भादगाउँ पाठशाला

by • • 2072_06, साभारComments (0)748

Print Friendly, PDF & Email
साभार

शिव रेग्मी

… १९५७ चैत १५ गते उपत्यकाभित्र खुलेका १६ वटा विभिन्न पाठशालाहरूमा १६ जना शिक्षक भर्ना भएका देखिन्छन् । यिनै १६ वटा भाषा पाठशालामध्ये ‘भादगाउँ पाठाशाला’ पनि एक हो, जसमा पाटनका पण्डित धर्मदत्त खनाल वार्षिक २४०/- रुपैयाँको तलबमा भर्ना भएका थिए । त्यसपछि १९५८ जेठ ५ गतेको सनदले भादगाउँ पाठाशालामा वार्षिक १२०/- रुपैयाँ खाने पण्डित पद एकमा श्रीधर फुयाल सिन्हामुगलको नियुक्त भएको देखिन्छ । यसै गरी फेरि १९५८ असोज १२ गतेको सनदले भादगाउँमा २४०/- रुपैयाँ वार्षिक तलब खाने एक शिक्षकको दरबन्दी सहितको अर्को एक पाठशाला थप भएको छ ।

यसरी हेर्दा १९५७–५८ सालको बीचमा भादगाउँमा दुइटा पाठशाला खुलेको जस्तो देखिन्छ तर वास्तवमा यी दुइटा पाठशाला खुलेको नभै एउटै पाठशालामा शिक्षकको दरबन्दी मात्र थप भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ । यसको प्रमाणको रूपमा विक्रम संवत् १९६९ सालमा भादगाउँ पाठशालामा पण्डित धर्मदत्त आचार्य (इतिहास शिरोमणि बाबुराम आचार्यका पिता), पण्डित तारानाथ न्यौपाने र पण्डित शिवदत्त लामिछाने शिक्षकका रूपमा बहाल रहेका देखिन्छन् । यसै गरी १९७७ फागुन महीनामा भादगाउँ पाठशालाका शिक्षक दरबन्दीमा ५ जवान शिक्षक पण्डितहरू पुगेका देखिन्छन्, जसमध्ये खिलनाथ, प्रेमसागर दवाडी, लक्ष्मीप्रसाद, वैजनाथ न्यौपाने र धर्मनन्दहरू बहाल रहेका देखिन्छन् भने टहलुवा पदमा तुलसीदास ।

उपर्युक्त नामहरूको जानकारी शिक्षक पण्डितमध्ये एक वैजनाथ न्यौपाने (१९२४–२००३) को संकलनमा रहेको त्यतिखेरको अर्थात् १९७७ फागुन महीनाको हाजिरी कापीको नक्कलबाट प्राप्त भएका हुन् । नेपालमा त्यतिबेला एक शिक्षकले केही विद्यार्थीहरूका समूहलाई शिक्षा दिने प्रचलन भएको बुझ्न्छि । त्यसैले कुनै खास शिक्षकको जिम्मा केही विद्यार्थीहरू आफ्ना पाठ पढ्ने गर्दथे । १९७८ मंसीर महीनामा पण्डित वैजनाथ न्यौपानेतर्फका विद्यार्थीहरूमा (फेला परेको हाजिरी कापीको नक्कमा) गङ्गाप्रसाद ढकाल, सूर्यमान धोंजु, दसकुमार श्रेष्ठ, लालबहादुर कर्माचार्य, रामभक्त श्रेष्ठ, जुजुभाई गोयंजु, गोविन्दलाल श्रेष्ठ, इन्द्रलाल श्रेष्ठ, वैकुण्ठरत्न, इन्द्रबहादुर र शुकदेव जोशीको नाम उल्लेख भएको देखिन्छ ।

यही भादगाउँ पाठशालाका पण्डित (सम्भवतः वैजनाथ न्यौपाने) लाई १९५८ भाद्र वदि १२ रोज २ मा नेपाल पाठशालाबाट एउटा आदेश पठाएको देखिन्छ । नेपाल पाठशाला भन्नाले त्यतिबेला भाषा पाठशालालाई नियन्त्रण र निर्देशन दिने एउटा छुट्टै निकाय थियो कि भन्ने अड्कल काट्न सकिन्छ— आजको केन्द्रीय स्तरको विभाग जस्तो । अथवा यस्तो पनि हुन सक्छ, यो नेपाल पाठशालाले काठमाडौँ उपत्यकाभित्र खुलेका यस्ता भाषा पाठशालालाई नियन्त्रण र निर्देशन दिने गर्दथ्यो । उक्त आदेशमा ९ वटा बुँदामा विभिन्न आदेश र निर्देशनहरू दिएका देखिन्छन् जसबाट त्यतिबेलाको शिक्षा प्रशासन सम्बन्धी केही जानकारी लिन सकिन्छ ।

पाठशालाका सामान हराउन वा नोक्सान हुनबाट बचाउनदेखि लिएर त्यतिबेला पाठशालाले पाउने वार्षिक सार्वजनिक बिदा समेत त्यस आदेश पत्रमा किटेर लेखिएको छ । प्रस्तुत आदेश पत्र पनि निज वैजनाथ न्यौपानेको संकलनबाट प्राप्त भएको हो । उक्त आदेश पत्र अध्ययन गर्दा त्यतिखेर दिने गरेको सार्वजनिक र सहुलियत बिदा हाल र श्री ५ को सरकारले दिने गरेका बिदाहरूमा पनि केही सामञ्जस्यता देखिन्छ । हाल दिइने गरेका बिदाहरू त्यही बेलादेखिकै आडमा मौलाएर आएका रहेछन् भन्न सकिन्छ । तर आज तुलनात्मक दृष्टिले हेर्दा भने त्यति बेलाका बिदाहरू बढी व्यावहारिक र उपयोगी सिद्ध अनुभव हुन्छन् । उक्त आदेशमा उल्लेख भएका छुट्टीका दिनहरू :

श्री ५ को जन्मोत्सव १ दिन, श्री ३ को जन्मोत्सव १ दिन, पण्डित र विद्यार्थीको जन्मोत्सव १ दिन, घटस्थापना १ दिन, फुलपातीदेखि पूर्णिमासम्म ९ दिन, यमपञ्चक ५ दिन, शिरात्री, श्रीपञ्चमी, रामनवमी, चैत्र अष्टमी, साउने संक्रान्ती, माघे संक्रान्ती, वैशाख संक्रानी, हरिशयनी र हरिबोधनी एकादशी, जनै पूर्णे र गुरु पूजा समेत गरी जम्मा ११ दिन, श्राद्धको १ दिन, दश दिन जुठो लाग्नेमा ३ दिन, जुठो गहुँत खाने १ दिन, आफूले क्रिया गर्नुपर्ने १५ दिन, चन्द्रग्रहण १ दिन, आफ्नु व्रतबन्ध र छोराको व्रतबन्धमा ४ दिन, आफ्नु विवाह ७ दिन, देवाली पूजामा १ दिन, छोराछोरीको विवाहको ४ दिन, घोडेजात्रा आधा दिन, औँशी र पूर्णे आधा दिन, अष्टमी र परेवा १ दिन, इम्तिहान भएपछि पण्डित र लडकाहरूलाई विदा साढे एक महीना ।

पाठशालामा १० बजेदेखि बीचमा आधा घण्टा खाना खान छोडी ६ घण्टा पढाउनुपर्ने र विद्यार्थीहरू ठगेर पढ्न आएनन् भने टहलुवा लगाएर घरमा पक्रन पठाई पाठशाला ल्याई हप्काई दप्काई गरी थुन्न सक्ने अधिकार पण्डितहरूलाई आदेश पत्रमा दिएको देखिन्छ । यस्तै विद्यार्थीहरूलाई २–४ दिनसम्मको बिरामी बिदा शिक्षकले दिन सक्ने अधिकार प्रदान गरिएको छ भने त्योभन्दा बढ्ता दिनुपरेमा नेपाल पाठशालामा सोध्नुपर्ने र जवाफ आए बमोजिम गर्नुपर्ने व्यहोरा उल्लेख छ । पढ्ने पढाउने बखतमा बाहिरका कुनै मानिसले विद्यार्थीसँग कुराकानी गर्ने वा अलमल्याउने गर्न नदिने, नटेरेमा निकाला गर्नु भन्ने आदेश समेत उक्त पत्रमा उल्लेख छ । विद्यार्थीहरूको पठनपाठनमा अनुशासन कायम राख्ने कुरामा प्रस्तुत आदेश पत्रमा यथेष्ट व्यवस्था भएको पाइन्छ भने शिक्षक पण्डितहरूमा पनि विद्यार्थीहरूप्रति पालन गर्नुपर्ने गहन जिम्मेवारीको उल्लेख भएको छ ।

भादगाउँ पाठशाला शुरूमा कहाँ थियो भन्न सकिन्न तर १९७४÷७५ सालतिर भने यो पाठशाला सुकुल ढोकामा रहेको थियो र पछि लायकुलीमा सरेको कुरा भक्तपुर निवासी एक बृद्धको सम्झ्नामा रहेको छ । भादगाउँ पाठशालाले त्यतिखेर ३ पासको पढाइ सञ्चालन गरेको थियो भने पछि ‘औँठा छाप’ विषय थपिएपछि १९७८ सालदेखि चार पाससम्मको पढाइ सञ्चालन गरेको बुझ्न्छि । भनिन्छ, त्यतिवेला नेपालमा चौध पाससम्मको पढाइ हुने गरेको थियो ।

परिशिष्ट

(भादगाउँ पाठशालालाई पठाइएको आदेशपत्र)

श्री ५ महाराजाधिराज श्री ३ महाराज

            ३                 १

नेपाल पाठशालाबाट

भादगाउँका पाठशालाका पण्डित के —

पाठशालामा रोज राज झदु बडाउ साफ नमिक्त वर विछ्याउना लगाउन लगाई पाठशालामा जोपरी आयाको कामकाज टहलुवालाई गर्न लगाउनु— १

सो पाठशालामा रह्याका, पुस्तक कीताप भाडा बीछ्याउनामा माल मत्ता जो छ हराउन र नोक्सान हुन नपाउन्या गरी तिमीले र टहलुवाले हिफाजतसंग राषनु लाउनु लेषिया बमोजिम पाठशालामा रहेको माल मत्ता हरायो नोक्सान भयो भन्या सो नोक्सानी तिम्रा र टहलुवाका घर घरानाबाट दामासाहीका हिसाबले बुझउनु पर्ला— २

पाठशालामा रोज १० बजे हाजिर भै ६ घंटा विद्यार्थीलाई पढाउनु बीचमा आधा घंटा षाजा षाना नीमीत्त छोडी दिनु— ३

सो विद्यार्थीको पैल्हा दोश्राको रोल मिलाई नाउघर लेषियाको फाराम कागजमा रोजरोज हाजिर काज वेरामी गैर जो छ जनाई लेषनु— ४

विद्यार्थीहरूले ठग्यायीं गरी पढन आयनन् र गैर प¥यो भन्या टहलुवाले पक्रन पठाइ पाठशालामा ल्याई बुझ्ी तिम्रा तजवीजले हपकाई हवकाई थुनी पाठ्् नआयासम्म पाठ घोकन लगाई छोडी दिनु— ५

वीद्यार्थी वेरामी भयो भनी आमा बाबु वारीसले भनि लेषि पठायो भन्या बुझ्ी १ दीन सम्मलाई वेरामी जनाई दीनु १ दीन देषि बढ्ता म्याद दीनु पर्यो भन्या फेरी जाची २/४ दीनलाई म्यान दीनु सो म्यादमा पनि आउन नसकी धेरै दीनसम्म वेरामी हुने ठह¥यो भन्या नेपाल पाठशालामा साधा र जवाफ भया वमोजीम गर्नु— ६

वीद्यार्थीहरूका काम परी आयोमा १ घंटा देखि ३ घंटा सम्म र १ दीनसम्म तिम्रा तजवीजले वीदा दीनु हुन्छ ताहा देषि बढ्दा वीदा दीनालाई तपसिलमा लेषिया बमोजिमको वीदा दीनु तेस दीन देषी बढ्ता अरू काम परि आयो भन्या तीमीले ठहराई नेपाल पाठशालामा सोधनु र काम अनुसार वीदा पाउन्या छ— ७

जागीरदार पंडित वीद्यार्थी टहलुवालाई सर्कारीया उर्दि पुर्जि आयो भन्या पाठसाला गोश्वारा कीतापमा जनाउन लगाई उर्दि पुर्जि बमोजिं गर्नु गराउनु— ८

पढ्न्या पढाउन्या वषत्मा पण्डित वीद्यार्थीहरूसंग कोही मानीस गै कुरा काहानी गर्न र अलमल्याउन नदीनु गरे भन्या नीकाला गर्न लगाउनु— ९

विदाछुट्टीका दीनको तपतिल—

…………….

३ का जन्मोटसव दीन— १

…………………….

१ का जन्मोटसव दीन— १

पंडित र लडकाको आफ्ना जन्मोटसव दीन— १

इन्द्र जात्रामा अंग्रेज आउन्या दीनको सट्टा वीस्क्यात— १

एै मागादिमा राज हुन्या दिन— १

घटस्थापना दीन—       १

फुलपाटी देषि पुर्णेसम्म दिन— ९

यम पंचक दीन— ५

घरमा नुवारान पाश्नि गर्दा दीन— १

दरवारको फागु दीन— १

सरश्वती पुजा दीन— १

गाइजात्रा दीन— १

कृष्णाष्टमी दीन— १

शिरात्री १, श्री पंचमी १, रामनौमी १, चैत्र अष्टमी १, साउने संक्राती १, माघे संक्राती १, वैसाष लाग्ने संक्राती १, हरिसैनी १, हरीवोधनी १, जनै पुर्णे १, गुरूपुजा १ समेत ज्मा दीन— ११

एकभक्त दीन— ।।

श्राद्धका दीन— १

१० दीन जुठो लागनेमा दीन— ३

जुठोका गहुत षाने दीन— १

आफुले क्रीया गर्नु पर्नेमा दीन— १५

सुर्य ग्रहण दीन— १

चन्द्र ग्रहण दीन— ।।

आफ्नु व्रतवंध र छोराको व्रतवन्धमा दीन— १

आफ्नु विवाहका दीन— ७

देवाली पुजा दीन— १

छोराछोरीका विवाहका दीन— ४

घोडेजात्रा दीन— ।।

औंसी र पुर्णे आधा आधा दीन—

अष्टमी परेवाका दीन— १

इम्टीहाम भयापछि पंडित लडकाहरूकै वीदा मैन्हा— १ ।।

इति सम्वत १९५८ साल मिति भाद्र वदी १२ रोज ३ शुभम्—

सौजन्य : पुरातत्व विभागको मुखपत्र प्राचीन नेपाल,

अंक १२११२२, पुसचैत २०४७ ।

Related Posts

/*sign up form*/