यार्र्चागुम्बु: कथा र यथार्थ

by • • नेपाल–अध्ययनComments (0)568

Print Friendly, PDF & Email
Dr.-Tirtha-Bahadur-Shrestha

डा. तीर्थबहादुर श्रेष्ठ

हिमाली जडीबुटीको भण्डारमा विगत २०/३० वर्षदेखि बबन्डर मच्चाउँदै आएको एउटा रहस्यमय बुटीको नाम हो ‘यार्चागुम्बु’ । सन् १९६० र १९७० को दशकमा सेती, कर्णाली र धवलागिरि अञ्चलका लेक पाटनहरूमा वनस्पति र जडीबुटीको सर्वेक्षण अध्ययनमा निस्कँदा यार्चागुम्बुको बारेमा कसैलाई केही जानकारी थिएन । त्यसको खोजीनितीमा कसैको चासो थिएन । तत्कालीन श्री ५ को सरकार वनस्पति विभागका हाकिम बाजे प्रयागराज पाण्डे भन्थे, “हिमालमा आधा घाँस र आधा कीराको अर्धाङ्गी बुटी पाइन्छ ।” हेलम्बुतिरबाट ल्याइने त्यो बुटीलाई पाँचऔंलेको गानो र शुद्ध मह मिसाएर वैद्यहरूले राणा प्रधानमन्त्री जुद्धशमशेरलाई सेवन गराउँदथे भन्ने पनि उनले सुनाएका थिए ।

वि.सं. २०३० ताका राजा वीरेन्द्रको विकास क्षेत्र भ्रमणको बेला सुर्खेतमा आयोजित प्राकृतिक सम्पदाको प्रदर्शनीमा यार्चागुम्बुका नमूना कर्णाली, डोल्पाबाट ल्याइएका थिए । त्यसबेला त्यसको प्रति गोटा रु.५ जति पर्दथ्यो । अहिले प्रतिगोटा यार्चागुम्बु रु.५०० देखि रु.१००० सम्म हातहातै बिक्ने गरेको छ । एक किलोको १५ लाखदेखि २० लाख रुपैयाँ थाप्दछन् गाउँलेहरू । प्रति किलोको २० हजार राजस्व उठाउँदछ सरकार । माओवादीको हिंसात्मक द्वन्द्वको समयमा कसले कति उठायो त्यसको लेखाजोखा छैन । तर, अन्तर्राष्ट्रिय बजारमा विशेषतः अमेरिकाको न्यूयोर्कमा यसको प्रति आउन्स ८०० डलर पर्ने बुझ्न्छि । यो आधारमा प्रति किलोको २८ हजार २४० डलर पर्ने भयो ।

यार्चागुम्बुको गगनचुम्बी मूल्य वृद्धिको रहस्य बारे ‘द इकोनोमिस्ट’ पत्रिकाको सन् २०१५ डिसेम्बर १९ को अंकमा प्रकाशित ‘द क्याटरपिलर झ्ङ्गस’ शीर्षकमा गहन विश्लेषण रहेको छ । त्यसअनुसार जर्मनीको स्टुटगार्डमा सन् १९९३ मा सम्पन्न विश्व खेलकुद प्रतियोगितामा भाग लिन गएका चिनियाँ महिला धावकहरूको विजयी श्रृंखलाको रहस्य यार्चागुम्बु सेवन रहेको खुल्न गयो । त्यसपछिका दिनहरूमा यस बुटीको चमत्कारी लोकप्रियता र अन्तर्राष्ट्रिय बजारको मागले गर्दा चीनको स्वशासित तिब्बत क्षेत्र, सेचुवान प्रान्त, किङघाई प्रान्तलगायत नेपाल तथा भूटानका लेकाली भागमा यार्चागुम्बु संकलनको अत्यधिक चाप बढ्दो छ । र, नेपालको सन्दर्भमा कुरा गर्दा सबै हिमाली जिल्लाहरू विशेष गरेर दार्चुला, बझङ, बाजुरा, हुम्ला, मुगु, जुम्ला, कालीकोट, डोल्पा, मुस्ताङ, मनाङ तथा रसुवाका लेकहरूमा वैशाख–जेठ ताका गाउँका गाउँ सोहोरिएर लेक, पाटन र मालिकाहरूतिर लाग्ने गरेका छन् । विद्यालय नै बन्द हुने गरी छात्रछात्राको लर्को लेकतिर सोझ्न्छि । महीना दिनको लेक बसाइले वर्ष दिनको खान्की धान्ने कमाइ हुन्छ । तर त्यो दुःखकष्टमा ज्यानको बाजी पनि थाप्नुपर्ने अवस्था आउँछ ।

यार्चाको तहल्का बारे थुप्रै लेख, रचना, चित्र, चलचित्र (डकुमेन्ट्री) हरू बनिसकेको अवस्था छ । यसैबीच ‘यार्चा’ नामक एक बाल उपन्यास हालै मेरो हातमा पर्न आएको छ । बाल साहित्यमा दक्खल राख्दै आएका साहित्यकार अनन्त वाग्लेको यो कृतिलाई कलाकार कृष्णगोपाल श्रेष्ठका उत्कृष्ट रेखाचित्रहरूले जीवन्त बनाएको छ । आज स्कूले छात्रछात्राका कथा र व्यथामा बुनिएको यही बाल उपन्यासलाई केन्द्रमा राखेर चमत्कारी यार्चाको चर्चा गरौं ।

जीव विज्ञान जगतमा आधा कीरो र आधा घाँसको स्वरुपमा यो बुटी उसै पनि कौतुहलपूर्ण छ । भगवान नारायणको नृसिंह अवतारमा आधा मानिस र आधा सिंहको रूप भएको जस्तै यार्चागुम्बु आधा खुम्रे (लाभ्रे) कीरा र आधा च्याउ (वनस्पति) को रूपमा अवतरित भएर यार्चागुम्बु बन्दछ । भोटे तिब्बती भाषाको ध्वनिलाई देवनागरिकमा लिपिबद्ध गर्दा कसैले यार्चा त कसैले यार्सा, कसैले गुम्बु त कसैले गुम्बा वा कुम्बु लेख्दछन् । (yarsta gunbu) ध्वनि र लिपिमा जेजस्तो सुनिए तापनि वा लेखिए तापनि शाब्दिक अर्थमा यो बर्खे घाँस र हिउँदे कीरा हो भन्ने बुझ्न्छि । यसको चिनियाँ नाम (dongchong xiaxcao) ले पनि त्यस्तै संकेत गर्छ; जसको अर्थ हुन्छ ‘हिउँदे कीरो, बर्खे झर’ । अनौठो वस्तुको नाम पनि अनौठो हुन्छ । उपन्यासकार वाग्लेले विभिन्न नामहरू संक्षेपमा उल्लेख गरेका छन्— यार्चा गुम्बा । यार्सा गुम्बा । यार्सा गुम्बु । ढुसी कीरो । झर कीरो । वनस्पति–झुसिलकीरो । झुसिल कीरो–ढुसी । बुटी । जीवन बुटी । किडा, आदि आदि । तर लेखकले सकारेको नाम यार्चा हो । र, पुस्तकको नाम पनि ‘यार्चा’ पर्न गएको छ ।

कथावस्तुको हिसाबले पर्वतीय गाउँको कष्टकर जीवनलाई यसले औंल्याउने काम गर्दछ । यार्चा टिप्ने बेलामा विद्यालय बन्द गर्ने/गराउनेसम्मको स्थिति, विद्यालय उमेरका छात्रछात्राहरूको आमाबुवासँगको लेक–पाटनको यात्रा, बालबालिकाहरूका तेजिला आँखा र उत्साही खोजबाट हुने बुटीको संकलन, पर्वतीय यात्रामा झेल्नुपर्ने दुःखकष्ट, लेकभरी मानिसको घुइँचो, यार्चाले सिर्जेको जात्रा, रोमाञ्चकारी माहोल, त्यही माहोलमा घट्ने घटना र दुर्घटनाहरूको तानावानालाई सरल भाषामा बुनेर यो बाल उपन्यास निर्माण भएको छ ।

उपन्यासको मूल पात्रको रूपमा एक छात्रा मोतीशिलालाई उभ्याइएको छ । बैंसको उमेर टेक्न टेक्न लागेकी ती छात्राको उत्साह अनि तिनका भाव र मनोभावलाई समेत समेटेर कथावस्तुलाई रोचक बनाइएको छ । उपन्यासको प्लटले ती बालिका र तिनका भाइ आफ्ना बुवाआमासँग यार्चा टिप्न लेकतिर हानिन्छन् । घर छोडेकै दिन बालिका र भाइलाई नयाँ जुताले पोलेर सताउन थाल्छ । जुता किन्दा छोराछारीलाई सँगै बजार नलगेका कारण धोका हुन्छ । लेकमा भाइ बिरामी पर्छ । उमेर नपुगेका कलिलो छोरालाई ल्याउँदाको कष्टले धोका दिन्छ । यार्चा टिप्न सिपालु छोरी भाइकै स्याहारमा बस्नुपर्ने हुन्छ । यस्तैमा गाउँले काकाको अचानक मृत्युले यार्चा संकलनमा अरू बाधा पर्छ । मौसमले पनि उति साथ दिंदैन । दुःखकष्टको यात्रा पछि सकुशल घर आइपुग्दा आमा, बुवा, छोरा र छोरीको न्यास्रो अनुहारलाई घरको न्यानो स्वागतले बिर्साइदिन्छ ।

यस उपन्यासमा यार्चागुम्बुको आत्मवृत्तान्तलाई वैज्ञानिक तथ्य र सामाजिक सत्यहरूका साथ प्रस्तुत गरिएको छ । लेकमा रात बिताउँदा छात्राको सपनीमा आएर यार्चाले आफ्नो वृत्तान्त सुनाउँछ । छात्रा र यार्चाको संवाद निकै घतलाग्दो छ । यार्चाको आत्मवृत्तान्तका केही अंश यहाँ उद्धृत गर्नु सान्दर्भिक होला— “म जन्मँदा सानो र खिनौरे थिएँ । मेरो शरीर विद्रुप र घिनलाग्दो थियो । मलाई देख्नेहरू घिनाउँथे । डराउँथे । यसो देखे भने हुत्याइदिन्थे । तैपनि म जीवितै रहें । अब त जीउको ढुसी फाट्ला भन्दाभन्दै यो त घाँस झैँ टुसा हालेर बढ्न पो थाल्यो । मेरै जीउबाट मेरा दुई आँखाको बीचबाट उम्रेर । अनि म आधा कीरो, आधा घाँस भएँ । हिउँदे कीरो, बर्खे झर ।”

संसारमा मान्छेले मान्छे जन्माउँछ, माछाले माछा । धानको जन्म धानैबाट हुन्छ । आँपको आँपैबाट । तर यार्चागुम्बुले यार्चागुम्बु स्वतः जन्माउन सत्तैmन । वैज्ञानिकहरूले कोर्डाइसेपस साइनेन्सिन (Cordyseps Sinensis) नामकरण गरेको यो ढुसी प्रजातिको वनस्पतिको जीवन आधार एउटा पुतलीको लाभ्रे अर्थात् खुम्रे कीरामा निहित हुन्छ । हामीले बारी–बगैंचामा देख्ने विभिन्न प्रकारका झुसिलकीरा वा मकैको जरा काट्ने खुम्रे कीरा आदि सबै नै पखेटा भएका पुतलीका बाल्यावस्था हुन् । रेशम कीरा पनि पुतलीकै लाभ्रे हुन् । यी लाभ्रेहरूले यथेष्ट खाना खाएपछि कोयावस्थामा प्रवेश गर्दछन् । लाभ्रेहरू कोयावस्थामा पुगेपछि आराम गर्दछन् र त्यही कोयाभित्रै पुतलीको अवतार ग्रहण गर्दछन् । कालान्तरमा पूर्ण वयस्क पुतली कोयाबाट बाहिर निस्कन्छन् र संसार विचरणमा उड्न थाल्छ । हाम्रो उच्च लेकाली भेकतिर पाइने थिटारोडिस (Thitarodes) समूहका निशाचर पुतलीका अण्डाबाट कोरलिने लाभ्रे कीराहरूमध्ये केहीलाई यार्चाका जीवाणु (Spores) ले शिकार बनाउँछन् । लाभ्रेको पोषिलो शरीरभित्र यार्चाले आफ्नो जालो फैलाउँदछ । लाभ्रेको शरीरभित्र त्यही ढुसीको जमोठ जम्छ । ढुसीले आफ्नो प्रजनन् क्रीडा त्यही लाभ्रे भित्र सम्पन्न गर्दछ । विभिन्न लेकाली घाँसपातका जरा काट्न जमीनभित्र छिरेका लाभ्रेहरू यार्चा ढुसीको रोग पालेर जमीनभित्रै जाडो बिताउँछन् । शरीरमा ढुसी परेपछि तिनीहरूको जुनीले कहिल्यै पुतली बन्न पाउँदैन । बाहिर लेकमा हिउँ पग्लेपछि घाँसपातको हरियालीसँगसँगै स–साना च्याउ पलाउन थाल्छन् । च्याउका यी टुसा लाभ्रेको टाउको माथिबाट प्रस्फुटन भएर बाहिर निस्केका हुन्छन् । च्याउका यिनै टुसामा यार्चाका जीवाणुहरू उत्पादन हुन्छन् । अर्को वर्षमा नयाँ लाभ्रेको शिकार गर्ने र नयाँ यार्चा निर्माण गर्ने यिनै जीवाणु हुन् । तसर्थ यार्साका छिप्पिएका सम्पूर्ण च्याउलाई निर्मूल पार्नुहुँदैन । आलोपालो गरेर केही वर्ष (लगभग ५/५ वर्ष) को अन्तरालमा यार्चा खन्नु उपयुक्त हुन्छ । यार्चा संकलनको चक्रीय समय तालिका (Rotational System) अनुसार निर्धारित पाटनहरू नियमित रूपमा खोल्ने र बन्द गर्ने प्रक्रिया अपनाउनु जरूरी देखिन्छ । यसो गरेन भने यार्चाका आधार लाभ्रे जन्माउने पुतलीहरू आफैं लोप भएर जान्छन् । पुतलीले जन्माएका लाभ्रेहरूमध्ये यार्साले नभेटेका भाग्यमानी लाभ्रेहरू कोयावस्थामा पुगेर नयाँ पुतलीका रूपमा जन्मन्छन् । पुतलीका भाले र पोथी प्राणीहरूले लेकाली झर बुटी र घाँसपातमा आफ्नो जीवनचर्या बिताउनुपर्छ । तसर्थ यार्चा संकलनको समय लेकाली पर्यावरणलाई विथोल्नुहुँदैन । अरू वनस्पति पनि मास्नुहुँदैन ।

विगत २५/३० वर्षदेखि नेपाल, चीन, भूटान र भारतका लगभग ४००० मिटर उच्च लेकाली पाटनहरूबाट अत्यधिक मात्रामा यार्चाको दोहन हुन गएबाट संरक्षणका उपायहरू तत्कालै अवलम्बन गर्नुपर्ने अवस्था आएको छ । यार्चा टिप्न गएका गाउँलेहरू खालीहात फर्किन थालेका छन् । उता यार्चाको बजार भने घट्ने अवस्था छैन । परम्परागत चिनियाँ औषधिको चमत्कारले विश्व वैज्ञानिक जगतमा नोबेल पुरस्कार समेत प्राप्त गरेको अवस्था छ । (हेर्नुस् शिक्षक, कात्तिक २०७२: तीतेपाती र नोबेल पुरस्कार) । परिणामतः यार्चाप्रतिको आस्था अरू बढेको छ ।

इसाको पन्ध्रौं शताब्दीदेखि प्रचलित यार्चाले ‘हिमाली भियाग्रा’ भन्ने उपनाम पनि कमाइसकेको छ । आधुनिक समाजका धनाढ्य जेष्ठ नागरिकहरू चीन, जापान, कोरिया, थाइल्याड, हङकङ आदि देशका परम्परागत चिनियाँ एवं तिब्बती औषधिमा विशेष रुचि राख्न थालेका छन् । आधुनिक समाजको व्यस्त दिनचर्यामा तनावको जीवन बाँच्ने व्यक्तिहरू र त्यस्तै साँझ्को रमझ्ममा धूम्रपान, मदिरापान र अबेर रातको मस्तीमा झुम्ने धनाढ्य व्यक्तिहरू पनि यो बुटीप्रति आकर्षिक छन् ।

तिब्बती ओखतीमूलोमा निपुण स्वास्थ्यसेवक लामा एवं आम्चीहरूका अनुसार यो बुटीले फोक्सो एवं मिर्गौलाको निम्ति शक्तिवद्र्धकको काम गर्दछ । भनिन्छ, यसले स्मरणशक्ति पनि प्रवद्र्धन गर्दछ । तर यसको सर्वाधिक माग भने यौनवद्र्धक गुणतिर नै लक्षित हुन्छ । सर्वाङ्ग स्वस्थ रह्यो भने यौनाङ्ग पनि स्वस्थ हुन्छ । यौनाङ्ग स्वस्थ छ भने सर्र्वाङ्ग स्वस्थ हुन्छ । तसर्थ परम्परागत चिनियाँ वा तिब्बती औषधिका विशेषज्ञहरू आफ्ना ग्राहकलाई पहिले नाडी छाम्दछन् र पछि उसको यौन शक्तिबारे प्रश्न गर्दछन् । यौन दुर्बलतामा यार्चा सेवनको परामर्श दिन्छन् । संक्षेपमा भन्नु पर्दा, यार्चाको भविष्य राम्रो छ, तर त्यसको व्यवस्थापनमा गहन चासो लिनु परेको छ । यसपरिप्रेक्ष्यमा अनन्त वाग्लेको ‘यार्चा’ पुस्तकले स्कूले विद्यार्थी, तिनका शिक्षक एवं अभिभावकहरूलाई नयाँ खुराक प्रदान गरेको छ ।

Related Posts

/*sign up form*/