मैले त चारखुट्टेको घरजम पुस्तक पढिसकेँ अनि तपाईले नी ?

by • • पुष्तक समिक्षाComments (0)303

लेखकः जर्ज अरवेल
अनुवादकः फणिन्द्रप्रसाद उपाध्याय
प्रकाशकः शिक्षक मासिक
मूल्य रुः १५०

पुस्तक ज्ञानका भण्डार हुन् । पुस्तकभित्रका अक्षरले हाम्रो चेतनाको ढोका खोलिदिन्छन् । हाम्रो जीवनलाई सफल र सार्थक बनाइदिन्छन् । तर सबै पुस्तकमा त्यस्तो सामथ्र्य कदापि हुँदैन । राम्रा पुस्तक चिन्न सक्नुपर्छ र चिनेर मात्र पाठकले उपयोगी पुस्तक किन्न सक्नुपर्छ । नत्र पैसा मात्र जाँदैन समय नष्ट भएर मानसिक विकृति समेत पैदा हुन्छ ।
गिजुभाईको दिवास्वप्न ले शिक्षकहरूको मनस्थितिलाई मज्जाले हल्लाएकै हो । मिहिनेतपूर्वक दुर्लभ र सार्थक पुस्तक प्रकाशन गर्ने शिक्षक मासिकको अर्को नवीनतम प्रकाशन हो— चारखुट्टेको घरजम । विश्वप्रसिद्ध अङ्ग्रेजी साहित्यकार जर्ज अरवेलको एनिमल फार्म को फणीन्द्रप्रसाद उपाध्यायले शाब्दिक अनुवाद मात्र गरेनन्; मर्म पनि पक्रिए । त्यसैले त पुस्तकले चारखुट्टेको घरजम नाम पायो ।
मिष्टर जोन्स, श्रीमती जोन्स, पिल्किङ्गटन, फ्रेडरिक र ह्वीम्पर नामक पाँचजना मात्र मानव पात्रहरू रहेको यो उपन्यासका तेह्र पशु पात्रले प्रभावकारी भूमिका खेलेका छन् । आराम र इज्जतविनाको कमारो जीवन बिताउँदै मानव आतङ्क सहनुको पीडाबाट मुक्त हुन बूढो सुँगुर मेजरको अवधारणा अनुसार स्वतन्त्रताका खातिर सबै पशुहरूले पशुवादलाई ग्रहण गर्दै आन्दोलन गरे । यो गाईगोठको लडाईंले मिष्टर जोन्स लगायतका मान्छेलाई खेदेर मेनोर फार्मलाई एनिमल फार्ममा रूपान्तरण गर्दै पशुहरूले उन्मुक्ति हासिल गरे । ‘इङ्गल्याण्डका पशुहरू’ नामक रगत उमाल्ने क्रान्तिकारी गीत गाउँदै एनिमल फार्मका पशुहरू क्रान्तिचेतले भरिपूर्ण भए । दुईखुट्टे सबै शत्रु र चारखुट्टे सबै मित्र,… सातबुँदे परमादेश जारी गर्दै स्नोबल र नेपोलियन नामका दुई सुँगुरलाई नेता मानेर समानताको हक कायम गरे । जनावरहरूले अक्षर पढ्न सिक्नु, पदकको सिर्जना गर्नु, हवाईजाँतोको योजना बनाउनु,… पाठकलाई अभूतपूर्व कुरा लाग्छ । स्नोबल र नेपोलियन दुई नेताबीच राजनीतिक दाउपेच र गुटबन्दी चलेर इमानदार स्नोबललाई एनिमल फार्मबाट खेदेर धूर्त नेपोलियन सर्वेसर्वा र निर्विकल्प नेता भयो ।
केटाकेटीका लागि हास्य र प्रौढहरूलाई व्यङ्ग्यात्मक खुराक दिने यो पुस्तक मूलतः राजनीतीक व्यङ्ग्य हो र नेपालको परिवेशमा यो अझ् बढी सान्दर्भिक देखिन्छ । एकपटक पढ्नै पर्ने रोचक, घोचक र व्यङ्ग्यात्मक चारखुट्टेको घरजम उपन्यासभित्रका केही फारसी, अरबी र अप्रचलित शब्दहरूलाई आगामी संस्करणमा परिवर्तन गर्न पाएमा सामान्य पाठकहरूलाई पनि सहज हुनेथियो ।
राजनीतिक चेतना दिन सफल छ । यस पुस्तकको लेखकीय सन्देशः साम्यवादको सुरुआत मात्र हुने उत्कर्षमा नपुग्दै पूँजीवाद वा अधिनायकवादले जरा गाडिहाल्ने, अन्तरसङ्घर्षले साम्यवादभित्रै पूँजीवाद वा अधिनायकवाद जन्मने । विश्वका राजनीतिक घटनाक्रमहरूले यो कुरालाई पुष्टि गरिरहेको हामी पाठकले देखी, भोगी र सुनिरहेकै यथार्थ हो । लेखकको परिकल्पना सार्थक, व्यावहारिक, सर्वकालिक र विश्वजनित लाग्छ भने अनुवादकको अनुवादकला मनाकर्षक र लोभलाग्दो छ ।
बिचरो बक्सर घोडाको जस्तो नियति भोगिरहेका हामी नेपाली नागरिकहरूले नेपोलियन (सुँगुर) जस्ता नेताको चरित्र बुझदै देशको दाउपेचिलो राजनीति थाहा पाउन एकपटक सबैले पढ्नैपर्ने उपन्यास हो— चारखुट्टेको घरजम ।

रामविक्रम थापा

बालकन्या उमावि स्रोत केन्द्र, फाक्टाङ, खोटाङ

Related Posts

/*sign up form*/