राम्रा र विचारशील प्रश्न गर्न कसरी सिकाउने ? ? ?

by • • कक्षाकोठाComments (0)746

Print Friendly, PDF & Email

 

 

 

 

 

 

 

 

मन्तव्य राख्नुको साटो सीधै प्रश्न गर्ने गर्नुहोस् !
प्रश्न सोध्नु शिक्षण कलाको आधारभूत पक्ष हो । प्रश्न सोध्नु र प्रश्न सोध्न विद्यार्थीलाई प्रोत्साहन दिनु जवाफ दिनुभन्दा कता हो कता महत्वपूर्ण कुरा हुन् । विद्यार्थीलाई आफैं अवलोकन गरेर, विश्लेषण गरेर, एकापसमा ज्ञान आदानप्रदान गरेर, तर्कसंगत विचार निकालेर, किताब पढेर, अनुसन्धान गरेर, परीक्षण गरेर, अरू मानिससँग छलफल गरेर उनीहरूका आफ्नै जवाफ पत्ता लगाउन प्रोत्साहित गर्न सकिन्छ । शिक्षकको प्रवचन र व्याख्या सुनेर जवाफ पहिल्याउने कुरा त छँदैछ ।
कक्षामा विद्यार्थीलाई कुनै कुरा भन्नुभन्दा पहिले शिक्षकले विद्यार्थीकै मुखबाट आफूले भन्न लागे जस्तै जवाफ प्राप्त गर्न सघाउने कुनै प्रश्न सोध्न सकिन्छ कि भनी सोच्नुपर्छ । आफूले भन्न आँटेका कुरा केही विद्यार्थीलाई पहिल्यै थाहा भइसकेको छ कि भनेर पनि चेक गर्नुपर्छ ।
विद्यार्थीले कुनै कुरा सोधे भने त्यसको सबैभन्दा उत्तम जवाफ शिक्षकले त्यस्तो प्रतिप्रश्न सोध्नु हो जसले विद्यार्थीलाई आफैं मौलिक जवाफ पत्ता लगाउन सघाओस्; प्रेरित गरोस् ।
राम्रा प्रश्न कसरी सोध्ने भन्ने कुरा थाहा पाउँदा मूल्याङ्कन गर्न पनि सजिलो हुन्छ । सामान्यतया, मूल्याङ्कन गर्नका लागि जाँच र परीक्षा लिइन्छ तर मूल्याङ्कन भनेको सधैंभरि भइरहने, अनौपचारिक प्रक्रिया पनि हो । शिक्षण र मूल्याङ्कन सँगसँगै जाने कुरा हुन् ।
मूल्याङ्कन परिणामको उपयोग विद्यार्थी, शिक्षक र अभिभावक सबैले गर्न सक्छन् । खासगरी मूल्याङ्कनले विद्यार्थीले कति सिकेछन्, कुन कुरामा उनीहरूले बढी ध्यान दिनुपर्छ, उनीहरूले कुन सीप सुधार्नुपर्छ, उनीहरूले कुन कुरा गलत ढंगले बुझेका छन् अनि कुन सीप र कुन विषयमा उनीहरू राम्रा छन् भन्ने थाहा दिन्छ । मूल्याङ्कनका आधारमा शिक्षक र अभिभावकलाई पनि आफ्नो शिक्षण कति प्रभावकारी भएछ भन्ने थाहा हुन्छ । कुन सामग्री, कसरी सिकाउने भन्ने विषयमा अभिभावक र शिक्षकले बाटो देख्छन् । समग्रमा मूल्याङ्कनले उत्साह जगाउनुपर्छ; कसैलाई हतोत्साहित गर्नुहुँदैन ।
शिक्षकले विद्यार्थीलाई माथिल्लो तहको चिन्तन गर्न लगाउने खालका अर्थात् बुझन, बुझेको कुरा उपयोग गर्न, त्यसलाई अर्का कुरासँग तुलना गर्न, वर्गीकरण गर्न, संश्लेषण गर्न, मूल्याङ्कन गर्न, भविष्यको आकलन गर्न, न्याय–अन्याय, ठीक–बेठीक छुट्याउन, आफ्ना विचार व्यक्त गर्न, सिर्जनशील हुन र आफूले अध्ययन गरेका विषयमा रम्न लगाउने अनि त्यस विषयमा अझ् बढी रुचि जगाउने प्रश्न तयार पार्न सक्नुपर्छ ।
विद्यार्थीलाई कस्ता प्रश्न सोध्ने भन्ने कुरा उनीहरूले कस्तो ज्ञान र अनुभव हासिल गरिसकेका छन् तथा आफूले कक्षामा कुन अवधारणा लिएको छु भन्ने कुरामा निर्भर गर्छ ।

रटेको कुरा दोहो¥याएर जवाफ दिइने भन्दा फरक खालका सोध्नु किन जरूरी छ ?
उदाहरणका लागि, यो प्रश्न हेर्नुहोस्ः सप्तगण्डकी नदी नारायणघाटबाट देवघाटतिर बग्छ कि देवघाटबाट नारायणघाटतिर ?
यो प्रश्नको जवाफ सम्बन्धी ज्ञान दुई किसिमले दिन सकिन्छ । पहिलो, नारायणी नदी देवघाटबाट नारायणघाटतिर बग्छ भनी सीधै बताइदिएर । दोस्रो, विद्यार्थीलाई तत्सम्बन्धी विभिन्न क्रियाकलाप गर्न लगाएर । जस्तो– सप्तगण्डकीको पानी हिमालपारिदेखि आएर कसरी भारत पस्छ भन्ने कुरा बुझउन माटो र पानीको उपयोग गरेर हिमाल र नदी बनाउन लगाउने । त्यसपछि नक्शा हेरेर हिमाल कहाँ पर्छ, नेपाल–भारत सीमाना कहाँ पर्छ, देवघाट र नारायणघाट (माथिल्लो कक्षाका विद्यार्थीलाई यो अभ्यास गराउँदा यी ठाउँको उँचाइ पनि पत्ता लगाउन दिंदा राम्रो हुन्छ) कहाँ पर्छन् भनी पत्ता लगाएर तपाईंले सोधेको प्रश्नको जवाफ पहिल्याउन लगाउने ।
दोस्रो तरिका अपनाउँदा धेरै समय लाग्छ र शक्ति पनि धेरै खर्च हुन्छ । तर यसो गर्दाः
– भूगोलप्रति विद्यार्थीको रुचि जाग्छ ।
– एउटा उपयोगी सिद्धान्त (पानी अग्लो ठाउँबाट होचो ठाउँतिर बग्छ) बारेमा उनीहरूले थाहा पाउँछन् जसले यस्ता अरू धेरै प्रश्न हल गर्न सहयोग गर्छ ।
– उनीहरू थप प्रश्न सोध्न र तिनको जवाफ पत्ता लगाउन सक्ने हुन्छन् ।
– उनीहरू बढी गहन किसिमले सोच्न सक्ने हुन्छन् ।
– उत्तर सजिलै सम्झ्न सक्ने हुन्छन् ।

सम्झ्न होइन बुझन लगाउने
विद्यार्थीले पहिल्यै थाहा पाइसकेका अथवा जवाफ दिइसकेका विषयमा प्रश्न सोधियो भने त्यो उनीहरूलाई जानिसकेका कुरा सम्झ्न लगाएको मात्र हुन्छ । यसको सट्टा, विद्यार्थीले यसअघि नसोचेका अथवा थाहा नपाएका विषयमा प्रश्न गर्नुपर्छ । एउटै प्रश्नले कुनै विद्यार्थीलाई जानिसकेको कुरा सम्झ्न लगाउन सक्छ भने कुनै विद्यार्थीलाई नयाँ कुरा खोज्न लगाउन सक्छ । यो कुरा विद्यार्थीले त्यस विषयमा कति जानेको छ भन्नेमा निर्भर गर्छ । उदाहरणका लागि, शिक्षकले यस्तो प्रश्न सोधे, “आजको युगमा पनि केही मानिस खेती नगरेर किन घुमन्ते जीवन बिताइरहेका होलान् ?” आफू बसेको जंगलमा प्रशस्त खानेकुरा पाइने भएकाले केही मानिस अहिले पनि खेती गर्नुको सट्टा जंगलमा फलेका खानेकुरा खाएर जीवन बिताइरहेका छन् भनी विद्यार्थीलाई यसअघि नै बताइसकिएको छ भने उनीहरूले पहिला बताइएका कुरा सम्झ्एि मात्र पुग्छ । तर विद्यार्थीलाई घुमन्ते मानिस कसरी बस्छन्, खेतीवाल मानिसहरू कसरी बस्छन् भन्ने कुरा मात्र बताइएको छ तर उनीहरूले किन त्यसो गर्छन् भन्ने बताइएको छैन भने विद्यार्थीले त्यसको कारण खोज्न मिहिनेत गर्नुपर्छ ।

तुलना गर्न लगाउने
संसारका विभिन्न भागका भौतिक र राजनीतिक पक्षका बीचमा तुलना गर्न लगाउने । इतिहासका विभिन्न काल र ठाउँका बीचमा तुलना गर्न लगाउने । विभिन्न राजनीतिक प्रणालीका बीचमा तुलना गर्न लगाउने । विभिन्न मानिसका दृष्टिकोणका बीचमा तुलना गर्न लगाउने ।

वर्गीकरण गर्न लगाउने
एटलासमा भएका नक्शा हेरेर सबैभन्दा बढी मरुभूमि भएको देश (अथवा सबैभन्दा बढी पहाड भएको देश, अथवा सबैभन्दा बढी मात्रामा कृषिमा आश्रित देश) कुन हो भनी पत्ता लगाउन लगाउने । नक्शा हेरेर सबैभन्दा बढी धान फलाउने ठाउँ कुन हो र सबैभन्दा बढी गहुँ फलाउने देश कुन हो भनी पत्ता लगाउन लगाउने । नेपालको नक्शा हेरेर हालका कुन कुन जिल्लालाई पहिले ‘नेपाल’ भन्ने गरिन्थ्यो भनी पत्ता लगाउन लगाउने ।

विश्लेषण गर्न लगाउने
निश्चित ज्ञान र सीपलाई नयाँ समस्या हल गर्न उपयोग गर्न लगाउने
– दुईवटा ठूला अंकको गुणनफल निकाल्न दुना सम्बन्धी ज्ञान उपयोग गर्न लगाउने ।
– विभिन्न वस्तुको नाप निकाल्न लगाउने ।
– नक्शा हेरेर कुनै निश्चित शहरको अक्षांश र देशान्तर पत्ता लगाउन भन्ने ।
– ग्राफ पेपरको उपयोग गरेर कुनै निश्चित जिल्लाको क्षेत्रफल पत्ता लगाऊ भन्ने ।
– नेपालमा यति धेरै भाषा किन बोलिएका हुन् जस्तो लाग्छ ? जवाफ दिन लगाउने ।

किन ?
कुनै जवाफ किन सही हो अथवा कुनै कुरा किन हुन्छ, किन भयो भन्ने खालका प्रश्न सोध्ने । उदाहरणका लागि,
– ७x(६+३) भन्दा (७x६)+३ किन कम हुन्छ ?
– बुद्धले राजपाट किन त्यागे ?
– कछुवा चिप्लेकीराभन्दा किन छिटो हिंड्छ ?
– ठाउँको उँचाइ बढ्दै जाँदा त्यहाँ पाइने रूखको उँचाइ किन घट्दै जान्छ ?
– .५ र .५० कसरी बराबर हुन्छ ?
– कुनै रूख किन धेरै अग्ला हुन्छन् र कुनै किन त्यति अग्ला हुँदैनन् ?
– समाजमा कोही किन धनी हुन्छन्, कोही किन गरीब हुन्छन् ?
– केही मानिस भगवानमा विश्वास गर्छन् भने केही मानिस गर्दैनन्, किन ?

जवाफको व्याख्या गर्न लगाउने
विद्यार्थीलाई कुनै विषयमा उनीहरूको विचार भन्न अथवा हो वा होइन भन्ने जवाफ दिन लगाउनुसँगै उनीहरूलाई त्यसको कारण पनि बताउन लगाउन भन्नुपर्छ ।
– कुनै कुरा सिक्नुको फाइदा के हो ?
– ग्याँस भनेको के हो भनी थाहा पाउनु हामीलाई किन जरूरी छ ?
– दुनोट कण्ठ पार्दा के फाइदा हुन्छ ?
– जुम्लाको सिंजा उपत्यकाको सभ्यता बारेमा अध्ययन गर्नु किन जरूरी छ ?
यस्ता प्रश्न गर्दा दुईवटा फाइदा हुन्छन्ः पहिलो, यी विषयको अध्ययन किन गर्नुपर्छ भन्ने कुरा विद्यार्थीले थाहा पाउँछन् । दोस्रो, तिनको उपयोगिताबारे विश्लेषण गर्न चाहिने सिद्धान्त बारेमा उनीहरूले पर्याप्त जानकारी पाएका छन् कि छैनन् भन्ने कुरा आफू अर्थात् शिक्षकलाई थाहा हुन्छ ।

जवाफ प्रमाणित गर्न लगाउने
विद्यार्थीले जवाफ सम्झेर मात्र पुग्दैन । जवाफ किन सही छ अथवा गलत छ भन्ने कुरा पनि उनीहरूले बुझनुपर्छ । आफ्नो भनाइलाई पुष्टि गर्ने खालका तर्क, उदाहरण दिन र आफ्ना विचारलाई सही ठह¥याउन आवश्यक सामग्री पनि उनीहरूले प्रस्तुत गर्न सक्नुपर्छ । उनीहरूले गर्ने तर्कका आधारमा तिनको आवेगात्मक प्रतिक्रिया पनि बुझन सकिन्छ ।

चित्र अथवा डायग्रामका सहायताले व्याख्या गर्न लगाउने
हालको काठमाडौं अथवा आफू रहेको गाउँ–शहरको सामाजिक, आर्थिक, राजनीतिक, धार्मिक र सांस्कृतिक पक्ष देखाउने डायग्राम तयार गर्न लगाउने ।

ग्राफ बनाउने अथवा ग्राफको उपयोग गराउने
– नेपालले निर्यात गर्ने मुख्य वस्तुहरू र तिनको परिणाम देखाउने ग्राफ बनाउन लगाउने ।
– नेपालमा महिला र पुरुषको साक्षरता दर देखाउने ग्राफ बनाउन लगाउने ।
– नेपालका केही मुख्य शहरको अधिकतम तापक्रम देखाउने ग्राफ बनाउन लगाउने ।

खाका तयार गर्न लगाउने
– आफूले पढाउन लागेको पाठको खाका तयार गर्न लगाउनुहोस् (पूरा वाक्य एउटा पनि नलेख्नुस् भन्ने) ।
– कुनै प्रश्नको जवाफ लेख्नुभन्दा पहिले आफूले दिने जवाफका मुख्य बुँदा लेख्न लगाउने ।

सार खिच्न लगाउने
अहिलेसम्म नपढाइएको पूरै अनुच्छेद दिएर विद्यार्थीलाई त्यसको सार एक वाक्यमा लेख्न लगाउने ।

यसो हुन्थ्यो भने…
यस्ता खालका प्रश्न सोध्ने—
– मानिसको शरीर पशुको जस्तै रौंले ढाकिएको हुन्थ्यो भने हाम्रो इतिहास कस्तो हुन्थ्यो होला ?
– नेपालमा अहिलेसम्म पनि राणाशासन रहिरहेको हुन्थ्यो भने हाम्रो अवस्था अहिलेभन्दा के कसरी फरक हुन्थ्यो होला ?

अनुमान गर्न लगाउने
विगतका अनुभव, प्रचलित ऐन अथवा सिद्धान्तका आधारमा भविष्यमा यस्तो होला भनी अनुमान गर्न लगाउने । आफूले त्यस्तो अनुमान गर्नुका पछाडिका तर्क दिन लगाउने (सम्भव भएमा विद्यार्थीलाई आफ्ना अनुमान सही हुन्छन् कि हुँदैनन् भनी परीक्षण गर्न लगाउने) ।
– आफ्नो नोटबूक पानीमा भिजायौ भने त्यसका पानाको हालत कस्तो होला ?
– भोलिको मौसम कस्तो होला ?
– स्कूलमा मैले साथीसँग झ्गडा गरें भनेर आमालाई भन्यौ भने उहाँले तिमीलाई के भन्नुहोला ?
– संसद्मा विचाराधीन रहेको संविधान संशोधन विधेयक पारित भए के होला ?

नक्शाको उपयोग गर्न लगाउने
नक्शामा भएका जानकारी सम्झ्न अथवा त्यसको नक्कल उतार्न मात्र लगाउनुको सट्टा प्रश्नको जवाफ दिन र जानकारी पत्ता लगाउन नक्शा उपयोग गर्न लगाउने ।
नयाँ कुरा आविष्कार गर्न लगाउने
– कुनै भाँडा कसरी माझने भन्ने कुरा बच्चालाई नबोलिकन सिकाउने उपाय पत्ता लगाऊ ।
– आफ्ना शत्रुलाई मित्र बनाउने उपाय पत्ता लगाऊ ।
– कौसीको ट्यांकी भरिएपछि पानी तान्ने मोटर आफैं बन्द हुने बनाऊ ।
– कम्प्युटरमा लेखिएका नामलाई वर्णानुक्रम अनुसार आफैं मिलाउने कम्प्युटर प्रोग्राम बनाऊ ।

अवलोकन गर्न लगाउने
राम्ररी अवलोकन गर्न लगाई आफूले देखेका र मनन गरेका कुराको चित्र बनाउन वा व्याख्या गर्न लगाउने
– यो पातलाई राम्रोसँग हेर र यसलाई चित्रमा दुरुस्त उतार ।
– ब्लकको उपयोग गरेर आधुनिक शहर बनाऊ र त्यो शहर माथिबाट हेर्दा जस्तो देखिन्छ त्यसको चित्र उतार ।
– (यो) चित्र हेर र यी मानिस के गर्दैछन् (अथवा उनीहरूले कस्ता लुगा लगाएका छन् अथवा उनीहरूले कस्ता औजार उपयोग गरिरहेका छन् अथवा उनीहरूले बस्ने घर कस्ता छन्) भन्ने कुरा बताऊ ।

प्रश्न सोध्न लगाउने
विद्यार्थीलाई प्रश्न बनाएर सोध्न लगाउने
– अरनिको सम्बन्धी पाँचवटा प्रश्न सोध जसको जवाफ तिमीलाई थाहा छैन ।
– बीपी कोइरालालाई तीनवटा प्रश्न सोध्न पाउने भए तिमी के सोध्थ्यौ ?
– पाँच सय वर्ष पहिले कर्णालीमा हुर्केको बच्चालाई पाँचवटा प्रश्न सोध्न पाउने भए के सोध्थ्यौ ?

प्रश्नोत्तर
विद्यार्थीले दिएको जवाफ ठीक छ भन्ने लागे पनि ‘यो जवाफ ठीक हो के ?’ भनी पुनः सोध्नुस् । यसका बारेमा गहिराइमा पुगेर सोच्न लगाउनुहोस् । उत्तर ‘सही त हो के’ भनी विद्यार्थीलाई प्रश्न गर्न प्रोत्साहन दिनुहोस् । तपाईंले दिएकै जवाफ बारेमा पनि प्रश्न गर्न लगाउनुहोस् । किन भनेर सोधिरहन लगाउनुहोस् । हो वा होइन भनेर नपुग्ने, जवाफै दिनुपर्ने प्रश्न सोध्न लगाउनुहोस् । त्यस्तो प्रश्न सोध्नुहोस् जसका एकभन्दा बढी सही जवाफ हुन्छन् अथवा सही जवाफ एउटै नभएका प्रश्न सोध्नुहोस् । धेरै प्रश्नको जवाफ तपाईंलाई पनि थाहा छैन भन्ने कुरा विद्यार्थीलाई थाहा दिनुहोस् । यसो गर्दा त्यो विषय रुचिकर हुन्छ ।

एटलासका आधारमा प्रश्न
जुन प्रश्नको जवाफ दिनका लागि विद्यार्थीले एटलास पल्टाउनुपर्छ ती प्रश्नको जवाफ सम्झ्नाका भरमा मात्र दिन सकिंदैन र त्यस्ता प्रश्न रुचिकर हुन्छन् ।

जवाफ दिन किताब पल्टाउनुपर्ने प्रश्न
सम्झेका भरमा जवाफ दिन नपाइने खालका प्रश्न सोध्ने एउटा तरिका हो विद्यार्थीलाई प्रश्न सोधेर किताब अथवा आफ्नो नोटबूक पल्टाएर जवाफ देऊ भन्नु । यसो गर्नुको उद्देश्य उनीहरूलाई किताबमा भएका जवाफ खोज्न लगाउनु मात्र होइन । यस क्रममा त्यस्ता प्रश्न सोध्नुपर्छ जसको जवाफ किताबमा तयार पारेर राखिएको हुँदैन । ७
‘वर्थ शेयरिङ’ बाट
भाषान्तरः मोहन मैनाली

Related Posts

/*sign up form*/