‘भँगेरामै छ जे छ’

by • • नेपाल–अध्ययनComments (0)298

Print Friendly, PDF & Email

  डा.तीर्थबहादुर श्रेष्ठ

आफ्नो वरपरका पशुपन्छी स्वस्थ अवस्थामा छन् भने हाम्रो वातावरण स्वच्छ छ भन्ने बुझनुपर्छ । वाग्मतीबाट माछा हरायो; स्वयम्भू, पशुपतिका बाँदरहरू रोगी भए; शहर बस्तीबाट भँगेरा लोप भए; वरपरका वनमा पशुपन्छी रोगी हुन थाले भने त्यो मानिसको लागि शुभ संकेत हैन । अर्थात् हाम्रा शहरवासी भँगेराहरू हाम्रो वातावरणका भरपर्दा सूचक हुन् ।
‘कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी
चुरचुर गर्छ भँगेरो, चिरविर गर्छे भँगेरी’
‘कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी
चुरचुर गर्छ भँगेरो, चिरविर गर्छे भँगेरी’

सिर्जना अधिकारी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको कविता वाचन गरेर ललितपुर, यलमाया केन्द्र (पाटनढोका, ललितपुर) को प्राङ्गणमा स–साना नानीहरूले यस वर्षको विश्व ‘भँगेरा दिवस’ मार्च २१ तारिख (८ चैत २०७३) को साँझ्लाई चिरविराइदिए । कलाकार राजेश केसी सोही स्थलमा एक व्यङ्ग्य चित्र कोर्दै थिए— मोबाइल फोनका टावरको मुनि छट्पटाउँदो भँगेरो । (तस्वीर तल) वर्तमान काठमाडौं उपत्यकाको एक वास्तविक चित्र । यलमाया केन्द्रको प्राङ्गणमा केही भँगेरा भँगेरी चिरविराउँदै पनि थिए । तिनको तालमा ताल थप्न भँगेराका आवाज त्यहाँ जडिएको स्पिकरबाट पनि उछिट्टिंदै थियो । भँगेरा विषयक एक कथाको वाचन पनि भयो । देवीजी (अञ्जु दीक्षित) ले लेख्नुभएको त्यो कथा सुनेर उहाँका सुपुत्र कनक दीक्षित मात्र हैन कनकको ट्वीटरले बोलाएका सबै श्रोता भावुक बन्न पुगे ।

‘भँगेरामै छ जे छ’ भन्ने कनकको कथनलाई पुष्टि गर्ने काम भने मेरो काँधमा आइप¥यो । अघिल्लो दिनको प्रातःकालमा नै कनकजीको फोन आएको थियो— ‘भँगेरा दिवसको दिन केही बोलिदिनुप¥यो । रातो बंगलाका भाइबहिनीले कविता वाचन गर्छन्, कथा पनि पढ्छन्’ आदि । बालबालिकाबीच चिरविराउन रमाइलै हुन्छ भनेर यलमाया केन्द्र पुगेको थिएँ । श्रोता दीर्घामा जानेमानेका थुप्रै बुद्धिजीवी, पत्रकार, कलाकार, चिकित्सकहरूको जमात देखेर एकछिन रनभुल्लमा परें । भँगेराको विषयमा जिज्ञासु त्यो जमातले मलाई अझ् हौस्यायो । भँगेराले मलाई मेरो बाल्यकालतिर डो¥यायो ।

भँगेरा भन्नु मेरो बालसखा पनि हो । काठमाडौं, महाबौद्ध टोलमा बार्दली भएको घर थियो । त्यो घरका भित्तामा ससाना प्वाल थिए । तिनमा भँगेराले गुँड लगाएका हुन्थे । त्यसबेला माटोको जोडाइ भएको भित्ता मात्र हैन; चुन, सुर्की र बज्रका लेपन लागेका घरमा पनि भँगेराका लागि प्वालहरू बनेका हुन्थे । डकर्मीले घर बनाउँदा नै ‘चखुँप्वा’ ‘बखुँप्वा’ भनेर भँगेरा र परेवाका लागि गुँड बनाउने प्वालहरू छोडेका हुन्थे । सानो प्वालमा भँगेरा र ठूलो प्वालमा परेवाहरू गुँड बनाउँदथे ।

पाल्तु बस्तुभाउलाई अंग्रेजीमा ‘डोमेस्टिक’ (Domestic) भन्ने विशेषण लगाइन्छ । मानिसकै घरबस्तीमा बस्ने भँगेरालाई पनि अंग्रेजीमा ‘डोमेस्टिक स्पारो’ (Domestic Sparrow) भनिन्छ । काठमाडौं उपत्यकाको सन्दर्भमा यी शहरिया भँगेरा हुन् । गाउँतिर या काँठमा बस्ने अर्को खालको भँगेरालाई ‘ट्री स्पारो’ (Tree Sparrow) भनिन्छ । त्यस अर्थमा त्यो रूख भँगेरा भयो । रूख भँगेराहरू घर भँगेराभन्दा अलि साना र चञ्चल हुन्छन् । भाले र पोथीको रंग उस्तै हुन्छ । हामीलाई सजिलै छुट्याउन गाह्रो पर्छ । घर भँगेराका पोथी अलग्गै छुट्टिन्छन् । यिनको शरीर फुस्रो खरानी रंगको प्वाँखले मात्र सजिएको हुन्छ । पखेटातिर केही काला प्वाँख हुन्छन् । पोथी भँगेरा भाले जस्तो राम्रो देखिंदैन ।

भाले घर भँगेराको शरीर गाढा खैरो चकलेटी रंगका ‘ब्राउन’ प्वाँखले शोभायमान हुन्छ । सेतो छातीमा चुच्चोको मुनिबाट कालो कण्ठ प्रष्ट देखिन्छ । टाउकोको तालु भने खरानी रंगको हुन्छ । गाला सेतो चमकमा सुन्दर देखिन्छ । रूख भँगेरा पनि झ्ट्ट हेर्दा घर भँगेरा जस्तै देखिए तापनि तिनको टाउको चकलेटी खैरो हुन्छ । पोथी रूख भँगेरा पनि भाले जस्तै दुरुस्त हुन्छ । मेरा बालसखा चाहिं घर भँगेरा नै हुन् । तसर्थ, म आफूलाई तिनमा नै केन्द्रित गर्न चाहन्छु ।

२००७ सालतिरको कुरा गर्दा काठमाडौं शहरका प्रत्येक घरमा भँगेराको बास हुन्थ्यो । एउटा तीनतले घरमा झ्ण्डै तीस वटा ‘चखूँ–प्वा’ अर्थात् भँगेराका खोपा हुँदा हुन् । मान्छेको एक परिवारका साथ भँगेरा–भँगेरीका तीस परिवार बस्दथे । आजभोलि निर्माण कम्पनीका ठेकेदार मिस्त्री, डकर्मी तथा इन्जिनियरहरूले बनाएका भवनमा तीस परिवार मान्छे बस्दा हुन् तर भँगेरा वा परेवा; कुनै पनि पन्छीको लागि त्यहाँ आवासको व्यवस्था हुँदैन । भँगेराको चिरविरे आवाजसँग निद्रा खुल्ने बिहानीको मोहिनी मेरो अतीतको सम्झ्ना बनेर बसेको छ । आफ्ना वरपरका पशुपन्छी स्वस्थ अवस्थामा छन् भने हाम्रो वातावरण स्वच्छ छ भन्ने बुझनुपर्छ । वाग्मतीबाट माछा हरायो; स्वयम्भू, पशुपतिका बाँदरहरू रोगी भए; शहर बस्तीबाट भँगेरा लोप भए; वरपरका अरू वनमा पशुपन्छी रोगी हुन थाले भने त्यो गाउँ–शहरमा बस्ने मानिसको लागि शुभ संकेत हैन । अर्थात् हाम्रा शहरवासी भँगेराहरू हाम्रो वातावरणका भरपर्दा सूचक हुन् । तिनका अतिरिक्त भूकम्प, आगलागी आदि प्रकोपको सूचना पनि तिनबाट प्राप्त हुन्छ । मान्छेको निकट बस्ने विभिन्न पशुपक्षीहरू जस्तै भँगेरा, परेवा, काग, सारौं (रुपी) आदिको अप्रत्यासित व्यवहार प्रकट हुनु प्रकृतिमा उत्पन्न असामान्य स्थितिको द्योतक हुन सक्छ ।

हाम्रा सहवासी प्राणीहरूमध्ये को मित्र र को शत्रु हुन् भनेर चिन्न सजिलो हुँदैन । भँगेरा-भँगेरीको संख्यामा अत्यधिक वृद्धि हुँदा, तिनबाट हुने बालीनालीको नोक्सानी खप्न सजिलो हुँदैन । भँगेराले आतङ्क मच्चायो भनेर आजभन्दा ६० वर्ष पहिले चीनमा माउत्सेतुंगको सरकारले भँगेरा उन्मूलनको अभियान चलायो । माउत्सेतुंगको आदेश अनि चीनका जनताका अगाडि जाबो भँगेरा के बाँच्न सक्थ्यो ! करोडौं मान्छे मिलेर अर्बाैं भँगेरा मारे । लेखेटी लखेटी मारे । ढ्याङ्ग्रो ठटाई ठटाई मारे । विचरा भँगेराहरू अरू चराझैं धेरै टाढा उडेर भाग्न सक्तैनन् । एक दुई वेगमा नै थाकेर भुईंमा झ्र्छन् र मर्छन् ।

माउत्सेतुंग प्रशासनले ठम्याएका चार शत्रु (भँगेरा, उपियाँ, मुसा र लामखुट्टे) निर्मूल गर्ने अभियानले भँगेरा मुक्त चीन स्थापित पनि भयो । तर त्यसपछि किसानका भकारीमा धानभन्दा बढी धानकीरा देखिन थाल्यो । कीराफट्याङ्ग्रा लागेर अन्न बेमाख भयो । सलहले विगविगी मच्चायो । भँगेराका श्रापले भनौं, भँगेरा हत्याको पापले हो— त्यहाँ खडेरी पनि बल्झ्यिो । कीटनाशक औषधि पनि अधिक प्रयोग भयो । फलस्वरूप चीनले ठूलै अनिकाल बेहोर्नु प¥यो । सन् १९५९–१९६१ को तीनवर्षे अनिकाल चीनको इतिहासमा कालो अक्षरले अंकित हुन पुग्यो । भँगेराले कीराफट्याङ्ग्रा नियन्त्रण गरेर लगाएको गुनको चेतना नहुनाले त्यो अनिकाल भोग्नु परेको थियो । त्यही घटनापछि चीनमा जैविक विविधताको चेतना खुल्न गयो ।

भँगेरा दिवसको अवसरमा भँगेराका केही विशेषता बटुल्नु रमाइलै हुन्छ । हुन त हामी सानो छँदा गुलेलीको प्रमुख तारो भँगेरा नै हुने गर्थे । एक दिनको घटनाले मेरो त्यो बानी छुट्यो । म सानै थिएँ । लगभग ७-८ वर्षको हुँदो हुँ । महाबौद्धको बहालमा मानिसहरू हा…हा…हु…हु… कराउन थाले । एउटा कागले भँगेराको बचेरालाई लखेट्दो रहेछ । बचेरो वेगले उडेर मेरो नजिकै आइपुग्यो । फुत्त उफ्रेर त्यसलाई हावामा नै च्याप्प समातें । त्यसको मुटु वेगले चल्दै थियो । घर लगें । एउटा पिंजडामा राखें । केही भात र पानी पनि राखिदिएँ । त्यसले केही खाएन । मैले आमालाई बोलाएँ । आमाले त्यसको मुख च्यातेर भातको दुई सिता कोचिदिनुभयो । तर त्यसले ओकलिदियो । खाएन । उसको आमाले ख्वाएको भए कति रमाउँदै च्वाँ च्वाँ गरेर खाँदो हो ! मेरी आमाको हातको भात उसले फ्याँकिदियो । साँझ्मा पिंजडालाई कपडाले छोपेर सुत्न गएँ । बिहान भयो । हत्तपत्त त्यसलाई हेर्न गएँ । त्यो त मरिसकेछ । बाहिर निकालें । आमालाई देखाएँ । उ त मुठ्ठी कसेर मरेछ । आमाले भन्नुभयो, “भँगेराहरू मर्दा मुठ्ठी कसेर मर्छन् ।” गत वर्ष मेरी आमा परलोक हुनुभयो । ओछ्यानमा मुठ्ठी खोलेर जानु भएछ । अनि बालकृष्ण समजीको वाक्यांश सम्झें “मुठ्ठी बाँधेर आयौं हामी, मुठ्ठी खोलेर जानुछ ।”  समजीले भँगेराको चोला पाउनुभएको भए भन्नुहुन्थ्यो होला, “मुठ्ठी खोलेर आयौं हामी, मुठ्ठी बाँधेर जानुछ ।”

भँगेराहरू हिंड्दा उफ्री उफ्री हिंड्छन् । दुवै खुट्टा एकैपल्ट चाल्छन् । सानो छँदा खुट्टा बाँधेर भँगेरी दौड हामी पनि खेल्दथ्यौं । भँगेराको उफ्री हिंडाइ हेर्न रमाइलो हुन्छ । विशेष गरेर चैत वैशाखको महीना भँगेराका बचेराले आमासँग चारो माग्न च्वाँ च्वाँ गर्दै उफ्री उफ्री पछ्याएको दृश्य अति रमाइलो हुन्छ ।
भँगेरा-भँगेरीको बिहे प्रसंग पनि रोमाञ्चक हुन्छ । भँगेरा भन्दा भँगेरी बलियो हुन्छे । एक्लै भालेले एउटा पोथीलाई तह लगाउन सक्तैन । त्यसैले दुई-चार भालेको जमात लागेर एउटा पोथीसँग संग्राम छेड्छन् । च्वाँ च्वाँ र चूँ चूँ टोकाटोक चल्छ । त्यहाँ एउटा भाले भने नाच पनि देखाइरहेको हुन्छ । झ्म्टाझ्म्टीको त्यस दृश्यबाट पोथी उडेर जान्छे । एउटा भालेले त्यसलाई पछ्याउँछ । तिनको मन मिलेपछि जोडी बन्छ । र, भँगेराहरू ‘एक नारी ब्रह्मचारी’ को धर्म निर्वाह गर्ने गर्छन् । भँगेरा-भँगेरीको प्रेमालाप निकै रोमाञ्चक हुन्छ । भँगेरा-भँगेरीको प्रेमालाप प्रारम्भ भयो भने काठमाडौंबाट जाडो भाग्यो भन्ने बुझनुपर्छ ।
भँगेरा कसरी उड्छ वा उड्न सक्छ भन्ने मेरो पुरानो बाल जिज्ञासा हो । फुत्त उफ्य्रो, भुर्र उड्यो, चट्ट बस्यो कस्तो मज्जाको चाल ! त्यसको ज्ञान र विज्ञान भने बुझ्निसक्नु हुन्छ । चराहरूको शारीरिक बनोट, तिनका प्वाँख र पँखेटा अनि तिनका ज्ञानेन्द्रियहरूको क्षमता अझैं पनि हामीलाई थाहा छैन । धेरै रहस्य खुल्न बाँकी छन् । भँगेरामा के–के छ, त्यो हामीलाई अझैं थाहा छैन तर पनि निर्धक्क भन्न सक्छौं, भँगेरामा धेरै थोक छ; भँगेरामै छ जे छ ।

भँगेरासँगको सहअतित्वलाई वर्तमान शहरी परिवेशमा कायम राख्न केही वैकल्पिक व्यवस्थाको सोच विकास गर्नु-गराउनु पर्दछ । काठमाडौंको कुरा गर्ने हो भने यहाँका घरधनीहरूले घरको पछाडि मोहडामा वा सँगैका टहराहरूमा साना–साना प्वाँलहरू छोडेर भँगेरा निवासको व्यवस्था गरिदिन सक्छन् । बगैंचा वा खुल्ला स्थान छ भने त्यहाँ बटुकामा पानी एवं केही आहारा राखिदिन धेरै गाह्रो हुँदैन । त्यसरी निम्त्याइएका वा सत्कार गरिएका भँगेराले हाम्रो बारी–बगैंचामा कीराफट्याङ्ग्रा नियन्त्रण गरेर रखवारीको काम सहजै गरिदिन्छन् । अनुभवी बगैंचेहरू भँगेराको उपद्रोबाट बिरुवा जोगाउने उपायहरू अवलम्बन गर्दछन् । त्यो गाह्रो कुरा भएन । भँगेराहरू जलस्थान (Water Bath) मात्र हैन धूलोस्थान (Dust Bath) पनि रूचाउँदछन् । तसर्थ धूलो खेल्ने व्यवस्था पनि मिलाउन सकेमा स्वस्थ भँगेराको सानो जमात आफ्नो घरछेउ चिरविराउने अवस्था बन्न सक्छ । तर सबैभन्दा पहिले, भँगेरामा माया बसाउन हामी तयार हुनुपर्छ ।

अन्त्यमा,
सन् २०१० मा भारतको नासिक शहरका एक संरक्षणविद् मोहम्मद दिलावरको दिलबाट उठेको एउटा आवाज (विश्व भँगेरा दिवस) विश्वभर फैलन थालेको छ । गैंडा, बाघ, हाब्रे तथा हुचिल र हाँस–सारस जस्ता दुर्लभ पशुपन्छीको संरक्षणमा जुट्दा जुट्दै हाम्रै घरआँगनका भँगेरा लोप हुने अवस्था आउनु निश्चय नै लज्जास्पद विषय बन्न पुग्छ । हामीले हाम्रा सहवासी पशुपन्छीको संरक्षणमा ध्यान पु¥याउनु अति आवश्यक हुन्छ; किनभने तिनको भलाइमा हाम्रो पनि भलाइ छ । अमेरिकी उपन्यासकार राशेल कार्सन (Rachel Carson) को ‘सन्नाटापूर्व वसन्त’ (The Silent Spring) नामक पुस्तकमा उल्लेख भएझैं कीटनाशक विषादी र अन्य प्रदूषणले चराचुरुङ्गीहरू हाम्रो वातावरणमा बाँच्न सकेनन् र चिरविरे वसन्त ऋतुमा सन्नाटा छायो भने हामी त्यहाँ कसरी बाँच्न सकौंला भन्ने चिन्ता सबैले लिनु आवश्यक छ । त्यतिबेला; भँगेरा म¥यो भन्ने पीर हैन काल पल्कियो भन्ने चिन्ता हावी हुन्छ । तसर्थ भँगेरासँगको सहवास नछुटाऔं । तिनका लागि आवश्यक बासस्थानको व्यवस्था गरौं । र, बिहान सबेरै तिनका चिरविर आवाजसँग ब्यूँझैं । बिहानै घरको झयालमा सुनिने भँगेराको चिरविर डोनाल्ड ट्रम्प वा बाबुरामका ट्वीट (Tweet) भन्दा अवश्य मीठो (Sweet)  हुन्छ, सुनिहेरौं !

Related Posts

/*sign up form*/