मेरो अंग्रेजी सिकाइ यात्रा !

by • • विविधComments (0)758

Print Friendly, PDF & Email

अजित बराल

पुस्तक साथीहरूले पनि पढून् भनेर दिन्थें । तर, उनीहरू भन्थे, ‘अनुच्छेदपिच्छै शब्दकोश पल्टाउनुपर्छ के पढ्ने ?’ गाह्रागह्रुङ्गा शब्दका कारण उनीहरू पुस्तक पढ्न हच्किन्थे । म भने तिनैका कारण एकपछि अर्को पुस्तक पढ्थें ।

भाषा सिक्ने त्यस्तो कुनै एउटा निश्चित प्रक्रिया छ ? या भाषा सिक्नेहरू जति छन्, त्यति नै धेरै भाषा सिक्ने प्रक्रिया पनि छन् ? मलाई थाहा छैन । मलाई के थाहा छ भने, एउटा आकस्मिक (सिरिन्डिपिटियस) प्रक्रियाबाट मैले अंग्रेजी भाषा सिकेको हुँ ।
कक्षा सात पढ्दाको कुरा हो । मलगायत तीनजना सहपाठी स्कूलव्यापी स्पेलिङ कन्टेस्ट (हिज्जे प्रतियोगिता) का लागि छानिएका थियौं । उक्त प्रतियोगिताको तयारीका लागि हामीलाई ठूल्ठूला र जटिल शब्दहरूको एउटा सूची दिइएको थियो । कहिल्यै नसुनेका ‘ए’ देखि ‘जेड’ सम्मका शब्द थिए सूचीमा । सबै कक्षा-स्कूलका तेज विद्यार्थी भएकाले हामीलाई ती शब्द मुखाग्र गर्न भने खासै गाह्रो भएन । हामीले प्रतियोगिताका अघिल्ला चरणमा राम्रो गर्दै पनि गयौं । तर अन्तिम चरणमा ‘एस’ बाट आउने एउटा शब्दको हिज्जे मैले बिगारें, हडबडाएर । मेरो त्यही गल्तीका कारण हामी पहिलो हुनबाट वञ्चित भयौं ।
प्रतियोगितामा दोस्रो भएका हामीले एक–एक वटा पेन र नोटबूक पायौं । त्यही नोटबूकमा मैले हामीलाई दिइएको सूचीका शब्द र तिनका अर्थ शब्दकोशमा हेर्दै टिप्ने विचार गरें । शायद बुबाको प्रभावका कारण त्यसो गर्ने विचार ममा आएको हुनुपर्छ । किनभने पुस्तक, पत्रपत्रिका पढ्दै गर्दा आफूले नजानेका शब्दहरू आए भने बुबाले ती शब्दलाई अन्डरलाइन गरेर राम्रो अक्षरमा तिनको अर्थ पुस्तक, पत्रपत्रिकाको छेउमा लेख्ने गर्नुहुन्थ्यो ।
जेहोस्, नचिनेका शब्द र तिनका अर्थ अलिअलि गर्दै मैले नोटबूकमा टिप्न थालें । ती शब्द र तिनका अर्थ फुर्सदमा पढ्थें र ती शब्दका अर्थ भुलेको छु÷छैन भनेर जाँच गरिरहन्थें । यसो गर्ने क्रममा नयाँ, नसुनेका शब्दप्रति मेरो आकर्षण बढ्दै गयो । र, अझ् धेरै नयाँ शब्द जान्ने रहर मेरो मनमा टुसायो ।
सुनेको थिएँ, लक्ष्मीप्रसाद देवकोटालाई शब्दकोश नै कण्ठ थियो ! शब्दकोश नै कण्ठ गर्न साँच्चै सकिन्छ ? मलाई खुल्दुली लाग्यो । मैले शब्दकोश कण्ठ गर्ने निर्णय गरेंं । आखिर उनै देवकोटाले भनेकै छन्, ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक !’
लामो समयसम्म सुरक्षित रहोस् भनेर बुबाले मोटो, कालो गाता लगाइदिनुभएको अक्सफोर्ड इङ्गलिस डिक्सनरी घरमा थियो । त्यसैलाई लिएर शुरू भयो, डिक्सनरी कण्ठ गर्ने मेरो कठिन यात्रा । म क्रमैसँग शब्द पढ्दै जान्थें र आफूले थाहा नपाएको शब्द आयो भने अडिन्थें । त्यसलाई हाइलाइटरले हाइलाइट गर्थें र फेरि अघि बढ्थेंं । अनि केही दिनपछि ती हाइलाइट गरिएका शब्दमा आँखा दौडाउँथे अनि तिनका अर्थ बिर्से–नबिर्सिएको हेर्थें ।
पचासौं हजार शब्द भएको डिक्सनरी यसरी कण्ठ गर्न खोज्नु दुरुह कार्य थियो । स्वाभाविकै हो ‘ई’ अक्षरका सबै शब्द छिचोल्नुअघि नै मेरो धैर्यको बाँध फुट्यो, मेरो शब्द यात्रामा ब्रेक लाग्यो ।
समयको यात्रामा त किन ब्रेक लाग्थ्यो र ? समय बित्दै गयो । एसएलसी आयो । पास भएँ, प्रथम श्रेणीमा । एसएलसी प्रथम श्रेणीमा पास हुनेले कलेज गएपछि प्रायः विज्ञान विषय लिन्थे । त्यसमा म अपवाद रहिनँ । एक-दुई महीना कक्षा लिएपछि लाग्यो, विज्ञान पढेर मैले पार लाउँदिनँ । बल्लतल्ल आईएस्सी पास गरे पनि, विज्ञानमा स्नातक गर्नेवाला थिइनँ, कमर्स पढ्न थालेंं । कक्षा बिहान हुन्थ्यो । दिउँसोभरि फुक्काफाल । टाइम पास कसरी गर्ने ?
पुस्तक, पत्रपत्रिका मेरा नयाँ साथी बने, टाइम पास गर्ने । घरमा द इलस्ट्रेटेड विक्ली, इन्डिया टुडे  र आउटलुक  जस्ता पत्रिकाका पुराना अङ्क थिए । द काठमान्डू पोस्ट नियमित आउँथ्यो । दाइले अंग्रेजीमा स्नातक गर्दा पढेका जेरम के जेरमको थ्री मेन इन बोट, अर्नेस्ट हेमिङवेको अ फेअरवेल टु आम्र्स र फर हुम द बेल टोल्स, लियो टोल्स्टायोको अन्ना करेनिना र वार एन्ड पिस, चाल्र्स डिकेन्सको अ टेल अफ टु सिटिज, जेन अस्टिनको प्राइड एन्ड प्रिजिडिउस, भर्जिनिया उल्फको टू द लाइट हाउस लगायत पाश्चात्य साहित्यका केही अन्य क्लासिक्सहरू पनि घरमै थिए । ती सबै चाटचुट पारिसकेपछि पनि पढ्न पुस्तकको अभाव भएन । विदेशीलाई मध्यनजर गरी खोलिएका सेकेन्डह्यान्ड पुस्तक पसल पोखराको लेकसाइडमा बग्रेल्ती थिए । त्यहाँ गएर लियो टोल्स्टय, चाल्र्स डिकन्स, एन्तोन चेखभ, मोपासा, आरके लक्ष्मण, सल्मान रुस्दी, ग्याब्रियल गार्सिया मार्खेज, जेडी स्यालिंगरलगायत थुप्रै लेखकका पुस्तक सुपथ मूल्यमा किनेर ल्याउँथें र पढ्थें ।
ती पुस्तक साथीहरूले पनि पढून् भनेर दिन्थें । तर, अंग्रेजी शब्दावलीमा कमजोर उनीहरू भन्थे, ‘अनुच्छेदपिच्छै शब्दकोश पल्टाउनुपर्छ के पढ्ने ?’ गाह्रागह्रुङ्गा शब्दका कारण उनीहरू पुस्तक पढ्न हच्किन्थे । म भने तिनैका कारण एकपछि अर्को पुस्तक पढ्थें । शायद नयाँ–नयाँ शब्द जान्ने मेरो चाहना ज्यूँकात्यूँ थियो । ती शब्दलाई मैले पहिले जसरी नोटबूकमा टिप्थें र तिनका अर्थ लेख्थें । पढ्दा कुनै नयाँ शब्द फेला प¥यो भने ठूलै उपलब्धि हासिल गरे जस्तो लाग्थ्यो, मानौैं मैले नयाँ शब्द होइन, सुनको स–सानो टुक्रा नै फेला पारेको हुँ । अनि म झ्न् उत्साहित हुन्थें, झ्न् धेरै पढ्थें ।
पढ्दै जाँदा लत बस्यो पढ्ने । त्यो लतमा रत्तिंदै जाँदा लेखनमोह जाग्यो ।
कुनै जीवनशैली पत्रिकामा पढेको थिएँ, लेख्न सिक्ने सबैभन्दा उत्तम र सजिलो माध्यम दैनिकी लेखन हो । मैले त्यही उपाय अपनाएँ । म प्रत्येक साँझ्, बिहान दिउँसोको गतिविधि, मनमा खेलेका कुराहरू पढेको पुस्तक र कहिलेकाहीं देशमा घटेका सामाजिक राजनीतिक घटनाहरू डायरीमा लेख्थें । तर करीब तीन वर्षजति पछि अल्छी मानेर दैनिकी लेख्न छाडें । पछि दैनिकी लेखिएका कापीहरू पल्टाएर हेर्दा मलाई आफैंलाई लाज लागेको थियो । र, यस्तो खत्तम पनि लेख्दो रहेछु भनेर मैले तिनलाई जलाइदिएको थिएँ ।
त्यतिबेलासम्म स–साना रचना पनि फाट्टफुट्ट लेख्न सक्ने भएको थिएँ, लेखेर पत्रपत्रिकामा पठाउँथें । तर ती छापिंदैनथे । राम्रा भए पो छापिन्थे । पछि एउटा लेखका रूपमा होइन, पाठकपत्रका रूपमा छापियो । तैपनि म हौसिएँ । केही रचना फेरि लेखेर पठाएँ, तीमध्ये एउटा छापियो, लेखकै रूपमा । आफ्नो नाम पत्रिकामा देखेपछि को फुरुङ्ग हुन्न र ! त्यसले अझ् लेख्ने ऊर्जा दियो । अरू रचना पठाउन थालें, ती छापिन पनि थाले ।
मेरो शब्द भण्डार राम्रो नै थियो । त्यसमाथि, मेरो ध्याउन्न नै आफूले जानेका नयाँ–नयाँ शब्द आफ्नो लेखमा कसरी घुसाउने भन्ने हुन्थ्यो अनि तिनलाई जबर्जस्ती घुसाइदिन्थें । ती शब्द देखेर होला शायद, साथीहरू भन्थे, ‘तेरो शब्दभण्डार राम्रो छ ।’ चलनचल्तीमा कम आउने कठिन शब्द प्रयोग गरेर लेख्दा लेखन खतरै हो कि भन्ने भान पार्दो रहेछ पाठकमा । अन्य साथी भन्थे, ‘तैंले कस्तो खतरा लेख्छस्, मैले केही बुझिदनँ ।’ मानौं नबुझनु राम्रो हुनुको गुण हो !
ठूलै लेखक हुँ भन्ने भ्रम ममा थियो । तर भ्रम त पानीको फोका जस्तो रहेछ, छिट्टै फुटिहाल्यो । मञ्जुश्री थापा, बेला मलिक, थोमस म्याथ्यु जस्ता राम्रा लेखक र सम्पादकहरूको संगतले । म उनीहरूलाई आफ्ना रचना देखाउँथें । उनीहरू मलाई सुझउँथे, ‘जटिल वाक्यहरू टुक्र्याऊ । ससाना वाक्य लेख । लेख जति सरल बनाउन सकिन्छ बनाऊ ।’ उनीहरू मेरा रचनालाई सम्पादन गरिदिन्थे । शिरदेखि पुछारसम्म राताम्मे भएर आफ्ना रचना आएको देख्दा म निरास त हुन्थें । तर हतोत्साही हुनुको सट्टा त्यसलाई मैले अझ् धेरै सिक्नुपर्छ भन्ने अर्थमा लिन्थें । र, सिक्नकै लागि म उत्सुक भएर उनीहरूलाई सोध्थें, ‘मेरो लेखन कसरी राम्रो बनाउने ?’
उनीहरू भन्थे, ‘लेखन राम्रो बनाउने कुनै सर्टकट छैन । धेरै पढ, धेरै लेख ।’
त्यो त मैले गरी नै राखेको थिएँ । म बुझिदनथें । उनीहरू थप्थे, ‘पढेर मात्र हुँदैन । कस्तो लेखक पढ्यौ भन्ने कुरा महŒवपूर्ण हुन्छ । अझ् महŒवपूर्ण त कसरी पढ्यौ भन्ने हुन्छ । राम्रा लेखकका पुस्तक पढ, उनीहरूको वाक्य गठन, शब्द प्रयोग हेर्ने गर । उनीहरूले कथा, उपन्यास शुरू र अन्त्य कसरी गरेका छन्, कस्ता बिम्ब प्रयोग गरेका छन्, कथा कसरी अगाडि बढाएका छन्, हेर ।’
म अझ् सोध्थें, ‘मैले अंग्रेजी भाषा माथिको पकड कसरी बलियो बनाउने ?’ उनीहरू भन्थे, ‘इलेमेन्ट्स अफ स्टायल, अन राइटिङ वेल’ जस्ता लेखन सम्बन्धी किताब पढ । पाउँछौं भने रेन एन्ड मार्टिनको हाई स्कूल इङ्गलिस ग्रामर एन्ड कम्मोजिसन्स पढ । स्कूलमा त्यही पढेर हाम्रो अंग्रेजी व्याकरण राम्रो भएको हो ।’
म फेरि सोध्थें, ‘मैले लेखनमा भाषिक मिठास कसरी ल्याउने ?’ उनीहरू सिफारिश गर्थे, पीजी उडहाउस । र आफ्नो पुस्तकालयमा भएको पीजी उडहाउसका नब्बेभन्दा धेरै पुस्तकको संकलन देखाउँदै भन्थे, ‘उनको जस्तो राम्रो अंग्रेजी कमैले लेख्न सक्छन् ।’
यसरी अंग्रेजी शब्दहरूप्रति मेरो आकस्मिक मोहका कारण शुरू भएको अंग्रेजी सिक्ने प्रयास अझै जारी छ । र, यो प्रयास तबसम्म जारी रहनेछ, जबसम्म म आफैंले लेख्न खोजेको जस्तो अंग्रेजीमा लेख्न सक्दिनँ ।

Related Posts

/*sign up form*/