माकुरोलाई कमिलाको अर्ति

by • • हेराइ र बुझाइComments (0)1056

Print Friendly, PDF & Email

 

 

जालो बनाउँदा बनाउँदा हैरान भएको माकुरोले सोच्यो– अब एउटा यस्तो बलियो जालो बुन्छु जहाँ प्रशस्त कीरा–फट्याङ्गा परिरहुन् र बसीबसी खान पाइयोस् !

उसले कोठाको एउटा अँध्यारो कुनामा गतिलो जालो बुन्न थाल्यो । जालो आधाउधी बनिसकेको थियो; यत्तिकैमा त्यही कोठामा घुमिरहने बिरालीले माकुरोलाई भनी, “यति सफा कोठामा कहिल्यै कीरा–झिंगा  नै आउँदैनन्, यहाँ जालो बुनेर के पाउँछौ र ?”

बिरालीको कुरा ठीकै लाग्यो । त्यसपछि माकुरो झयालको खापामा जालो बुन्न थाल्यो । जालो लगभग तयार नै भइसकेको थियो । यत्तिकैमा एउटी चरीले माकुरोको बुद्धिलाई धिक्कार्न थाली, “तिम्रो बुद्धि पनि के भएको माकुरी ? हावाहुरी आउँदा तिम्रो जालो मात्रै होइन, तिमीलाई पनि उडाएर कहाँ पु¥याइदिन्छ । यहाँ पनि जालो बुन्ने हो त … ?”

चरीको कुरा पनि हो जस्तै लाग्यो । झ्ण्डै बुनिसकेको जालो छोडेर दराजको सानो घर्रामा अर्को जाल बुन्न थाल्यो । कति दिनदेखि भोकै रहेको साङ्लोले घर्राको प्वालबाट मुन्टो निकालेर भन्यो “ए माकुरी, यो फ्याँक्न ठिक्क पारेको दराजमा जाल बुनेर तिमीले के पाउँछौ र ? ….” साङ्लोको कुरा सुनेपछि माकुरोलाई त्यो जालोमा थप काम गर्ने जाँगर भएन ।

अब अर्को उपयुक्त ठाउँ खोजेर जालो बुन्न माकुरोसँग जोस–जाँगर मात्रै होइन शारीरिक तागत पनि बाँकी थिएन । भोक, तिर्खा र थकानले ऊ लखतरान परिसकेको थियो । यही वेला त्यहाँ एउटा कमिलो आइपुग्यो । माकुरोले कमिलोलाई आफ्नो हालत बताएर उचित सल्लाह दिन आग्रह ग¥यो ।

माकुरोलाई सल्लाह दिंदै कमिलाले भन्यो, “माकुरा दाइ, म धेरै दिनदेखि तिमीलाई हेरिरहेको छु । तिमी पटक–पटक काम शुरू गर्छौ अनि अरूको भनाइमा लागेर बीचमै त्यो काम छोडिदिन्छौ । हेर, अर्काको लहैलहैमा लागेर आफ्नो काम बीचमै छोड्नेहरू सबैको हालत तिम्रो जस्तै हुन्छ । अबदेखि बहकिन छोडेर शुरू गरेको काम फत्ते गर्नतिर लाग्यौ भने सुख पाउन सकौला, मैले अरू त के भन्न सक्छु र ?”

Related Posts

/*sign up form*/