विद्यालयमा अति भो अतिक्रमण !

by • • Homepage Mosaic, स्थलगतComments (0)2057

Print Friendly, PDF & Email

विद्यालयहरू आफैंमा एक प्रणाली हुन् । शिक्षा ऐन नियमावली अनुसार तोकिएका आधारमा विद्यालयहरू खुल्छन् र संचालन हुन्छन् । विद्यालयका लागि तोकिएको पाठ्यक्रम छ, पाठ्यपुस्तक छन्, स्थानीय सृजना वा सामुदायिक विशिष्टतालाई जोड्न स्थानीय पाठ्यक्रमको व्यवस्था छ । विद्यालयको भौतिक निर्माण, जनशक्तिको सशक्तीकरण र कक्षोन्नति लगायतका विषयका लागि औपचारिक प्रावधानहरू छन् । आफ्नो स्रोतको एउटा ठूलो हिस्सा राज्यले शिक्षा क्षेत्रका निम्ति छुट्याउने र विद्यालय शिक्षाले त्यसको सबैभन्दा ठूलो भाग पाउने गरेको छ ।
राज्यले प्राथमिकताका साथ लगानी गर्दागर्दै पनि नेपालका विद्यालयहरू न्यूनतम सेवा–सुविधाबाट समेत बञ्चित छन् । तोकिएका सबै मानक र गुणस्तरका साथ विद्यालय चलाउन नसक्नु राज्यको कमजोरी हो तापनि देशको समग्र आर्थिक अवस्था यसका लागि जिम्मेवार रहेको तथ्य पनि आफैंमा स्पष्ट छ ।
यही पृष्ठभूमिमा, हाम्रा सामुदायिक विद्यालयहरूमा विभिन्न खालका अतिक्रमणहरू बढ्दै गएको देखिन्छ । शिक्षाको विकास र कार्यान्वयन सबैको साझ दायित्व र चासोको विषय हुँदाहुँदै पनि यसको संचालन निश्चित प्रणाली अनुरूप मात्र हुनुपर्ने हुन्छ । सहयोग, साझेदारिता र सहकार्यका नाममा कसैको सोख, कार्य प्रगति र अभीष्ट पूरा गर्ने वा कमाइखाने भाँडो बनाउने माध्यम विद्यालयहरू बन्नुहुँदैन । यहाँ यसै विषयलाई प्रष्टीकरण गर्ने प्रयास हुनेछ ।
यतिबेला धेरैका लागि सृजनाको प्रयोग गर्ने, समाजसेवा गर्ने, ‘केही गरेर देखाउने’ वा दाता बन्ने थलो या माध्यम विद्यालय बनेका छन् । धनी भएको छनक देखाउने, कतै विदेशतिर भएको सफलता वा म्यानपावर एजेन्सी वा जग्गा दलाली वा ठेकेदारीबाट पैसा कमाई बढेपछि यसो ‘च्यारिटी’ प्रदर्शन गर्ने ठाउँ पनि विद्यालयहरू भएका छन् ।

img_1421
अहिले विद्यालय नहेर्ने को छ ? नेता, अभिनेता, गैरसरकारी संघसंस्था, सतर्कता केन्द्र, अख्तियार, ट्राफिक सबैलाई विद्यालय चाहिएको छ । प्रधानमन्त्री कार्यालयले समेत लैंगिक हिंसा उन्मूलन सम्बन्धमा विद्यालयमा पटके कक्षा चलाउन थालेको छ ।
जलउत्पन्न प्रकोप नियन्त्रण विभाग, ललितपुरले हालै रुकुम सदरमुकाम मुसिकोटमा विद्यालय शिक्षकहरूलाई समेत राखी दुईदिने तालीम संचालन गर्‍यो । यो पछिल्लो प्रतिनिधि उदाहरण मात्रै हो । यतिबेला सरसफाइ तथा स्वच्छता, महिला वा लैंगिक हिंसा, जलवायु परिवर्तन, अपराध न्यूनीकरण, किशोरी शिक्षा, प्रजनन स्वास्थ्य, एचआईभी एड्स, पोषण, प्रकोपलगायतका विषयमा विद्यार्थीलाई पढाउन खोज्नेहरू बढेका बढ्यै छन् । तर विद्यालयको नियमित पद्धति भन्दा बाहिरबाट यसरी पटके रूपमा गरिने यस्ता गतिविधिले विद्यालयको नियमित लयमा भने गम्भीर असर पारेका छन् ।
मानवअधिकार, बालअधिकार र शान्तिका नाममा खुलेका अधिकांश संघसंस्थाको पहिलो रोजाइ पनि विद्यालय नै हुने गरेका छन् । उनीहरू कोही विद्यालयमा शान्ति शिक्षा पढाउँछन्, कोही शान्ति र अहिंसाको महŒवबारे शिक्षकलाई तालीम दिन्छन् भने कोही विभिन्न थरी सञ्जाल निर्माण गरेर हिंड्छन् । बाल कल्याण समितिहरू विद्यालयमा शान्ति क्षेत्र घोषणा गर्न उद्यत छन् भने जिल्ला विकास समितिहरू ‘बाल मैत्री स्थानीय शासन’ का लागि भन्दै विद्यालयहरू धाइरहेका छन् । रेडक्रस, स्वास्थ्य कार्यालय, वन तथा कृषि कार्यालय, भूसंरक्षण, महिला तथा बालबालिका कार्यालय, खानेपानी कार्यालय, ट्राफिक प्रहरीलगायतका निकायहरू समेत केही न केही पढाउन विद्यालयमा छिर्ने गर्छन् ।
कोही क्यास लिएर, कोही आश लिएर, कोही सामान लिएर र कोही विचार लिएर वा कोही अर्ति उपदेश लिएर विद्यालय छिरिरहेका छन् । तर पनि हाम्रा सामुदायिक विद्यालयको अवस्था कमजोर तथा नाजुक नै छ । किन ? विषय सोचनीय छ ।
विद्यालय शिक्षाका लागि शिक्षा मन्त्रालयदेखि जिल्ला शिक्षा कार्यालयहरूसम्म वैधानिक संयन्त्रहरू खडा छन् । फेरि किन शान्ति मन्त्रालय, जिल्ला विकास समिति, प्राविधिक कार्यालय वा खानेपानी कार्यालयहरू विद्यालयका लागि भवन वा शौचालय वितरण गर्छन् ? जिशिकाहरूलाई थाहै नदिई विद्यालय भवन, शौचालय, खानेपानी, घेराबार वा अन्य भौतिक सुविधाको निर्माण गर्ने संघसंस्थाहरू थुप्रै छन् । यी सबै कुरालाई एकद्वार प्रणालीमा समाहित गर्न किन सकिन्न ?
दृष्टान्तहरू थुप्रै छन् । रवीन्द्र मिश्रहरूलाई कल्याणकारी कार्य गरेको देखाउन विद्यालय चाहिने । बूढानीलकण्ठ, रातो बंगला वा सेन्ट जेभियर्स जस्ता महँगा विद्यालय वा कलेजहरूलाई आफ्ना विद्यार्थीलाई नेतृत्व, समाजसेवा वा सामाजिक दायित्व सिकाउन पनि सामुदायिक विद्यालय नै चाहिने !
‘राष्ट्र शान्ति’ का नाममा महायज्ञका संकल्पकर्ता भनिएकाहरूको पैसा कमाउने रोजाइमा समेत विद्यालयहरू पर्ने गरेका छन् । रुकुममा हालै मात्र एक जना स्वनामधारी पण्डितबाट चारवटा विद्यालयमा धार्मिक महोत्सव महायज्ञ सम्पन्न भइसकेका छन् । विद्यालयमा हुने यस्ता हर्कतलाई कसरी लिने ? राजदूतावासहरू साइकल बाँड्न विद्यालय छिरिरहेका छन् । योगीहरू योग सिकाउन विद्यालयका नियमित कक्षा ब्रेक गर्छन् । कोही आउँछ र बाल सांसद्को कुरा गर्छ, कोही आउँछ र बाल संजाल भन्छ । एउटा आउँछ ‘विद्यार्थीको हाजिरी परीक्षण’ भन्छ, अर्को आउँछ ‘प्रअहरूको मोबाइल बैठक’ भन्छ । अर्को आउँछ ‘सिकाइ उपलब्धि टेष्ट’ भन्छ, अर्को आउँछ ‘स्कूल आत्म–मूल्यांकन’ भन्छ । फेरि अर्को आउँछ र ‘गुणस्तरीय सिकाइ सामग्री’ भन्छ । कोही ईएमआईएस भन्छ, कोही एसईएमआईएस भन्छ । कोही हरियाली स्कूल भन्दै आउँछ, त कोही शान्ति क्षेत्र भन्दै आउँछ । पशुपतिमा जोगीहरू छिरे झैं जो पनि आफूखुशी विद्यालय छिरिरहेका छन् ।
फलानो दिवस मनाउनु पर्‍यो विद्यार्थी चाहियो, अमूक दिवस आयो विद्यार्थी चाहियो । कोही ‘मिन्सुरेसन हाइजिन’ को कक्षा लिन्छु भन्दै आउँछ, कोही चाहिं ‘सेनेटरी प्याड’ बनाउने तालीम चलाउँछ । कोही लोकगीत गाइदे भन्छ, कोही निबन्ध प्रतियोगिता भन्छ । दुनियाँका नानाभाँती अभीष्ट पूरा गर्ने साझ चौतारी बन्दैछन् विद्यालयहरू ।
सतहमा हेर्दा कुरा सामान्य लाग्न सक्छ तर अन्तर्य गम्भीर छ । विद्यार्थीलाई ट्राफिक नियम, लैंगिक हिंसा वा जलवायु परिवर्तनबारे पढाउनु छ भने पाठ्यक्रम परिवर्तन किन नगर्ने ? प्रकोप, ‘मिन्सुरेसन हाइजिन’ र सामाजिक सदाचारका विषय पाठ्यक्रममार्फत किन नल्याउने ? यस्ता महत्वपूर्ण विषयहरूलाई शिक्षकले नै नियमित रूपमा पढाउने गरी पाठ्यपुस्तकमा समायोजन किन नगर्ने ? कुनै निश्चित दिवस मनाउनै पर्ने हो भने पाठ्यक्रममा किन नपार्ने ? शिक्षकलाई ‘सेनेटरी प्याड’ बनाउने तालीम चाहिएकै हो भने शिक्षकको पेशागत तालीम (टीपीडी) मा त्यसलाई किन नपार्ने ?
हाम्रा विद्यालयलाई यसरी खुला प्रयोगशाला हुनबाट जोगाउनु जरूरी छ । प्रयोगशाला नै बनाउने हो भने पनि पाठ्यक्रममा टेकेर बनाउनुपर्‍यो । यसरी नानाभाँती रूपमा नानाथरी परीक्षण गर्ने र कमाइखाने भाँडो बनाउनबाट विद्यालयलाई जोगाउनै पर्छ । खुलापन र लोकतन्त्रको अर्थ छाडापन र भीडतन्त्र हुनुहुँदैन ।

earthbag-school-edge-of-seven

अतिक्रमणको असर
विद्यालयमा हुने आम प्रवेश वा अतिक्रमणले विद्यार्थीको पठन बानी वा नियमिततामा बाधा पुग्छ । तोकिए बमोजिम सिकाइ उपलब्धि हासिल हुँदैन र सिकाइका सक्षमताहरू कमजोर हुन्छन् । पठनपाठनका लागि तोकिएको समयावधि अरू कुराका निम्ति उपयोग हुँदा शिक्षकको पाठयोजना–कार्यान्वयनमा बाधा पुग्दछ । आवश्यक वा वास्तविक ज्ञान वा चाहिने कुरा पाठ्यपुस्तकमा नभई बाहिर रै’छ भन्ने भ्रम विद्यार्थीमा पर्न सक्छ । विद्यार्थीहरू कोर्षमा नबाँधिएका त्यस्ता पटके कक्षामा रमाउन थालेपछि नियमित कक्षा र शिक्षकहरू फिका लाग्न सक्छन् । कोर्षको कुरा विद्यार्थीलाई नक्कली वा नीरस लाग्न सक्छ ।
घरीघरी बाहिरका मान्छेहरू विद्यालयभित्र पस्दा शिक्षक तथा व्यवस्थापकहरूमा असहजता, चिडचिडाहट वा त्रास हुन सक्छ । जो गए पनि विद्यालयमा अर्ति दिने चलन छँदैछ ।
काम लाग्ने जति गैसस, प्रहरी, योगी, अख्तियार, डाक्टर आदिले सिकाउने भएपछि काम नलाग्ने मात्रै शिक्षकले किन पढाउने भन्ने हीनता शिक्षकमा पैदा हुन सक्छ ।
समन्वय र नेतृत्वको नाममा गैसस वा अन्य सम्बन्धित निकायका अघिपछि गर्दै सदरमुकाम धाउन रुचाउने कतिपय शिक्षकहरूलाई बहानावाजी गर्न यस्तो प्रवृत्तिले सघाउन सक्छ ।
विद्यालय कमजोर छन् भन्ने नाममा जे पनि स्वीकार्ने प्रवृत्ति घातक हो । यसले विद्यार्थीमा माग्ने संस्कृतिको बीजारोपण गर्न सघाउन सक्छ ।
विद्यालयमा अबिर, माला, खादा र मासुको प्रचलन बढाउन यस्ता कुराले सहयोग गरेका छन् । एकातिर विद्यालयमा फजुल खर्च बढेको छ भने अर्कोतर्फ मालिकको गुलामी जरूरी छ भन्ने सन्देश बालमनोविज्ञानमा पर्न सक्छ ।

के गर्ने त ?
अहिलेको आवश्यकता के हो ? विद्यार्थीलाई पढाउनै पर्ने थप कुरा के के हुन् ? ड्रग्स, ट्राफिक, योग, शान्ति आदि सबैलाई पाठ्यक्रममा पारौं । शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, जिल्ला पाठ्यक्रम समन्वय समिति आदिमार्फत यो गर्न सकिन्छ । पटके परीक्षण नगरौं ।
भौतिक निर्माण र सेवासुविधा सम्बन्धमा पनि आफूखुशी गर्न बन्द गरिनुपर्छ । सहयोगीहरूले शिक्षा मन्त्रालय वा जिल्ला शिक्षा कार्यालयहरूमा स्रोतको साझेदारी गर्नु राम्रो हुन्छ । विद्यालयमा भवन, शौचालय वा अन्य भौतिक योजना निर्माण गर्दा जिशिकामार्फत गरौं । दोहोरोपना हुँदैन । अर्को कुरा जिशिकामार्फत शौचालय निर्माणको प्रावधान हुँदाहुँदै जिविस वा खानेपानी कार्यालयबाट किन शौचालय बनाउनुपर्‍यो ? यसमा नीतिगत तहबाटै ध्यान दिनु जरूरी छ ।
कसैको सोख पूरा गर्न, कसैको कमाइखाने भाँडो बनाउन वा कसैका लागि परीक्षण गर्ने थलोको रूपमा विद्यालय धाउने प्रवृत्तिलाई समूल नष्ट गरिनुपर्छ । खासमा विभिन्न चिल्ला र मीठा प्याकेजसहित विद्यालय छिर्नेहरूलाई रोक्नु जरूरी छ । विद्यालयहरू एकद्वार प्रणालीबाटै संचालन हुनुपर्छ । विद्यालयलाई मगन्ते बनाउने प्रकारान्तरको षड्यन्त्रलाई चिन्नु र चिर्नु जरूरी छ ।
शिक्षकको आत्मबल र नैतिकता सुदृढ पार्नु पनि जरूरी छ । शिक्षकको औकात र हैसियत बढाउनुपर्छ । तालीमको स्वरुप र चरण बढाउनुपर्छ । विद्यालयमा जो पसे पनि शिक्षकलाई नानाभाँती अर्ति दिने, सिकाउने, गिज्याउने, खिसिटिउरी गर्ने, हप्काउने, दम्काउने आदि अवस्थाबाट मुक्त गरिनुपर्छ ।
विद्यालयहरू वास्तविक सिकाइ केन्द्र बन्नुपर्छ । अधुरो, अपुरो, नीरस र निर्जीव केन्द्र होइन सजीव र सुरुचिपूर्ण स्थल बन्नुपर्छ । विद्यालयहरू विद्यार्थीका लागि परीक्षण केन्द्र त बन्नुपर्छ तर हर कोहीको स्वार्थ पूरा गर्ने चौतारो बन्नुहुँदैन । जो कोहीले दिल वहलाउने क्रीडास्थल बन्नुहुँदैन ।
अब विद्यालयहरूले सिकाइमा स्वावलम्बन जगाउनुपर्छ, स्वाभिमानलाई बढाउनुपर्छ । सहयोग, सहकार्य, समझ्दारी र साझेदारीका नाममा लाचार र निरीह बन्नुहुँदैन । 
(शाखा अधिकृत, जिल्ला शिक्षा कार्यालय, रुकुम)

लेखकः तिलक गौतम

Related Posts

/*sign up form*/