यौन तथा प्रजनन् स्वास्थ्यको पठनपाठन समस्या र सम्भावना

by • • कक्षाकोठाComments (0)2319

यौन तथा प्रजनन् स्वास्थ्यको पठनपाठन समस्या र सम्भावना
रोश्ना सुब्बा
xx-xy“किशोरावस्थाका बारेमा पढाउन्जेल त ठीकै हुन्छ तर पुरुष र महिला प्रजनन् प्रणालीका अंग र तिनका कामका बारेमा व्याख्या गर्दा विद्यार्थी लजाउने, संकोच मान्ने र छिटोछिटो पाठ सकिदिए हुन्थ्यो जस्तो गर्छन् । प्रजनन् अंगको चित्र बनाएर पढाउन खोज्दा ‘म्याम चित्र किताबमा छँदैछ, हामी आफैं पढ्छौं’ भन्छन् । आफूले यस बारेमा खुलेर भन्दा उनीहरू धकाउँछन् । किशोरावस्थामा हुने शारीरिक परिवर्तनका बारेमा पढाउँदा हाँस्छन् । असुरक्षित यौन सम्पर्कका बारेमा पढाउँदा मलाई आफैंलाई पनि अलि गाह्रो भयो । विश्वासिलो एक जनासँग त यौन सम्पर्क गरे हुने रहेछ नि ! किताबमा पनि छ भनेर उनीहरूले चाख दिएजस्तो लाग्यो मलाई । तर उनीहरू केही सोध्दैनन् । जिज्ञासा प्रकट गर्दैनन् । उनीहरूले बुझ्े कि बुझेनन्, मलाई थाहा नै हुँदैन ।”
झपाको शनिश्चरेस्थित लक्ष्मी माध्यमिक विद्यालयकी स्वास्थ्य, जनसंख्या र वातावरण (एचपीई) विषय शिक्षक सिर्जना रोक्काको अनुभव हो, यो । रोक्काले आफ्नो यो अनुभव शिक्षक मासिकको रेडियो कार्यक्रम ‘शिक्षा–संवाद’ को २०७२ मंसीर ११ गतेको संस्करणमा सुनाएकी हुन् । रोक्का अगाडि भन्छिन्, “विद्यार्थीले कुनै जिज्ञासा नराख्ने र केही नसोध्ने हुँदा अरू पाठ पढाए जस्तो यौन तथा प्रजनन् स्वास्थ्य पढाउँदा मनमा सन्तोष हुँदैन ।”
तर, राजधानीको ललितपुरस्थित त्रिपद्म विद्याश्रम उच्च माध्यमिक विद्यालयका माध्यमिक शिक्षक धनबहादुर कन्दङ्गवालाई भने विद्यार्थीले जिज्ञासा मात्र होइन आफ्नो समस्या नै व्यक्त गर्ने गरेको अनुभव छ । “सर म तेक्वान्दो खेल्छु । अपर किक हान्दा मेरो योनीबाट रगत आयो । यसबाट मेरो योनीच्छद ९ज्थmभल० च्यातियो भन्ने शंका लागेको छ । विवाह भएपछि सुहागरातका वेला ममाथि श्रीमान्बाट शंका हुन्छ कि ?” ९ कक्षाकी एउटी छात्राले सोधिन् । उनले यौन क्रियाकलापबाट मात्र नभई खेलकुदका गतिविधिका कारण पनि योनीच्छद च्यातिने र त्यसलाई कुमारीत्व भंग भएको नमानिने बताएपछि ती छात्रा ढुक्क भइन् ।
ती छात्राले सही जानकारी नपाएकी भए ती किशोरी मानसिक समस्यामा पर्न सक्थिन् र उनको पढाइ सिकाइमा नकारात्मक प्रभाव पर्न सक्थ्यो । दुई पटक जिल्ला शिक्षा कार्यालय, ललितपुरबाट उत्कृष्ट शिक्षकको पुरस्कार पाइसकेका कन्दङ्गवालाई आफ्ना विद्यार्थीले सोध्ने गरेका प्रश्न यस्ता छन् ः

– मैले कसैसँग सम्पर्क राखेको छैन । तर महीनावारी रोकिएको दुई महीना भयो । किन होला ? मलाई मानसिक चिन्ता पनि हुन थालिसक्यो !
– महीनावारी हुँदा बेस्सरी पेट दुख्छ । मेरो परिवारमा त कसैलाई यस्तो हुँदैन !
– विवाहको उपयुक्त उमेर कुन हो ?
– जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? केही जुम्ल्याहा बच्चाको अनुहार किन उस्तै हुन्छ र केहीको किन फरक ? अपाङ्गता भएका बच्चा कसरी जन्मन्छन् ?
– मैले आफ्नी केटी साथीसँग यौन सम्पर्क राखें । गर्भ रहला कि नरहला ? म उनलाई के सल्लाह दिऊँ ?
– म दिनमा चार—पाँच पटक हस्तमैथुन गर्छु । कमजोरी महसूस हुन्छ । म के गरुँ ?
– चलचित्र हेर्दा उत्तेजक दृश्य आयो भने उत्तेजित हुन्छु । त्यस्तो वेला के गर्ने ?
– एक जनाभन्दा बढीस्ग शारीरिक सम्पर्क भयो भने एचआईभी एड्स हुने हो ?
विद्यार्थीलाई यसरी निर्धक्कसाथ प्रश्न वा आफ्ना समस्या राख्ने वातावरण बनाउन शिक्षक कन्दङ्गवाले आफूलाई शैक्षिक सामग्री र जानकारीले भरिपूर्ण बनाएका छन् । जानकारी र सामग्री बटुल्न उनी स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभाग र यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरूमा आफैं पुग्छन् । उनलाई थाहा छ; अहिलेका विद्यार्थी इन्टरनेटको पहुँचमा छन्, मोबाइलमा भिडियो हेर्छन् र किताब बाहिरका जिज्ञासा पनि राख्छन् । उनी भन्छन्, “जस्तो जिज्ञासा राखे पनि म उनीहरूलाई गाली गर्दिनँ । हिच्किचाउँदिन र विषयवस्तु प्रष्ट पार्छु । खुलेर छलफल गर्छु । सहभागितामूलक छलफल गराउँछु ताकि कक्षाका सबै किशोरकिशोरी प्रश्न गर्न उत्सुक हुन्, उत्प्रेरित होऊन् ।”
किशोरावस्थाका विद्यार्थीले खुलस्त भएर शिक्षकसमक्ष आफ्ना जिज्ञासा राख्ने र जवाफ पाउने वातावरण पाएनन् भने सही जानकारीको अभावमा उनीहरू यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी समस्या वा जोखिममा पर्न सक्छन् । यो समय बाल्यावस्थाबाट वयस्कमा प्रवेश गर्ने अवस्था हो जसमा हुने मुख्य परिवर्तनमध्ये शारीरिक परिवर्तन एक हो । यो वेला उनीहरूमा उँचाइ, तौल र यौन अंगहरूको वृद्धि–विकास, यौन चाहना, विपरीत लिंगीप्रति आकर्षण, शरीरमा विभिन्न हर्मोनहरूको उत्पादन र प्रजनन् अंगहरूको तीव्र विकासका कारण यौन चाहनामा वृद्धि जस्ता परिवर्तन भइरहेका हुन्छन् । आफूमा भइरहेको परिवर्तन र यसले गर्दा हुने व्यवहारका बारेमा सही जानकारी पाउन सकेनन् भने के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने अन्योलमा पर्छन् । असुरक्षित यौन सम्पर्कका कारण गर्भधारण हुन सक्छ । त्यसले पैदा गराउने मानसिक तनावले व्यक्तिलाई बर्बादीतिर पनि धकेल्न सक्छ । जस्तो, जथाभावी असुरक्षित गर्भपतन गराउँदा ज्यान नै जोखिममा पर्न सक्छ ।
किशोरावस्थामा एकअर्काप्रति आकर्षण बढ्नु स्वाभाविक हो भनेर बुझने र बुझउने कुरा नै हाम्रो समाजमा एउटा चुनौतीका रूपमा रहिरहेको छ । यथार्थमा, कसैमा त्यस्तो आकर्षण पैदा भएन भने चाहिं समस्या मानिनुपर्ने हो । किनभने त्यसले शारीरिक या मानसिक स्वास्थ्यमा समस्या रहेको संकेत गर्छ ।
यस सम्बन्धमा यौन तथा प्रजनन् स्वास्थ्यको क्षेत्रमा धेरै वर्षदेखि कार्यक्रम सञ्चालन गर्दै आएकी वातावरणीय तथा विकास केन्द्र ‘केड’ की कार्यकारी निर्देशक समिता प्रधान भन्छिन्, “किशोर–किशोरीलाई साथी नबन वा नबनाऊ भनेर हामी रोक्न सक्दैनौं, रोक्नु पनि हुँदैन । तर हामी उनीहरूलाई कसरी आफूलाई व्यवस्थापन र नियन्त्रण गर्ने भनेर सिकाउन सक्छौं । सँगसँगै सुरक्षित रहने तरीका पनि सिकाउनुपर्छ । यसो गर्न सकिएन भने उनीहरूलाई एचआईभी एड्स तथा अन्य यौनजन्य संक्रमण पनि हुन सक्छ ।”
गैरसरकारी संस्था युवाका अनुसार नेपालमा एचआईभी एड्स भएका व्यक्तिमध्ये १६ प्रतिशत १५ देखि २४ वर्षसम्मका किशोर तथा युवा छन् । त्यस्तै ३५ प्रतिशत किशोरी विवाहका कारण विद्यालय छाड्छन् । प्रति हजारमा ८१ जना किशोरी १५ देखि १९ वर्षको उमेरमा आमा बन्छन् ।
सानो उमेरमा गर्भधारण गर्दा आङ खस्ने अर्थात् पाठेघर खस्ने, बच्चा जन्माउँदा लामो समयसम्म बेथा लागेर पाठेघरले पिसाबथैलीमा चोट पु¥याएपछि हुने पिसाब चुहिने रोग फिस्टुला हुन सक्छ । यसले गर्दा उनीहरूको वैवाहिक र यौन जीवनमा नै नकारात्मक असर पुग्छ ।
किशोरावस्थामा यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी जानकारी नदिइँदा उनीहरूको स्वास्थ्यमा नकारात्मक असर त पुग्छ नै । उनीहरूको पढाइ–लेखाइ छुट्छ । उनीहरूले राम्रो अवसर पाउँदैनन् अनि आर्थिक स्थिति पनि राम्रो हुँदैन । स्वास्थ्य, शैक्षिक र आर्थिक अवस्था कमजोर भएपछि उनीहरूको जीवन गुणस्तरीय हुँदैन । पीडादायी हुन्छ ।
यस्तो अवस्थामा पुग्न नदिन किशोरावस्थामा नै यौन तथा प्रजनन् स्वास्थ्य बारे प्रशस्त जानकारी र सूचना दिनुपर्छ । त्यस निम्ति विद्यालयमा पुरुष तथा स्त्री प्रजनन् अंग तथा तिनका कार्य, सुरक्षित यौन व्यवहार, किशोरावस्थामा आउने परिवर्तन, रजस्वला, कन्डमको प्रयोगलगायतका बारेमा शिक्षकले खुलस्त पढाउने र विद्यार्थीले पनि निर्धक्क सिक्ने वातावरण बनाउनु अपरिहार्य देखिन्छ । तर शिक्षक र विद्यार्थीबीच खुलस्त रूपमा छलफल हुन नसक्दा, लाज लाग्ने विषयवस्तुका रूपमा लिइँदा, पढाउने तरीका नजान्दा, विषयगत शिक्षक नभएका कारण अन्य विषयका या फुर्सदमा रहेका शिक्षकलाई पढाउन लगाइँदा धेरैजसो विद्यालयमा यौन तथा प्रजनन् शिक्षाको पठनपाठन अझ्ै पनि राम्ररी संचालन हुन सकिरहेको पाइँदैन ।
विद्यालयमा विज्ञान, गणित, अंग्रेजी विषयहरूलाई बढी प्राथमिकता दिइन्छ । तर यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षाले उचित महत्व पाउन सकेको छैन । विद्यालय तहमा यो विषय बुझनु र बुझउनु किन जरूरी छ भन्ने बारे सर्वप्रथम नीतिनिर्माता र शिक्षकहरू नै स्पष्ट हुन जरूरी देखिन्छ । विषयको महत्व बुझेका शिक्षकले सही ढंगबाट पठन–पाठन गर्न सक्छन् ।

सहजतापूर्वक कसरी सिकाउन सकिन्छ ?
समिता प्रधान
यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी शिक्षा दिंदा शिक्षकमा प्रशस्त ज्ञान र कसरी बुझउने भन्ने सीप हुनुपर्छ । यसका लागि सन्दर्भ सामग्री पढ्न सकिन्छ, तालीम लिन सकिन्छ । यौन तथा प्रजनन्सँग सम्बन्धित विषयवस्तुमा खुलेर कुरा गर्ने हाम्रो प्रचलन छैन । हामीलाई गुप्ताङ्ग भन्न पनि लाज लाग्न सक्छ । तर स्वास्थ्यसँग जोडेर शरीरको अरू अंग जस्तै यो पनि हो भनेर बुझउनुपर्छ । महिला र पुरुष प्रजनन् अंग र प्रजनन् प्रणालीको बारेमा चित्रबाट सहज रूपमा स्पष्ट पार्नुपर्छ । महिला र पुरुषको सम्बन्धबाट नै सृष्टि चल्छ भनेर सहज तरीकाले व्याख्या गर्नुपर्छ । शारीरिक रूपमा आउने परिवर्तन, महीनावारी कसरी हुन्छ, किशोरावस्थामा पोषणको महत्वलगायतका विषयमा जानकारी र सामग्री संकलन गरेर प्रजनन् स्वास्थ्य मेला गराएमा विद्यार्थीले रमाउँदै सिक्छन् ।
विद्यार्थीमा कौतुहल हुन्छ । उनीहरूले कतिखेर के सोध्छन् थाहा हुँदैन । यति सोध भनेर सीमा पनि तोक्न मिल्दैन । उनीहरू रेडियो, टेलिभिजन, पत्रिका अनि मोबाइलको पहुँचमा हुन्छन् । आफूलाई चाहिएको कुरा वा जानकारी त्यहाँबाट पनि लिन्छन् । तर उनीहरूले आफैं कतिसम्म सही रूपमा बुझन सक्लान् ? त्यसैले शिक्षकले सही जानकारी दिनुपर्छ । किशोरकिशोरी कहिलेकाहीं हाँसो लाग्ने प्रश्न पनि गर्न सक्छन् । तर ‘उच्छृङ्खल प्रश्न सोधेको’ भनेर कसैलाई लज्जित गरियो भने सिंगो कक्षाले अर्को पटकदेखि प्रश्न सोध्न मन गर्दैन । तसर्थ, शिक्षकहरूले यस्तो विषय पढाउँदा विद्यार्थीको व्यवहार र बोलीतिर मात्र ध्यान नदिई आफ्ना व्यवहार–बोली बारे पनि ख्याल राख्नुपर्छ ।
कति विद्यालयमा त शिक्षकले तिमीहरू आफैं पढ भनेर भन्ने गरेको पनि पाइन्छ । शिक्षकलाई सबै कुरा थाहा नहुन सक्छ । शिक्षकले म सही सूचना वा जानकारी लिएर अर्को कक्षामा आउँछु भन्न सक्नुपर्छ । त्यस्तै स्वास्थ्य केन्द्र वा स्वास्थ्यको क्षेत्रमा काम गर्ने संस्थाहरूबाट योग्य व्यक्तिहरूलाई बोलाएर कक्षा लिन लगाउँदा थप प्रभावकारी हुन्छ ।
(कुराकानीमा आधारित)

Related Posts

/*sign up form*/