मासुको बास्ना, सिक्काको खन् खन् !

by • • हेराइ र बुझाइComments (0)80

भेडाको मासुको कबाब बनाउनमा नाम कमाएको एक दोकानमा भइरहेको हल्लाखल्लाले आराम गर्न ढल्किएका मुल्ला नसरुद्दीनको ध्यान भंग गरिदियो । उनी उठेर त्यही दोकान छेउ पुगे । दोकानको साहू एउटा गरीब जस्तो देखिने मानिसलाई टोकौंला झैं गरी भन्दै थियो, “तैंले पैसा तिर्नै पर्छ । तँ जानीजानी मासुको बास्ना धेरै आउने झयालको छेउमा पल्टिएको थिइस् । तैंले त्यहाँ ओठ चाट्दै र जिब्रो फट्कार्दै मेरो भान्साबाट निस्किएको मासुको बास्नाको स्वाद लिएको मैले नै कति पटक देखेको छु । त्यसैले तैंले त्यो बास्नाको पैसा तिर्नै पर्छ ।”

उता त्यो गरीब भयभीत र असहाय जस्तो देखिंदै थियो । पसलेले मुल्ला नसरुद्दीनलाई आफ्नो पक्षमा पार्ने सुरले चिप्लो भाषामा भन्यो, “हेर्नुस् त साहेव, तपाईंहरू जस्ताले किनेर खाने–चीज यी दुष्टहरू सित्तैंमा पचाउन खोज्छन् ।”
नसरुद्दीनले कुराको चुरो बुझें । उनले त्यो गरीबतिर फर्किएर भने, “हो त, तिमीले मासुको बास्ना सुँघेर आनन्द लिएका रहेछौ । त्यसको मूल्य त चुकाउनै पर्छ नि ! खै, तिमीसँग भए जति सबै पैसा मलाई देऊ ।”

यो सुनेर पसलेको अनुहार चम्कियो । गरीबले आफ्नो गोजीमा भएका तीन वटा सिक्का नसरुद्दीनको हातमा राखिदियो ।
नसरुद्दीनले ती सिक्का दुई हातको अञ्जुली पारेर राखे । पसलेको कान नजिक लगेर अञ्जुली हल्लाए । त्यहाँबाट सिक्काको खन् खन् आवाज निस्कियो । अनि, पसलेलाई सोेधे “सिक्काको आवाज सुन्यौ हैन त ?”
“हो सुनें । खै, त्यो पैसा अब मलाई दिनुस् !” पसलेले आग्रह ग¥यो ।

तर, नसरुद्दीनले ती सिक्का गरीबलाई नै फिर्ता दिए, अनि पसलेतिर फर्किएर भने, “तिमीहरूको हिसाब बराबर भयो । यिनले तिम्रो पकवानको बास्ना लिएबापत तिमीले उनका सिक्काको ‘खन् खन्’ आवाज सुन्यौ !”

(व्युत्पन्नमतिका नसरुद्दीन १३औं शताब्दीका सुफी सन्त हुन् ।)

Related Posts

/*sign up form*/