राम्रोसँग नेपाली लेख्न सिकाउने किताब

by • • पुष्तक समिक्षाComments (0)1150


उच्च डिग्री धारण गरेका कैयौं नेपालीको थेगो जस्तै भएको वाक्य– ‘मलाई राम्रोसँग नेपाली लेख्न आउँदैन !’ अब कसैले दोहो¥याइरहनु पर्दैन, यदि उनीहरू साँच्चै नेपाली लेख्न चाहन्छन्, एउटा १५० पृष्ठ जतिको सानो र सरल किताब गम्भीरतापूर्वक पढ्छन् र त्यो किताब खोजेका बेला भेटिने ठाउँमा राख्छन् भने ।
भाषाको शुद्धताको प्रसंग चल्दा “म साहित्यकार हो र ?” भन्नेजस्ता नटिक्ने बहाना पनि कसैले गर्नुपर्दैन अब । एसएलसी तहसम्मको अध्ययन भएका कुनै पनि व्यक्तिको भाषिक सीप उल्लेखनीय रूपमा बढाउन सक्ने एउटा नयाँ किताब आएको छ “नेपाली कसरी लेख्ने ?” (नेकले) । यो किताबले धेरै नेपाली भाषीलाई आफ्नो भाषामा आफ्ना कुरा अभिव्यक्त गर्न सघाउनुका साथै भाषाको आँगनमा छरिएका थुप्रै थुप्रै भ्रमका कसिंगर बढारेर लेखनलाई सरल र शुद्ध बनाउन पनि मदत गर्न सक्नेछ ।
प्राध्यापन, अनुवाद तथा सम्पादनका क्षेत्रमा सुपरिचित व्यक्तित्व शरच्चन्द्र वस्तीको योभन्दा अघिल्लो कृति ‘हाम्रो भाषा’ राम्रो भाषा लेख्न खोज्नेहरूका लागि एउटा रोचक, जानकारीमूलक र प्रेरक किताब मानिन्छ । नेपाली भाषाको सरलीकरणका नाममा प्रज्ञा प्रतिष्ठान, शिक्षा मन्त्रालय तथा त्रिभुवन विश्वविद्यालयले थोपर्न खोजेका विकृतिका विरुद्ध निरन्तर आवाज उठाउने तथा मूर्धन्य भाषासेवीहरूलाई भेला गरेर ललितपुर घोषणापत्रको अग्रसरता लिने पनि उनै वस्ती हुन् । शिक्षा मन्त्रालयले २०६९ सालमा पाठ्यपुस्तक र प्रज्ञा प्रतिष्ठानको शब्दकोशमा गरेको भाषिक परिवर्तनको विरुद्धमा लड्ने समूहको अघिल्लो पंक्तिमा हिंड्ने पनि उनै थिए ।
आफू संस्कृत साहित्यको विद्यार्थी भए पनि शरच्चन्द्र वस्ती नेपाली भाषामा संस्कृतको प्रयोग सकभर कम गर्न‘पर्छ भन्छन् । ‘नेपाली कसरी लेख्ने ?’ किताबमा उनले भनेको मुख्य कुरा हो, नेपाली भाषा जसरी बोलिन्छ त्यसरी नै लेख्नुपर्छ । ६४ पृष्ठको मुख्य भाग र ८२ पृष्ठ परिशिष्ट भएको यो छरितो किताबको पछिल्लो खण्डलाई ‘शब्दानुशासन’ र ‘हिज्जेको हेक्का’ भनेर दुई भागमा बाँडिएको छ । शब्दानुशासन भनेको व्याकरणकै सरल र संक्षेपीकृत खण्ड हो । परिशिष्टका पछिल्ला ४७ पृष्ठमा ‘हिज्जेको हेक्का’ भनेर करीब २७०० शब्दको शुद्धाशुद्धि खण्ड राखिएको छ, जसमा प्रायः गलत हिज्जे लेखिने शब्दहरू र तिनको सही रूप दिइएको छ ।
‘नेकले’ को मुख्य भागलाई हिज्जे, शब्द, वाक्य, अनुच्छेद र शैली गरी पाँच खण्डमा बाँडिएको छ । यी भागहरू अगाडि “नेपाली कसरी लेख्ने ?” शीर्षकमा लेखक स्वयंद्वारा लिखित तीन पृष्ठको परिचय वा भूमिका छ । यो भूमिका खण्डले पाठकलाई किताबको सैद्धान्तिक पृष्ठभूमि बुझन र किताबबाट के अपेक्षा गर्ने भन्नेमा स्पष्ट हुन मदत गर्छ । उक्त ‘भूमिका’ को अन्त्यमा वस्ती लेख्छन्, “यो आफूले आफैंलाई हेर्न, आफ्ना गुणदोष थाहा पाउन र आफ्नो लेखाइ आफैं सुधार्न सघाउने पुस्तक हो । भाषाप्रति संवेदनशीलता जगाउनु र बाटो देखाउनु यसको अभीष्ट हो । भाषाको बाटोमा तपाईं आफैं हिंड्नुपर्छ । पुस्तकले यस यात्रालाई रमाइलो, रोचक र आनन्ददायी बनाउन सघाउने छ ।”
शरच्चन्द्र वस्ती आफ्ना पाठकलाई व्याकरणका सिद्धान्त रटाउनमा भन्दा रोचक र स्वतः सम्झ्इिने खालका उदाहरण दिई–दिई राम्रो भाषा लेख्ने तरीका सिकाउनमा केन्द्रित देखिन्छन् । हेरौं किताबका केही उदाहरणः
अस्वस्थ त ठीक हो तर विश्वस्थ हुँदैन, विश्वस्त लेख्नुपर्छ ।
दुःखसाथ हुन्छ तर आत्मसाथ हुँदैन, आत्मसात लेख्नुपर्छ ।
मद्दत त ठीक हो तर उद्दत बेठीक, उद्यत लेख्नुपर्छ ।
किताबमा उदाहरण मात्र छैनन्, व्याकरणका नियम पनि सजिलो र सम्झ्इिने किसिमले दिइएका छन् । पहिले उदाहरण दिएर सिकाउनु र पछि ती कुरालाई सैद्धान्तिक हिसाबले बुझउन खोज्नु वस्तीको सिकाउने तरीका हो । किताबको पहिलो भाग ‘हिज्जे’ मा तुलना गरी–गरी हिज्जेका कुरा सिकाइएको छ । तर अलि पछि गएर हिज्जेका सामान्य नियम र विशेष ध्यान दिनुपर्ने नियम पनि स्पष्ट रूपमा दिइएका छन् । १५ देखि २२ सम्मका पृष्ठमा दिइएका यी नियम गम्भीरतापूर्वक लेख्ने र सम्झ्नि सक्ने व्यक्ति सामान्यतया कुनै गल्ती नहुने गरी नेपाली लेख्न सक्ने हुन्छन् ।
‘नेकले’ का लेखक वस्ती भन्छन्, “हिज्जेसित खेलाँची वा लहडबाजी गर्न‘हुँदैन । गलत हिज्जेले शब्दको अर्थ मात्र फरक पार्दैन, भाषालाई भित्रभित्रै खोक्रो र कमजोर समेत तुल्याउँदै लैजान्छ । त्यसैले शुद्ध र सही हिज्जे लेख्न एकदमै ध्यान पु¥याउनुपर्छ । अशुद्ध र गलत लेखेर को पो उँभो लाग्छ र ?” पृ. १४० ।
“राम्रो लेख्नु भनेको लेखक, पत्रकार र नेपाली भाषाका शिक्षकहरूको मात्र काम हो । सबैले नेपाली भाषा शुद्ध लेख्न सक्दैनन्” भन्ने हल्ला पिटाइएको समाजमा नेपाली कसरी लेख्ने ? ले अक्षर चिनेका जति सबैलाई लेख्ने आत्मविश्वास दिन्छ । यस किताबले लेखकको भाषिक सीप सुधारिदिन्छ र आफूले लेखिरहेका कुराको सैद्धान्तिक आधार बुझन पनि मदत गर्छ ।
मुद्रणसित सम्बन्धित केही कमजोरी बाहेक किताब समस्यामुक्त देखिन्छ । शिरविन्दु र चन्द्रविन्दुसित सम्बन्धित विवादास्पद कुराका बारेमा लेखकको एउटा अन्तर्वार्तामा आएको “चन्द्रविन्दु दिंदा अन्य मात्रामा मिसिएर एकै ढिक्का जस्तो देखिने अवस्था नहोस् भनेर कतिपय ठाउँमा शिरविन्दुको प्रयोग गरिएको” भन्ने तर्क कमजोर लाग्छ । शिरविन्दु र चन्द्रविन्दुको कुरालाई अपरिमार्जित अक्षरहरूको निहुँ पारेर भन्दा उच्चारणका आधारमा निरुपण गर्नुपर्ने देखिन्छ ।
– केदार शर्मा

Related Posts

/*sign up form*/