विकलाङ्ग हैन दिव्याङ्ग भनौं, शिक्षामा अवसर दिऊँ !

by • • Highlight, नेपाल–अध्ययनComments (0)385

Print Friendly, PDF & Email

डा.तीर्थबहादुर श्रेष्ठ 

शिक्षामा समान पहुँचको विषयलाई लिएर हामी चर्चा परिचर्चा गरिरहेका हुन्छौं, तर सर्वसाधारणका लागि व्यवस्था गरिएको आम शिक्षाको पहुँचभन्दा बाहिर परेका शारीरिक, मानसिक वा बौद्धिक विकलाङ्गको जीवन विताइरहेका दिदीबहिनी, दाजुभाइ, छोराछोरी, नातिनातिनाहरूको शिक्षा–दीक्षामा आवश्यक ध्यान पु¥याइरहेका हुँदैनौं । मात्र लाचार विचार र व्यवहार दर्शाइरहेका हुन्छौं । अब त्यसो नगरौं !

दिव्याङ्ग पाएका व्यक्तिहरूको स्मरण गर्दा विश्व प्रख्यात वैज्ञानिक स्टेफेन हकिङ र हाम्रै प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरे सम्झनाको अग्रिम पंक्तिमा झुल्कन  पुग्दछन् । विश्व विख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइन पनि बाल्यावस्थाका विकलाङ्ग थिए । तीन वर्ष पुग्दासम्म उनी बोल्न सक्दैनथे ।

जीवनका सकारात्मक पक्षलाई ध्यानमा राखेर आजभोलि बोलीवचनलाई पनि परिष्कृत गर्दै जाने गरिएको छ । यस सन्दर्भमा हिजोका सम्बोधन शब्दहरू, जस्तै– अपाङ्ग, अन्धा, विकलाङ्ग आदिलाई वैकल्पिक शब्दहरूले विस्थापन गर्दै आएका छन् । पश्चिमी देशहरूले अपाङ्ग या अक्षम व्यक्ति (Disabled Person) को विकल्पमा ‘फरक क्षमता भएका व्यक्ति’ (Differently Abled Person)  भन्ने सम्बोधन प्रचलनमा ल्याएका छन् । यसै गरेर, तिनलाई विशेष आवश्यकता भएका व्यक्ति (Special Need Person) पनि भन्ने चलन छ ।

यसै प्रसंगमा, हालै भक्तपुर, दधिकोटको एक सम्मान समारोहमा पत्रकार पुरु रिसालले ‘विकलाङ्ग’ को सट्टा ‘दिव्याङ्ग’ भन्ने शब्द प्रयोग गरे । मलाई त्यसले छोयो । दिव्याङ्ग (दिव्य+अङ्ग) पाएका यस्ता व्यक्तिहरूको स्मरण गर्दा विश्व प्रख्यात वैज्ञानिक स्टेफेन हकिङ (Stephen Hawking)  र हाम्रै प्रसिद्ध साहित्यकार झमककुमारी घिमिरे  सम्झनाको अग्रिम पंक्तिमा झुल्कन पुग्दछन् । विश्व एवं ब्रह्माण्ड ज्ञानका प्रणेताका रूपमा स्थापित वैज्ञानिक हकिङ आफ्नो पाङ्ग्रे मेच (Wheel Chair) मा बसेर संसारलाई हाँक्दै छन् भने खुट्टाको औंलाले कलम च्यापेर झमक घिमिरे नेपाली वाङ्मयलाई उकास्दै छिन् । विश्व विख्यात वैज्ञानिक अल्वर्ट आइन्स्टाइन पनि बाल्यावस्थाका विकलाङ्ग थिए । तीन वर्ष पुग्दासम्म उनी बोल्न सक्दैनथे, अक्षर चिन्ने र उच्चारण गर्ने उनको मस्तिष्कको क्षमता सुस्त (Dyslexia) थियो । विश्व विख्यात संगीतज्ञ लुडविग भ्यान विथोभेनले आफ्नो श्रवण शक्ति पूर्णरूपले गुमाइसकेको अवस्थामा सिर्जना गरेको ‘सिम्फोनी’ विश्वकै एक उत्कृष्ट संगीत रचना मानिन्छ ।

त्यसो त, हाम्रा नेपाली एवं सर्वश्रेष्ठ सरोजवादक मोहनसुन्दर श्रेष्ठ नेत्रहीन थिए । श्रव्य–दृश्य दुवै शक्ति गुमाएकी हेलेन केलर एक उत्कृष्ट लेखिका, लोकप्रिय वक्ता तथा समाजसेवाको कर्मठ अभियन्ता बन्न पुगिन् । यी महान् व्यक्ति र तिनका व्यक्तित्वलाई साकार बनाउने मूल तत्व शिक्षामा नै निहित थियो । समयमा शिक्षा पाउनाले तिनका विलक्षण प्रतिभाहरू प्रस्फुटन भएको विश्वास गर्न सकिन्छ ।

शारीरिक अवयवहरूमा भन्दा मस्तिष्कका अवयवमा पुगेको आघातले मानिसमा विशेष जटिल समस्याहरू उब्जाउने गर्छ । कुनै पनि जीवात्मा आफ्नो मस्तिष्कको निर्देशन विना आफ्ना शारीरिक र मानसिक क्रिया संचालन गर्न सक्षम हुँदैनन् । तसर्थ, मस्तिष्क पक्षघात भएको अवस्थामा बालबालिकालाई विशेष प्रकारको शिक्षा एवं शारीरिक व्यायाम (Physio Theraphy)  का सेवाहरू उपलब्ध गराउनुपर्दछ । त्योभन्दा अझै  महत्वपूर्ण विषय; यस्ता बालबालिकाका आमाबुबा र परिवारजनलाई चेतनाका नयाँ आयामले सुसज्जित गर्ने हुन आउँछ । विशेष हेरचाह चाहिने बालबालिकाको शिक्षा–दीक्षा एवं शारीरिक व्यायाम घरघरमा नै पनि सुचारु गराउन आमाबुवा वा अरू अभिभावकहरूलाई आवश्यक परामर्श र तालीमको व्यवस्था अति महत्वपूर्ण  हुन्छ । आमाबुवा र परिवारले कहिल्यै आश छोड्नुहुँदैन । आश र विश्वासको भरोसामा आफ्ना यस्ता बच्चालाई हुर्काउनुपर्दछ ।

उपर्युक्त सेवा र सुविधाका विषयमा जानकारी सँगाल्ने सन्दर्भमा हालै ‘मस्तिष्क पक्षघात स्वावलम्बन समूह, नेपाल’ नामक संस्था अवलोकन गर्ने मौका मिल्यो । ललितपुर, सातदोबाटोबाट गोदावरीतर्फ जाने मूल सडकलाई करीब ५०० मिटरबाट छोडेर दायाँतिरको करीब ६ किलोमिटरको दूरी तय गरेपछि धापाखेलमा नागदहनिर पुगिन्छ । त्यसपछि चापागाउँतिर लाग्दा लगत्तै मखुँडोलको फाँटमा उक्त संस्थाको सेवा केन्द्र स्थापित छ । करीब १०/१२ रोपनीमा फैलिएको त्यस परिसरभित्र एकतले भवनहरू एकआपसमा जोडिएर लहरै ठडिएका छन् । केही दुईतले भवन पनि छन् । तिनमा प्रशासन र व्यवस्थापनका कार्यालय छन् । बालबालिकालाई भने भुईं तलामा नै सबै सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको छ । यहाँका हरेक भवनमा टेक्ने, समाउने रेलिङहरू जडिएका छन् । पांग्रे मेच सबै ठाउँमा गुड्न सक्ने व्यवस्था छ । सबै कक्षा कोठा र सेवा कक्षा तथा शौचालयहरू यति सफा छन् कि; लाज नमानी भन्नु पर्दा यो सेवा केन्द्र नेपाली भूमिमा हो कि अमेरिका–यूरोपमा भन्ने भ्रम पैदा हुन सक्छ ।

यस केन्द्रमा मस्तिष्क पक्षघात भएका दिव्याङ्ग बालबालिकालाई मात्र सेवा प्रदान हुन्छ । यहाँ अहिले करीब ३०/४० बालबालिकालाई विभिन्न समूहमा राखेर शिक्षा दिइरहेको छ । उमेर समूहका नभई मस्तिष्क क्षमताको आधारमा तिनको समूह या ‘कक्षा’ विभाजन गरिंदोरहेछ । समूहमा राखेर कक्षाकोठामा पढाइ गरिने भए पनि प्रत्येक विद्यार्थीका छुट्टाछुट्टै समस्या र आवश्यकता हुने हुनाले शिक्षकहरूको लगनशीलता यसै पनि प्रशंसनीय देखिन आउँछ । शिक्षण सामग्री पनि विशेष प्रकारका हुने नै भए ।

यस केन्द्रमा आउने छात्रछात्रालाई घुम्ती बसको व्यवस्था मिलाइएको रहेछ । काठमाडौं उपत्यकाको सवारी चाप र यहाँका सवारी साधनहरू यस केन्द्रका लागि समस्याको पेटारो हुने महसूस मैले गरें । विकसित शहर र समाजमा स्कूल बस रोकेर बालबालिका भित्रयाउदा  वा ओराल्दा अरू सवारी साधन आफैं ठप्प रोकिन्छन् । तर हाम्रोमा कसैले कसैलाई सहयोग गर्ने प्रवृत्ति नहुनाले बालबालिका उतार्ने र चढाउने समस्याले बस ड्राइभर आहत हुने गरेको पाइयो ।

धापाखेलको यस केन्द्रमा शिक्षा र सीप विकास (सिलाई, बुनाई, चित्रकला आदि) सुविधाका अतिरिक्त चिकित्सक सेवा र परामर्श, फिजियो थेरापी (शारीरिक व्यायाम), स्पिच थेरापी (वाक्य संयोजन विधि) तथा मनोवैज्ञानिक परीक्षण एवं सेवाहरू सञ्चालित छन् । यस केन्द्रका प्रमुख कार्यकारी अधिकृत विमललाल श्रेष्ठसँग केही क्षण उक्त परिसरमा विताउँदा, यो संस्थाले २५ वर्ष सेवा दिइसकेको बुझ्नि आयो । तर अचम्म के लाग्यो भने, यहाँका हरेक वस्तु नयाँ र दुरुस्त थिए । त्यसै भएर, भरखर मात्र खोलेको संस्था हो कि भन्ने भान प¥यो मेरो मनमा ।

यस संस्थाका सेवाग्राहीमध्ये प्रसिद्ध साहित्यकार झ्मक घिमिरे र चित्रकार सुन्दर श्रेष्ठको नाम अग्रपंक्तिमा आउँदो रहेछ । त्यस्तै त्यहाँ हाल अध्ययनरतहरूमध्ये केही उदीयमान नयाँ कविहरू पनि रहेछन् । शुरूमा त्यहाँ शिक्षा प्राप्त गरेर अरू पाठशालाबाट प्रवेशिका उत्तीर्ण विद्यार्थीहरू पछि गएर गणित र विज्ञानमा विलक्षण भएका उदाहरण पनि रहेछन् । तर आफ्नै पनि समस्या के रहेछ भने; उपत्यकाका राम्रा भनिने विद्यालयले समेत दिव्याङ्ग विद्यार्थीलाई आफ्नोमा प्रवेश दिन चाहँदा रहेनछन् । यो प्रवृत्तिले गर्दा यस क्षेत्रका कार्यकर्तालाई उदासीन तुल्याउँदो रहेछ ।

उमेर समूहका नभई मस्तिष्क क्षमताको आधारमा तिनको समूह या ‘कक्षा’ विभाजन गरिंदोरहेछ । समूहमा राखेर कक्षाकोठामा पढाइ गरिने भए पनि प्रत्येक विद्यार्थीका छुट्टाछुट्टै समस्या र आवश्यकता हुने हुनाले शिक्षकहरूको लगनशीलता यसै पनि प्रशंसनीय देखिन आउँछ ।

धापाखेल केन्द्रमा संचालित कार्यक्रमहरूमध्ये फूलबारी कार्यक्रम निकै उपयोगी लाग्यो । यस कार्यक्रम अन्तर्गत विभिन्न गाउँ–ठाउँबाट दिव्याङ्ग बच्चा र तिनका आमाबुवा वा अभिभावकलाई ल्याएर चार हप्ताको आवासीय दीक्षा दिइने रहेछ । त्यहाँ प्रशिक्षार्थी अभिभावकहरूका निम्ति सुविधाजनक सुत्नेकोठा, भान्साकोठा र शौचालय रहेछन् । सन् २०१३ बाट प्रारम्भ भएको यो कार्यक्रमले सन् २०१५/१६ को आर्थिक वर्षमा मात्रै ४६ जना दिव्याङ्ग बच्चा र तिनका अभिभावकलाई विशेष शिक्षा र तालीम प्रदान गरेको बुझ्यिो । यसै गरेर, घरदैलो कार्यक्रमले बर्दिया, बाँके, दाङ, बाग्लुङ, रूपन्देही, पाल्पा, नवलपरासी, तनहुँ, चितवन, पर्सा, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, सोलुखुम्बु, धनकुटा, मोरङ तथा इलाम लगायतका जिल्लामा लगभग १,४०० बालबालिका तथा अभिभावकलाई तालीम एवं परामर्श सेवा उपलब्ध गराइसकेको रहेछ । दश विभिन्न जिल्लामा दिव्याङ्ग बालबालिकालाई स्याहार–सुसार गर्ने दिवा सेवा केन्द्रहरूको पनि स्थापना भएको छ । यस्ता केन्द्रमा हुर्किएका केही विद्यार्थी सार्वजनिक एवं निजी विद्यालयमा प्रवेश पाउन पनि सफल भएका छन् ।

यसप्रकार मस्तिष्क पक्षघात स्वावलम्बन समूह नेपालको बारेमा केही जानकारी प्राप्त गरेपछि स्वभावतः ती सेवाको विस्तार र विकासमा नेपाली समाज जागरुक र सक्रिय हुनुपर्ने भावना जागेर आउँदोरहेछ । शिक्षाको न्यानो ज्योति र समाजको गहन जिम्मेवारीबाट दिव्याङ्ग बालबालिकाहरू वञ्चित नहोउन् भन्ने कुरामा सबैको ध्यान पुग्नु आवश्यक छ । विशेष गरेर, आफ्ना दिव्याङ्ग बालबालिका वा बच्चाको स्याहारसुसार एवं पालनपोषणमा लागेका अभिभावकहरू आपसमा मिलेर सामाजिक चेतनाको नयाँ आयाम पहिल्याउनुपर्ने खाँचो छ ।

मस्तिष्क पक्षघात वा अन्य कारणले शारीरिक वा मानसिक सुस्तताबाट प्रभावित बालबालिकालाई विशेष प्रकारको सेवा सुविधा र शिक्षा प्रदान गरेर तिनलाई समाजको मूल धारमा स्थापित गर्नु सिंगो समाज र मुलुकको जिम्मेवारी हो । यो एउटा परिवार वा सम्बद्ध अभिभावकले मात्रै टाउको दुखाउने विषय होइन । देशका सामुदायिक तथा निजी विद्यालयहरूले दिव्याङ्ग छात्रछात्रालाई शिक्षाको मूलधारमा समाहित गर्न केही भौतिक सुविधा र केही शैक्षिक पूर्वाधारको बन्दोबस्त गरिदिनुपर्छ । यसतर्फ शैक्षिक संस्थाहरूसँगै सरकारका सम्बद्ध अंगहरू संवेदनशील बन्न सकून् भन्ने कामना गर्न चाहन्छु । राष्ट्रिय शिक्षा पद्धतिमा दिव्याङ्ग छात्रछात्राका आवश्यकता विशेषलाई समेत मध्यनजर गरेर विकासको बाटो कोर्नुपर्ने देखिन्छ ।

२०७४ चैत अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/