भोजन र रोग

by • • Homepage Mosaic, विज्ञान–व्याख्याComments (0)1015

Print Friendly, PDF & Email

सन् १४९२ मा क्रिस्टोफर कोलम्बसले अमेरिका पत्ता लगाएपछि युरोपेली मुलुकहरूले आआफ्ना पानीजहाजलाई नयाँ मुलुक खोज्न महासागरहरूको लामो यात्रामा पठाउन थाले । त्यस्ता पानीजहाज प्रायः हप्तौं र महीनौंसम्म जमीनबाट टाढा समुद्रमा तैरिरहेका हुन्थे ।

समुद्री यात्राका क्रममा नाविकहरू पानीजहाजको भण्डार–कक्षमा जे उपलब्ध हुन्थ्यो, त्यही खान्थे । त्यस जमानामा रेफ्रिजेरेटरहरू हुँदैनथे, त्यसकारण पानीजहाजमा तिनै भोजन–सामग्री लैजान सकिन्थ्यो जुन सामान्य तापक्रममा चाँडै बिग्रँदैनथे, सड्दैनथे । जस्तै सुक्खारोटी अनि सुकाएको वा धूवाँमा प्रशोधित मासु (सुकुटी) । यद्यपि यस्तो भोजन निकै बेस्वादे हुन्थ्यो, तर सामान्यतः नाविकहरूले जति खाए पनि पुग्ने गरी राखिएको हुन्थ्यो ।

 

ज्यानमारा रोगः स्कर्वीscurvy

पेटभरि खान पाए पनि नाविकहरू ती लामा यात्राहरूमा प्रायः बिरामी पर्थे । उनीहरू कमजोर हुन पुग्थे, तिनको गिजाबाट रगत बग्न थाल्थ्यो अनि मांसपेशीहरू दुखेर हलचल गर्नै गाह्रो हुन्थ्यो । केही समयमै उनीहरू केही काम गर्नै नसक्ने गरी दुब्लाउँथे र अन्ततः तिनको प्राण जान्थ्यो । यस्तो रोगलाई ‘स्कर्वी’ (Scurvy) भनिन्थ्यो । तर यो नाम कहाँबाट आयो भन्ने आजसम्म थाहा पाइएको छैन ।

स्कर्वी रोगको प्रकोप त्यस्ता जेल र अस्पतालहरूमा पनि हुन्थ्यो जहाँ हरेक दिन एकैखालको खाना पकाइन्थ्यो । यस्तै समस्या सेनाका व्यारेक र घेराबन्दीमा परेका शहरहरूमा पनि देखा पर्‍यो जहाँ प्रतिदिन एकै प्रकारको भोजन उपलब्ध गराइन्थ्यो । फाट्टफुट्ट कसैले भोजन र स्कर्वीका बीच सम्बन्ध हुनसक्छ भन्थ्यो पनि, तर त्यस्तो कुरा एउटा कानले सुनेर अर्को कानबाट उडाइन्थ्यो ।

 

स्कर्वी र भोजनका बीच सम्बन्ध

स्कर्वीको महामारी युरोपमा फैलिरहेको वेला, सन् १७३४ मा अस्ट्रियाली डाक्टर जे.जी.एच्. क्रेमर सेनामा कार्यरत थिए । उनले के देखे भने, यो रोग जहिले पनि सामान्य सैनिकहरूलाई मात्र लागिरहेको छ, उच्च सैनिक अधिकारीहरूलाई यसले कहिल्यै छोएकै छैन । के उदेक हो यो भनेर खोज्दै जाँदा उनले ठम्याए– सामान्य सैनिकहरूलाई भोजनमा पाउरोटी र गेडागुडी मात्र दिइन्थ्यो तर उच्च अधिकारीहरू फलफूल र हरियो–ताजा तरकारी पनि खान्थे ।

सन् १७३७ मा डा. क्रेमरले आफ्नो प्रतिवेदनमा किटानीसाथ लेखे— ‘फलफूल र तरकारी खान दिने हो भने सैनिकहरूलाई स्कर्वी रोगबाट जोगाउन सकिन्छ ।’ तर उनको प्रतिवेदनले कसैका कानमा बतास लागेन, यद्यपि स्कर्वीको महामारी फैलिरहेकै थियो ।

त्यसवेला खास गरी ब्रिटिश सरकार स्कर्वीबाट अत्यधिक हैरान थियो । ऊ दुनियाँभरि आफ्ना उपनिवेश बनाइरहेको थियो । आफ्ना बस्ती बसाइरहेको थियो । महासागर पारि व्यापार फैलाउन अन्य युरोपेली मुलुक उसको अनुसरण गरिरहेका थिए । तिनलाई कैयौं व्यापारिक पानीजहाज चलाउनु थियो– जसले मालसामान ढुवानी गरून्, अनि थुप्रै युद्धपोत सञ्चालन गर्नु थियो– जसले तिनको व्यापार र उपनिवेशको रक्षा गरून् । तर यस्ता पानीजहाजका नाविकहरू स्कर्वीको शिकार भएर ढलिरहेका थिए ।

यसबीच एकजना स्कटिश डाक्टर जेम्स लिन्डले समस्या समाधान गर्न अभिरुचि देखाए । पहिले त उनले क्रेमरकै प्रतिवेदन ध्यान दिएर पढे । त्यसपछि स्कर्वीका बारेमा विस्तृत ज्ञानका लागि कैयौं प्राचीन किताब अध्ययन गरे । यो सबबाट उनले धेरै कुरा थाहा पाए । जस्तै, सन् १५३७ मा फ्रान्सेली खोजकर्ता जेकस कार्टियर आफ्नो पानीजहाजबाट पहिलोपल्ट क्यानाडामा उत्रँदा अधिकांश नाविकलाई स्कर्वी लागिसकेको थियो । तिनलाई क्यानाडाका मूल निवासीले सुइरो आकारका सधैं हरिया रहने पात भिजाएर राखेको पानी ख्वाए । त्यो पानी खाएपछि सबै नाविक अचम्मसँग रोगमुक्त भएका थिए ।

लिन्डले पनि समुचित भोजनद्वारा स्कर्वी रोग निको पार्न सकिन्छ भन्ने निष्कर्ष निकाले । सन् १७४७ मा उनले स्कर्वी पीडित नाविकहरूमाथि आफ्नो प्रयोग शुरू गरे–कुन खाले आहारले स्कर्वी निको पार्न सबैभन्दा बढी काम गर्दो रहेछ भन्ने हेर्न । उनले केहीलाई नियमित आहारका रूपमा स्याउको रस, साइडर भिनिगर तथा अरूलाई विभिन्न फलफूलको रस ख्वाए । के देखियो भने, सबैभन्दा छिटो तिनीहरू रोगमुक्त भए, जसको आहारमा कागती (साइट्रस) वर्गका फलहरू— जस्तै कागती, सुन्तला, जुनार, मौसम आदि— को रस समावेश गरिएको थियो ।

 

मनाउनै महाभारत

आफ्नो अनुसन्धान र प्रयोगको निष्कर्ष सार्वजनिक गर्दै डा. लिन्डले ब्रिटिश जलसेनामा नाविकहरूको भोजनमा यस्ता फलको रस समावेश गर्न प्रचार अभियान चलाए । तैपनि ब्रिटिश सैनिक अधिकृतहरूलाई यसका निम्ति सहमत गराउन उनी सफल भएनन् । उनका कुरालाई तिनले मीठो गफभन्दा बढी महत्तवपूर्ण ठानेनन् ।

यो प्रसंगको झ्न्डै अढाइ दशक पछि, महान ब्रिटिश खोजकर्ता क्याप्टेन जेम्स कुकले पहिलोपल्ट लिन्डको अनुसन्धानलाई महŒव दिए । उनले आफ्नो पानीजहाजमा राखिने भोजन–भण्डारमा कागती समावेश गरे र जुन नाविक स्कर्वीबाट ग्रस्त भयो, उसलाई कागतीको रस ख्वाउन थाले । सन् १७७० को दशकमा प्रशान्त महासागरमा कुकले कैयौं लामा यात्राहरू गर्दा जम्माजम्मी एउटा नाविक मात्र स्कर्वीले मर्‍यो । यो सानो उपलब्धि थिएन । तैपनि ब्रिटिश जलसेनाले आफ्नो ढर्रामा फेरबदल गरेन ।

डाक्टर लिन्डको निधन भएको कैयौं वर्षपछि, सन् १७९४ मा, अन्ततः ब्रिटिश सेनाले उनको अनुसन्धान स्वीकार्‍यो । त्यसवेला ब्रिटेन फ्रान्ससँग युद्ध लडिरहेको थियो र आफ्ना सैनिक स्कर्वीबाट कमजोर भएर हार्नुपर्ला भनेर चिन्तित थियो । फलस्वरुप युद्धपोतहरूको भोजन–भण्डारमा कागती पनि शामेल गरियो ।

यो व्यवस्था अपनाएपछि एक वर्ष बित्दा नबिन्दै ब्रिटिश सेनाबाट स्कर्वी रोगको ‘सफाया’ भयो । अनि त ब्रिटिश पानीजहाजमा कागतीको प्रयोग यति सामान्य बन्न पुग्यो, ब्रिटिश नाविकहरूलाई ‘लाइमी’ भन्न थालियो । लन्डनको बन्दरगाहमा कागती (लाइम) भण्डारण गरिने गोदामहरूको नाम ‘लाइम हाउस’ हुन पुग्यो ।

 

‘बेरीबेरी’ को प्रकोपf18baf8b-11e5-4b29-83a2-cddbc0dc6869

स्कर्वीको प्रकोपबाट ब्रिटिश सेनाले छुटकारा पाएको झ्ण्डै १०० वर्ष पछि, जापानी सेना लगभग त्यस्तै रोगको सामना गरिरहेको थियो । पश्चिमा मुलुकको व्यापार–शैलीबारे जापानले पहिलो पटक सन् १८५३ मा थाहा पायो, जब अमेरिकी पानीजहाजहरू टोकियो बन्दरगाह पुगे र अमेरिकी व्यापारीहरूले जापानबाट अन्य देशहरूसँग व्यापार गर्ने अनुमति मागे । जापान त्यसनिम्ति राजी भयो र चाँडै नै आफूलाई पनि पश्चिमी ढाँचामा ढाल्यो । पश्चिमी शैलीका युद्धपोतहरू बनायो र आफ्नो जलसेना विकसित गर्‍यो ।

जापानी जलसैनिक प्रायः ‘बेरीबेरी’ (Beriberi) नामक रोगबाट ग्रस्त हुन्थे । यो शब्द श्रीलंकाका द्वीपहरूमा प्रयोग गरिने भाषाबाट आएको थियो, जसको अर्थ हुन्थ्यो— महादुर्बलता । बेरीबेरीबाट ग्रस्त मानिसहरू अत्यन्त कमजोर हुन पुग्थे र तिनका हातखुट्टामा पक्षाघात हुन्थ्यो । अन्ततः ती मर्दथे– केही दिनमै ।

त्यसो त बेरीबेरी ठ्याक्कै स्कर्वीजस्तो रोग थिएन । यसमा कमजोरी बेग्लै खालको हुन्थ्यो र त्यसबाट विशेष गरी खुट्टा प्रभावित हुन्थे । अनि, नाविक वा सैनिकको आहारमा फलफूल र तरकारीहरू समावेश गरिएको भए पनि यो रोग लाग्थ्यो । सन् १८७८ सम्ममा जापानी युद्धपोतहरूमा बेरीबेरीको प्रकोप भयावह भैसकेको थियो, उसका एक–तिहाइ नौसैनिकलाई पक्षाघात भएको थियो र जापान युद्ध लड्नका निम्ति अक्षम भैसकेको थियो ।

जापानी जलसेनाका एडमिरल–इन्चार्ज तकाकेलाई ब्रिटिशहरूले आफ्ना जलसैनिकको आहारामा फेरबदल गरेर स्कर्वी रोगमाथि विजय प्राप्त गरेको थाहा थियो । उनीहरूलाई बेरीबेरी रोग कहिल्यै लागेन भन्ने पनि उनलाई थाहा थियो । त्यसैले, उनले ब्रिटिश र जापानी नौसैनिकहरूलाई दिइने आहारको तुलना गरे । जापानी नौसैनिक केही तरकारी, माछा र भात खान्थे । ब्रिटिश नौसैनिक भात खाँदैनथे, त्यसको सट्टा जौ आदि अन्न खान्थे । अनि तकाकेले जापानी नौसैनिकहरूलाई भातसँगै जौ पनि ख्वाउन थाले । परिणाम के भयो भने, जापानी नौसेनाबाट बेरीबेरी सदाका लागि निमिट्यान्नै भयो ।

भोजनका आवश्यक तत्व

अठारौं शताब्दीसम्म, आहारमा परिवर्तन गरेर कुनै रोग निको पार्न सकिन्छ भन्ने कुरा (पश्चिममा) कसैलाई थाहा थिएन । उन्नाइसौं शताब्दीको प्रारम्भमा रसायनशास्त्रीहरूले भोजन कुन–कुन तत्वहरूद्वारा बनेको हुन्छ भन्ने अध्ययन गर्न थालेका थिए । उनीहरूले खाद्य पदार्थमा पाँच मुख्य तत्व रहेको पत्ता लगाएः

क. कार्बोहाइड्रेट (चिनी र स्टार्चका रूपमा),food-pyramid_625x411_81441377162

ख. लिपिड (घिउ–तेल र बोसोका रूपमा),

ग. प्रोटिन,

घ. खनिज,

ङ. पानी ।

यस्तो प्रतीत हुन थालेको थियो कि शरीरलाई चाहिने सबैथोक यिनमा थियो । मान्छेलाई बचाउने नै यिनैले हो । त्यसवेला जिज्ञासा उठ्यो– कार्बोहाइड्रेट, लिपिड, प्रोटिन र खनिजको निश्चित मात्रा लिएर, तिनलाई पानीमा मिलाएर कृत्रिम भोजन तयार पारियो भने के होला ? यस किसिमको कृत्रिम भोजनको सहायताले मानिसलाई जिउँदो राख्न सकिएला ?

यो पत्ता लगाउने एउटा मौका सन् १८७० मा उपलब्ध भयो । जर्मन सेनाले पेरिसलाई घेरेको थियो र पेरिसका बासिन्दा खान नपाएर मरिरहेका थिए । फ्रान्सेली रसायनशास्त्री जीन दुमस त्यसवेला पेरिस शहरमै थिए । उनले केटाकेटीका निम्ति दूधको विकल्पका रूपमा यस्तै कृत्रिम भोजन तयार पार्ने जमर्को गरे, तर त्यो प्रयास सफल भएन ।

अर्को वर्ष, सन् १८७१ मा आफ्नो प्रयोगबारे लेख्तै दुमसले भने— ‘कार्बोहाइड्रेट, लिपिड, प्रोटिन, खनिज र पानीको उपयुक्त सन्तुलनका साथ तयार गरिएको कृत्रिम भोजन जीवनरक्षाका निम्ति समर्थ भएन । हुन सक्छ, यी तत्वहरू बाहेक भोजनमा रहने अरू केही तत्व पनि जीवन र स्वास्थ्यका लागि आवश्यक छन् ।’ अवश्य पनि, यस्ता तत्व अत्यन्त न्यून मात्रामा रहेका हुन्छन् होला । नत्र रसायनशास्त्रीहरूले यिनलाई पत्ता लगाइसकेका हुन्थे ।

दश वर्ष पछि, सन् १८८० मा जर्मन रसायनशास्त्री एन्. लुनीनले अर्कोखाले कृत्रिम भोजन तयार गरे । कार्बोहाइड्रेट लिपिड, प्रोटिन, खनिज र पानीको मिश्रणबाट बनाइएको त्यो भोजन उनले मुसालाई ख्वाए । तर ती मूसा धेरै दिन बाँच्न सकेनन् । त्यसपछि उनले अझ् अर्को खालको कृत्रिम भोजन तयार पार्ने प्रयास गरे । उनले दूधबाट त्यसमा रहेको कार्बोहाइड्रेट, लिपिड, प्रोटिन र खनिजलाई निकाले र यी सबैलाई फेरि पानीको समुचित मात्रामा मिलाए । यो कृत्रिम दूध जस्तो प्रतीत हुन्थ्यो । तर यो भोजन ख्वाउँदा पनि मूसाहरू लामो समयसम्म बाँच्न सकेनन् । उता, गाईको प्राकृतिक दूध ख्वाउँदा चाहिं मूसाहरू लामो समयसम्म जीवित रहन्थे । यसबाट लुनीनले निकालेको निष्कर्ष थियो— ‘दूधमा कार्बोहाइड्रेट, लिपिड, प्रोटिन, खनिज र पानी बाहेक अन्य सूक्ष्म पदार्थ पनि विद्यमान छन् जो जीवन र स्वास्थ्यका लागि आवश्यक छन् ।’

वैज्ञानिकहरूले दुमस र लुनीनका कुरा सुनेका भए तिनलाई स्कर्वी र बेरीबरीका लागि एउटा स्पष्टीकरण प्राप्त हुन्थ्यो होला । शायद कागतीको रसमा जीवन र स्वास्थ्यका लागि आवश्यक कुनै पदार्थको सानो मात्रा निहित छ, जसको अभावमा मानिसहरूले स्कर्वीको कष्ट झेल्नु पथ्र्यो । शायद जौमा त्यस्तो कुनै पदार्थ विद्यमान छ, जुन नपाएर मानिस बेरीबेरीबाट आक्रान्त भइरहेका थिए ।

त्यसवेलाका डाक्टरहरूले दुमस र लुनीनका कुरा नसुन्नुको कारण के हुन सक्छ भने, उनीहरू अर्को दिशामा प्रयोगरत थिए । सन् १८९० तिर डाक्टरहरूले रोगका कारकका रूपमा कैयौं कीटाणु-जीवाणुको पहिचान गरे । त्यसपछि त, सबै खालका रोग कीटाणु-जीवाणुका कारण लाग्छन् भन्ने सोचाइबाट उनीहरू एकैछिनका निम्ति पनि बाहिर निस्कन सकेनन् । उनीहरूको सोचाइ र मान्यता थियो— स्कर्वी र बेरीबेरी रोग पनि कीटाणु-जीवाणुकै कारणले लाग्छन् । आहारमा फेरबदल गर्दा यी दुवै रोग निको हुन्छन् भन्ने तिनलाई थाहा थियो, तर यो कुरा यति महत्वपूर्ण छ भन्ने विश्वास उनीहरूलाई लागेको थिएन । उनीहरूलाई लाग्थ्यो— आहारमा गरिएको परिवर्तनले शरीरलाई कीटाणु-जीवाणुसँग लड्न सहयोग मात्र पुर्‍याएको हुनुपर्छ ।

धेरै दिनसम्म डाक्टरहरूले स्कर्वी र बेरीबेरी रोगका कारक कीटाणु-जीवाणुलाई खोज्ने प्रयास जारी राखे । उनीहरूले खाद्य–पदार्थमा रोगप्रतिरोधी तत्वलाई खोज्ने अति–अल्प मात्र प्रयास गरे । तर आज हामीले थाहा पाइसकेका छौं— कतिपय खाद्य पदार्थमा त्यस्ता तत्व हुन्छन् अनि आफ्नो आहारमा त्यस्ता खाद्यवस्तु समावेश नगर्ने हो भने ती तत्वको अभावले रोग पैदा हुन सक्छन् । 

आइज्याक इसिमोभ बीसौं शताब्दीमा विज्ञानलाई जनसाधारणसम्म पुर्‍याउने प्रमुख वैज्ञानिकहरूमध्ये पर्छन् । विज्ञान–कथालाई पनि उनले नयाँ उँचाइमा पुर्‍याएका छन् । उनले सयौं पुस्तक लेखेका छन्; यो लेख उनको पुस्तक ‘हाउ डिड वी फाइन्डआउट अबाउट भिटामिन्स’ बाट लिइएको हो ।

(साभारः शैक्षणिक सन्दर्भ, पूर्णांक १०३)

भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/