बामे सर्दै ‘भर्चुअल’ कक्षा

by • • रिपोर्टComments (0)439

प्रवीण अधिकारी

‘भर्चुअल’ कक्षा सञ्चालन हुने हरेक विद्यालयमा ४९ इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, एडप्टर, इन्टरनेट डिभाइस, आइपी फोन, प्रिन्टरलगायतका उपकरण छन् । केन्द्रको स्टुडियोमा विषयगत शिक्षकले पढाएको कक्षा ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट ती विद्यालयमा पुग्छ ।

सिन्धुपाल्चोक, मेलम्चीस्थित इन्द्रेश्वरी माविको ‘भर्चुअल’ कक्षा ।

गोरखाको आहालेस्थित सरस्वती माविका विद्यार्थी ‘भर्चुअल’ (Virtual)कक्षामा जान निकै रमाउँछन् । कक्षा–१० मा दुई वटा सेक्सन भएकाले आलोपालो गरी उनीहरूलाई ‘भर्चुअल’ कक्षामा लैजाने गरिएको छ । विद्यालयका प्रअ पुरुषोत्तमबाबु भट्टराई केही प्राविधिक समस्या आइरहे पनि विशेषगरी कमजोर विद्यार्थीका लागि यो कक्षा प्रभावकारी देखिएको बताउँछन् । छुट्टै प्रविधि र शिक्षण सामग्री प्रयोगबाट हुने पढाइले कमजोर विद्यार्थीलाई निकै सहयोग पुगेको उनको भनाइ छ ।
भक्तपुरको शैक्षिक जनशक्ति विकास केन्द्रको सानोठिमीस्थित स्टुडियोबाट प्रसारण भइरहेको श्रव्य र दृश्य प्रविधिमा आधारित शिक्षण सिकाइ कार्यक्रम देशका १०० वटा विद्यालयले इन्टरनेटमार्फत आआफ्ना कक्षाकोठामा प्राप्त गर्न थालेका छन् । यसमा सानोठिमीको स्टुडियोमा एकजना शिक्षकले पढाएको पाठ १०० वटै विद्यालयका सम्बद्ध कक्षाका विद्यार्थीले टेलिभिजनको स्क्रिनमार्फत सुन्न पाउँछन् । यसरी शिक्षकले विद्यार्थी नदेख्ने र विद्यार्थीले शिक्षकलाई प्रत्यक्ष नभेट्ने कक्षा प्रणालीलाई ‘भर्चुअल’ (आभासी, अप्रत्यक्ष) कक्षाको संज्ञा दिइएको छ । पहिलो चरणमा भूकम्प प्रभावित उपत्यका बाहेकका ११ जिल्लाका १०० विद्यालयमा यो प्रविधिबाट पठनपाठन गर्न शुरू गरिएको छ । थप केही जिल्लाका अरू १०० मा यो कार्यक्रम विस्तार गर्ने केन्द्रको लक्ष्य छ । केन्द्रबाट अहिले कक्षा–१० का छुट्टाछुट्टै विषयका तीनवटा पाठ बिदा बाहेक हरेक दिन प्रत्यक्ष प्रसारण भइरहेका छन् ।
‘भर्चुअल’ कक्षाको थालनी अघिल्लो शैक्षिक सत्र २०७२-७३ मा भएको हो । त्यतिबेलाका सबै कक्षा एसईई परीक्षाकेन्द्रित रहेकोमा अहिले कक्षा–१० का विषयमा केन्द्रित छ । यो शैक्षिक सत्रमा कक्षा–१० का अनिवार्य ६ विषयका ५४२ वटा पाठ पढाइने केन्द्रको योजना छ । केन्द्रको श्रव्यदृश्य स्टुडियोबाट अहिले आलोपालो गरी पढाउने व्यवस्था मिलाइएको छ । जस अनुसार एकदिन अंग्रेजी, विज्ञान र गणित विषयको पढाइ हुन्छ भने अर्को दिन नेपाली, सामाजिक शिक्षा र स्वास्थ्य तथा जनसंख्या । प्रत्येक कक्षा ३० देखि ३५ मिनेटको हुन्छ । एउटै विषयका फरक पाठ पढाउन भिन्न भिन्न शिक्षक राख्ने गरिएको छ ।
‘भर्चुअल’ कक्षा सञ्चालन भइरहेको एउटा विद्यालय सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रेश्वरी माविका विद्यार्थी दैनिकजसो यी कक्षामा सहभागी हुन्छन्, विषयगत शिक्षकका साथ । कक्षा सकिएपछि नबुझेका कुरा विषय शिक्षकले स्पष्ट पारिदिन्छन् । इन्द्रेश्वरी माविका सामाजिक शिक्षक लेखनाथ भट्टराई सधैं पढाइरहने भन्दा फरक शिक्षकले पढाउँदा विद्यार्थी उत्सुक र पाठमा केन्द्रित हुने गरेको अनुभव सुनाउँछन् । उनी भन्छन्, “कक्षामा खासै नबोल्ने विद्यार्थी पनि यो कक्षामा आएपछि जिज्ञासु बनेका छन् ।”
शिक्षण विधिका नयाँ-नयाँ प्रयोगसँगै पाठ्यपुस्तकमा रहेका कतिपय गल्ती सच्याउन पनि भर्चुअल कक्षा सहयोगी बन्ने गरेको छ । विषयगत शिक्षक अनुपस्थित भएको दिन यो कक्षा झ्नै उपयोगी भएको छ । कक्षा–१० को सामाजिक विषयमा उल्लिखित मानव विकास सूचकाङ्क निकाल्ने सूत्र विद्यार्थीलाई कसरी सिकाउने भन्ने अन्योल थियो, इन्द्रेश्वरी माविका शिक्षक लेखनाथ भट्टराईलाई । तर भर्चुअल कक्षामा अर्का शिक्षकले पढाएको हेरेपछि उनी प्रष्ट भए । पेज ७ को उक्त पाठमा सिकाइएको सूत्रमा ‘रुट क्यू’ छुटेको कुरा उनले ‘भर्चुअल’ कक्षाबाटै थाहा पाएका हुन् । भट्टराई भन्छन्, “शिक्षण विधिका नयाँ प्रयोग र पुस्तकमा भएका गल्ती सच्याउन यसले धेरै मद्दत गरेको छ ।”
केही विद्यालयले भर्चुअल कक्षाप्रति विद्यार्थीको आकर्षण र यसको प्रभावकारिता राम्रो रहेको बताए पनि कतिपयले भने खासै ध्यान दिएका छैनन् । केन्द्र र विद्यालयबीच आवश्यक समन्वय र तालमेल नमिल्दा कतिपयले भर्चुअल कक्षाको उपयोग गर्न सकेका छैनन् । जबकि विषयगत शिक्षकले पढाएको पाठ विद्यार्थीले आफ्नै कक्षाको टेलिभिजनमा प्रत्यक्ष हेर्न र सिक्नका लागि हो । धादिङको मिन्दुका माविका शिक्षक राजकुमार श्रेष्ठ भर्चुअल कक्षामा विद्यार्थी आउन चाहे पनि प्रश्न सोध्न नपाइने भएपछि त्यति उत्साहित हुने नगरेको अनुभव सुनाउँछन् । उनका अनुसार छिटोछिटो पढाउँदा विद्यार्थीलाई बुझन र सिक्न पनि कठिन भएको छ । सिन्धुपाल्चोकको थाङपालधापस्थित थाङपाल माविका शिक्षक विष्णु श्रेष्ठ पनि छलफल र दोहोरो संवाद नभएपछि विद्यार्थीले चाख मान्न छाडेको बताउँछन् । यता केन्द्रका उपनिर्देशक तथा भर्चुअल कक्षा सञ्चालन समन्वय समितिका संयोजक शिवप्रसाद सापकोटा भने यस्ता गुनासालाई विद्यालय र शिक्षकले कार्यक्रमको महत्वलाई बेवास्ता गरेको परिणाम ठान्छन् । यो कार्यक्रम नरुचाउने विद्यालयमा सञ्चालन गरिएको कार्यक्रम यहाँबाट झ्किेर अर्को विद्यालयमा शुरू गरिने केन्द्रको भनाइ छ । सापकोटा भन्छन्, “विद्यार्थी लक्षित करोडौंको लगानीलाई बेवास्ता गरेको पाइएमा अर्को विद्यालयमा सार्छौ ।” केन्द्रको भनाइमा कार्यक्रम सञ्चालनका लागि हरेक विद्यालयमा रु.७ लाख बराबरका उपकरण जडान गरिएको छ भने कक्षाकोठा व्यवस्थापनमा करीब रु.२ लाख खर्च भएको छ ।

रुटिन मिलाउन हम्मेहम्मे
टेलिकेन्द्रबाट पढाउने ३० देखि ३५ मिनेटका कक्षा दिउँसो १ बजे अघिसम्म प्रसारण हुन्छ । सोही अनुसार कक्षा-१० को रुटिन मिलाउन विद्यालयलाई भनिएको छ भने केन्द्रबाट प्रसारण हुने विषयको रुटिन विद्यालयलाई दिइएको छ । तर रुटिन मिलाउन नसक्दा विद्यार्थीलाई भर्चुअल कक्षा नियमित देखाउन नसकिएको कतिपय विद्यालयको भनाइ छ । काभ्रे जिल्लाको बनेपामा रहेको लायकु चौरस्थित शिक्षा सदन माविमा भर्चुअल कक्षा विद्यार्थीले होइन शिक्षकले हेर्छन् । रुटिन मिलाउन नसक्दा यस्तो भएको प्रअ पुकार कर्णजीतको भनाइ छ । “मावि शिक्षकले अन्य कक्षामा पनि पढाउनुपर्ने भएकाले सधैं एउटै समयमा विद्यार्थीलाई भर्चुअल कक्षामा लैजान कठिनाइ हुन्छ”, उनी भन्छन् । उता गोरखाको सरस्वती माविलाई पनि रुटिन मिलाउन हम्मेहम्मे परेको छ । कक्षा-१० मा विद्यार्थी धेरै भएकाले दुई वटा सेक्सन छन् । केन्द्रले पठाएको रुटिन हेरेर विषय अनुसार विद्यार्थीलाई उक्त कक्षामा लैजाने गरेको प्रअ पुरुषोत्तमबाबु भट्टराई बताउँछन् ।
इन्टरनेट नचल्ने, समयमा प्रसारण नहुने जस्ता प्राविधिक कारण पनि रुटिन मिलाउन कठिनाइ भएको केही विद्यालयको भनाइ छ । धादिङको मिन्दुका माविका शिक्षक श्रेष्ठको भनाइमा रुटिन मिलाउन समस्या परेकोले भर्चुअल कक्षामा विद्यार्थीलाई नियमित लैजान सकिएको छैन । केन्द्रका उपनिर्देशक सापकोटा रुटिन मिलाउन नसक्नुलाई विद्यालयको कमजोरी ठान्छन् ।

प्राविधिक ज्ञानको अभाव
भर्चुअल कक्षा सञ्चालन हुने हरेक विद्यालयमा ४९ इञ्चको टेलिभिजन, ल्यापटप, डेस्कटप कम्प्युटर, प्रोजेक्टर, एडप्टर, इन्टरनेट डिभाइस, आइपी फोन, प्रिन्टरलगायतका उपकरण छन् । केन्द्रको स्टुडियोमा विषयगत शिक्षकले पढाएको कक्षा ब्रोडब्याण्ड इन्टरनेटका माध्यमबाट ती विद्यालयमा पुग्छ । यसका लागि केन्द्रले मर्कन्टायल कम्युनिकेशन कम्पनीसँग सम्झैता गरेको छ । स्याटेलाइट मार्फत इन्ट्रानेट मल्टी कास्टिङ प्रविधिमा आधारित यसको प्रसारणमा बेलाबेलामा समस्या आउने गर्छ । सिन्धुपाल्चोकको थाङपाल माविका प्रअ विष्णु श्रेष्ठ भन्छन्, “केही न केही समस्या आइहाल्छ, त्यसको समाधान गर्न नसकिएसम्म कक्षा नियमित हुन गाह्रो छ ।” सिन्धुपाल्चोककै साँगा चोकस्थित जनजागृति माविमा उपकरण संचालन गर्न नजान्दा जडान गरेको करीब १० महीना त्यत्तिकै थन्कियो । जसले गर्दा अघिल्लो वर्ष एसईई परीक्षा लक्षित कक्षाबाट विद्यार्थीले केही सिक्न पाएनन् ।
शुरूमा कक्षा सञ्चालन हुने हरेक विद्यालयका एक-एक जना शिक्षकलाई भर्चुअल कक्षा र उपकरण सञ्चालन सम्बन्धी एकदिने तालीम दिइएको थियो । तर त्यो तालीम पर्याप्त नभएको शिक्षकहरूको भनाइ छ । केन्द्रका इन्जिनियर नसीब आचार्य विद्यालयमा प्राविधिक ज्ञानको अभाव भएकोले पनि समस्या देखिएको स्वीकार्छन् । उनका अनुसार, कतिपय विद्यालयमा त सामान्य केवुल, तार जोड्ने, ब्याट्रीमा पानी राख्ने, फेर्ने जस्ता सामान्य काम पनि भएको छैन । आचार्य भन्छन्, “यसका लागि प्राविधिक ज्ञान भएको जनशक्ति चाहिन्छ, तर त्यो अहिले सम्भव छैन ।”
नयाँ प्रविधिमा आधारित भर्चुअल कक्षा सञ्चालन कार्यविधिमा यसबाट चारवटा उपलब्धिको अपेक्षा गरिएको छ— डिजिटल नेपाल निर्माण गर्ने सरकारको दीर्घकालीन लक्ष्य पूरा गर्न पूर्वाधार तयार हुने, अन्य विद्यालयमा पनि यसको विस्तार गर्न आवश्यक ज्ञान र विज्ञताको विकास हुने, एसईई परीक्षा नतिजामा वृद्धि हुने तथा देशभरिकै विद्यालयमा सूचना प्रविधिको उपयोग अभ्यासमा बढोत्तरी हुने । शिक्षकसँग दोहोरो कुरा गर्न नमिल्ने भए पनि नबुझेको कुरा विद्यार्थीले आफ्नै विद्यालयका विषय शिक्षकसँग सोध्न सक्ने त छँदैछ, साथै शिक्षकले पनि यसलाई तालीमका रूपमा उपयोग गर्न सक्छन् । जसबाट शिक्षण सिकाइ कार्य थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ ।
शिक्षक मासिक, २०७४ भदौ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/