विद्यार्थीको न्यून उपस्थिति जो आउँदैन उही दोषी !

by • • स्थलगतComments (0)515

Print Friendly, PDF & Email

रोश्ना सुब्बा

कक्षा ५ का २८ विद्यार्थीमध्ये कसैले पनि नेपालीमा आफ्नो विद्यालयको नाम शुद्ध लेख्न सकेनन् । त्यस्तै, अर्को विद्यालयका १४ मध्ये दुई जनाले मात्र नेपाली र अंग्रेजीमा आफ्नो नाम लेख्न सके । ‘नियमित विद्यालय आउँदैनन्, त्यसैले विद्यार्थीको सिकाइस्तर कमजोर भएको हो’, सबै विद्यालयका शिक्षकहरूको एउटै जवाफ थियो ।

विद्यार्थीलाई कक्षा चढाउन एक शैक्षिक सत्रमा कम्तीमा ७० प्रतिशत उपस्थिति आवश्यक मानिन्छ । तर धनुषाका केही आधारभूत विद्यालयमा आधाभन्दा बढी विद्यार्थीको उपस्थिति तोकिए भन्दा निकै कम पाइएको छ । १२ महीनाको हाजिरी रेकर्ड हेर्दा दश महीनासम्म यस्तो अवस्था देखिन्छ । सबैला नगरपालिकाको किरतपुरमा रहेको आधारभूत विद्यालयमा कक्षा ५ को विद्यार्थी संख्या ४२ छ । वैशाख र जेठपछि बाँकी दश महीनासम्म आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ७० प्रतिशतभन्दा कम छ । साउनदेखि फागुन अर्थात् ८ महीनासम्म आधाभन्दा बढी विद्यार्थीको उपस्थिति ५० प्रतिशत पनि नपुगेको स्थिति छ ।

जनकपुर उपमहानगरपालिकाको लोहनास्थित फुद्दिलाल राष्ट्रिय प्राविमा १९ चैतमा पुग्दा ७५ जना मात्र विद्यार्थी थिए । विद्यालयका प्रअ दिलीपकुमार यादवका अनुसार ईसीडीदेखि कक्षा ५ सम्म नाम दर्ता गरिएका विद्यार्थीको संख्या २१९ छ । कक्षा ५ मा विद्यार्थी संख्या १८ छ । यो कक्षाका विद्यार्थीको वर्षभरिको उपस्थिति हेर्ने हो भने कहालीलाग्दो छ । जेठदेखि चैतसम्म अधिकांश विद्यार्थीको ७० प्रतिशत हाजिरी पुग्दैन । जेठमा ५, असार र कात्तिकमा ४, माघ र फागुनमा ३, असोज र पुसमा २, तथा मंसीर र चैतमा १ जना विद्यार्थीको मात्र हाजिरी ७० प्रतिशत वा सोभन्दा माथि छ । साउनदेखि चैतसम्म आधाभन्दा बढीको उपस्थिति ५० प्रतिशतभन्दा थोरै छ ।

यस्तै धनुषाधाम नगरपालिकाको लक्ष्मीपुरस्थित आधारभूत विद्यालयमा कक्षा ६ मा विद्यार्थी संख्या ४० छ । भर्ना भएको महीना वैशाख र जेठसम्म राम्रै उपस्थिति भए पनि त्यसपछिका महीनामा भने पचास प्रतिशतभन्दा बढीको उपस्थिति घटेको छ । फागुनमा भने ३१ जना विद्यार्थीको हाजिरी ७० प्रतिशत पुगेको छ । यो विद्यालयमा २० चैत पुग्दा केही कक्षाका हाजिरी पुस्तिकामा १५ गतेसम्मको मात्र हाजिरी चढाइएको थियो । छुटेका दिनको हाजिरी कसरी लिने त ? प्रश्न सोध्नेबित्तिकै एक शिक्षक केही नबोली अफिसको कोठाबाट फुत्त बाहिर निस्किए । यसले हाजिरीको विश्वसनीयतामा पनि शंका गर्ने ठाउँ राख्छ ।

धनुषाधाम नगरपालिकाकै गोइयाहीस्थित जनता प्राथमिक विद्यालयमा २० चैतमा पुग्दा ५० जना विद्यार्थी उपस्थित थिए । त्यहाँ जम्मा विद्यार्थी संख्या चाहिं १०५ रहेको छ । कक्षा ४ को विद्यार्थी संख्या १६ छ । यीमध्ये आधा विद्यार्थीको मात्र ६ महीनासम्म उपस्थिति ७० प्रतिशत पुग्छ । यी सबै विद्यालयहरूमा शतप्रतिशत उपस्थित हुने विद्यार्थीको संख्या ज्यादै न्यून छ । यस्ता विद्यार्थी एकाध महीनामा दुई जनासम्म छन् ।

सिकाइ बर्बाद
यी विद्यालयका विद्यार्थीको सिकाइस्तर त झ्नै निराशाजनक पाइन्छ । आधारभूत विद्यालय, सबैला नगरपालिकाको कक्षा ५ का २८ जना विद्यार्थीमध्ये कसैले पनि नेपालीमा आफ्नो विद्यालयको नाम शुद्ध लेख्न सकेनन् । आधारभूत विद्यालय लक्ष्मीपुरका कक्षा ४ मा उपस्थित १४ जना विद्यार्थीमध्ये दुई जनाले मात्र नेपाली र अंग्रेजीमा आफ्नो नाम लेख्न सके । ‘नियमित विद्यालय आउँदैनन्, त्यसैले विद्यार्थीको सिकाइस्तर कमजोर भएको हो’, सबै विद्यालयका शिक्षकहरूको जवाफ एउटै पाइन्छ । तर नियमित विद्यालय आउने र नआउनेको स्तरमा खासै फरक पाइँदैन । भौतिक अवस्था राम्रो हुने र नहुने अनि शिक्षक अभाव भएका र नभएका विद्यालयको सिकाइ पनि लगभग उस्तै छ । आश्चर्यचाहिं के लाग्छ भने शिक्षक अपुग भएर सिकाइस्तर कमजोर भएको हो भनेर चाहिं कुनै शिक्षक भन्दैनन् । सबैले विद्यार्थीको न्यून उपस्थितिलाई नै मुख्य कमजोरी देखाउने गरेका छन् ।

आधारभूत विद्यालय, किरतपुरको एउटा कक्षा ।

सबभन्दा खट्किने कुरा, कक्षाकोठामा सिकाइका लागि विद्यार्थी उत्साहित हुने वातावरण नै देखिंदैन । कतै शिक्षक कुर्सीमा बसिरहेको र विद्यार्थी आफैं पढिरहेका देखिन्छन् । कतै किताब पढेर विद्यार्थीलाई सुनाइरहेको देखिन्छ । वार्षिक परीक्षा आएकोले यस्तो हो कि सधैं यस्तै हो भन्दा एक छात्रा भन्छिन्, “धेरैजसो शिक्षक आफैं पढ भन्नुहुन्छ ।” कस्तोसम्म स्थिति पाइयो भने आधारभूत विद्यालय, किरतपुरमा एक अभिभावक कक्षा ८ को परीक्षा दिने नातिनीका लागि कुन गाइड राम्रो हुन्छ भनेर शिक्षकहरूलाई सोध्दै थिए । फुद्दिलाल प्राथमिक विद्यालयको कक्षा ४ मा केही बेर रहँदा एक विद्यार्थीको ट्यूसन कापीमा आँखा परे । उनी क ख ग घ, वान टु थ्री सिक्दै रहेछन् ।

किन उपस्थिति कम भयो त ?
आधारभूत विद्यालय, किरतपुरका प्रअ पवनकुमार महतोको भनाइमा अभिभावकमा चेतनाको कमीका कारण विद्यार्थी अनियमित हुन्छन् । उनी भन्छन्, “किताब र छात्रवृत्ति बाँड्ने बेलामा मात्र अभिभावक आउँछन् ।” आधारभूत विद्यालय लक्ष्मीपुरका शिक्षक विशेश्वर यादवको अनुभवमा नयाँ नयाँमा उत्साह हुन्छ, विद्यार्थी आउँछन् तर पुराना हुँदै गएपछि कम आउन थाल्छन् ।

फुद्दिलाल प्रावि, लोहनाका प्रअ दिलीपकुमार यादव अनियमितताको कारण गरीबी हो भन्छन् । उनको भनाइमा विद्यार्थीहरू १२ महीना खेतीपातीको काममा व्यस्त हुन्छन् । “तर परीक्षाका बेला आउँछन् । छात्रवृत्ति बाँड्ने बेलामा आउँछन् । उनीहरू छात्रवृत्तिलाई धेरै महत्व दिन्छन्”, प्रअ यादव भन्छन् ।

फुद्दिलाल प्राविबाट करीब दुई/तीन मिनेटको दूरीमा दलित समुदाय छ । १९ चैतमा त्यहाँ पुग्दा केही विद्यार्थी आँपको बगैंचामा खेल्दै थिए । केही घरमै थिए । विद्यालयमा टिफिन टाइम भएको थियो । किन स्कूल नगएको भन्दा कक्षा ४ की छात्रा कामिनीकुमारी महतोले भनिन्, “घाँस लिन गएकी थिएँ ।” कक्षा ४ कै रंजुकुमारी महरा आफ्नी आमा र काकीको झ्गडा भएकोले विद्यालय नगएकी रहिछन् ।

कक्षा ३ की एक छात्राले शुरूमा त “त्यतिकै” भनिन् । केही त कारण होला नि भनेर खोतल्दै जाँदा उनले “बिहान बाख्रालाई घाँस लिन गएकी थिएँ” भनिन् । घाँस ल्याइसकेपछि गएको भए हुन्थ्यो नि त ? फेरि सोधेपछि उनले भनिन्, “पेन्सिल छैन । लेखेन भने सरले लट्ठीले पिट्नुहुन्छ ।” कक्षा ५ मा पढ्ने उनका दाइ पनि त्यस दिन विद्यालय गएका थिएनन् । पोशाक फोहोर भएकोले उनी नगएका रहेछन् । “फोहोर लगाएर गयो भने सरले लट्ठीले पिट्नुहुन्छ”, उनले भने । उनीहरूकी आमा अनितादेवी महराको छोराछोरी पढून् भन्ने चाहना त छ तर यसरी छोराछोरी घरमै बस्दा पनि विद्यालय जाऊ भनेर पठाउन सकेकी छैनन् । कहिलेकाहीं शिक्षक आउँछन् यहाँ ? जवाफमा अनिता देवी भन्छिन्, “अहिलेसम्म त कोही पनि आएका छैनन् । एक पटक अभिभावक बैठकमा भने गएकी छु ।”

आधारभूत विद्यालय, किरतपुरका कक्षा ५ का एक छात्र पनि पोशाक च्यातिएकोले केही दिन विद्यालय नआएका रहेछन् । भएको एक जोर लुगा फाटेछ । “बुवाले नयाँ किनिदिएपछि आएको हुँ । नलगाई आयो भने सरले पिट्नुहुन्छ”, उनले भने । केही विद्यार्थीले घरमा या मामाघरमा पूजा हुँदा र खेतीपातीको बेला सघाउनुपर्दा पनि विद्यालय नआउने गरेको बताए ।
यसै विद्यालयमा कम उपस्थित हुने मध्येकी कक्षा १ की विद्यार्थीलाई कारण सोध्दा शिक्षक विभाकुमारी सिंह आफैं कारण उल्लेख गर्छिन्, “जुन दिनका लागि गृहकार्य दिएको हुन्छु, पिट्छ भन्ने डरले आउँदैन ।” पढेन भने उनले पिट्ने गरेको अरू बालबालिकाले बताए ।

घरको काम, अभिभावकको कमजोर आर्थिक अवस्था र अशिक्षाका कारण मात्र विद्यार्थी अनुपस्थित भएका छैनन्; शिक्षकबाट पिटाइ खानुपर्ने डर पनि त्यतिकै छँदैछ । विद्यालय जाऊँ जाऊँ लाग्ने र पूरै समय पढाइ सिकाइ हुने वातावरण पनि छैन । केही विद्यार्थी त महींनौसम्म लगातार नआएको अवस्था छ । तर न त उनीहरूको नाम काटिएको छ न त उनीहरूलाई विद्यालयमा ल्याउन कुनै पहल नै गरिएको छ । उनीहरूलाई नियमित गराउन कुनै सार्थक पहल र प्रयास नै गरिएको छैन ।

आधारभूत विद्यालय लक्ष्मीपुरः कक्षाकोठा फालाफाल, विद्यार्थी बरण्डामा ।

सबैला नगरपालिकाका मेयर विजयशंकरप्रसाद साह भन्छन्, “विद्यालयहरूलाई विद्यार्थी संख्या जिल्ला शिक्षा कार्यालयलाई देखाउन मात्र मतलब छ । उपस्थितिको मतलब छैन । केटाकेटीहरू आफ्नो र आमाबुबाको नाम लेख्न जान्दैनन् । यस्तो पढाइ के काम ?” अभिभावकलाई प्रेरित गर्न विद्यालयलाई चाहिएको जस्तोसुकै सहयोग गर्न उनी तयार छन् । शिक्षक व्यवस्थापनका लागि आफ्नो नगरपालिकाभित्र दरबन्दी मिलान गर्नेे उनको प्रतिबद्धता छ ।
धनुषाधाम नगरपालिका वडा नं ३ का अध्यक्ष राजकिशोर साहको बुझइमा विद्यार्थी अनुपस्थित हुनुमा दोष अभिभावकको पनि हो । “तर सबभन्दा ठूलो दायित्व प्रधानाध्यापकको हो । विद्यार्थी आउँछन् कि आउँदैनन् उसलाई चासो हुनुपर्छ”, उनी भन्छन् ।

धनुषाकै राम्रो मानिने संकटमोचन माविका प्रअ बलराम साह भन्छन्, “हाम्रो विद्यालयमा पनि यो समस्या नभएको होइन । तर पूरै समय कक्षा चल्ने र पढाइ हुने हो भने समस्या हल हुँदै जान्छ ।”

देशभरिका प्रायः सबै सामुदायिक विद्यालयमा कमजोर आर्थिक अवस्था भएकै र कम पढेलेखेका वा नपढेका अभिभावकका केटाकेटी पढ्छन् । तर अहिले धेरै सामुदायिक विद्यालयमा विद्यार्थीको उपस्थिति दर राम्रो छ । पढाइलेखाइ स्तरीय छ । ती विद्यालय पनि कुनै बेला विद्यार्थी नियमित नहुने समस्याबाट गुज्रेका हुन् । तर तिनले अभिभावक र विद्यार्थीलाई दोष लाएर होइन विद्यालयभित्रै के कमजोरी छ भन्ने पहिल्याएर त्यसलाई सुधारे । अभिभावकसम्म पुगेर हुन्छ कि उनीहरूलाई विद्यालयमा बोलाएर हुन्छ भेटघाट गरे । विशेष गरी त्यहाँका प्रधानाध्यापकहरूले योजना बनाएर काम गर्दा शिक्षक, विद्यालय व्यवस्थापन समिति, स्थानीय समुदाय र विभिन्न संघसंस्थाको साथ पाएर तिनले सफलता हात पारेका हुन् । साँच्चै नै काम गर्ने हो भने शतप्रतिशत नतिजा एकैचोटि हात नलाग्ला तर यो समस्या घटाउँदै जान भने अवश्य सकिन्छ ।

२०७५ वैशाख अंकमा प्रकाशित । 

Related Posts

/*sign up form*/