राम्रा शिक्षक र ज्ञानार्जन

by • • चिन्तनComments (0)454

Print Friendly, PDF & Email

कृष्ण हरेश 

कक्षाको आकार, समूह, विभाजन, विविध उपकरणको व्यवस्था जस्ता कुराले विद्यार्थीको ज्ञानार्जनमा कुनै प्रभाव पार्दैनन् । सिकाइलाई प्रभावकारी बनाउने सबै तरीका एउटै कुरामा आधारित छन्ः शिक्षकले कक्षामा के गर्छन् ।

ठीक मान्नोस् अथवा बेठीक— मानव–समाजमा स्कूल–प्रणाली स्थापित भइसकेको छ । मूल धारको स्कूल होस् अथवा वैकल्पिक धारको, यस प्रणाली अन्तर्गत केटाकेटीहरू घर र आमाबाबुबाट टाढा वयस्कहरूको एउटा बेग्लै समूहकहाँ जान्छन्— जसलाई ‘शिक्षक’ भनिन्छ; र त्यहाँ उनीहरू त्यस्तो गतिविधिका निम्ति जान्छन्— जसलाई ‘शिक्षा’ भनिन्छ । स्कूलको शिक्षा धेर–थोर स्पष्ट लक्ष्यहरूका साथ गरिने गतिविधि हो; स्कूलले व्यक्तिलाई भविष्यमा कुनै पेशाका निम्ति तयार गर्ने लक्ष्य राखेको हुन्छ, अथवा त्यसो गर्ने आशा गरेको हुन्छ । स्कूलहरू, अझ् खासगरी निजी तवरबाट सञ्चालित स्कूलहरूले ज्ञानार्जनको यस परियोजनालाई व्यावसायिक तथा आर्थिक दृष्टिले आफ्नो ‘व्यापार’ का रूपमा लिएका हुन्छन् ।
स्कूल जानु केटाकेटीका लागि एउटा नियम अथवा चलन मात्र होइन; उनीहरूका आमाबाबुका निम्ति सामाजिक स्तरमा अलिक उँभोतिर पाइला सार्ने बाटो पनि हो, जससँग तिनका केटाकेटीको बौद्धिक विकास र कुनै पेशामा उनीहरूले आफ्नो स्थान वा योग्यता हासिल गर्ने कुरा अभिन्न रूपमा गाँसिएको हुन्छ । यस्ता कतिपय कारणले स्कूल–प्रणाली मानव–समाजका लागि आवश्यक बन्न पुगेको छ । केहीले शिक्षालाई मानिसमा मानवता पोषित गर्नेतर्फ प्रवृत्त आध्यात्मिक गतिविधिका रूपमा पनि हेर्ने गरेका छन् । तिनका कुरा समाजले मीठो मानेर सुन्ने गर्छ तर त्यसलाई शिक्षाको मूल बाटो बनाउँदैन ।

मूलतः स्कूल जानुलाई आज भावी जीवनको तयारीका रूपमा हेर्ने गरिन्छ र स्कूलको शिक्षालाई भविष्यको आवश्यकतासँग गाँसिएको मानिन्छ— पूर्ण गहनतासाथ अपनाइने पेशाका रूपमा, अथवा नियमित तलब आउने जागीरका रूपमा, अथवा आफ्नो इच्छा–पूर्तिका रूपमा । शिक्षामा विद्यार्थीको लक्ष्य आफ्ना आमाबाबुको (कहिलेकाहीं आफ्नै पनि) आकांक्षाबाट मात्र सञ्चालित हुँदैन, समाजका माग, सरोकार र आवश्यकताबाट पनि प्रभावित हुन्छ । र, स्कूल–प्रणाली यसबाट निरपेक्ष वा भनौं स्वतन्त्र रहन सक्तैन । त्यसैले स्कूलहरू आफ्ना विद्यार्थीलाई आजको समाजका माग र आवश्यकताहरूलाई व्यवस्थित रूपमा पूरा गर्न सक्ने अथवा भोलिको, अझ् विकसित समाजका माग एवं आवश्यकता पूरा गर्न सक्ने गरी सक्षम बनाउन वा त्यसतर्फ दिशा–निर्देशित गर्न प्रयास गर्छन् अथवा त्यस्तो गर्ने बाचा/दाबी गर्छन् ।

शिक्षकः व्यक्तिका रुपमा 
स्पष्ट छ, यस प्रक्रियामा शिक्षकको भूमिका सर्वाधिक महत्वपूर्ण  हुन्छ । तर, दुर्भाग्यवश, शिक्षकलाई यो स्कूल–तन्त्रको एउटा सामान्य पुर्जा बनाइदिने गरिएको छ । त्यस्तो पुर्जा, जसलाई निश्चित संवेग कायम राख्न आवश्यक न्यूनतम आधारको व्यवस्था गरिदिएर गति प्रदान गरिन्छ र जसको प्रयोग व्यावसायिक तथा प्राज्ञिक शिक्षणका स्थापित मान्यता एवं प्रचलनलाई कायम राख्नका निम्ति गरिन्छ ।

परन्तु, मेरो विचारमा, शिक्षक कसैका लागि, अथवा कुनै ठाउँका लागि हुँदैनन् । उनीहरू यस्ता सीमामा सीमित, संकुचित हुन सक्तैनन् । उनीहरू न त स्कूल नाम गरेका संस्थाका प्रतिनिधि हुन्छन्, न त्यस्तो समाजकै एजेन्ट हुन्छन्— जसले आफ्ना आवश्यकता पूरा गर्ने उद्देश्यले केटाकेटी/युवा दिमागहरूलाई तदनुरूप ढाल्न उनीहरूलाई रोजगारी दिएको छ । शिक्षक त ज्ञानार्जनको प्रक्रियासँग सम्बद्ध हुन आउने स्वतन्त्र खोजकर्ता हुन् । उनीहरू कुनै विचारधाराका प्रचारक होइनन्, उनीहरू त हरेक किसिमका विचारधाराका विचारशील आलोचक हुन् । उनीहरू वयस्क संसारका अनुकरणीय व्यक्ति किंवा आदर्श होइनन् । बरु उनीहरू त्यस संसारभन्दा बाहिर पाइला चाल्ने, त्यस समाजतर्फ पछाडि ध्यान दिने र त्यसमाथि टिप्पणी गर्ने वयस्क हुन्— जसलाई कैयौं वयस्कहरूले आवेशमा, र कैयौं पटक विवशतामा, चाहेर वा नचाहेर रचेका छन् । विद्यार्थीमा र तिनको सिकाइमा सोझे र पूर्ण प्रभावकारी प्रभाव छोड्ने सामथ्र्य शिक्षकमा हुन्छ । यीमध्ये कतिपय राम्रा शिक्षकले प्रायः हाम्रा निम्ति दीर्घकालिक चिन्तन र सोचविचारसँग सम्बद्ध पाठ दिएका हुन्छन् ।

जब म आफ्नो जीवनमा आएका राम्रा शिक्षकका गुणहरूको सम्झना  गर्छु त्यसवेला मलाई छर्लङ्ग हुन्छ— के कारणले उनीहरू राम्रा शिक्षक थिए । राम्रा शिक्षक आफ्ना विद्यार्थीका आवश्यकता र प्रतिक्रियाप्रति संवेदनशील, निश्शर्त स्नेही तर कतिपय अवस्थामा हप्काउने र गाली पनि गर्ने, खुला मनका व्यक्ति हुन्छन् । उनीहरू जानकार र ज्ञानवान हुँदाहुँदै पनि सिक्न तयार हुन्छन्, आफ्नो कक्षाका निम्ति राम्ररी तयार हुन्छन् र लचिला, सहज र स्वतःस्फूर्त स्वभावका— स्वप्रेरित हुन्छन् । उनीहरू सिक्न–सिकाउन उच्चस्तरको ऊर्जा दर्शाउँछन् र सिकाइको सामग्री तथा वातावरण व्यवस्थित गर्न निर्णायक अग्रसरता लिन्छन् । उनीहरू व्यवहारमा अनौपचारिक, विद्यार्थीमा ध्यान दिने, प्रतिक्रिया र पृष्ठपोषण दिन तयार अनि सजिलैसँग उपलब्ध हुन्छन् । उनीहरू कठोर हुँदाहुँदै पनि दयालु हुन्छन्, उनीहरूमा विद्यार्थी र कक्षाभन्दा पनि माथि उठेको जिम्मेदारीको गहिरो भावना हुन्छ र समय बित्दै जाँदा हामीलाई आफूजस्तै हाड–मासुका सामान्य मानिस सरह देखिन थाल्छन् । प्रायः यिनीहरूलाई आफ्नो असलपनाको अत्तोपत्तो हुँदैन त्यसैले विनम्र हुन्छन् । र, ज्यादै सराहनीय हुन्छन् ।

शिक्षणः पेशाका रूपमा
‘द इकोनोमिस्ट’ (११ जून, २०१६) मा छापिएको ‘टीचिङ द टीचर्स’ लेखप्रति हालै एकजना सहकर्मीले मेरो ध्यान आकृष्ट गराए । कक्षा सानो वा ठूलो हुनु, विद्यार्थीलाई योग्यता अनुसार व्यवस्थित गर्नु, विविध उपकरणहरूको उपलब्धता जस्ता कुरा आमाबाबुका लागि बढी महत्वपूर्ण  लाग्छन् । तर सफल–सिकाइमा यस्ता तमाम कुराले लगभग कुनै प्रभाव पार्दैनन् । सिकाइको सफलता सबैभन्दा बढी शिक्षकको कौशलबाट प्रभावित हुन्छ । अर्थात्, आफ्ना विद्यार्थीसँग कक्षामा शिक्षकले के गर्छ भन्ने कुराले विद्यार्थीको सिकाइ कति सफल हुन्छ अर्थात् तिनले कति राम्ररी सिक्छन् भन्ने कुरालाई सर्वाधिक प्रभावित पार्छ ।

उक्त लेखले भन्छः
पोहोरसाल नवीकरण गरिएको एउटा अध्ययनमा मेलबोर्न युनिभर्सिटीका प्राध्यापक जोन हेट्टीले विभिन्न देशका २५ करोड विद्यार्थीको ज्ञानार्जनका क्रममा भएका सयौं प्रयास र कार्यहरूको प्रभावका बारेमा गरिएका ६५ हजारभन्दा बढी अनुसन्धान–पत्रका निष्कर्षको मूल्याङ्कन गरे । निचोडका रूपमा उनले के पाए भने कक्षाको आकार, युनिफर्म, योग्यताका आधारमा विद्यार्थीको समूह बनाउनु जस्ता कुराले— जसका बारेमा आमाबाबुहरूले बढी ध्यान दिन्छन्— केटाकेटीले सिक्छन् वा सिक्तैनन् भन्ने कुरामा कुनै प्रभाव पार्दैनन् । सबैभन्दा महत्वपूर्ण कुरा ‘शिक्षकको दक्षता’ हो । अध्ययनबाट पत्ता लागेका, स्कूलमा ज्ञानार्जन (सिकाइ) लाई प्रभावकारी बनाउने सबै २० तरीकाहरू एउटै कुरामा आधारित थिएः शिक्षकले कक्षामा के गर्छ ?

यो उदेकैलाग्दो कुरा जस्तो त तपाईंलाई नलाग्ला; तर यसबारे गरिएका अध्ययनको बृहत् आकार र विशाल संख्यालाई ख्याल गर्ने हो भने यो निकै महत्वपूर्ण  निष्कर्ष हो । यस्तो निष्कर्ष, जसअनुसार शिक्षाको विशाल व्यवस्थामा प्रभाव र परिवर्तनको मुख्य संवाहक निर्विवाद रूपमा शिक्षक नै रहेछ भन्ने स्थापित हुन्छ ।

यसबाहेक, उक्त लेखले के पनि भन्छ भने, राम्रो शिक्षक भनेको जन्मजात, स्वाभाविक कलात्मक प्रतिभा हो । शिक्षकले जन्मदै यी गुण लिएर आएको हुन्छ । प्रायः र धेरैले यस्तो विश्वास गर्छन् । कतिपय, दुर्लभ मामिलाहरूमा यो कुरा सही हुन सक्छ । तथापि, के पनि स्पष्टै छ भने, कक्षामा राम्रो शिक्षण गर्नु भनेको एउटा परिष्कृत र दक्षतापूर्ण सीप हो, जसका बारेमा सिक्न र जान्न सकिन्छ । दक्षताहरू सिक्न सकिन्छ, तिनलाई तिखार्न सकिन्छ, सिकाउने प्रविधि राम्ररी जान्न–बुझन र लागू गर्न सकिन्छ । यसबारे प्रशस्त अनुसन्धान भएका छन्, जसका निष्कर्ष र तिनले सुझएका उपाय प्रभावकारी हुन सक्छन् । प्रभावशाली शिक्षण प्रक्रियाहरूका बारेमा जान्नु–सिक्नु र तिनको प्रयोग गर्नु लाभदायक नै हुन्छ । (‘द इकोनोमिस्ट’को उक्त लेख शिक्षक, साउन २०७३ को अंकमा प्रकाशित छ । –सं.)

राम्रो शिक्षण; राम्रो शिक्षक
प्रभावशाली शिक्षण प्रविधिहरू त समय–समयमा लागू गर्दै, दोहो¥याउँदै जानुपर्छ नै; तर मेरो विचारमा, हामीमा शिक्षण र सिकाइको त्यो संस्कृति बुझन पनि रुचि हुनुपर्छ— जसको निर्माणमा हामी योगदान गरिरहेका हुन्छौं । म यस्ता केही प्रश्नहरूमाथि संक्षेपमा चर्चा गर्न चाहन्छु । यी ती प्रश्न हुन् जसबाट म शिक्षणको आफ्नो यात्रामा प्रेरित भएको छु । यिनले कक्षाको वातावरण त परिवर्तन गर्न सक्छन् नै, शिक्षणबारे उपयोगी हुनसक्ने सोचाइ र विचारलाई पनि जन्म दिन सक्छन् ।
यहाँनेर, शुरूमै ध्यान दिनुपर्ने कुरा के हो भने, राम्रो शिक्षकलाई स्वीकार्नु महत्वपूर्ण हो, तर हामीले यसभन्दा अघि बढेर राम्रो शिक्षणका बारेमा सोच्नु र त्यसलाई खोज्नु–जाँच्नु जरूरी हुन्छ । केही विशेष व्यक्तिहरूलाई राम्रो शिक्षकका रूपमा मान्यता दिएर मात्र हुँदैन । महत्वपूर्ण कुरा त सिक्नु–सिकाउनु, शिक्षण र ज्ञानार्जन नै हो; शैक्षिक प्रक्रियाको केन्द्रमा यही हुन्छ । एउटा शिक्षकलाई राम्रो वा खराबका रूपमा मूल्यांकित गर्नाले ध्यान व्यक्ति र उसको विशेष सामथ्र्यमा आवश्यकता भन्दा बढी केन्द्रित हुन्छ । यस क्रममा, कुनै भूमिकाको सन्दर्भमा कुनै व्यक्तिको मूल्यांकनको पृष्ठभूमि वा आधारमा कुनै विशेष मान्यता रहने गर्छ, जस अन्तर्गत उसलाई अपरिवर्तनीय योग्यता भएको, सुपरिभाषित, लगभग स्थायी पहिचानवाला व्यक्तिका रूपमा लिइन्छ । यसलाई हामीले संशयात्मक दृष्टिले हेर्नुपर्छ ।

यी मेरा आफ्नै विचार होइनन्; अन्य कैयौं विचारकहरूबाट प्रेरित छन् । म यहाँ गत शताब्दीका सुपरिचित विचारक तथा वक्ता जे. कृष्णमूर्ति (जसले जीवन र शिक्षाका बारेमा प्रशस्त संवाद गरेका छन्) द्वारा उठाइएका केही प्रश्न अघि सार्न चाहन्छु । मलाई लाग्छ, शिक्षण र ज्ञानार्जनको प्रक्रियालाई ज्ञानयुक्त बनाइराख्न यी प्रश्नहरूलाई जीवित राख्ता एउटा राम्रो शिक्षक तयार हुन्छ ।

सही सम्बन्ध हुनुको अर्थ के हो ?
के लाग्छ भने, सिकाइको केन्द्रमा सम्बन्ध हुन्छ— कम्तीमा, स्कूलमा त अवश्य नै हुन्छ । विद्यार्थी र शिक्षकका बीचमा मात्र इमानदार, खुला दिमागको सम्बन्ध होइन; अपितु सहकर्मी, शिक्षक र आमाबाबुहरूका बीचमा पनि । यसको अर्थ के हो भने, व्यक्तिका रूपमा उसको अरू कोहीसँग प्रतिस्पर्धाको भावना हुने छैन । साथै, शिक्षाको प्रक्रियामा सामथ्र्य र महत्वपूर्ण को अर्थमा अरू कसैसँग उसको तुलना गरिने छैन ।

यस क्रममा, विद्यार्थीलाई ऊ जस्तो छ त्यही रूपमा हेर्न सम्भव हुन्छ ? अर्थात् उसको सिकाइको अनुभवलाई अरू कसैसँग तुलना नगरी जस्तो छ त्यस्तै हेर्न/स्वीकार्न सकिन्छ ? विद्यार्थीहरूबाट अनुमोदन र प्रशंसा प्राप्त हुनुपर्ने आफ्नो आवश्यकताप्रति शिक्षक जागरुक र सतर्क हुन सक्छ ? सम्बन्धलाई यसरी स्थापित गर्न सकिन्छ, जसमा पूर्ण र गहिरो रूपमा जिम्मेदारीको भाव होस्; जसमा निजी हित र व्यक्तिगत महत्वाकांक्षा प्रकट हुन थाले भने तिनलाई हामीले सजग भएर हेर्न सकौं ।

कक्षामा अनुशासन भनेको के हो ?
कक्षालाई नियन्त्रित गर्नु राम्रो शिक्षकको सबैभन्दा विशेषता मानिन्छ । कडा अनुशासन पालन गराउनु र तदनुरूप व्यवस्था स्थापित गर्नुले शिक्षक र अरूको पनि मनमा गहिरो आश्वस्ति–भाव पैदा गरेको देखिन्छ । अव्यवस्थित र अराजक कक्षा नै ठीक भन्ने मेरो मनसाय होइन । तर बढी राम्रो र सही चाहिं के हुन्छ भने, ज्ञानार्जनको प्रक्रियालाई निर्धक्क भएर खुल्न दिइयोस् र यस क्रममा शिक्षकको ज्ञान र अनुभवको सत्तालाई हाबी हुन नदिइयोस् । प्रिय र सहज सम्बन्ध कायम भएपछि यी दुवैले उचित आदर–सम्मान पाउने नै छन् । एकातिर विषयवस्तु नै राम्ररी थाहा नहुनु अथवा कक्षामा विद्यार्थीसँग सही व्यवहार गर्न नजान्नुले सिकाइ प्रक्रियालाई अस्पष्टतातिर लैजान्छ भने अर्कातिर यसको विपरीत स्थितिमा पनि प्रभावशाली ज्ञानार्जन हुन्छ भन्ने कुनै सुनिश्चितता छैन । कक्षामा अनुशासन भनेको विद्यार्थीको व्यवहारमा कठोर नियन्त्रण होइन, सिकाइको जिज्ञासालाई प्रोत्साहित गर्ने वातावरण हो । दमनकारी अथवा दबाबपूर्ण शिक्षक–विद्यार्थी सम्बन्धमा यस्तो सम्भव हुँदैन ।

भय र विरोधको प्रभाव कस्तो ?
अब स्कूलहरूमा कार्य–प्रदर्शन (परफरमेन्स)को मात्र कुरो हुन थालेको छ । तर त्यो ज्ञानार्जनको भरपर्दो मापदण्ड हुन सक्तैन । कार्य–प्रदर्शन र कार्य–मूल्यांकन विद्यार्थीको दक्षता–वृद्धि बुझने उपाय वा ‘उपकरण’ हुन् । तर, यी उपकरणको निरन्तर प्रयोग कसैको ज्ञानार्जनका बारेमा निर्णय लिन, र सिकाइलाई केवल प्रदर्शन र ज्ञानको संग्रहसँग जोडेर गर्न थालिएपछि शिक्षक र विद्यार्थी दुवैमा चिन्ता र आतेस मात्र पैदा हुन्छ । यी उपकरण सिकाइको समग्र प्रक्रियाका प्रतिबिम्ब वा स्थानापन्न हुन सक्तैनन् । स्कूलहरूमा कक्षाकोठा र सम्बद्ध विषयले ज्ञानार्जनको आनन्दको ठाउँमा कार्य–प्रदर्शनसँग सम्बद्ध भय विद्यार्थीको मानसमा बसाइदिन्छन् । राम्रो प्रदर्शन गर्न नसकिएला कि भन्ने भयले समग्र ज्ञानार्जन प्रक्रियामा बाधाको काम गर्छ— एउटा विषयको प्रदर्शन अथवा एउटा ‘सम्बन्ध’ सँग सम्बद्ध भयको अर्थमा मात्र नभएर स्वयं भयका बारेमा सिक्ने–बुझने अर्थमा समेत । सिकाइ एउटा भावनात्मक अनुभव हो— हामी जति मान्न तयार छौं, त्यसभन्दा पनि बढी । यो कुरा हृदयंगम गर्न सक्यौं भने हामीले काम गर्नुका प्रति विरोधको समस्या सुल्झाउने  संकेत वा बाटो पनि फेला पार्न सक्छौं । यस अवस्थामा हामीलाई शायद कुनै बाहिरी उत्प्रेरकको आवश्यकता पनि पर्ने छैन ।

प्रेरणालाई कसरी बुझने ?
वयस्कका रूपमा हामी आफ्नो जीवनमा विभिन्न प्रकारका हिंसाहरूलाई निरन्तर कायम राख्न प्रवृत्त जस्ता देखिन्छौं । ज्ञानार्जनका समस्याहरूलाई सम्बोधित गर्न दण्ड र पुरस्कार दिने प्रवृत्ति यसकै एउटा उदाहरण हो । दण्ड हिंसात्मक किन हुन्छ भन्ने त छिट्टै स्पष्ट भइहाल्छ, तर पुरस्कार पनि हिंस्रक हुन्छ भनेर बुझन अलिक समय लाग्छ— किनभने यो त्यति स्पष्ट देखिंदैन । मेरो विचारमा, जब हामी अपेक्षित व्यवहार वा प्रदर्शनलाई छानेर पुरस्कार दिन्छौं अनि त्यसलाई अनुकूल व्यवहारसँग जोड्छौं– हिंसा त्यहीं हुर्किन थाल्छ । बाँकीका प्रति हिंसा; अनि अरूलाई पछार्ने–पछि पार्ने मनोवृत्तिसँग गाँसिएको हिंसा— जो जीवनभर बढ्दै मात्र जान्छ । प्रेममय एवं सच्चा मनले गरिएको प्रशंसा, त्यसरी दिइएको प्रोत्साहन अनि उचित गाली वा हप्काइको कुरा भने बेग्लै हो ः यहाँ मैले तिनको कुरा गरेको होइन ।

दण्ड र पुरस्कारको एकांगी व्यवस्थाले हाकिम/अधिकारीका आदेशहरूप्रति प्रश्नहीन आज्ञाकारिता, निजत्व गुमाएर गरिने अनुकूलन र रचनात्मकताको दमनलाई उन्नयन गर्छ । गणित र अंग्रेजी सिक्नु–सिकाउनु एउटा कुरा हो, कसैलाई गणित र अंग्रेजी सिक्न चतु¥याइँका साथ संचालित गर्नुका पछाडि निहित हिंसालाई देख्नु र जान्नु अर्को कुरा ।

चार उपशीर्षकमा चर्चा गरिएका यी चार प्रश्न शिक्षकका लागि त्यसवेला प्रत्यक्षतः प्रासंगिक प्रतीत हुन्छन्, जब ऊ ज्ञानार्जनको कुनै स्थलसँग सम्बन्ध कायम गरिरहेको हुन्छ । यसबाहेक पनि, जटिल देखिने केही प्रश्न यस्ता छन्, जसलाई कुनै पनि शिक्षकले शिक्षणको काम गर्दा उपेक्षा गर्न सक्तैन ।

अनुकूलन र ध्यान
के बुझनु जरूरी छ भने, जीवनमा हाम्रो प्रेरणा र भय हाम्रा आफ्ना मात्र हुँदैनन् । ती समाजका रूपमा हाम्रो चेतनाका साझ हिस्सा हुन्छन् र कैयौं पुस्तादेखि अत्यन्त मिहीन तवरले अनुकूलित हुँदै आएका हुन्छन् । असफल हुने भय, भविष्यको भय, सत्ताको भय आदिलाई खास किसिमले महसूस गर्न हामी अनुकूलित हुन्छौं । हाम्रा भावनाले कुनै कुराका बारेमा हामी कसरी सोच्छौं भन्ने बारे त शायद धेरै बताउन सक्लान् तर संसारको वास्तविक प्रकृतिका बारेमा बताउन सक्तैनन् । आफूभित्र यस अनुशीलनको गतिशीलता देख्न, त्यसको अवलोकन गर्न सकेको खण्डमा यसको दह्रो पकडबाट हामी स्वतन्त्र हुन सकौंला कि ?

प्रायः कस्तो आशयको कुरा गरिन्छ भने, हामीले कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न सक्ने तरीका वा प्रक्रिया विकसित गर्नुपर्छ, अन्यथा हामी असावधानी र लापरबाहीको भुमरीमा हराउन सक्छौं । तर, मानिलिनोस्, मानव–मस्तिष्क सिक्नका निम्ति सधैं तयारै भयो भने के होला ? हाम्रो मस्तिष्कमा लगातार उत्पन्न भइरहेका, व्यक्तिगत अनुभवबाट सृजित सशक्त भावनाहरू अनि वर्तमान व्यवस्थाका निम्ति खतरनाक विचारहरूले सिकाइ र ज्ञानार्जनको बाटोमा अवरोध खडा गरे भने के होला ? त्यसवेला के होला, जब यस्ता अवरोध, असावधानी र ध्यानहीनताको अवलोकन गर्नु नै ‘ध्यान दिनु’ हुन पुग्ला ?

अनुभवको प्रकृति र अनुभवकर्ता
धेरैलाई लाग्न सक्छ, यो त भिक्षु अथवा तपस्वीले सोच–विचार गर्ने विषय हो, शिक्षक र विद्यार्थीले सोच्ने विषय होइन । तर हाम्रा निम्ति यी प्रश्न महत्वपूर्ण  छन् किनभने हाम्रो ‘स्वत्व’, हाम्रो ‘अहम्’ नै त त्यो लेन्स हो, जसबाट गुज्रेर संसारको हाम्रो अनुभव तयार हुन्छ । र, हामी यी अनुभवका बारेमा अत्यन्त कम बोध राख्ने प्रतीत हुन्छौं किनभने हामी स्वयं यो ‘लेन्स’ का बारेमा पर्याप्त जान्दैनौं, सिक्तैनौं, ध्यान दिंदैनौं । के सिकिंदैछ र कसरी त्यो कुरा अझ् राम्ररी सिक्न सकिन्छ भन्ने बारेमा हाम्रो जिज्ञासालाई राम्रो शिक्षण प्रक्रियाले निश्चय नै बढाउँछ— एउटा राम्रो उत्प्रेरक अर्थात् शिक्षकको माध्यमद्वारा । यसभन्दा पनि महत्वपूर्ण  कुरा कसले सिकिरहेको छ भन्ने अवलोकन गर्नु किंवा त्यो स्वत्व र अहम् (अर्थात् स्वयं) लाई हेर्नु हो, जसले अरूका प्रति हाम्रो भूमिका सधैं निर्धारित गरिरहेको हुन्छ; जसले बारम्बार स्वयंलाई प्रदर्शित गरिरहेको हुन्छ— शिक्षक वा विद्यार्थी वा अभिभावक वा अन्य कुनै रूपमा ।

यो व्यक्तिगत अहम्को, अनि आफू स्वयं र संसारका बारेमा सत्यका रूपमा एकत्रित गरिने ससाना कथ्यात्मक तथ्यहरूको प्रकृति र स्वभाव के हो ? हामीले यो सबै कुराका बारेमा विद्यार्थीसँग कुराकानी/सक्रिय संवाद गर्नुपर्छ । त्यसले यस्ता सोच–विचारको ढोका खोल्न सक्छ जसले स्कूलबाट शुरू भएर पूरै जीवनभरि हाम्रो सिकाइमा प्रभाव पार्न सक्छ ।

र अन्त्यमा
प्रायः कक्षामा र मन्थर गतिबाट चल्ने जीवनमा राम्रा शिक्षक भेटिन्छन् । राम्रो शिक्षकको माध्यमबाट राम्रो शिक्षणले मानिसभित्र एउटा आगो सल्काउँछ, एउटा जिज्ञासु मस्तिष्क जन्माउँछ अनि राम्रो शिक्षालाई सम्भव बनाउँछ । त्यस्तो शिक्षा, जो विशेष विषयहरूको ज्ञानको क्षेत्रसम्म मात्र सीमित रहँदैन । त्यस्तो शिक्षा, जसले निरन्तर अवलोकन र आफूभित्र तथा बाहिरको संसारलाई देख्ने–सुन्ने प्रक्रियालाई जीवित र जीवन्त राख्छ । ७

बंगलोर (भारत) को एउटा सानो स्कूल ‘सेन्टर फर लर्निङ’ मा कार्यरत लेखक मनोविज्ञान, काष्ठकला र रंगमञ्चका बारेमा पढाउँछन् ।
साभारः लर्निङ कर्भ, फेब्रुअरी २०१७

भाषान्तर/सम्पादनः शरच्च­­न्द्र वस्ती
२०७४ चैत अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/