विद्यालय पाठशालासँगै नृत्यशाला पनि बनून् !

by • • नेपाल–अध्ययनComments (0)446

– डा.तीर्थबहादुर श्रेष्ठ

हुर्कंदो उमेरका लागि नृत्यकला र नाचगान सर्वाङ्गीण विकासका लागि आवश्यक खुराक हो । यसर्थ शरीरका हाड, जोर्नी एवं मांसपेशीको विकासमा सन्तुलन कायम गर्ने यो मनोरञ्जनकारी साधनलाई विद्यालयले पठन–पाठन सँगसँगै अघि बढाउनुपर्छ ।

तामाङसेलोमा गैरतामाङ चेलीहरू पनि उत्तिकै निपुण छन् !

२०७० सालको ७ फागुन— ललितपुरको वुङ्मतीस्थित त्रिरत्न सहकारी माध्यमिक विद्यालयको प्राङ्गणमा विद्यार्थी भाइबहिनीको प्रतियोगितात्मक नृत्य प्रदर्शनीमा ताली बजाउँदा–बजाउँदै बित्यो । विद्यालयको फराकिलो आँगनमा आकर्षक नृत्य डबलीलाई नचाउँदै थिए विभिन्न सांस्कृतिक भेषभूषामा सजिएका कलिला बालबालिका तथा चिल्ला चहकिला किशोर–किशोरी ।
फागुनको चिसो चिसो बतास, न्यानो घाम, पारि क्षितिजमा तेर्सिएका सेता हिमशिखर अनि पहेंलै फुलेका तोरीबारीका पाटाले गर्दा यसै पनि नाचूँ नाचूँ लाग्ने वातावरण बनेको थियो वुङ्मतीमा । नाच्ने तयारीमा लागेका बालबालिका श्रृंगारपटारमा व्यस्त थिए । उत्साहित मनस्थितिमा बाहिर–भित्र गर्दै थिए । दर्शकदीर्घामा केही जेष्ठ नागरिकहरू पनि थिए— विद्यालयछेउकै वृद्धाश्रममा भजनकीर्तन गर्न आउने स्थानीय बासिन्दाहरू । अधिकतम नेवार ज्यापूहरू नै थिए जसको पसिनाको गन्ध अझै पनि वुङ्मतीका खेतबारीमा फैलिएकै थियो— तोरीका सुनौला बोटका रूपमा ।
विद्यार्थी भाइबहिनीको प्रतिभा प्रस्फुरण गर्न गराउन शेष–हीरा प्रतिष्ठान, खोकना अध्ययन केन्द्रको संयोजनमा नृत्य प्रतियोगिताको आयोजना भएको थियो । सरकारी, सामुदायिक वा सहकारी विद्यालयका छात्रछात्रा मात्र यस प्रतिष्ठानको कार्यक्रममा भाग लिन्छन् । शेष–हीरा अध्ययन केन्द्र खोकनाले शिक्षक र विद्यार्थी मात्र होइन तिनका परिवारै परिचालन गर्ने क्षमता राख्न थालेको छ । विद्यालयको कार्यक्रम विद्यालयकै प्राङ्गणमा भइरहेको थियो तर माहोल भने गाउँकै कुनै चाडपर्व जस्तो । आखिर विद्यालय भन्नु पूरै बस्तीको स्पन्दन पनि त हो !
प्रतियोगिताको थालनी एउटा बाल नृत्यबाट हुन्छ, ‘नाचूँ नाचूँ लाग्यो मलाई’ भन्ने बोलमा । कालो फूलबुट्टे फरियामा कलेजी मखमली चोलो र बीचमा सेतो पटुकामा बाँधिएका ७/८ वर्षका दुई तामाङ छात्राले स्टेज सेट गरिदिए । त्रिरत्न सहकारी माध्यमिक विद्यालयको त्यो नृत्य डबलीमा नयाँ प्राण संचार भयो । नाचूँ नाचूँ लाग्ने प्राण ।

ढिमे नाच

नृत्य प्रतियोगिताको माझ् एउटा अप्रतियोगी नृत्य प्रस्तुत भयो, चरिया नृत्य । वसन्त फुलेको वासन्ती माहोलको उक्त नृत्यले नृत्याङ्गनालाई नै सुवर्ण रंगले सजाइदियो । सुनको मुकुट, सुनौला जामा र तासका सुनौला पहिरनमा मञ्जुश्री अवतरण भएकी थिइन् । चरिया नृत्य नेपालको एक मौलिक शास्त्रीय नृत्यको रूपमा स्थापित छ । हातका आंैलाका मुद्रालाई आँखाको नानीसँग नचाउँदै शास्त्रीय संगीतको ताल सुरमा प्रस्तुत हुने हाम्रो यो तान्त्रिक नृत्य आजको यान्त्रिक डबलीमा क्यासेट, सीडी, पेन ड्राइभ तथा माइक र लाउड स्पिकरले गर्दा संगीत संयोजनको झ्न्झ्ट हट्न गएको छ । प्रविधिले गर्दा विद्यालयमा पनि चरिया नृत्य प्रस्तुत गर्न सजिलो भएको छ । नेवारी बौद्ध परम्परा अनुसार सीमित समुदायले आफ्नो कुलको आगम (दायरा) भन्दा बाहिर देखाउन नहुने यो नृत्यलाई लोपोन्मुख अवस्थाबाट सार्वजनिक प्रदर्शनमा ल्याउने केही साहसी गुरु र उत्साही चेलाचेलीको भूमिका आज हामीले बिर्सनुहुँदैन । तिनमा गुरु कान्छा बुद्ध बज्राचार्य तथा गुरु सप्तमुनि बज्राचार्यको नाम सम्झ्न पुग्छिन् वरिष्ठ नृत्य कलाकार श्री नारायणदेवी प्रधान । सार्वजनिक डबलीमा चरिया नृत्य नाच्ने प्रथम चेली थिइन् नारायणदेवी । त्यो लगभग ४० वर्ष पहिलेको कुरा थियो । आज २०७० सालमा निर्णायक मण्डलको संयोजक बनेर विद्यालयको प्राङ्गणमा मञ्जुश्री चरिया नृत्यको मूल्यांकन गर्न प्राप्त अवसरले भावविभोर र पुलकित हुनु नारायणदेवीका लागि स्वाभाविक थियो । विद्यालय, बालक्लब र नृत्य प्रशिक्षकहरू हाम्रा सांस्कृतिक धरोहरका संरक्षक हुन् भन्ने टड्कारो उदाहरण थियो उक्त मञ्जुश्री नृत्य ।
तेस्रो प्रस्तुतिमा कलिला छात्रछात्राले जिन्स पाइन्ट, बेसवल खेलाडीका ह्याट, रंगी–विरंगी स्कर्ट र पाइन्टमा आधुनिक नृत्य प्रदर्शन गरे । गीतको बोल थियो, सिम्पल–सिम्पल कान्छीको डिम्पल पर्ने गाला… । दर्शकदीर्घाका शिक्षकहरू ताल दिंदै निकै रमाउँदै थिए । युवा शिक्षकका गुम्सिएका मनोभावहरू बालबालिकाका नृत्यमा, तिनको हाउभाउमा प्रकट हुँदैथिए । बालगीत र बाल नृत्यको अभावमा बालापनको अपहरण हुनुहुँदैन विद्यालयमा, बोर्डिङमा वा बालक्लबहरूमा । बालसाहित्य, बालसंगीत र बालनृत्यको सिर्जनातर्फ चुक्न गयौं भने विनास हुन्छ हाम्रो संस्कृति । अनि उदय हुन्छन् त्यहाँ अनेकौं विकृति । उक्त नृत्यबाट मैले सिकेको पाठ त्यही थियो ।
खोकना–वुङ्मती क्षेत्र नेवारी परम्परा र नेवारी संस्कृतिको जीवन्त संग्रहालय पनि हो । त्यसैले पाँच वटा नृत्य नेवारी ‘ढिमे प्याखँ’ कै हाउभाउ र लिवाजमा प्रस्तुत भए । कालो पटासी फरियामा रातो किनारा, टम्म कस्सिएको चौबन्दी, शिरबन्दी, सुनका सिक्री सहितको केश सज्जा, गलामा भिँपु अर्थात् मुगाको माला र पाउमा चाँदीको कल्लीमा सजिएका बालिकाहरूले “व छु गल्ली, थ्वो छु गल्ली मखँ त्वाया गल्ली रे, पानवती मैयाँ न्ह्याना वोगु जंगी सेलया कल्ली रे…” भन्ने गीतको बाँसुरी धुनमा नृत्य प्रस्तुत गरे । प्रतियोगितामा त्यसले दोस्रो स्थान पायो ।
काठमाडौं उपत्यकाको प्रारुप हे¥यौं भने नेवार बस्तीको वरपर डाँडापाखामा तामाङहरूको बस्ती हुन्छ । यस वुङ्मती क्षेत्रका विद्यालयमा स्वभावतः तामाङ बालबालिकाहरू यथेष्ट पाइन्छन् । त्यसैले त्यहाँ तामाङ संस्कृतिको बलियो प्रभाव स्पष्ट देखिन्थ्यो । तसर्थ चार वटा तामाङ नृत्य प्रस्तुत भए । तामाङ पहिरन निकै चहकिला र रंगीन हुन्छन् । रातो, पहेंलो र नीलो फूलबुट्टाका फरिया र मखमली चोलोको बीचमा पहेंलो पटुका तामाङ पहिरनको नमूना हो । कालो, रातो, सेतो धर्कोमा बुनिएको ऊनी श्रृंगार कपडाले छेकिएको नितम्बमा छात्राले निकै आकर्षक नृत्य प्रस्तुत गरे । डम्फुको तालमा तामाङ सेलोको नाचले प्रथम स्थान ओगट्न सफल भयो । ‘ए होई ! ज्यानै खायो तिम्रो मायाले’ भन्ने बोलमा तामाङ सेलो नाच्ने छात्रामा एक जना मात्र लामा थरकी विद्यार्थी थिइन् । अरू भने गैर तामाङ थिए । शेर्पा, लिम्बू, पोख्रेल, श्रेष्ठ तथा थापा थरका छात्राहरू । समावेशीको उत्कृष्ट नमूना थियो त्यो नृत्य र त्यो नै उत्कृष्ट रह्यो । प्रथम पुरस्कार पनि भेट्यो । त्यस दिनको नृत्य डबलीमा सबैलाई मुग्ध बनाउने एकल नर्तकी कृषाले नेवारी नृत्यको ‘हिसी’ लाई आफ्नो बालापनको चुलबुलमा प्रस्तुत गरिन् । र, विशेष पुरस्कारको भागी बनिन् ।

चरिया नृत्य

नृत्यकलाको संसार पनि अपार छ । यो मानिसको नैसर्गिक कला पनि हो । मानिसले भाषा भन्दा पहिले नाच्न जान्दछ । ‘जब पुग्यो पाँच, आँगनमा नाँच’ यो हाम्रो पुरानो भनाइ हो । आमाको तालीमा नाच्ने त्यस अवस्थालाई आजभोलि विद्यालयले निरन्तरता दिएर प्रशंसनीय काम गर्न थालेका छन् । नृत्यले मान्छेलाई मान्छेसँग जोड्छ, आफ्नो वातावरणसँग जोड्छ, समाजसँग जोड्छ, संस्कृति र संस्कारसँग पनि जोड्छ । लोकनृत्यकै मात्र कुरा गर्दा पनि त्यसले नेपाल जस्तो विविध भूगोल र विभिन्न संस्कृतिलाई एकआपसमा जोड्ने मात्र होइन आ–आफ्नो संस्कृतिको गर्भसम्म पुगेर गर्व गर्ने मौका पनि दिन्छ । तर, नेपालको भूगोलबाट स्थानीय लोकनृत्य, लोकबाजा र लोक संगीत लोप हुँदै गरेको अवस्था छ । यो दुःखलाग्दो कुरा हो । यसबीच आजभोलिका विद्यालयहरूले लोकनृत्यलाई आफ्नो कार्यक्रममा स्थान दिएर संरक्षण र सम्वद्र्धनमा सहयोग पु¥याउने गरेको उदाहरण वुङ्मतीमा अनुभव भयो । त्यसको हामीले सराहना गर्नुपर्छ । नृत्यले बालबालिकाको हुर्कंदो शरीर, विकासोन्मुख मस्तिष्क तथा चञ्चल र चनाखो मनको चेतनालाई संगठित रूपमा विकास गर्न ठूलो योगदान पु¥याउँछ । शारीरिक तन्दुरुस्तीका लागि नृत्य प्रभावकारी साधन हो । मनका भाव र तिनका आवेगलाई प्रस्तुत गर्ने एक सशक्त माध्यम पनि हो नृत्यकला ।
हुर्कंदो उमेरका लागि नृत्यकला र नाचगान सर्वाङ्गीण विकासका लागि खुराक हो । शरीरका हाड, जोर्नी एवं मांसपेशीको विकासमा सन्तुलन कायम गर्ने यो मनोरञ्जनकारी साधनलाई विद्या आर्जनका साथसाथै अघि बढाउनुपर्छ भन्ने मान्यता विश्वभरि स्थापित छ । छिटो, छरितो र स्वस्थ शरीर भएन भने विद्या आर्जन एवं सीप तालिममा बाधा पर्न जान्छ । त्यसको खाँचो नृत्यले पूरा गर्छ । पाठशाला र विद्यालय उमेरमा सिकेका नृत्य वा नाचगान कालान्तरसम्म टिकाउ भइरहन्छन् । कलिला बालबालिकाको आत्मविश्वासको जग बसाल्न नृत्यले विशेष भूमिका खेल्ने गरेको हुन्छ । घरमा लाज मान्ने, कसैसँग नबोल्ने र हिमचिम गर्न धक मान्ने बालबालिका समेत स्टेजमा सजिएर नाच्न पुग्दछन् । जोश, जाँगर एवं तालसुरलाई समायोजन गरेर देखाइ दिन्छन् । प्रतिभा प्रस्फुरणको एक अभिन्न अंग हो नृत्य । प्रतिभा प्रस्फुरणलाई आफ्नो संकल्पमा राखेर अघि बढिरहेको शेष–हीरा प्रतिष्ठानको कार्यक्रममा दश वटा माध्यमिक विद्यालय र तिनका बालक्लबहरूले वुङ्मतीलाई नै नचाइ दिने काम गरे यो वर्ष । २००७ सालताका विद्यालय र पाठशालामा नाचगान वर्जित विषय थियो भने आजभोलि अनिवार्य विषय बन्न थालेको छ । यो राम्रो लक्षण हो । प्रशंसाले मात्र पुग्दैन प्रोत्साहन पनि गर्न थालौं । अस्तु ।

शिक्षक  मासिक, २०७० चैत अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/