राजनीतिले थिलथिलो पारेको एउटा माविको व्यथा

by • • Highlight, मनका कुरा (ब्लग)Comments (0)601

Print Friendly, PDF & Email

 

 

विनय गुरागाई

त्यो बेलासम्म हामी गाउँले र विद्यार्थीका लागि गोरुको नाम मात्र थियो माले । बहुदल, वाममोर्चा, माले गाउँ भित्रिएसँगै राजनीति पनि विद्यालय पस्यो । २०४७ सालको पहिलो महीनादेखि औपचारिक रूपमा स्कूलमा कांग्रेस र कम्युनिष्ट पसे । उनीहरूले शिक्षक, विद्यार्थी र अभिभावकलाई कि कांग्रेस कि त कम्युनिष्ट बनाए ।

त्यही विद्यालयबाट राजनीति शुरू गरेका तत्कालीन विद्यार्थी अहिले प्रतिनिधिसभा सदस्य छन् । राजनीतिको शिकार भएका तत्कालीन प्रअ अझै पनि माओवादी पीडितको नामबाट सकेजति फाइदा लिइरहेकी छन् । तर २७ वर्षअघि विद्यार्थी, अभिभावक र शिक्षकको राजनीतिबाट थिलथिलो बनेको विद्यालय यो बीचमा भलै उच्च मावि त भयो, खराब राजनीतिक खेलाडीको खेलबाट मुक्त हुन भने सकेन । यो त्यही विद्यालयको कथा हो जो निमाविबाट प्रस्तावित माविमा पाइला चाल्ने बित्तिकै पञ्च, कांग्रेस र वाममोर्चाको राजनीतिक चंगुलमा फस्यो ।
२०४६ साल चैतको अन्तिम साता देशमा बहुदल आएसँगै हाम्रो गाउँ (भोजपुर; भुल्के) को प्रस्तावित पञ्चकन्या माविमा वाममोर्चा र माले पनि आए । बहुदलसँगै भित्रिएका वाममोर्चा र माले विद्यालयका केही शिक्षक र ठूला कक्षाका एक दुई विद्यार्थी बाहेक गाउँलेका लागि नयाँ थिए ।
गाउँमा वाममोर्चा रेडियो नेपालको ७ बजेको समाचारबाट आयो । माले भने विद्यालय छेउकै घरका एक जना अग्रजले ठूला अक्षरमा लेखेर ल्याए । त्यो बेलासम्म हामी गाउँले र विद्यार्थीका लागि गोरुको नाम मात्र थियो माले । बहुदल, वाममोर्चा, माले गाउँ भित्रिएसँगै राजनीति पनि विद्यालय पस्यो । २०४७ सालको पहिलो महीनादेखि औपचारिक रूपमा स्कूलमा कांग्रेस र कम्युनिष्ट पसे । उनीहरूले शिक्षक, विद्यार्थी र अभिभावकलाई कि कांग्रेस कि त कम्युनिष्ट बनाए । भुल्के गाउँमा देखिने गरी विभाजनको रेखा कोरियो त्यो पनि विद्यालयबाट ।
स्कूलको अफिस र कक्षाकोठामा राजनीति पस्ने मुख्य कारण थियो— तत्कालीन पञ्चकन्या निमाविबाट प्रस्तावित माविमा पाइला चालेको विद्यालयमा भएको नेतृत्व परिवर्तन । २०४५ सालपछि अभिभावक र शिक्षककै पहलमा पञ्चकन्या निमावि भुल्के प्रस्तावित मावि हुनेभयो । २०४६ सालमा बहुदल आइसक्दा कक्षा–८ सञ्चालनको तयारी पूरा भएको थियो ।

 

स्कूल आठ कक्षा हुने भएपछि प्रधानाध्यापक फेरिए । अभिभावकको सहमतिमा सञ्चालक समितिले निमाविका तत्कालीन प्रअ शोभितलाल यादवको सट्टा माविको प्रअमा कमला राई तिमल्सेनालाई नियुक्त गर्यो । जबकि शोभितलाल यादव निमाविको प्रअ हुँदा कमला राई निमाविकै अंग्रेजी शिक्षक थिइन् ।
विद्यालयमा राजनीति घुसाउने अप्रिय कदम त्यही बन्यो । यो कदम सञ्चालक समितिले नै चालेको थियो । पुख्र्यौली राजनीतिक पहुँचवाला स्थानीय राईले भुल्केकै जमीनदार बाहुनसँग बिहे गरेकी थिइन् । त्यो बेला अंग्रेजी विषयमा बीएड गरेकी महिला हुनाले पनि उनको व्यक्तित्व उच्च थियो ।
उता शोभितलाल यादव सप्तरीका थिए । शक्ति र सत्तामा रहिरहन मन पराउने त्यो बेलाका पञ्चहरूका लागि यादव बाहिरिया थिए । मधेशका भएकाले उनी अल्पमतमा पनि थिए । कडा व्यक्तित्व र अनुशासनका कारण यादव विद्यार्थीमाझ लोकप्रिय थिएनन् । त्यसैले उनलाई मन नपराउने ठूलो जमात थियो जसले यही विन्दुबाट राजनीति खेल्न शुरू गरे र माविमा उक्लिन पाइला चालेको विद्यालयले मज्जाले पाइला टेक्न नपाउँदै ढलमल पार्नतिर लागे ।
कथा यत्तिकैमा रोकिएन । विस्तारै नयाँ घटना तथा नयाँ पात्रको आगमन हुन थाल्यो । कमला कांग्रेस भइन् । त्यो बेलासम्म प्रधानपञ्च लगायतका पञ्चहरू कांग्रेस भइसकेका थिए । कमलाले उनीहरूको साथ पाइन् । गाउँमा कम्युनिष्ट कोही थिए भने तिनै माले भित्र्याउने एक जना दाइ थिए । विस्तारै अरू पनि थपिए । कम्युनिष्टले शोभितलाललाई साथ दिए ।
कमला र शोभितलाल दुवै एकअर्काको अस्तित्व समाप्त गर्ने खेलमा लागे । विद्यालय, प्रअ, शिक्षकको कार्यालय, कक्षाकोठा र भलिबल खेल्ने चौर विस्तारै युद्धमैदान बन्यो । यो लडाईंमा अधिकांश विद्यार्थी शोभितलालको पक्षमा गए ।
२०४९ सालको पहिलो स्थानीय चुनाव हुने बेलासम्म स्कूलमा राजनीतिले राम्रैसँग डेरा जमाइसकेको थियो । जसले, जसलाई, जतिबेला, जहाँ भेट्यो सिध्याउनेसम्मका गुटबन्दीले सञ्चालक समिति, प्रअ, शिक्षक, विद्यार्थी र अभिभावक प्रभावित थिए । स्थानीय चुनावमा आ–आफ्नो दलको प्रचारप्रसारमा विद्यालय बन्द गरेर निस्किएका शिक्षकहरू चुनाव सकेर फर्किंदा झ्न् राजनीतिज्ञ भएर फर्किए ।
स्थानीय चुनाव सकिने बित्तिकै अर्धवार्षिक परीक्षा गर्ने गरी तालिका सार्वजनिक भइसकेको थियो । तर चुनावले गर्दा शिक्षकले पढाएका थिएनन् । त्यसैले विद्यार्थीहरू परीक्षाका लागि तयार भएनन् । केही दिन पढाएर मात्र परीक्षा गरौं भन्ने विद्यार्थीको अडान थियो । यसरी अडान राख्ने विद्यार्थीहरू कम्युनिष्ट अर्थात् अनेरास्ववियूका दरिए । नक्कली विद्यार्थी खडा गरेर उनीहरूमाथि आक्रमणका प्रयास भए । प्रअ र शिक्षकहरू पढाउने हैन परीक्षा गराउने अडानमा थिए । दुवै आ–आफ्नो अडानमा रहनलाई उनीहरूभित्रको कांग्रेस र कम्युनिष्ट इगोले बढी काम गर्यो । विद्यालयमा अब दिनदिनै झ्गडा हुन थाल्यो ।
विद्यार्थी र शिक्षकको वार्ता यसै विषयमा चलिरहँदा झ्नै अप्रिय घटना घट्यो । वार्ताकै टेबलमा प्रअ कमला राईमाथि कालोमसी आक्रमण भयो । त्यसलाई अतिरञ्जित बनाउनेले कालोमोसो दलियो समेत भने । यो घटनाले आगोमा घ्यू थप्ने काम गर्यो । यो घटना भएको भोलिपल्टदेखि स्कूलमा तालाबन्दी भयो । कार्यालय सहित विद्यालयका सबै कोठामा लागेको ताला भोलिपल्ट पनि खुलेन । खोल्नका लागि जिम्मेवार कर्मचारी आएनन् । विद्यार्थी आए तर पढाइ भएन । दिनहरू यसरी नै बित्दै गए ।
अब के होला ? गाउँलेको अनुमान विपरीत साता दिन नबित्दै गाउँमा डेढ दर्जन पुलिस प्रवेश गरे । धरपकड शुरू भयो । भागाभाग चल्यो । कालोमसी आक्रमणमा परेपछि प्रअ राई प्रशासनको सहयोग माग्न रातारात हिंडेर सदरमुकाम पुग्नुभएछ । कांग्रेसको सरकार थियो । शेरबहादुर देउवा गृहमन्त्री थिए । भुल्के गाविस पनि कांग्रेसले नै जितेको थियो । सार्वजनिक अपराध ऐन अन्तर्गत ७ जना विद्यार्थी र ४ जना अभिभावक विरुद्ध जिप्रकामा मुद्दा दर्ता भयो ।
२०४९–५० सालका पुलिस अहिलेको भन्दा कैयौं गुणा शक्तिशाली थिए । उनीहरूले स्वाभाविक रूपमा गाउँमा आतंकै मच्चाए । मुद्दा पर्ने ११ जना त गाउँबाट कतै भागिसकेका वा लुकेका थिए तर उनीहरूको परिवार पुलिसको कोपभाजनमा पर्यो । स्कूल बन्दको बन्दै रह्यो ।
६ महीना बढी बन्द भएपछि विद्यालय जोर जबर्जस्तीले खुल्न त खुल्यो तर प्रअ कमला राईलाई फर्केर जान सहज भएन । उहाँ झन्झन् प्रताडित हुन थाल्नुभयो । यही बीचमा तत्कालीन माओवादीहरू गाउँ पसिसकेका थिए । उनीहरू स्कूल पनि पसे । प्रअ कमला राईमाथि सार्वजनिक रूपमा हातपात भयो । अहिले पनि उहाँ माओवादी पीडितको रूपमा राजधानीमै भौंतारिइरहनुभएको छ । उहाँलाई थप कारबाही र सार्वजनिक रूपमा बेइज्जती गर्न उक्साउने तत्कालीन विद्यार्थी अहिले भोजपुरबाट संघीय सदनमा सांसद छन् । तर त्यो बेला विद्यालयले जे भोग्यो नभोग्नुपर्ने सबै भोग्यो । केही वर्षपछि कमलाका श्रीमानलाई समेत गोली हानियो ।
विद्यालय बन्द भएकै साल पञ्चकन्या मावि पहिलो पटक एसएलसीमा भाग लिंदै थियो । गाउँबाटै एसएलसी दिन पाउनेहरू आफूलाई खूबै भाग्यमानी ठानिरहेका थिए । तर स्कूलको ताला महीनौं खुलेन । सबै कक्षाकोठा बन्द गरिए । शिक्षकहरू पढाउन आएनन् । एक जना सिरहाका देवनारायणप्रसाद यादव, जो विज्ञान शिक्षक थिए र गाउँकै केही युवाहरूले कक्षा–१० का विद्यार्थीलाई खुला चउरमा बसेर पढ्न सघाए । सकेजति पढाए पनि ।
बल्ल करबलमा स्कूल खुल्यो । तर पढाइ हुन सकेन । एसएलसी दिन पाए तर धेरै विद्यार्थी पास हुन सकेनन् । धेरै अभिभावकले दुई घण्टा टाढाको कटुञ्जे माविमा आफ्ना छोराछोरीको पढाइ स्थानान्तरण गराए । केहीले एउटै कक्षा दोहोर्याएर पढे ।
मावि बनाएसँगै गाउँ पसेको राजनीतिले विद्यालय तहस–नहस त बनायो नै गाउँको भविष्य समेत अन्धकार बनाउन मलजल गर्यो । विद्यालय मावि त भयो र अहिले त झन् उच्च मावि नै भएको छ । तर यो दिनसम्म आइपुग्दा पनि त्यो विद्यालय राजनीतिबाट मुक्त छैन । २७ वर्ष अगाडिको घटना बिर्सिए पनि त्यसबाट पाठ सिक्न सकेको छैन । विभाजनको रेखा मेटिएको छैन । र, यस्तो लाग्छ मेटिंदैन पनि ।
तर त्यहींबाट राजनीति शुरू गरेका र प्रताडित भएका दुवै पक्षले भने भरपुर फाइदा उठाइरहेका छन् । कोही राजनीतिको उच्च पदमा पुगेर र कोही पीडितको नाममा राजनीति नै गरेर ।

 

Related Posts

/*sign up form*/