विद्यार्थीको नियमित उपस्थिति किन ?

by • • आवरणComments (0)266


कुनै पनि विद्यार्थीको सफलता वा असफलता त्यो विद्यार्थीको विद्यालय उपस्थितिमा भर पर्दछ । औपचारिक शिक्षामा विद्यार्थीको कक्षागत उपस्थिति अपरिहार्य मानिन्छ । कक्षामा विद्यार्थीको नियमित र सक्रिय उपस्थितिविनाको औपचारिक शिक्षाको परिकल्पना हाम्रा विद्यालय, महाविद्यालय र विश्वविद्यालयहरूले गरेका छैनन् । हुन त आजभोलि केही विश्वविद्यालयले अनलाइन पाठ्यक्रम तयार पारी आभासी (Virtual) शिक्षणको माध्यमद्वारा पनि विद्यार्थीलाई डिग्री प्रदान गर्न थालेका छन् । तर यसले त्यति धेरै व्यापकता पाएको छैन, र यो अभ्यास विद्यालय तहमा खासै गरिएको पनि छैन ।
कुनै पनि विद्यार्थीको निम्ति ज्ञान निर्माण, सीप सिकाइ तथा अवधारणाको स्पष्टताका लागि विद्यालयमा नियमित उपस्थित हुनु नै सबैभन्दा प्रभावकारी तरीका हो । जुन अभिभावक या बच्चाले आफ्नो विद्यालय–उपस्थितिलाई पहिलो प्राथमिकतामा राख्छन्, त्यस्ता बच्चाले विद्यालयमा राम्रो ग्रेड हासिल गर्छन्, स्वस्थ जीवन जिउने बानीको विकास गर्दछन्, कुलतबाट जोगिन सक्छन् अनि विद्यालयबाट शिक्षित हुने राम्रो अवसर प्राप्त गर्दछन् । जुन विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुन्छन् वा एकदम थोरै दिन मात्र अनुपस्थित हुन्छन्, उनीहरूको ग्रेड, पढाइ तथा लेखाइ सीप, विकास विद्यालयमा अनियमित ढंगबाट उपस्थित हुने विद्यार्थीको दाँजोमा अब्बल हुने गरेको पाइन्छ ।

जुन विद्यार्थी विद्यालयमा नियमित उपस्थित हुन्छ उसको समुदायसँग पनि बलियो सम्बन्ध बनेको हुन्छ । त्यसले विद्यार्थीलाई आफ्नो सामाजिक कौशल विकास गर्ने मौका प्रदान गर्दछ । जुन व्यक्तिको समाज र समुदायसँग गहिरो सम्बन्ध हुन्छ त्यस्ता व्यक्तिले नै भविष्यमा सफलता हासिल गर्दछन् । त्यस्तै विद्यार्थीहरू विद्यालयबाट महाविद्यालय हुँदै विश्वविद्यालयबाट दीक्षित भई देश, समाज र आफ्नो समुदायमा योगदान दिन सक्षम नागरिक बन्दछन् । यदि कुनै विद्यार्थी महीनामा दुई दिन मात्र पनि विद्यालयमा अनुपस्थित हुन्छ र उनीहरूको अनुपस्थितिलाई क्षमा दिइन्छ भने त्यसले विद्यार्थीको पढाइ र उसको जीवनमा नकारात्मक प्रभाव पारेको हुन्छ । यो कुरा पूर्वप्राथमिकदेखि सबै तहका विद्यालय, विश्वविद्यालयसम्म लागू हुन्छ ।


उदाहरणको लागि, एउटा आधारभूत विद्यालयको १, २, र ३ मा अध्ययनरत विद्यार्थीहरू औसतमा महीनामा तीन दिन विद्यालयमा अनुपस्थित हुन्छन् भने, ती विद्यार्थीहरू समग्रमा आफ्ना सहपाठी साथीहरूको दाँजोमा पढाइ सीपमा पछि पर्दछन् किनभने आधारभूत तहका १, २ र ३ पढाइ सीप विकास गर्ने महत्वपूर्ण कक्षा हुन् । यी कक्षामा विद्यार्थीलाई कसरी पढ्ने भन्ने कुरा सिकाइन्छ र प्रशस्त पढ्ने अभ्यास गराइन्छ । त्यसपछिको तह अर्थात् कक्षा ४ देखि विद्यार्थीले ‘पढ्न सिक्ने’ भन्दा पनि सिक्नका लागि पढ्नुपर्ने हुन्छ । जुन विद्यार्थी कक्षा १, २ र ३ मा बढी अनुपस्थित भएका हुन्छन्; उनीहरूको पढाइ सीपको आधार स्वतः कमजोर हुन्छ । परिणामतः त्यस्ता विद्यार्थीले कक्षा ४ वा सोभन्दा माथि सिक्न र ज्ञान निर्माण गर्न अरूभन्दा बढी संघर्ष गर्नुपर्ने हुन्छ । कमजोर पढाइ सीपका कारण जुन विद्यार्थीले सिकाइमा विशेष संघर्ष गर्नुपर्ने हुन्छ, यस्ता विद्यार्थीको विद्यालय, महाविद्यालय तथा विश्वविद्यालयमा दीक्षित हुने अवसर अरू नियमित विद्यार्थीको तुलनामा धेरै कम हुन्छ ।
यदि कुनै अभिभावकले आफ्ना छोराछोरीको विद्यालय–उपस्थितिलाई महत्व दिएर प्राथमिकतामा राख्छन् भने तिनले आफ्ना छोराछोरीको सफलताको तयारी गरिरहेका हुन्छन् । तसर्थ; यदि कुनै पनि विद्यार्थी विद्यालयमा अनुपस्थित हुन्छ भने त्यसको सही कारण बेलैमा पत्ता लगाउनुपर्दछ । त्यसको कारण शारीरिक, मानसिक, सामाजिक, सांस्कृतिक अथवा अरू के हो ? बेलैमा कारण पहिचान गरी यसको निराकरण गर्नु नै बालबालिकालाई सफलताको मार्गमा हिंड्न अभिप्रेरित गर्नु एवं सघाउनु हो ।

विद्यार्थी किन अनुपस्थित हुन्छन् ?
जो कोही अभिभावक या शिक्षकहरू आफ्ना विद्यार्थीलाई विद्यालय र जीवनमा सफल भएको देख्न चाहन्छन् । तर सफलताका सूत्रहरू त्यति सजिला र सहज हुँदैनन् । एउटा विद्यार्थी कक्षामा अनुपस्थित हुनुका धेरै कारण हुन्छन् । विद्यार्थीले ज्ञान निर्माण, सीप सिकाइ तथा अवधारणा बुझइमा संघर्ष परेको छ भने पनि उसको अनुपस्थितको दर बढ्न सक्छ । यदि विद्यार्थी कक्षामा कसैबाट उत्पीडित छ भने पनि उसले कक्षा छोड्न सक्छ । घरको वातावरण पनि विद्यार्थीको अनुपस्थितमा उत्तिकै जिम्मेवार हुन्छ । यदि विद्यार्थीको घरमा समस्या (सामाजिक, पारिवारिक, सांस्कृतिक, शैक्षिक वा आर्थिक) छ भने त्यसले विद्यार्थीको उपस्थितिमा ठाडो प्रभाव पारेको हुन्छ । अभिभावकले आफूले झेलेका समस्या सम्भव भएसम्म विद्यालय जाने उमेरका नानीबाबुहरूलाई थाहा नदिनु नै जाती हुन्छ । अभिभावकको तत्कालको समस्याले विद्यार्थीको दीर्घकालीन विकासमा नकारात्मक प्रभाव पार्ने हुनाले यसबाट आफ्ना नानीबाबुहरूलाई बचाउनु सबैको हितमा हुन्छ । कुनै विद्यार्थी यो वा त्यो बहानामा कक्षामा अनुपस्थित हुन्छ भने त्यो अनुपस्थिति, उसको पढाइ र जीवनमा एउटा तगारोको रूपमा रहिरहन्छ ।
विद्यार्थीको सिकाइप्रतिको लगाव र सिकाइ उपलब्धि बढाउन शिक्षक तथा अभिभावकहरूको ठूलो हात हुन्छ । सिकाइ भनेको विद्यार्थी विद्यालयको कक्षा कोठामा प्रवेश गरेपछि शुरू हुने र उसले कक्षाकोठा छाडेपछि अन्त्य हुने कुरा होइन । यथार्थमा विद्यार्थीले कक्षाकोठा छाडेपछि उसको विद्यालय अर्थात् सिकाइको दायरा अरू विस्तार हुने हो । कक्षाकोठाबाट घर र वरिपरिको वातावरण हुँदै पुनः कक्षा कोठा तथा सहपाठी साथीहरूतर्फ मोडिएर सिकाइको विस्तृतीकरण भइरहेको हुन्छ । यो प्रक्रियालाई अवरुद्ध हुन नदिनको लागि वा यस्तो प्रक्रियामा सहजीकरण गर्न कक्षा कोठामा विद्यार्थीको उपस्थिति अपरिहार्य हुन्छ ।
विद्यार्थीको नियमित उपस्थितिले शिक्षकलाई विद्यार्थीको सिकाइ विस्तार गर्न र घर तथा वरिपरिको वातावरणमा अन्तरक्रिया गर्न सहयोग पुग्छ भने अभिभावकलाई कक्षा कोठा तथा उसका सहपाठी साथीहरूसँगको अन्तरक्रियामा सहयोग पु¥याउन मदत गर्दछ । सिकाइ एउटा चक्रमा घुम्ने भएकोले पनि कक्षामा नियमित उपस्थिति अनिवार्य हुन्छ । अन्यथा, विद्यार्थीको थोरै अनुपस्थितिले पनि सिकाइ तथा ज्ञान निर्माणमा व्यवधान खडा गर्दछ ।
बच्चाहरू अनुपस्थित हुने अर्काे मुख्य कारण विद्यालयमा हुने प्रताडना पनि हो । यस्तो प्रताडना मानसिक वा शारीरिक दुवै हुन सक्छ र यसको कारण शिक्षक वा सहपाठी साथीहरू जो पनि हुन सक्छन् । यस्तो स्थितिबाट आफूलाई बँचाउन कुनै पनि बहाना निकालेर विद्यार्थीहरू विद्यालयबाट तर्किन या भाग्न सक्छन् । सहपाठी साथीहरूको धम्की र आक्रामक व्यवहारले उनीहरूलाई असुरक्षित महसूस गर्न बाध्य पारेको हुन सक्छ । त्यसबाट बच्न विद्यालयमा अनुपस्थित हुनु बाहेक अर्काे विकल्प उनीहरूले देख्दैनन् । यसै कारण विद्यालय प्रशासन र शिक्षकहरूले विद्यालय र कक्षा कोठामा अनि अभिभावकहरूले घरमा र समुदायमा सुरक्षित र सहयोगी वातावरण सिर्जना गर्न ध्यान दिनुपर्छ ।

विद्यालयमा विद्यार्थीको उपस्थिति कसरी बढाउने ?
एउटा विद्यार्थी एक महीनामा दुई दिन मात्रै विद्यालयमा अनुपस्थित भयो भने पनि ९ महीना विद्यालय खुल्दा ऊ १८ दिन अनुपस्थित भइसकेको हुन्छ । वर्षभरिमा कुनै विद्यालयमा १८० दिन पढाइ हुन्छ भने त्यसरी अनुपस्थित हुने विद्यार्थीले १० प्रतिशत पढाइ छुटाएको हुन्छ । यसको परिणाम त्यस्ता विद्यार्थीले विद्यालय तहबाट दीक्षित हुने ठूलो मौका गुमाउनु हो । अर्कातर्फ दैनिक विद्यालयमा उपस्थित हुनु भनेको विद्यार्थी आफ्नो सिकाइ, पढाइ र विद्यालय तथा जीवनमा सफल हुन अग्रसर हुनु हो । यो पृष्ठभूमिमा प्रश्न रहन्छ, कसरी अभिभावकले विद्यार्थीलाई नियमित रूपमा विद्यालय पठाउने ? अनि कसरी विद्यालय प्रशासनले अनि शिक्षकहरूले विद्यार्थीको नियमित उपस्थिति गराउन वातावरण सिर्जना गर्ने ?
विद्यार्थीको उपस्थितिलाई नियमित बनाउने एउटा कडी नियमित परामर्श हो । विद्यालय प्रशासनले उपलब्ध शिक्षकहरूलाई विभिन्न विद्यार्थीको ‘मेन्टर’ नियुक्त गरी उनीहरूको उपस्थिति नियमन गर्न सक्छन् । शिक्षकहरूले विद्यार्थीलाई एक–एक गरेर भेट्दा उनीहरूका समस्या बुझन सजिलो हुन्छ । मेन्टर शिक्षकहरूले आफ्ना समस्या समाधान गरिदिंदा विद्यार्थीहरू भाग्न छोडेर विद्यालयतर्फ आकर्षित चाहिं हुन थाल्छन् । विद्यार्थीहरू विद्यालयतर्फ आकर्षित हुनु भनेको उनीहरूको उपस्थिति बढ्नु हो । उनीहरू विद्यालयमा नियमित हुनु हो, सिकाइको निम्ति तयार हुनु हो ।

शिक्षकको भूमिका
कक्षाकोठामा विद्यार्थीको उपस्थिति नियमित गर्ने काममा सबैभन्दा बढी भूमिका शिक्षककै हुन्छ । यो किन पनि स्वाभाविक छ भने एउटा विद्यार्थी कक्षामा अनुपस्थित हुँदा त्यसले ल्याउने परिणामको जवाफदेही अन्ततः शिक्षक नै हुनुपर्दछ । माथि नै उल्लेख गरियो, एउटा विद्यार्थी महीनामा दुई वा तीन दिन अनुपस्थित हुनु भनेको विद्यालय आउने कुल दिनमा १० प्रतिशतभन्दा बढी अनुपस्थित हुनु हो । यस्तो अनुपस्थितिलाई गम्भीर ठानिन्छ । यदि ३ कक्षामा पढ्ने कुनै विद्यार्थी १० प्रतिशतभन्दा बढी दिन अनुपस्थित भयो भने उसको पढाइ सीपमा गम्भीर असर पर्छ । त्यस्तै, कक्षा ६ मा पढ्ने विद्यार्थी १० प्रतिशत दिन अनुपस्थित भयो भने ऊ धेरै विषयमा कमजोर हुन्छ र कक्षा ९ मा पढ्ने विद्यार्र्थी १० प्रतिशत भन्दा बढी अनुपस्थित भयो भने उसले माध्यमिक तह पढाइ छाडेर हिंड्ने संभावना अधिक हुन्छ । यो वास्तविकताले पनि विद्यालयमा विद्यार्थीको नियमित उपस्थितिको महŒव दर्शाउँछ । त्यसैले; विकसित देशहरूमा विद्यार्थीको हाजिरीलाई मूल्याङ्कनको अभिन्न अंगको रूपमा स्वीकार गरेको पाइन्छ । धेरै देशमा हाजिर भएबापत मात्रै पनि विद्यार्थीको मूल्याङ्कनमा केही अङ्क वा ग्रेड दिने चलन रहेको छ ।
विद्यार्थी, पूर्व प्राथमिक तहका हुन् या माध्यमिक तहका— विद्यालयमा उनीहरूको उपस्थिति उत्तिकै महŒवपूर्ण हुन्छ । अझ् पूर्व प्राथमिक र प्राथमिक तहमा विद्यार्थीको नियमित उपस्थिति अपरिहार्य रहन्छ किनकि यी वर्षहरूमा विद्यार्थीले गर्ने अनुभवले उनीहरूको बाँकी जीवनलाई दिशानिर्देश गर्दछ ।


विद्यार्थीको विद्यालयमा उपस्थिति सम्बन्धी काम गर्ने संस्था ‘एटेन्डेन्स वक्र्स’ ले विद्यार्थीको नियमित उपस्थिति सुनिश्चित गर्न शिक्षकहरूले गर्न सक्ने केही उपाय र विधिहरू सिफारिश गरेको छ । एटेन्डेन्स वक्र्स का अनुसार शिक्षकहरूले विद्यार्थीको नियमित उपस्थिति बढाउन निम्न कुराहरूमा ध्यान दिनु जरूरी हुन्छ ः
क) कक्षामा विद्यार्थीको नियमित उपस्थितिलाई पहिलो दिनदेखि नै जोड दिने ।
ख) शिक्षक अभिभावक बैठकमा विद्यार्थी– उपस्थितिको बारेमा कुरा गर्ने ।
ग) विद्यार्थीमा नियमित उपस्थिति हुने संस्कृतिको विकास गर्ने ।
यसमा नियमित उपस्थितिलाई पहिलो दिनदेखि नै जोड दिनु सबैभन्दा प्रभावकारी उपाय हो । यो उपाय कार्यान्वयन गर्ने सबैभन्दा सशक्त माध्यम शिक्षक नै हुन् । हाम्रो आफ्नै अनुभव र अध्ययनले पनि के पुष्टि गरेको छ भने यदि विद्यालय र समुदायले बालबालिका रमाउने वातावरण तयार पारेर अर्थपूर्ण सिकाइको मौका सिर्जना गर्न सकेको खण्डमा विद्यार्थीको उपस्थिति स्वतः बढ्छ । यसको लागि, हरेक शैक्षिक सत्र शुरू हुने पहिलो दिन शिक्षकले विद्यार्थीको नियमित उपस्थितिको महत्व र यसको लागि अभिभावकसँग कसरी सहकार्य गर्न सकिन्छ भनी विस्तृत रूपमा कुरा गर्नुपर्दछ । आधारभूत तहमा विद्यार्थीका समस्यालाई नजरअन्दाज गरियो भने ती विद्यार्थी माध्यमिक तहमा पुग्दा पनि विद्यालयबाट भाग्ने काम भइरहेको हुन्छ । यस्तो परिस्थितिबाट बच्न अभिभावकहरूलाई भने जागरुक पार्नु सिवाय अर्काे विकल्प छैन । त्यसैले शिक्षकले अभिभावकहरूलाई के तथ्य बोध गराउन सक्नुपर्छ भने– ‘महीनामा दुई दिन अनुपस्थित हुनु भनेको वर्षमा करीब १० प्रतिशत दिन अनुपस्थित हुनु हो । सिकाइ–गतिको हिसाबले त्यो १० प्रतिशत दिन भनेको विद्यार्थीका निम्ति धेरै ठूलो कुरा हो । त्यति दिनको पढाइ छुट्दा कतिपय विषय र प्रसंगमा उनीहरूको पूरै पाठ नै सदाको निम्ति छुट्न सक्छ । त्यसले समग्रमा उनीहरूको पढाइ कमजोर हुन्छ’ आदि ।
अनुपस्थिति भनेको अनुपस्थिति नै हो चाहे त्यो स्वीकार्य होस् वा अस्वीकार्य अनुपस्थिति । तथापि, व्यवहारमा, बिरामी भएर अस्पताल जानु परेको कारणले, अथवा आफ्नै घरमा मनाइने सामाजिक–सांस्कृतिक जमघटको कारणले विद्यार्थी विद्यालयमा आउन नसक्ने कुरा स्वीकार्य अनुपस्थिति मानिन्छ । तर परिवारसँगको घुमघाम र वनभोज आदि कारणले विद्यार्थी उपस्थित हुन सकेन भने त्यो चाहिं अस्वीकार्य उपस्थिति हो ।
विद्यार्थीको नियमित उपस्थितिको महत्व जति माध्यमिक तहमा हुन्छ, कक्षा १ मा पनि त्यति नै हुन्छ । पूर्व प्राथमिक तहलाई नै नियमित उपस्थितिको संस्कार विकास गर्ने थलो बनाउनुपर्छ । यदि कक्षा ६ भन्दा माथि गएर कुनै विद्यार्थीको उपस्थिति घट्न थाल्छ भने त्यो विद्यार्थीले विद्यालय छाड्ने करीब पक्कापक्की हुन्छ ।
यदि अभिभावकको कारणले विद्यार्थीले विद्यालय आउन पाउँदैनन् भने सर्वप्रथम अभिभावकले आफ्नो काम वा योजना बदल्नुपर्छ, न कि विद्यार्थीको विद्यालय उपस्थितिको कटौती । अभिभावकले आफ्ना नानीबाबुहरूलाई घरमा नियमित रूपमा ठीक समयमा सुत्ने र ठीक समयमा उठ्ने समयसारिणीको विकास गराएका छन् भने त्यसले पनि कक्षामा विद्यार्थीको उपस्थिति बढाउँछ । कक्षामा १० प्रतिशत भन्दा बढी दिन अनुपस्थित हुने बच्चाले आफ्नो मात्र पढाइ बर्बाद गरिरहेको हुँदैन, उसले सिंगै कक्षाको सिकाइको वातावरण पनि प्रदूषित बनाइरहेको हुन्छ ।
जुन अभिभावक नियमित रूपमा शिक्षक तथा प्रधानाध्यापकसँग सम्पर्कमा रहन्छन् तिनका नानीबाबुहरू अपवाद रूपमा मात्रै विद्यालयमा अनुपस्थित हुन्छन् । त्यसैले विद्यालयले पनि विद्यार्थीको उपस्थिति बढाउन परिवारसँग मिलेर काम गर्नुपर्दछ । हरेक दिन शिक्षकले विद्यार्थीको हाजिरी लिएर; गम्भीर रूपका अनुपस्थितिमा निगरानी राखेर र विश्लेषण गर्ने काम गर्नुपर्दछ । पढ्ने उमेरमा कक्षामा भन्दा घरमा बस्न रुचाउने बच्चाको भविष्य, सिकाइका दृष्टिले निराशाजनक र चुनौतीपूर्ण हुन्छ । त्यस्ताले भविष्यमा राम्रो काम पाउने सम्भावना अत्यन्त न्यून हुन्छ । त्यसैले, विद्यार्थीको पहिलो र महत्वपूर्ण काम भनेकै नियमित रूपमा विद्यालयमा उपस्थित भई सिक्नु हो । अभिभावक र शिक्षकको काम उनीहरूलाई त्यसरी सिक्न सघाउनु हो । 
(प्रिन्सिपल, यूलेन्स स्कूल)

शिक्षक  मासिक, २०७४ साउन अंकमा प्रकाशित

Related Posts

/*sign up form*/