बाल सुबोधिनीले रोजेको सुबाटो

by • • स्थलगतComments (0)148

बाल सुबोधिनी आधारभूत विद्यालय सुन्दर, सफा र भित्र पस्दैमा सकारात्मक आभास दिने खालको छ । लाग्छ, यो स्कूलको सजावट, व्यवस्थापन र सञ्चालनका लागि गर्न सक्ने जति सबै मिहिनेत गरिएको छ ।
बिहान १० बजे विद्यालयको प्राङ्गणमा पुग्दा कोही विद्यार्थी पत्रिका पढ्नमा, कोही आफ्नो तौल लिनमा त कोही आफैंले बनाएको मौसम मापन घडीको सुई मिलाउनमा व्यस्त थिए । लाग्यो, कतै सुबोधिनी भनेर कुनै महँगो बोर्डिङ स्कूलमा त छिरिएन !
झपा दुवागढी–७ स्थित बाल सुबोधिनी आधारभूत विद्यालय सुन्दर, सफा र भित्र पस्दैमा सकारात्मक आभास दिने खालको छ । लाग्छ, यो स्कूलको सजावट, व्यवस्थापन र सञ्चालनका लागि गर्न सक्ने जति सबै मिहिनेत गरिएको छ ।


२०२४ सालमा यो विद्यालय स्थापना गर्दा दुवागढी गाउँ पञ्चायतका प्रधानपञ्च विष्णुकुमार कार्की ५० वर्षका हुनुहुन्थ्यो । अहिले ९० वर्ष पुग्न लागेका कार्की भन्नुहुन्छ, “त्यसबेला स्कूलहरू नै कम थिए । ‘राम्रो स्कूल’ भन्न पनि जानिएको थिएन, तर आफूले स्थापना गरेको स्कूलमा राम्रोसित पढाइ होस् र त्यहाँ पढेर गाउँका बालबालिका गतिला होउन् भन्ने त सोचिएकै थियो । तर यो स्कूल यति राम्रो हुन सक्ला भन्ने त मेरो कल्पनामा पनि थिएन ।”
झपा जिल्लाकै पुराना विद्यालयमध्येमा पर्ने बाल सुबोधिनी आधारभूत विद्यालयको रूप फेरिन थालेको २०६४ सालमा दुवागढीकै बासिन्दा र यही विद्यालयमा अक्षर चिनेका विश्व थापा प्रधानाध्यापक भएपछि हो । त्यसो त थापा २०४९ सालदेखि नै यस विद्यालयसँग आबद्ध हुनुहुन्थ्यो । शुरूमा प्रावि शिक्षक थापापछि सोही विद्यालयका प्रधानाध्यापक हुनुभयो । “पहिलेदेखि नै विद्यालयको अवस्थाले पोल्थ्यो, तर जिल्ला शिक्षा कार्यालय र यहाँको समुदायले विद्यालयलाई परिवर्तन गर्ने जिम्मेवारी दिएपछि मात्र खुलेर काम गर्ने आँट आयो” थापा बताउनुहुन्छ । ‘विद्यालयको सुधारका लागि शिक्षकले चाहेदेखि गर्न सक्छन्’ भन्ने मूल नारालाई आत्मसात् गर्दै हामी अगाडि बढेका छौं । यसमा सबै शिक्षक, विद्यार्थी र अभिभावकको बराबरी भूमिका रहेको छ र म चाहिं एउटा माध्यम मात्र हुँ । उहाँ विद्यालय सुधारको जस सबैलाई बाँड्नुहुन्छ ।

कसरी भयो त परिवर्तन ?
परिवर्तनका लागि धेरै ठूला कुरा केही चाहिंदैन, सम्बन्धित सबै व्यक्तिले आफ्नो कर्तव्य पालना गरे, भएको स्रोतको अधिकतम परिचालन भयो र आफूले गरेको कामप्रति गर्व गरे भने जे पनि गर्न सकिन्छ भन्ने कुराको उदाहरण हो बाल सुबोधिनी आधारभूत विद्यालय ।
परिवर्तनको दिशामा अघि बढ्नका लागि विद्यालयले पहिले आफूसित रहेका स्रोतको पहिचान ग¥यो । आफ्नो १९ बिघा जमीन, शिक्षित तथा तालीमप्राप्त शिक्षकहरू तथा आफ्ना छोराछोरीलाई राम्रो शिक्षा दिन चाहने अभिभावकहरू यसका प्राथमिक स्रोत रहेको पहिचान भएपछि काम थाल्न कसैको मुख ताक्नु परेन ।
विद्यालयको प्रशस्त जमीन भए पनि खोलाको किनारको जग्गा भएकोले त्यहाँ जडीबुटी र चिया खेती गरिएको छ । यसबाट हाल वार्षिक रु.१ लाख ४२ हजार आम्दानी भइरहेको छ ।
विद्यालय राम्रो हुनका लागि त्यसका विद्यार्थी, अभिभावक र शिक्षक स्वयंमा विद्यालयप्रति सकारात्मक भाव आउनु जरूरी हुन्छ भन्ने कुरा ध्यानमा राखेर बाल सुबोधिनीमा भौतिक संरचनाहरूमा ध्यान दिन थालियो । ‘खेल्दै सिकून् रमणीय वातावरणमा’ भन्ने अभियानअन्तर्गत शुरू गरिएको विद्यालयको सुरक्षित र व्यवस्थित चिल्ड्रेन पार्क देख्दा जोसुकैको पनि मन लोभिन्छ । विद्यार्थीहरू विद्यालय भित्र प्रवेश गरेपछि उनीहरू थुनिएको, बन्देज जस्तो महसूस नहोस् र खेल्दै पनि केही नयाँ कुराहरू सिकून् भन्ने उद्देश्य रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोला सुवेदी बताउनुहुन्छ ।
विद्यालयको विकासका लागि अभिभावकको ऊर्जा, जाँगर, ज्ञान, सीप आदिको पनि सदुपयोग हुन सक्छ भनेर विद्यालयमा आमा समूह पनि गठन गरिएको कुरा अंग्रेजी शिक्षक निर्मला नेपाल बताउनुहुन्छ । हाल आमा समूहले विभिन्न स्रोत परिचालन गरेर एउटा कोष बनाएको छ र त्यसबाट प्रत्येक वर्ष दुईजना उत्कृष्ट विद्यार्थीलाई सम्मान गर्ने गरेको छ ।


कक्षा ४ सम्म अंग्रेजी माध्यमबाट पढाइ हुने उक्त विद्यालयको अर्को आकर्षक पक्ष भनेको बालबालिका सुहाउँदा फर्निचर हुन् । विद्यार्थीलाई सजिलो र नयाँपन महसूस होस् भन्ने उद्देश्यले विद्यालयमा विभिन्न किसिमका सजिला र छरिता फर्निचर प्रयोग गर्ने गरिएको छ ।
हाल करीब ४०० जना विद्यार्थी रहेको यस विद्यालयमा छात्राको संख्या बढी रहेको छ । उक्त विद्यालयमा विद्यार्थी भर्ना हुन आउनेको चाप अत्यन्त बढी भए पनि विद्यालयको क्षमता हेरेर मात्र विद्यार्थी लिने गरेको कुरा प्रअ थापा बताउनुहुन्छ ।
गाउँघरमा ‘फेसबूकले मान्छे बिग्रिए’ भन्ने कथनहरू फैलिइरहेको समयमा बाल सुबोधिनी विद्यालयले भने फेसबूक अभियान नै शुरू गरेको छ । विद्यालयका गतिविधि फेसबूक पेजमार्फत सार्वजनिक गर्ने अभियान शुरू भएको दुई वर्षमा करीब रु.६ लाख रुपैयाँ अर्थ सङ्कलन भइसकेको प्रअ थापा बताउनुहुन्छ । “हामी विद्यालयका सबै गतिविधि फेसबूकमा राख्छौं । विद्यालयलाई यति सहयोग गर्नुहोस् भनेर पनि माग्दैनौं । तर पनि धेरैले के कति गर्नुपर्छ हामी सहयोग गर्छौं भन्ने गर्नुभएको छ” थापा दाताहरूप्रति कृतज्ञता व्यक्त गर्नुहुन्छ ।
राम्रो काम गरेपछि सरकारको पनि नजर पर्ने नै भयो । सरकारले ल्याएको कार्यक्रम अन्तर्गत यस विद्यालयमा पनि तीन वर्ष माथिका शिशुहरूलाई पढाउने गरिन्छ । “आफ्ना शिशुलाई यहाँ पठाउन चाहने अभिभावकहरूको संख्या बढी छ तर भवनको अभावमा कति शिशुलाई भर्ना लिन सकेका छैनौंं”, थापा सुनाउनुहुन्छ ।
नर्सरी र कक्षा १ सम्मका बालबालिकालाई विद्यालयले नै खाजा खुवाउने व्यवस्था गरेको छ । विद्यालयको आफ्नै करेसाबारी छ जसमा विद्यार्थीले आफैं तरकारी लगाएर फलाउने समेत गर्छन् । आफ्नै बारीको तरकारी र गेडागुडी हालेर जाउलो, कहिले लिटो त कहिले रोटी पकाएर साना नानीहरूलाई खाजा दिने गरिन्छ ।
विद्यालयको अर्को पहिचान भनेको हाउस ड्रेस रहेको छ । कक्षा पिच्छे फरक फरक रङ र वनावट रहेको हाउस ड्रेसबाट पनि विद्यार्थीदेखि अभिभावकसम्म आकर्षित हुँदै आएका छन् । हाउस ड्रेस पनि विद्यालयले नै उपलब्ध गराउने हुनाले अभिभावकले थप आर्थिक बोझ् बेहोर्नुपर्दैन । फेसबूक अभियानबाट सङ्कलन गरेको रकमबाट विद्यार्थीलाई वर्षमा एक जोर ‘हाउस ड्रेस’ उपलब्ध गराउँदै आएको प्रधानाध्यापक थापा बताउनुहुन्छ ।
झपा जिल्लाको उत्कृष्ट नमूना सामुदायिक विद्यालय ठहरिएको यो विद्यालयमा अवलोकन भ्रमणमा आउनेको सधैं भीड हुने गर्छ । त्यस्ता भ्रमणका कारण विद्यार्थीको पढाइमा असर पर्न थालेपछि हाल हप्ताको दुई दिन मात्र अवलोकन भ्रमणको लागि छुट्याइएको छ । दुई वर्षयता उक्त विद्यालय अवलोकन भ्रमण गर्नेको संख्या १५८ पुगिसकेको छ ।


बाल सुबोधिनी विद्यालयका विद्यार्थी आधारभूत तहको पढाइ सकेपछि आसपास रहेका माध्यमिक विद्यालयहरूमा जाने गर्छन् । यसै क्रममा हाल शहीद दशरथ मावि चारआलीमा अध्ययनरत सन्तोष दियाली उक्त विद्यालयको बाल क्लबको अध्यक्ष छन् । “मैले अतिरिक्त क्रियाकलापदेखि लिएर पढाइमा पनि मेरो पहिलेकै विद्यालयमा नै धेरै सिकेको हुँ ।” पुहातु जनज्योति मावि; पुहातु बारीमा अध्ययनरत अर्की छात्रा कमला राजवंशी भन्छिन्, “बाल सुबोधिनीमा शान्त वातावरण थियो अनि सर, मिसहरू धेरै माया गर्नुहुन्थ्यो । त्यहाँ हामीले बाहिरको खाजा खानुपर्दैनथ्यो ।”
१२ जना शिक्षक शिक्षिका रहेको यस विद्यालयमा स्मार्ट बोर्डको माध्यमबाट पनि पढाउने गरिन्छ । जिल्ला शिक्षा अधिकारी योगेन्द्र बराल भन्नुहुन्छ, “यो विद्यालय जिल्ला शिक्षा कार्यालयका हरेक क्रियाकलापमा प्रत्यक्ष सम्पर्कमा रहने र अझैं राम्रो सुधारको लागि सुझव र सल्लाह मागिराख्ने विद्यालयमध्येको मानिन्छ ।”
अन्त्यमा विद्यालयको सफलताको सूत्र के हो त भन्ने प्रश्नमा प्रधानाध्यापक थापा भन्नुहुन्छ, “सामुदायिक विद्यालयमा, शिक्षकले १०–४ को नियम र जिम्मेवारीलाई गम्भीरताका साथ अवलम्बन गरिदिने हो भने विद्यालयमा परिवर्तन आउन समय लाग्दैन ।” हुनपनि; विदाको दिन होस् या चाडपर्व; प्रअ थापाले आफ्नो अधिकतम समय स्कूललाई नै दिने गर्नुभएको छ र अरू शिक्षक पनि सरकारले तोकेको विदा बाहेक अन्य जस्तोसुकै बन्द हड्ताललाई पनि बेवास्ता गरेर विद्यालयमा उपस्थित हुने गरेका छन् ।

राधा खनाल, झापा

२०७३ फागुन अंकमा प्रकाशित
शिक्षक मासिक

Related Posts

/*sign up form*/