भारल, झारल र घोरल कोही भेडा जस्ता, कोही बाख्रा जस्ता

by • • नेपाल–अध्ययनComments (0)670

डा.तीर्थबहादुर श्रेष्ठ

शिक्षक को गताङ्क (फागुन) मा हिउँचितुवाको चर्चा ग¥यौं । नेपालको मात्र नभई विश्वकै निम्ति दुर्लभ हिउँचितुवाको मुख्य आहारा भारल भेडा हो । त्यसै भएर अंग्रेजीमा ‘ब्ल्यू शीप’ (Blue Sheep) नामले ख्यातिप्राप्त भारलको सन्दर्भ हिउँचितुवासँग जोडिन आइपुगेको थियो । भारल दुर्लभ प्राणीको कोटिमा त पर्दैन तर हिमालयको प्रतीक पशु हो भन्दा अत्युक्ति नहोला । हिमालयको हिमरेखा (५००० मिटर) र वृक्षरेखा (४००० मिटर) को बीचमा पर्ने लेकाली चरन क्षेत्रमा रम्ने यो चौपाया विकट र कहालिलाग्दो भीरपाखामा पनि बुर्कुसी मारेर उफ्रिन्छ, तलमाथि गर्छ तर कतै चिप्लिंदैन, लड्दैन । यही विशेषताका कारण यसले अचूक पाइला भएको जीव (Sure-footed animal) को पगरी पाउने गरेको छ ।

भारलको बथान
तस्वीरः जनक खतिवडा

नेपालका गाउँघरमा यसलाई ‘भारल’ हैन ‘नाउर’ भनिन्छ । यही संज्ञा आत्मसात् गरेर वैज्ञानिक नामकरणमा यस प्राणीलाई ‘सुडोइस नाउर’ (Pseudois Nayaur) भन्ने नाम हड्सन (Hodgson) ले जुराइदिएका हुन् । प्रारम्भमा यो प्राणीलाई भेडा समूहमा राखेर ‘ओभिस नाउर’ (Ovis Nayaur) भनिएको थियो । तर यसको आकृति र स्वभाव अरू भेडासँग ठ्याम्मै नमिल्ने भएको हुनाले एउटा नवीन जाति सुडोइस (Pseudois) अर्थात् नक्कली भेडा वा उप–भेडा जनाउने नाम प्रस्तावित भयो । जीवशास्त्रीहरू त्यसैलाई मान्यता दिएर नाउरलाई ‘सुडोइस नाउर’ भन्दछन् । हिउँचितुवाका सन्दर्भमा लेखिने लेख–रचनामा भने ‘भारल’ नाम बढी प्रचलित छ ।
हिउँचितुवाको आहारामा भारल, झरल, थारल, घोरल आदि खुरखुट्टे चौपायाहरू (Ungulates) पर्न आउँछन् । यो चर्चा भने भारलमा नै केन्द्रित गरौं । भारल भन्नाले नाउर वा नाउरु वा नाहुर आदि विभिन्न नामले चिनिने ब्ल्यू शीप Blue Sheep) अथवा नीलभेडालाई बुझनुपर्छ ।
विकासवादी सिद्धान्त (Evolution theory) का जीवशास्त्रीहरू भारलप्रति विशेष चाख राख्दछन् किन भने यसको आकृति र प्रकृति (स्वभाव) अलिकति भेडासँग र अलिकति बोका–बाख्रासँग पनि मिल्छ । यस प्राणीको विशेष अध्ययनमा लागेका जीवशास्त्री जर्ज स्यालर (George Schaller) ले त यसलाई नीलभेडो (Blue Sheep) हैन नील बोको Blue Goat) भन्नु उपयुक्त होला भन्ने विचार समेत पोखेका छन् ।
बाख्रा जातिको बोको र भेडो छुट्याउन हामीलाई मुश्किल पर्दैन, किन भने बोकाको दाह्री हुन्छ, भेडाको हुँदैन । बोकाको गन्ध हुन्छ, गन्हाउँछ तर भेडा भने गन्हाउँदैन । बोकाको घुँडामा ठेलाको दाग हुन्छ, भेडामा त्यस्तो दाग हुँदैन । भेडाहरू आपसमा जुध्दा पहिले पछि हट्छन् र दौडेर आइकन वेगले खप्पर बजार्छन् । तर बाख्राका बोकाहरू जुध्दा पछाडिका दुई खुट्टामा उभिएर एकले–अर्काको खप्परमा खप्पर बजार्छन् । भेडाका चारैवटा खुट्टाका खुरको बीचमा एउटा विशेष ग्रन्थी (Gland) जमेको हुन्छ । बोका–बाख्राका पछाडिका खुट्टामा यस्तो ग्रन्थी हुँदैन । सम्भोगको उत्तेजनामा बोकाले आफ्नो मुखमा आफैं पिसाब समेत गर्छ । त्यस्तो पिसाब गर्ने हदसम्म मात्तिएका बोकाहरूप्रति बाख्रा बढी आकर्षित हुन्छन् । धेरै मात्तिएको बेला बोकाहरूले आफ्नो लिङ्ग आफैं चाट्दछन् र चुस्छन् पनि । तर भेडाहरू यस्तो उत्ताउलो काम गर्दैनन् । उनीहरू शान्त नै हुन्छन् । जति पिटे पनि भेडाहरू ऐøया–आत्था भन्दैनन् । बोका–बाख्रालाई कुट्यो भने म्या… म्या… कराउँछन् । भेडाको सिङ मोटो र पछाडितिर घुम्रिएर जाने खालको हुन्छ । बोकाको सिङ लाम्चो च्वास्स परेको हुन्छ । घुम्रिएर जाँदैन ।

भारलका माउ–पाठा

अब कुरा आयो भारलको अथवा नाउरको । बोकाको जस्तो यसको दाह्री हुँदैन । सिङ चाहिं भेडाको जस्तै पछाडि घुम्रिन खोज्छ । चारवटै खुरमा ग्रन्थी हुन्छ । भारल बोका जस्तो गन्हाउँदैन र घुँडा पनि भेडासँगै अधिक मिल्छ । समग्रमा; आकृतिले अर्थात् शरीरको वनावटले भारल भेडासँग अधिक मेल खान्छ, तर यसको बानीव्यहोरा भने बोका–बाख्राको स्वभावसँग मिल्न खोज्छ । विशेष गरेर उत्तेजनामा आएको भाले भारल बोकाले जस्तै आफ्नो लिङ्ग आफैंले चाट्ने–चुस्ने गर्दछ । भारलहरू जुध्दा बोका जस्तै जुध्ने गर्दछन् ।
अनकन्टार हिमाली बासस्थानको प्राणी भएको हुनाले भारलको अध्ययन अझै अधुरो छ । तैपनि जीवशास्त्रीहरू प्राणी विकासको क्रमलाई पछ्याउँदा यसलाई भेडा र बोका बाख्राको मध्यस्थ प्रतिनिधि सम्झ्न्छन् । प्राणीशास्त्रीको यो कौतुहल बोकेर भारलहरू हिमाली लेक पाटन र चरनमा अझै चरिरहेका छन् । तिनको संरक्षणमा हाम्रो आफ्नै भविष्य पनि गाँसिएको छ ।
रूप र आकृतिमा भेडा अनि स्वभाव र व्यवहारमा बाख्रासँग नजीक भेटिने भारल ८० देखि ९० सेन्टिमिटर (३ फुट) जति अग्लो हुन्छ, यदि काँधको उँचाइ नाप्ने हो भने । यसको वजन ४०–७० किलोग्राम पुग्दछ । भारलको भुत्ला भेडाको जस्तो घुम्रिएको हुँदैन । सामान्यतया भारलहरू खैरो–नीलो भुत्लाले गर्दा उच्च पर्वतीय क्षेत्रका ढुंगा, बालुवा, चट्टानको रंगमा सजिलै विलिन हुन जान्छन् । टाढाबाट तिनलाई ठम्याउन गाह्रो पर्छ । भारलका भुत्लाबाट मानिसले ऊनी सामग्री बनाउँदैनन् । छाला भने यसै चकटी जस्तै बस्न ओछ्याउन मिल्दछ । भाले भारलको छाती र घाँटीको भुत्ला कालो भए तापनि पेटको भाग भने सेतो हुन्छ । पोथीको पूरा शरीर प्रायः एकैनासले खैरो र नीलोको मिश्रणमा सजिएको हुन्छ ।

हिमाली घोरल

भारलहरू बथानमा बस्ने–चर्ने गर्दछन् । एउटा बथानमा सय दुई सयसम्म भारल भेटिन्छन् । यो प्राणी वृक्षरेखाभन्दा माथिका घाँसे मैदान र बुट्यानमा अधिक भेटिन्छ । घना वन जंगलभित्र यिनको बास हुँदैन । खुल्ला नीलो आकाश र फराकिलो हरियो घाँसे मैदानको आनन्द लिंदै गरेका भारल (नाउर) को अनुपम दृश्य हिमाली पदयात्रीहरूका लागि वरदान सरह हुने गर्छ ।
नेपालको हिमाली क्षेत्रमा सामान्यतया ५००० मिटर भन्दा उच्च क्षेत्रमा बाह्रैकाल हिउँ जमेको हुन्छ । त्यसभन्दा होचो क्षेत्रमा विभिन्न वनस्पति मौलाउने गर्छन् तर वन र वृक्ष भने ४००० मिटर भन्दा तल मात्र हुर्कन सक्छन् । त्यस अर्थमा, ४००० र ५००० मिटरको उँचाइमा लेकालीखर्क, चौर र पाटनको बाहुल्य हुन्छ । यसै क्षेत्रलाई भारलले आफ्नो जीवनचर्याको थलो बनाएको हुन्छ । यस क्षेत्रलाई अल्पाइन जोन (Alpine Zone) अर्थात् लेकाली क्षेत्र भनिन्छ । जैविक विविधता र जडीबुटीका लागि यो क्षेत्र विशेष रूपमा सम्पन्न मानिन्छ । यहाँ फूल फुल्ने वनस्पतिका १२ सयभन्दा अधिक प्रजाति अभिलेखीकृत भएका छन् । यी वनस्पतिले छोटो समयभित्रै आफ्नो जीवनचक्र (अङ्कुरणदेखि फल र वीज प्रवाहसम्म) सम्पन्न गर्नुपर्ने हुन्छ । त्यसैले लेकाली क्षेत्रमा सबैजसो फूल एकैपल्ट फुल्न थाल्छन् । त्यसको सौन्दर्य पान गर्न साउन–भदौमा त्यहाँ पुग्न सक्नुपर्छ । यस क्षेत्रको सौन्दर्यलाई बढावा दिने काममा भारल जस्ता तृणहारी पशुले पनि योगदान पु¥याएका हुन्छन् । चौपायाले चरिदिएनन् भने घाँसे मैदान र त्यससँग आवद्ध रंगी–विरंगी भुईंफूलहरूलाई विभिन्न झरबुटाले विस्थापित गरिदिन्छन् ।
हाम्रा लेकाली घाँसे मैदानका रैथाने आदिवासी हुन् भारल (नाउर) भेडाहरू । यिनको शिकारमा कीर्तिमानी स्थापना गर्न विश्वका धनाढ्य शिकारीहरू लालायित हुन्छन् । नेपाल सरकारले ढोरपाटन आरक्षमा भारल शिकारको प्रावधान कायम राखेको छ । आखेटोपहार (Trophy) का लागि गरिने यस्तो शिकारबाट पर्यटन व्यवसायको प्रवद्र्धन र स्थानीय बासिन्दाको अर्थोपार्जनमा सघाउ पुग्ने विश्वास गरिन्छ । प्रकृति संरक्षणमा वन्यजन्तु शिकार सधैं विवादको विषय बनेको छ । तर पनि एक जना अमेरिकी सौखिन व्यक्तिले त्यहाँको ‘रक्की ब्वाइज रिजर्भेशन’ नामक शिकार आरक्षमा एउटा जंगली भेडा (Big-Horn Sheep) शिकार गर्न एक लाख अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँ लगभग एक करोड सलामी बुझएको खबर यसै वर्ष २० फेब्रुअरीको न्यूयोर्क टाइम्स मा छापिएको थियो । भारल (नाउर) शिकारमा पनि यस्तै खर्च गर्ने सम्भ्रान्त शिकारीहरूको कमी छैन यो संसारमा । पर्यटन व्यवसायमा शिकार व्यवस्था मिलाइदिने विभिन्न व्यावसायिक संस्था नेपालमा धेरै पहिलेबाटै कार्यरत छन् ।

भारलपछि झरलका कुरा
झरल बोका–बाख्राको जातिमा पर्ने अर्को हिमाली चौपाया हो । अंग्रेजी भाषामा यसलाई हिमालयन थार (Himalayan Tahr) भन्ने संज्ञा दिइएको छ । र, वैज्ञानिक नामकरण अनुसार यस प्रजातिलाई ‘हेमिट्रागस जेम्लाहिकस’ (Hemitragus Jemlahicus) भनिन्छ । यो पशु भारल (नाउर) भन्दा अलिक ठूलो र शरीरभरि लामा लामा भुत्ला भएको हुन्छ । भारलको टाउको र अनुहार भने बोका–बाख्राको जस्तै चिल्लो हुन्छ । सिङ ठाडो र पछाडितिर च्वास्स घुम्रेको हुन्छ । सामान्यतया झरलको रंग खैरो खालको हुन्छ । छिप्पिएपछि भाले झरलको रंग गाढा खैरो र त्यसमा रातो भाग बढी देखिन्छ । भाले झरलको गर्दन र घाँटीमा लामा लामा रौंका झुप्पा झुण्डिएर घोडाको याल जस्तै देखिन्छ । यो झरलको विशेष पहिचान पनि हो । नेपाल राष्ट्र बैंकले वि.सं. २०६६ मा जारी गरेको पचास रुपैयाँको नोटमा यो जनावरको चित्राङ्कन गरिएको छ ।

हिमाली झारल

झरलको बासस्थान लेकाली झरबुटा र वनजंगलको सिरानतिर धूपी, चिमाल र भोजपत्रको वन र आसपासमा हुन्छ । त्यस अर्थमा वृक्षरेखा भन्दा माथिल्लो भागमा भारल र तल्लो भागमा झरल अधिक पाइने अनुमान गर्न सकिन्छ । यो प्राणीलाई आहारा बनाउने मुख्य शिकारी पनि हिउँचितुवा नै हो । झरलहरू अक्करे भीरपाखामा सजिलै विचरण गर्दछन् । संभ्रान्त शिकारीका आखेटोपहारी शिकारको तारोमा झरल पनि समावेश छ । सगरमाथा राष्ट्रिय निकुञ्जमा झरलको निकै राम्रो उपस्थिति छ । तर त्यहाँ शिकार खेल्न पाइँदैन । तसर्थ शिकार आरक्षतिरै ध्यान केन्द्रित गर्दछन् आखेटोपहारी शिकारीहरू ।

झरलपछि घोरल
घोरलको रूपरेखा पनि झरल जस्तै बोका–बाख्रासँग नै धेरै मिल्न खोज्छ तर यो प्राणी पनि सोह्रैआना बोका–बाख्रा भने हैन । नेपालमा पाइने घोरल खैरो (Brown) खालको हुन्छ । त्यसलाई नेमोरिडस घोरल (Nemorhaedus Goral) भनिन्छ, वैज्ञानिक शब्दावलीमा । घोरलको पनि बोके दाह्री हुँदैन । यो प्राणी नेपालको पहाडी क्षेत्र; महाभारत श्रृंखला र चुरेको वनमा समेत पाइन्छ । झट्ट हेर्दा र देख्दा यो बोका–बाख्रा जस्तै देखिन्छ । यसका सिङ ससाना हुन्छन् र गलामा सेतो पोतिएको जस्तो देखिन्छ । यही विशेषताले नै यसको परिचय स्थापित गर्दछ । यो चौपाया पनि अत्यन्तै भिरालो ठाउँमा भाग्न; दौड्न कुशल हुन्छ ।
भारल (नाउर) जस्तै झरल र घोरल पनि हाम्रा हिमाली जीव–सम्पदा हुन् । यिनको संरक्षण हुनु भनेको हाम्रो लेकाली पर्यावरणको संरक्षण हुनु हो, जहाँ हाम्रा अमूल्य जडीबुटीहरू पाइन्छन् । त्यहाँको पशुपालन व्यवसाय (चौंरी, भेडा, च्याङ्ग्रा) को हाम्रो अर्थ–व्यवस्थामा महत्वपूर्ण भूमिका रहँदै आएको छ । त्यहींबाट निःसृत जलसम्पदाले हाम्रो कृषि प्रणालीलाई सिञ्चन गर्दछ । त्यसका अतिरिक्त पर्यटन विकास र जलस्रोत विकासका लागि पनि लेकाली पर्यावरणले विशेष महत्व राख्दछ । त्यसैले त्यस्तो पर्यावरणभित्रका वन्यजन्तुलाई पनि चिन्नु, बुझनु र तिनको संरक्षण गर्नु सबै नेपालीको साझ जिम्मेवारी हो ।

स्रोत ग्रन्थ
१. हेमसागर बराल तथा करनबहादुर शाह— नेपालका स्तनधारी वन्यजन्तुहरू (२०६५ साल)– हिमाली प्रकृति, नेपालद्वारा प्रकाशित
२= S.H. pratter (3rd ed. 1971)- The book of Indian Animals Bombay natural history society, India.
३. George B. Schaller (1972) – on the behavior of blue sheep (Psseudois nayaur). Journ. Bombay Natural History Society vol, 69, No. 3
४. Daral Hillard (1989): vanishing tracks: four years among the snow leopards of Nepal. Arbor house/William Morrow. New York

Related Posts

/*sign up form*/