यौन शिक्षाको पक्षमा गान्धी

by • • 2072_5, आलोपालोComments (0)437

Print Friendly, PDF & Email

यौन शिक्षाको पक्षमा गान्धी

तारिणीप्रसाद कोइरालाद्वारा अनूदित र ओरिएन्टल पब्लिकेसन, काठमाडौंबाट प्रकाशित महात्मा गान्धीका लेखहरूको सँगालो ‘विद्यार्थीहरूका लागि’ बाट । –सम्पादक

कामवासना विषयमा अस्वाभाविक दोषयुक्त कौतूहलता दिनदिनै बढ्दै गएको छ । त्यति मात्र हैन, यसको भुँमरीमा पर्ने मानिसहरू यसलाई प्रशंसायोग्य कुरा भन्ने ठान्छन् । यदि कुनै कमारो आफुले लगाएको हतकडीमा अभिमान गर्छ र त्यसलाई मूल्यवान आभूषण ठानी त्यसैमा लिप्त हुन्छ भने उसको मालिक अवश्य नै पूर्ण विजयी हुन्छ । तर कामदेवको यो विजय जतिसुकै चमत्कारी नै किन नहोस्, यो क्षणिक र तुच्छ कुरो सिद्ध हुनेछ, यसमा मलाई पूरा विश्वास छ । अन्त्यमा ऊ विष सक्किसकेको बिच्छी जस्तै निर्जीव हुन्छ । तर, हामी हात बाँधेर बसिरहौँ भन्ने पनि यसको अर्थ हैन ! काम वासनाकाउपर विजय प्राप्त गर्नु स्त्री वा पुरुष जीवनको मुख्य कर्तव्य हो । काम वासनाका उपर विजय प्राप्त नगरेका कुनै पनि कार्यकर्ताबाट हरिजनको, साम्प्रदायिक एकताको, खादीको, गोरखा वा ग्राम पुननिर्माण कार्यको सच्चा सेवा पाउने आशा राख्न सकिन्नँ । यस प्रकारका ठूलठूला ध्येयहरूको सेवा बौद्धिक तयारीबाट मात्र हुन सक्तैन, त्यसमा ईश्वरको कृपाबाट पाइन्छ र त्यस्ता मानिसका उपर ईश्वरको कृपा कहिल्यै हुँदैन जो काम वासनाको कमारो हुन्छ ।

त्यसो भए, हाम्रो शिक्षाप्रणालीमा— काम विज्ञान (यौन शिक्षा) सम्बन्धी शिक्षाको कुन स्थान छ त ? या त्यसको कुनै स्थान पनि छ र ? या छैन ? काम विज्ञान दुई किसिमका हुन्छन् । पहिलोचाहिँ काम विकारलाई नियन्त्रणमा राख्ने वा त्यसलाई जित्ने काममा आउँछ; र अर्कोचाहिँ त्यसलाई उत्तेजना र पोषण दिने काममा आउँछ । पहिलो किसिमको काम विज्ञानको शिक्षा बालशिक्षाका निम्ति अत्यन्त हानिकारक र खतरनाक । त्यसकारण दोस्रो प्रकारको खराबीबाट बच्नु नै उचित हुन्छ । सबै ठूलठूला धर्मले काम वासनालाई मनुष्यको घोर शत्रु मानेका छन् र वास्तवमा कुरा पनि त्यही हो । क्रोध र द्वेषलाई अर्कै स्थानमा राखिएको छ । गीता अनुसार क्रोध कामको सन्तान हो । वास्तवमा गीताले ‘काम’ शब्दको प्रयोग इच्छा मात्रको व्यापक अर्थमा गरेको छ ।

तर उमेरका काँचा विद्यार्थीहरूलाई जनेन्द्रिय कार्य र उपयोगका सम्बन्धमा ज्ञान दिलाउनु कहाँसम्म वाञ्छनीय छ वा छैन भन्ने प्रश्नको उत्तर दिने कुराचाहिँ तैपनि बाँकी नै रहन्छ । मेरो विचारमा उनीहरूलाई केही हदसम्म यसको ज्ञान दिलाउनु जरुरी जस्तो लाग्छ । अहिले तिनीहरू, जसरीतसरी नै भए पनि, यताउतिबाट यसको ज्ञान प्राप्त गरिरहेकै छन् । यसको परिणाम के हुन्छ भने, पथभ्रष्ट भएर ती विद्यार्थीहरू खराब बानी सिक्छन् । त्यसकारण त्यसतर्फ हामीले आँखा चिम्लियौँ भने काम विकारमाथि हामी राम्रो नियन्त्रण राख्न सक्तैनौँ । त्यसैले नवयुवक केटाकेटीहरूलाई जनेन्द्रियको महत्व र त्यसको उचित उपयोगबारे सिकाइयोस् भन्ने पक्षको म जोडदार समर्थक छु । र, मैले आफ्नै ढंगबाट त्यस्ता अल्पायुका बालबालिकालाई, जसको तालीमको जिम्मेवारी मेरो उपर थियो, त्यस सम्बन्धी ज्ञान दिने प्रयत्न गरेको थिएँ ।

जुन काम शिक्षाको पक्षमा म छु, त्यसको लक्ष्य विकारमाथि विजय प्राप्त गर्ने र काम शिक्षालाई सदुपयोगमा ल्याउने हुनुपर्छ । काम शिक्षाको उपयोग केटाकेटीको हृदयमा मानव र दानवमा के कति फरक छ भन्ने कुरा स्वाभाविक तवरबाट जमाइदिनमा अनि हृदय र बुद्धि यी दुवैको शक्तिले विभूषि हुने मनुष्यको विशेष अधिकार हो भन्ने कुरा राम्ररी सम्झउने काममा हुनुपर्छ । मनुष्य जति विचारशील प्राणी हो त्यति नै ऊ भावनाशील पनि हो; मनुष्य शब्दको धात्वर्थबाट पनि यही कुरा प्रकट हुन्छ । र, त्यसैले ज्ञानहीन प्राकृतिक इच्छाहरूका उपर बुद्धिको प्रभुत्व रहन नदिनु मानव सम्पत्तिलाई त्याग्नु हो । मनुष्यमा बुद्धिले भावना जाग्रत गर्छ र त्यसैले बाटो देखाउँछ । पशुमा आत्मा सुषुप्त रहन्छ । हृदयलाई जाग्रत गराउनु भनेको सुतेको आत्मालाई जगाउनु हो, बुद्धिलाई जाग्रत गराउनु हो र असल र खराबको विवेक उत्पन्न गराउनु हो ।

अब प्रश्न छ— सच्चा काम विज्ञान कसले सिकाउने ? स्पष्ट छ, त्यसैले सिकाउनुपर्छ जसले आफ्ना विकारहरूमाथि प्रभुत्व पाएको छ । ज्योतिष र त्यस्तै अन्य विज्ञान सिकाउनका लागि हामी ती विषयहरूमा तालीम पाएका शिक्षक राख्छौँ जो आफ्नो कलामा प्रवीण छन् । त्यसै गरी हामीले काम विज्ञान अर्थात् काम विकारलाई काबुमा राख्ने विज्ञान सिकाउने शिक्षक पनि त्यस्तालाई बनाउनुपर्छ जसले यस विषयमा अध्ययन गरेका र इन्द्रियमाथि प्रभुत्व प्राप्त गरेका हुन्छन् ।

आजकाल त हाम्रो सारा वातारणको— हाम्रो पढाइको, सोचाइको र हाम्रो सामाजिक व्यवहारको— व्यापक उद्देश्य कामेच्छा पूर्ति गर्नमा छ । यो जालबाट उम्किन सजिलो छैन । तर यसका निम्ति उच्चतम प्रयत्न गर्नु हाम्रा लागि असल हो । व्यावहारिक अनुभव भएका केही शिक्षकहरू यदि आत्मसंयमको आदर्शलाई मनुष्यको सर्वोच्च कर्तव्य ठान्छन् र आफ्नो कार्यमा सत्य एवं अमिट विश्वासबाट अनुप्राणित हुन्छन् भने तिनका परिश्रमबाट बालबालिकाको मार्ग प्रकाशमान हुनेछ । तिनीहरूले सिधासोझ मानिसलाई आत्मपतनको नर्ककुण्डमा पर्न दिने छैनन्; र पहिलेदेखि नै परिसकेकालाई उद्धार गर्ने छन् । 

Related Posts

/*sign up form*/