ सामानहरू प्राप्त गर्न उनीहरूलाई भरथेग गर्ने, भ्रमण गर्नमा सहायता दिने र अरू धेरै तरीकामा अविच्छिन्न व्यवसायी नेतृत्व दिने काम गर्नुपर्दछ । एक अर्थमा उनी व्यवसायी खबर पुर्‍याउने अर्दली, दुःख हटाउने व्यक्ति हुन् । उनको ठूलो काम शिक्षकको निमित्त काम सुगम पारिदिने र त्यसरी बढ्ता प्रभावकारी परिणाम प्राप्त गर्नु हो ।
– हेडमास्टरका माथि लेखिएभन्दा मामूली कामहरूमध्ये यी हुन्— उनले जिन्सी माल सरसामान जुटाएको छ छैन, फिरिस्ता बनाएको छ-छैन, आवश्यकता परेमा थप शिक्षक ल्याएका छन्-छैनन्, घर तथा जिन्सीहरू सफा राखिएका छन्-छैनन्, भैपरी आउँदा तुरुन्त गरिने चिकित्साको बन्दोबस्त छ-छैन र असल स्कूलमा परिआउने अरू सबै कुरा धेरै आवश्यक छ-छैन हेर्ने ।”

अन्तर्राष्ट्रिय अभ्यास कस्तो छ ?
औद्योगिक राष्ट्रहरूको संगठन ‘ओईसीडी’ ले प्रकाशन गरेको स्कूल नेतृत्वको सुधार र युनेस्कोको मावि तहका हेडटिचरहरूको नयाँ भूमिका सम्बन्धी दस्तावेज तथा अन्य विभिन्न स्रोतबाट प्राप्त सूचना अनुसार माध्यमिक विद्यालयका प्रधानाध्यापकको भूमिका र योग्यताको विषयमा विभिन्न मुलुकमा निम्न अभ्यास रहेको देखिन्छ (हे. तालिका तल) ।
तालिकामा उल्लेखित विवरणबाट सबैजसो देशमा प्रधानाध्यापकले व्यवस्थापकीय र शैक्षिक नेतृत्वको भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । नर्वे, अष्ट्रेलिया, फिनल्याण्ड जस्ता देशहरूमा कुनै पनि निर्णय लिन प्रअलाई पूर्ण स्वतन्त्रता प्रदान गरिएको देखिन्छ । योग्यताको हकमा सबैजसो देशमा कुनै तहको शिक्षक बन्न चाहिने न्यूनतम योग्यता र शिक्षण अनुभव या माथिल्लो योग्यता साथै शिक्षक अनुभव वा प्रशासनिक नेतृत्वको ज्ञान भएको व्यक्ति प्रधानाध्यापक हुन योग्य हुने मापदण्ड रहेको पाइन्छ ।

नेपालको सन्दर्भमा प्रधानाध्यापकको भूमिका राष्ट्रिय शिक्षा आयोग २०११ को प्रतिवेदनले परिकल्पना गरेको प्रधानाध्यापकको जगमा टेकेर बनेका त्यसपछिका विभिन्न प्रतिवेदन र शिक्षा ऐन नियमहरूमा प्रधानाध्यापकलाई व्यवस्थापकीय र शैक्षिक नेतृत्वका लागि विशेष जिम्मेवार बनाउन र सो अनुसार कार्य गराउन नै खोजिएको देखिन्छ ।
शिक्षा नियमावली २०५९ को नियम–९३ ले प्रधानाध्यापकलाई प्राज्ञिक तथा प्रशासकीय प्रमुखको रूपमा राखी प्रधानाध्यापक बन्न चाहिने योग्यता, नियुक्तिको आधार तथा प्रअका काम, कर्तव्य र अधिकारको बारेमा स्पष्ट व्यवस्था गरेको छ । त्यसमा उल्लिखित काम, कर्तव्य र अधिकारहरूको अध्ययन गर्दा प्रधानाध्यापकलाई व्यवस्थापकीय र शैक्षिक जिम्मेवारी वहन गर्न सक्ने व्यक्तिको रूपमा परिकल्पना गरेको पाइन्छ ।
नेपालको शैक्षिक क्षेत्रमा आएका उतारचढावहरू सँगै बनेका विभिन्न आयोगका प्रतिवेदन र ती प्रतिवेदनले दिएको सुझवको सारसंक्षेप अध्ययन गर्दा— शिक्षाको राष्ट्रिय उद्देश्यले प्रत्येक व्यक्तिमा नैतिक चरित्र, परिश्रम गर्ने बानी, स्वावलम्बी हुने बानी, सिर्जनात्मक प्रवृत्ति, वैज्ञानिक ढंगले विचार गर्ने प्रवृत्ति, अरूका असल स्वभाव र विचारको कदर गर्ने बानी, विश्वबन्धुत्वको भावना आदिको विकास गर्ने परिकल्पना गरेको छ । यो परिकल्पनाले विद्यार्थीलाई माथि भनिएजस्तै ‘नागरिक’ बनाउनका लागि शिक्षकहरू आफूले पहिले ती कुराहरूलाई आत्मसात गर्न सके मात्र विद्यार्थीलाई त्यस्तै बनाउन सकिन्छ । यसका लागि प्रअले त आफू मातहतका शिक्षकलाई, विद्यार्थीलाई र समाजलाई पनि सिकाउन आफ्नो व्यवहार त्यही अनुरूप हुनुपर्ने अनिवार्यता रहन्छ ।
हाम्रा विभिन्न शैक्षिक कार्यक्रमहरूले विद्यालय शिक्षाको विकासका लागि प्रधानाध्यापकको पद छुट्टै व्यवस्था हुनुपर्ने भन्ने व्यवस्था गरेको देखिन्छ । विगतमा सञ्चालनमा रहेको विद्यालय क्षेत्र सुधार कार्यक्रम (एसएसआरपी) ले विद्यालयका प्रधानाध्यापकका लागि छुट्टै पदको सिर्जना गर्ने परिकल्पना गरेको थियो । अब सञ्चालन हुने विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी) मा पनि सोही अवधारणालाई निरन्तरता दिने प्रतिबद्धता राख्दै सोको लागि स्रोतको व्यवस्था समेत उल्लेख गरेको पाइन्छ ।

वर्तमानका मुद्दा
वर्तमान शिक्षा ऐन–नियमले गरेका व्यवस्था र हामीले गरिरहेका अभ्यासको विश्लेषण ग¥यौं भने विद्यालयपिच्छे जस्तो फरक–फरक अभ्यासहरू पाउँछौं । कतिपय विद्यालयहरूमा शिक्षा नियमावलीको प्रयोग गरी सोही अनुसार नै प्रधानाध्यापक बनाएको देखिन्छ भने कतिपय ठाउँमा एक पटक प्रअ बनेपछि विद्यालय माथिल्लो तहमा अपग्रेड हुँदै गए पनि प्राथमिक विद्यालय हुँदा बनेका प्रअले नै निरन्तरता पाइराखेको देखिन्छ । कतिपय ठाउँमा वर्षैपिच्छे प्रअको जिम्मेवारी परिवर्तन गरिरहेको अभ्यास पनि भेटिन्छ भने कतिपय विद्यालयमा प्रअ नियुक्तिको विवादका कारण लामो समयसम्म विद्यालय बन्द भएका उदाहरण पनि छन् ।
सरसर्ती हेर्दा, एउटै प्रअको नेतृत्वमा विद्यालयहरूले लगातार विकास गरिरहेको पाइन्छ भने कतै त्यसको विपरीत अवस्था भेटिन्छ । अध्ययनको क्रममा ललितपुरको एउटा सामुदायिक विद्यालयका प्रअसँग ‘तपाईंलाई विद्यालय राम्रो बनाउन के कुराले उत्प्रेरणा जाग्यो ?’ भनेर सोध्दा उहाँको जवाफ थियो– “पहिलो; मलाई विद्यालयमा पढाउने प्रअ देख्दा म त्यस्तै हुनुपर्दछ भन्ने लागेको थियो र मैले प्रअको जिम्मेवारी पाउँदा मैले जागीर भन्दा पनि समाजका लागि काम गर्नुपर्दछ भन्ने लाग्यो । दोस्रो, गर्दै जाँदा विद्यालयले राम्रो नतीजा ल्यायो । यसो गर्दा सबैले प्रशंसा गरे, काम गर्न झ्न् मन लाग्यो । तेस्रो; काम गर्दै जाँदा पाएको नतीजा गुमाउनुहुँदैन भन्ने कुराले अहिले काम गरिरहेको छु ।”
तर कतिपय विद्यालयहरूमा फरक अभ्यास पनि पाइन्छ । ‘प्रधानाध्यापक’ बोर्ड विद्यालयमा झुण्डिरहेको हुन्छ; प्रअ चाहिं बाहिर, विशेषगरी अधिकारीहरूको वरिपरि घुमिरहेका भेटिन्छन् । यसरी विभिन्न विद्यालयको अध्ययनले के देखाउँछ भने हामीले परिकल्पना गरेको शिक्षाको उद्देश्य पूरा गर्न र चाहेको जस्तो प्रअ बनाउन कतिपय विद्यालय सफल भयौं भने कतिपय विद्यालयमा त्यस्तो बनाउन नसक्दा शिक्षाले परिकल्पना गरेको उद्देश्यबाट टाढिन पुग्यौं । यसरी हामीले लिएको उद्देश्यमा पुग्ने सही बाटो अनुसरण गर्न नसक्दा हाम्रा अगाडि समाधान गर्नुपर्ने धेरै मुद्दाहरू जन्मे । त्यस्ता मुद्दाहरू हुन् ;
– प्रअको योग्यता र दक्षता कस्तो हुने ?
– छनोट प्रक्रिया कस्तो हुने ?
– प्रधानाध्यापक करारमा लिने वा स्थायी बनाउने ?
– प्रधानाध्यापकको सरुवा हुने कि नहुने ?
– वरिष्ठताको परिभाषा कसरी गर्ने ?
– प्रधानाध्यापक हुन श्रेणीगत प्रणाली आवश्यक हुने-नहुने ?
– प्रअ बन्न शिक्षक नै चाहिने वा बाहिरबाट खुला प्रतिस्पर्धाबाट पनि लिन सकिने ?
– विद्यालय सञ्चालनमा प्रअको अधिकार (Authority) र स्वायत्तता (Autonomy) कति हुने ?
यी र यस्तै मुद्दाहरूको समाधान विना शिक्षा ऐन २०२८ को आठौं संशोधन २०७२ मा उल्लेख भएका अन्य व्यवस्थाको अतिरिक्त प्रअको नियुक्तिको लागि आवश्यक पर्ने योग्यता, काम, कर्तव्य र अधिकार तथा सुविधाका बारेमा उल्लेख गरिएका व्यवस्थालाई नियमावलीमा स्पष्टताका साथ उतार्न सकिन्न । शिक्षा ऐन २०२८ लाई संघीय नेपालको ढाँचा बमोजिम आमूल परिवर्तन गर्न शुरू गर्नुपर्ने आवश्यकता रहँदारहँदै पनि हालको शिक्षा ऐन २०२८ को आठौं संशोधनलाई आधार मानी शिक्षा नियमावली बनाई तत्काल कार्यान्वयन गर्नका लागि सरोकारवालाबीच छलफल र बहस गरी विद्यालयको शैक्षिक नेतृत्व लिने प्रधानाध्यापकको हैसियतलाई कतै पनि दोहोरो नपर्ने गरी स्पष्ट व्यवस्था गरी अगाडि बढ्नु जरूरी देखिन्छ ।

प्रधानाध्यापक कस्तो बनाउने ?
विभिन्न अध्ययन, शैक्षिक प्रतिवेदन र शिक्षा ऐन नियम समेतबाट के परिकल्पना गरिएको छ भने सामान्यतया निम्न क्षमता भएको व्यक्ति प्रधानाध्यापक हुनुपर्दछ— अन्तरवैयक्तिक तथा मानवीय सम्बन्ध, शैक्षणिक सुपरीवेक्षक, पेशागत क्षमता विकास, योजना तथा लक्ष्य निर्धारक, समस्या विश्लेषण निर्णय, सञ्चार, समन्वय, द्वन्द्व व्यवस्थापन, विपत् व्यवस्थापन गर्न सक्ने । यी न्यूनतम सक्षमताका अतिरिक्त प्रधानाध्यापकले बदलिंदो परिवेशमा आफूलाई पनि बदली सोही अनुसार कार्य गर्न सक्ने बनाउनुपर्दछ । शिक्षा आम सरोकारवालाको चासोको विषय भएकाले सरोकारवालाको सन्तुष्टिका लागि सकारात्मक सोचका साथ अभिभावकप्रति उत्तरदायी बन्दै बालबालिकाको गुणस्तरीय सिकाइको प्रत्याभूति दिन लगातार लाग्नु र लाग्नका लागि अरूलाई प्रेरित गर्नु प्रधानाध्यापकको मुख्य कर्तव्य हो । यसका लागि शिक्षाको राष्ट्रिय उद्देश्यलाई समेत आधार मानी प्रधानाध्यापकको योग्यता, काम, कर्तव्य र अधिकार तोक्नु उपयुक्त देखिन्छ । सरोकारवालाले चाहे अनुरूप प्रधानाध्यापकको न्यूनतम योग्यता र भूमिकाका सम्बन्धमा निम्न अनुसारका विकल्पहरूमा छलफल गरी निक्र्योल गर्नुपर्ने देखिन्छ:
– प्रधानाध्यापकलाई विद्यालयको शैक्षिक र व्यवस्थापकीय अगुवा (लिडर) बनाउने ।
– यसका लागि विद्यालयलाई स्वायत्त बनाउने ।
– प्रधानाध्यापकलाई शिक्षाका सरोकारवालाप्रति उत्तरदायी बनाउने ।
– प्रअलाई निश्चित समयका लागि (पाँच वर्षका लागि) करारमा राखी कार्य जिम्मेवारी दिने ।
– निश्चित समयसम्म राम्रो काम गरे पुनः थप गर्न सक्ने र नसके बीचमै पनि फिर्ता हुनसक्ने व्यवस्था गर्ने ।
– माथिल्लो योग्यता भएको र शिक्षण अनुभव भएको व्यक्तिबाट प्रधानाध्यापक छान्ने ।
– प्रधानाध्यापक छान्नका लागि छुट्टै लिखित÷मौखिक र नेतृत्वसीप जाँच्ने व्यवस्था गर्ने ।
– प्रधानाध्यापक ट्रेड युनियन मूभमेन्टमा संलग्न हुन नहुने,
– सबै ठाउँमा एउटै क्षमता भएको व्यक्तिले प्रधानाध्यापक चलाउन नसक्ने हुनाले परीक्षामा छनोट भै योग्य भएका व्यक्तिमध्ये विद्यालयले छानेको व्यक्ति प्रधानाध्यापक हुने व्यवस्था गर्ने ।

निचोड
नेपालको वर्तमान परिवेशमा बालबालिकाको गुणस्तरीय शिक्षाको प्रत्याभूतिबाट शिक्षाका राष्ट्रिय उद्देश्य पूरा गर्ने प्रधानाध्यापकको प्रमुख भूमिका महŒवपूर्ण रहने कुरा निर्विवाद नै छ । ‘प्रधानाध्यापक कस्तो’ भन्नेबाट ‘विद्यालयले कस्तो गरेको छ’ भन्ने उत्तर प्राप्त हुने हुँदा हामीले विद्यालयलाई सक्षम नेतृत्व प्रदान गर्न सक्ने प्रधानाध्यापक नै बनाउनुपर्दछ । यसका लागि नेपालले हिजोदेखि परिकल्पना गरेअनुसारको र अन्तर्राष्ट्रिय अभ्यास हेर्दा पनि एउटा स्वायत्त र सक्षम प्रअले मात्र विद्यालयको नेतृत्व गर्न सक्ने तथ्यको पुष्टि हुन्छ । तसर्थ, अबका दिनमा विगतका अनुभवबाट पाठ सिक्दै विद्यालयको सबल नेतृत्व गर्नसक्ने प्रधानाध्यापक बनाउन सक्नुपर्छ, तब मात्र हामीले चाहे अनुरुपको शैक्षिक उपलब्धि हासिल गर्न सहयोग पुग्नेछ ।
(पूर्व सचिव शर्मा ‘विद्यालय व्यवस्थापनका अभ्यास’
विषयका शोधार्थी हुन् ।)

सन्दर्भ सामग्री:
व्यवस्थापिका–संसद्: “शिक्षा ऐन २०२८ लाई संशोधन गर्न बनेको विधेयक २०७२” को प्रतिवेदन ।
Maryland Lead Center (1998); 10 Skill Areas for School Principals.
कलेज अफ इजुकेशन (१९५६): नेपालमा शिक्षा, नेपाल राष्ट्रिय शिक्षा आयोगको विवरण, काठमाडौं ।
शैक्षिक जनशक्ति विकास केन्द्र (२०७२): प्रधानाध्यापक नेतृत्व क्षमता विकास तालीम– माध्यमिक तह–तालीम स्रोत सामग्री, सानोठिमी ।
तोमर, लज्जाराम (२००३): शिक्षक या आचार्य: विद्या भारतीकी अभिनव पंचपदी शिक्षण पद्धति, विद्याभारती प्रकाशन हरियाणा, भारत ।
शिक्षा मन्त्रालय (२००९): विद्यालय क्षेत्र सुधार कार्यक्रम– लेखक ।
कानून किताब व्यवस्था समिति (२०६९): शिक्षा ऐन २०२८ र शिक्षा नियमावली २०५९, लेखक ।
OECD, (2008) ; Improving School Leadership, Policy and Practice vol. 1.
UNESCO (2009) ; The New Roles of Secondary School Head teachers.
Farah, et.al (2013) School Management; Characteristics of effective Principal. Atlantic International University, vol.2, Issue-10.

Related Posts

/*sign up form*/