बाल वयान

by • • विविधComments (0)476

Print Friendly, PDF & Email


बालबालिकाले घरमै धेरै कुरा सिकिरहेका हुन्छन् । त्यसरी नै उनीहरू घरमै धेरै अल्मलिइरहेका पनि हुनसक्छन् । उनीहरूलाई राम्रो शिक्षा दिएर असल नागरिक बनाउने ध्येयमा रहेका हामी अभिभावक र विद्यार्थीहरू उहीहरूका दृष्टिबाट हेर्न र उनीहरूका मनबाट सोच्न भने सक्दैनौँ । प्रख्यात बाल शिक्षाशास्त्री गिजुभाई बधेकाले ४ देखि १२ वर्ष उमेर समूहका बालबालिकाका अभिभावकलाई ध्यानमा राखी लेखेको पुस्तक ‘मातापिता के माथापच्ची’ बाट साभार गरिएका केही प्रसङ्गहरू, जसमा लेखकले आफ्नो लामो अध्ययन र चिन्तनबाट प्राप्त ज्ञानलाई सरल शब्दमा व्यक्त गरेका छन् ।

आमाले पिट्नुहुन्छ !
घरमा ‘क–कसले पिटाइ खान्छ ?’
‘मैले, मैले !’ पचास हात एकैपटक उठे ।
‘चम्पक, तिमीलाई तिम्री आमाले किन पिट्नुहुन्छ ?’
‘मैले ओछ्यानमा खेलें, खुँदेँ भनेर ।’
‘लीला, तिमीलाई आमाले किन पिट्नुहुन्छ ?’
‘मैले उहाँको काइँयोले कपाल कोरें भनेर ।’
‘शिवजी, तिमीलाई तिम्रो बाबाले किन पिट्नुहुन्छ ?’
‘मैले उहाँको कलमले लेखें भनेर ।’
‘राधा, तिमी चाहिँ किन पिटिएकी ?’
‘मैले छिटोछिटो खान्छु है ! भनें भनेर ।’
‘किरीट, तिमीले किन पिटाइ खानुपर्छ ?’
‘किनभने म घरमा उपद्रो गर्छु ।’
‘कस्तो उपद्रो गर्छौ ?’
‘त्यो त मलाई थाहा छैन ।’
‘शैलेश, तिमी चाहिँ किन पिटिन्छौ नि ?’
‘म आमाले सिनेमा हेर्न नलैजाँदा रुन्छु; अनि !’
‘देवी, तिमी किन पिटिन्छ्यौ ?’
‘किनभने, हामी घरमा झ्गडा गरिरहन्छौं ।’
‘केका लागि झ्गडा गर्छौ ?’
‘त्यो त थाहा छैन !’

हाम्रा बाबा
मीरा र विनोद लिस्नोमा बसेर बात मार्दैथिए— ‘हाम्रा बाबालाई त कुचो लाउन, लुगा धुन, भाँडा माझन, खाना बनाउन, अचार हाल्न, चामल निफन्न, साग केलाउन— केही गर्न पनि आउँदैन ।’
‘बाबालाई त खाली कुरा गर्न र बसी–बसी पत्रिका—किताब पढ्न मात्र आउँछ । अझ् किशोर काका र नन्दलाल दाइ आए भने त बिहानभरी—दिनभरी गफ गरेरै बिताउनुहुन्छ । हामीले अलिक चर्को बोल्यौं भने, भनिहाल्नुहुन्छ— ‘ए, केटाकेटी हो यहाँ हल्ला नगर !’ कहिलेकाहीँ हामी उहाँको कोठामा छि¥यौं भने भन्नुहुन्छ, ‘भागिहाल यहाँबाट, किन कोठामा पसेको ?’ उहाँलाई ‘अह्राउन र हप्काउन मात्र आउँछ ।’
‘कहाँ त्यति मात्रै हो र ! हामीलाई स्कूल जान मन नलागेको दिनमा पनि हप्काई–हप्काई स्कूल पठाउन र स्कूलबाट फर्किने बित्तिकै गृहकार्य गर्न बस भन्न कहिल्यै छोड्नुहुन्न । अनि, कहिले पानी ल्याऊ, कहिले चिया ल्याऊ, यो ल्याऊ, त्यो ल्याऊ भनेर हामीलाई काम लगाउन पनि थाक्नुहुन्न । कहिलेकाहीँ, अलिकति ढिलो भयो भने आमामाथि समेत रिस पोख्न थाल्नुहुन्छ । त्यत्ति त हो नि उहाँलाई गर्न आउने पनि !’
‘बाबालाई केही गर्न नआउने भएर नै त हो नि; आमाले बाबालाई कहिल्यै पनि काम गर्न भन्नुहुन्न, सबै काम आमा आफैं गर्नुहुन्छ ।’

 

आमा ! धोइदिनुस् न !

‘आमा ! दिसा गरेर आएको, धोइदिनुस् न !’
‘ओहो ! मैले कहिलेसम्म धोइदिइरहनुपर्ने ? यत्रो भएर पनि दिसा धुन सिकिनस् !’
‘तपाईंले हुन्छ भने त म आफैं धोइहाल्छु नि !’
‘खूब धोइस् ! तँलाई धुन आउने भए त भइहाल्थ्यो नि !’
‘तपार्इं मलाई कहिल्यै धुनै दिनुहुन्न, अनि कसरी आउनु त ?’
‘तँलाई धुन आउने भए न धुन दिनु ?’
आमा–बाबु र बच्चाबीच हुने यस्ता सम्वाद धेरै सुन्न पाइन्छन् । शुरुमा बाबु–आमा बालबालिकालाई कुनै काम गर्नै दिँदैनन् । परिणामतः बच्चा स्वयंले गर्न सक्ने काम पनि तिनले आफैं गर्नुपर्छ । ठूला भइसकेपछि पनि छोराछोरीले साना–मसिना काम समेत गर्न नसकेको देखेर त्यस्ता बाबुआमा आफैँ हैरान पनि हुन्छन् ।

 

अब म कसैसँग केही सोद्धिनँ !

‘आमा हेर्नुस् त यो गड्यौलो कसरी घस्रिएर हिँडेको ?’
‘उता जा ! गड्यौलो छुनुहुँदैन ।’
‘बाबा यी हेर्नुस् त मैले लेखेका अङ्क ।’
‘खै कहाँ छन् अङ्क ? त्यहाँ त शून्यै शून्य मात्र छन् । तँ मूर्खलाई अङ्क लेख्नै कहाँ आउँछ र ?’
‘दादा ! मैले सजाएका यी फूल हेर्नुस् त !’
‘छ्या ! कस्तो कच्याककुचुक पारेर थोपरेको ? यसलाई पनि कसैले फूल सजाएको भन्छन् ?’
‘दिदी हेर्नुस् त मैले कचौरा कति सफा पारेर माझें !’
‘कचौरामा त्यत्रो दाग देखिरहेको छ । यस्तोलाई पनि राम्ररी माझेको भन्छन् कसैले ?’
‘काकी यी हेर्नुस् त, आज मैले आफ्नो कपाल आफैं बाटेँ ।’
‘तँ यति ठूली भइसकिस्, तर आजसम्म पनि कपाल बाट्न आउँदैन, हगि तँलाई । एकपटक ऐनामा त हेर !’
‘हैन; मैले जे गरे पनि सबैजना मलाई उस्तै जवाफ किन दिन्छन् ? अबदेखि म कसैसँग केही सोद्धै सोद्धिनँ !’

 

बाल मनका प्रश्न लहरी !

– ‘बाबा मसँग रिसाउनुभयो । तर किन रिसाउनुभएको ? म त उहाँलाई मैले बनाएको चित्र पो देखाउन गएको थिएँ ! के मैले बनाएका चित्र बाबालाई देखाउनुहुँदैन र ?
– ‘आमाले मलाई पिट्नुभयो । किन पिटेको ? म त साबुनको फिँज बनाएर त्यसमा रातो–पहेंलो रंग हेरिरहेकी थिएँ । के मैले त्यसरी रातो–पहेंलो रंग हेर्नुहुँदैन ?’
– ‘बाबाले मलाई पापी भन्नुभयो । उहाँले मलाई किन त्यस्तो भन्नुभयो ? त्यो पुतली कत्ति राम्रो थियो ! म त उहाँलाई त्यही पुतली देखाउन खोज्दैथिएँ । पापी कसलाई भनिन्छ ?’
– ‘आमाले मलाई केटी भन्नुभयो । तर किन ? मैले हातमा चुरा लगाएको थिएँ । ती चुरा मलाई राम्रा लागेका थिए । तर चुरा लगाउँदैमा म कसरी केटी भएँ ?’
– ‘बुबाले मलाई मूर्ख भन्नुभयो । उहाँले किन मलाई मूर्ख भन्नुभएको ? मलाई उहाँले भनेको बेलामा गीत गाउन मन लागेन, त्यसैले गाइनँ । के जबर्जस्ती गीत गाउनु राम्रो हो र ? अनि के गीत नगाउनेहरू जति मूर्ख कहलिन्छन् ?’
– ‘दाजुले मलाई पेटीबाट धकेलिदियो । तर किन ? मैले उसलाई खेल्न जाऊँ त भनेको थिएँ नि ! उसलाई खेल्नु थिएन भने नखेलेको भए भइहाल्थ्यो, मलाई किन धकेल्नुप¥यो ?’
– ‘दिदीले मलाई पर हट भनी । तर किन त्यसो भनी ? म त यहाँ बसेर कमिलाको ताँती हेरिरहेकी थिएँ । मलाई अन्त कहीँ जानु नै थिएन । तैपनि उसले मलाई त्यहाँबाट किन हट्न भनी ?’
केटाहरूका कुरा !

चन्दनः “हाम्रा बाबा जे भन्नुहुन्छ त्यो गरेरै छोड्नुहुन्छ । अस्ति उहाँले भन्नुभएको थियो, ‘कथा आज होइन, भोलि भन्छु ।’ हिजो उहाँले आफैं बोलाएर कथा भन्नुभयो ।”
रमेशः “मेरा बाबा हरेक पल्ट ‘खेलौना भोलि ल्याइदिन्छु’ भन्नुहुन्छ । तर ल्याउने चाहिँ कहिल्यै होइन । खाली गफ मात्रै गर्नु हुन्छ ।”
विमलः “हाम्री आमा पनि त्यस्तै गर्नुहुन्छ । भन्नुहुन्छ, ‘रंग भोलि किनिदिन्छु, भोलि किनिदिन्छु’ तर किनिदिने चाहिँ होइन । कहिले पैसा पुगेन, कहिले बिर्सिएँ भन्नुहुन्छ ।’
विश्वनाथः “मेरी आमा पनि कहिलेकाहीँ आफूले भनेको कुरा गर्नुहुन्न । तर त्यस्तो बेला काम किन हुन सकेन भनेर नढाँटी भन्नुहुन्छ । आफ्नो वचन पालना गर्न उहाँ सकेसम्म प्रयास गर्नुहुन्छ ।”
चन्दनः “मेरो बुबाले पनि त्यसै गर्नुहुन्छ । उहाँ सधैं भन्नुहुन्छ, ‘हेर चन्दन, म जे भन्छु त्यो कुरा निश्चित रूपमै गर्छु ।’ तर कहिलेकाहीँ कुनै काम हुन सकेन भने त्यो कुरा तिमीले पनि बुझनुपर्छ ।”
रमेशः “यसो गर्नु त राम्रै हो नि ! तर जब दिनैपिच्छे झुठा बहाना बनाउँछन्— त्यो राम्रो लाग्दैन । पहिल्यै ‘हुन्छ’ या ‘हुन्न’ भनेर कुरा टुङ्ग्याइदिए भइहाल्छ नि ! त्यसो भए फेरि फेरि उही कुराको सम्झ्ना हुन पाउँदैन ।”
विमलः “हो त नि ! ‘हुन्छ’ या ‘हुँदैन’ भनेर पहिल्यै कुरो स्पष्ट पारिदिए सधैँभरी त्यो कुराको निम्ति तड्पिनै पर्दैन । आज बुबा या आमाले यो ल्याइदिन्छु, त्यो ल्याइदिन्छु भन्नुभएको छ भनेर हामी दिनैपिच्छे कल्पिएर बस्छौं । तर, अन्त्यमा जब उहाँहरूले त्यस्तो कुरा दिनुहुन्न, त्यतिबेला एकदमै रिस उठ्छ । मन खिन्न हुन्छ । यस्तो हुँदा मलाई त भित्रैदेखि दिक्क लाग्छ । निराश पार्नेहरूसँग मलाई त बोल्न र तिनको मुख हेर्न पनि मन लाग्दैन ।”

प्रस्तुतीः राजेन्द्र दाहाल

शिक्षक  मासिक, २०६८ माघ अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/