बघचौरा उमाविको ‘टिफिन मेला’

by • • असल अभ्यासComments (0)874

Print Friendly, PDF & Email
rbkapari

बघचौरा उमाविका विव्यस अध्यक्ष रामभरोस कापडि ‘भ्रमर’ को विवरणमा आधारित

 

 

 

 

 

 

 

 

सामुदायिक विद्यालयका समस्या एक होइन अनेक हुन्छन्– शिक्षकको अभाव, अभिभावकको अज्ञानता र निरपेक्षता, पढाउन अल्छी गर्ने शिक्षक अथवा कक्षामा विद्यार्थीको अनियमितता आदि आदि । धनुषाको बघचौरा उच्च मावि; शिक्षक, व्यवस्थापन र भौतिक सरसुविधासँग गाँसिएका धेरैजसो समस्या हल गर्न सफल भएको थियो । त्यसनिम्ति व्यवस्थापन समितिका पदाधिकारी र प्रअ, शिक्षकहरूले आपसमा मिलेर काम गरेका थिए । तर पनि विद्यालयको पठन–पाठन सोचे जस्तो हुन सकिरहेको थिएन । कक्षामा विद्यार्थीको उपस्थिति नियमित हुँदैनथ्यो । ‘टिफिन टाइम’ पछि त तल्लो कक्षा प्रायः खाली नै हुन्थे । ‘टिफिन टाइम’ मा बाहिरिएका विद्यार्थी मुश्किलले पुनः स्कूल फर्किन्थे । कक्षामा विद्यार्थी नै छैनन् भने शिक्षकले कसलाई पढाउनु; त्यसै भएर उनीहरू पनि या त गफ चुटेर समय बिताउँथे या विद्यार्थी जस्तै आ–आफ्नो बाटो लाग्थे ।
बिहान आएका विद्यार्थीलाई दिनभरि स्कूलमा राख्न, ‘टिफिन टाइम’ मा भाग्नबाट रोक्न विद्यालयले हर–प्रयास गर्‍यो । शिक्षक र प्रअ मात्रै होइन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष समेत विद्यार्थीलाई भाग्न नदिन सक्रिय भए । पालेले रोक्न नसकेपछि हेडमास्टरले समेत हातमा लठ्ठी लिएर विद्यालयको गेटमा पहरा दिए । विद्यार्थीलाई दिनभरि विद्यालयमा राख्नु किन आवश्यक छ भन्ने बुझएर त्यसमा आवश्यक सहयोग गर्न विद्यालयले अभिभावक भेलाहरू पनि निकै ग¥यो । तर पनि, ‘टिफिन टाइम’ पछि बघचौरा उमाविका तल्लो तहका कक्षाहरू खाली भई नै रहे ।
विद्यार्थीलाई विद्यालयमा अड्याउने तेस्रो प्रयत्न शुरू गर्नुअघि विद्यालयले ‘टिफिन टाइम’ मा विशेषतः तल्लो कक्षाका विद्यार्थी किन पलायन हुन्छन् भन्ने थाहा पाउन विभिन्न सम्भावना र कारणहरूको विश्लेषण र समीक्षा गर्‍यो । अन्ततः शिक्षक एवं विव्यसका पदाधिकारीहरू निष्कर्षमा पुगे– बिहान सबेरै खान खाएर आएका साना बालबालिकालाई १२–१ बजे पछि भोक लाग्छ, त्यसैले उनीहरूलाई स्कूलमा बस्न मन लाग्दैन, घरतिर या खेल्नतिर लाग्छन् ।
समस्याको कारण पहिल्याएपछि समाधान खोज्न खासै कठिन भएन । अर्थात्, बच्चालाई ‘टिफिन टाइम’ मा साँच्चै नै टिफिन खान दिने हो भने उनीहरू स्कूलबाट भाग्दैनन् भन्ने निष्कर्ष सहजै निस्कियो । त्यसपछि शुरू गरियो, स्कूलमै खाजा खुवाउने उपायको खोजी गर्न । सबै बालबालिकालाई खाजा खुवाउने आर्थिक हैसियत विद्यालयको थिएन । त्यस प्रयोजनको निम्ति जिल्ला शिक्षा कार्यालय वा शिक्षा मन्त्रालयले मागे पनि पैसा दिंदैनन् भन्ने छर्लङ्ग थियो । विद्यार्थीसँग शुल्क असुल गर्नु भनेको स्कूलमा राजनीति गर्ने निहुँ खोजिरहेकाहरूलाई निहुँ दिनु मात्र हुन्थ्यो । निजी स्कूलका बालबालिकाले जस्तो घरबाट टिफिन बक्समा आफैं खाजा लिएर आउन बालबालिकाले सक्दैनथे किनभने उनीहरूसँग न त टिफिन बक्स थिए न त त्यो सबै बोक्न मिल्ने गतिलो झोला । त्यसमा सबैभन्दा ठूलो बाधक थियो– संस्कार, मान्यताको अभाव । सरकारी स्कूलमा पढ्नेले पनि बोर्डिङवालाको जस्तो कहीं खाजा–पानी लिएर जान्छन् भन्ने आमधारणा तोड्न सजिलो थिएन । तैपनि, विद्यालयले निर्णय गर्‍यो, ‘साना नानीहरूले हरेक दिन स्कूलमै टिफिन खान पाउनुपर्छ, त्यस्तो टिफिन घरबाट बालबालिकाले होइन आमाबाबु, दिदी, हजुरआमा आदिले ल्याइदिनुपर्छ ।’
निर्णय गरेर ‘फरमान’ जारी गरिदिंदैमा अभिभावकहरू आफ्ना ‘भुरा–भुरी’ का निम्ति दिउँसोको खाजा बोकेर स्कूल आउन थाल्दैनन् भन्ने चेत विद्यालय परिवारलाई थियो नै । त्यसै भएर त्यस्तो निर्णयसँगै अभिभावकहरूलाई सम्झई–बुझई गर्ने कार्यलाई पनि महत्तव दिइयो ।
शिक्षक, प्रअ र विव्यसका पदाधिकारीहरूको अथक् प्रयासले अन्ततः परिमाण दिन थाल्यो । विशेषतः आमाहरू एउटा हातमा खाजा र अर्को हातमा पानी बोकेर दिउँसो यो स्कूल धाउन थालेका छन् । साथीहरूका माझ् स्कूलमै, त्यो पनि आफ्नै आमा–दिदीहरूको हातबाट खाजा खान पाएपछि बालबालिकाहरू स्कूल छोडेर किन भाग्थे ? खाजाको यो प्रथासँगै पहिले पहिले १–२ बजे नै बन्द हुने तल्लो तहका कक्षा पनि ४ बजेसम्मै चल्न थालेका छन् । अर्थात्, बालबालिकाले विद्यालयमा बिताउने समय लम्बिएको छ । यसरी थप हुन आएको समय पाठ्यपुस्तक पढाउनका साथै वादविवाद, वक्तृत्वकला, क्रिकेट, हाजिरीजवाफ, अन्ताक्षरी जस्ता अतिरिक्त क्रियाकलापहरू गर्नका निम्ति उपयोग गर्न सम्भव भएको छ । खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीहरू ४ होइन त्यसपछि पनि स्कूलमा भेटिन थालेका छन् ।
यो टिफिन कार्यक्रमबाट बालबालिकाको पढाइ अवधि त लम्बिएको छ नै, यसले अभिभावक र विद्यालयलाई पनि आपसमा जोडिदिएको छ । दिनहुँ स्कूलमा खाजा पुर्‍याउन धाउने अभिभावक बालबालिकाको पढाइप्रति पहिले जस्तो निरपेक्ष रहन सम्भव हुँदैन । परिणामस्वरुप, अभिभावक र बच्चाका बीचमा घरमा पनि पठन–पाठन र स्कूलका अन्य क्रियाकलापबारे चर्चा हुने नै भयो । त्यस्तो चर्चाले अभिभावकलाई विद्यालय र त्यसका क्रियाकलापप्रति चासो र रुचि पैदा गर्नु स्वाभाविक हुन्छ । विद्यालयका काम–कार्यवाही प्रति आम अभिभावकहरू जागरुक हुनु, उनीहरूले चासो राख्नु भनेको त्यो विद्यालयको अधोगति सकिनु, प्रगतितिर लम्किन थाल्नुसरह हुन्छ । बघचौरा उमाविका निम्ति त्यस्तो दिन ढोकैमा आए जस्तो देखिन थालेको छ ।

Pix_1
उक्त उमाविमा ‘टिफिन मेला’ को थालनी सँगै, पहिले अनुभव नगरिएका केही व्यावहारिक समस्या पनि महसूस गर्न थालिएको छ । अभिभावकहरू घरबाट खाजा र पानी ल्याउन ठूला–ठूला भाँडावर्तन र बाल्टिन प्रयोग गर्छन् । टिफिन बक्स तथा बोतल नभएर नै उनीहरू यस्ता भाँडावर्तन प्रयोग गर्न बाध्य भएका हुन् । तर, हरेक अभिभावकले त्यस्ता भाँडा ल्याउँदा स्कूलको खाजा खाने ठाउँ नै साँघुरो लाग्न थालेको छ । सँगसँगै ठूला भाँडा माज्दा–पखाल्दा स्कूल परिसरमा फोहोर र हल्लाखल्लाको समस्या बढ्दै जाने देखिएको छ । प्रत्येक बालबालिकाले आफैं टिफिन बक्स र पानीको बोतल लिएर आउन सके यस्तो समस्या आफैं टर्ने थियो । तर, त्यसो गर्न हरेक बालबालिकासँग टिफिन बक्स र बोतलसँगै किताब समेत अट्ने राम्रो झेला पनि हुनु जरूरी हुन्छ । यी चीजको व्यवस्था गर्न अभिभावकहरूलाई आग्रह गर्न त सकिन्छ तर सबैको क्षमता त्यस अनुरूपको होला नै भन्न सकिंदैन ।
पिउने पानीको निम्ति विद्यालय परिसरमा रहेका दुई वटा हातेकल अपर्याप्त भएको महसूस गरिसकिएको छ । एउटा कल थप गरेर त्यसको पानी मोटरबाट ट्याङ्कीमा जम्मा गरी पिउनको लागि ४/५ वटा धारा निकाल्न सके पिउने पानी घरबाट ल्याइरहनुपर्ने झ्न्झ्टबाट बालबालिका तथा अभिभावकले मुक्ति पाउने छन् । उनीहरूका निम्ति यो पनि उल्लेख्य सुविधा नै हुनेछ, किनभने दिनैपिच्छे पानी बोतल ल्याउनु, लैजानु; सफा गर्नु, पानी भर्नु पनि केटाकेटीका निम्ति समय साध्य नै हुन्छ ।
काम गर्दा अनेक चुनौती देखा पर्नु स्वाभाविक नै हो । समस्या आउँदै जाँदा तिनको समाधान पनि खोज्दै जानुपर्छ । अहिलेलाई बघचौरा उमाविले विद्यार्थी आधा दिनमै कक्षाबाट हराउने जस्तो एउटा अहं समस्याको समाधानका निम्ति आँटिलो प्रयास शुरू गरेको छ । यसको सफलता–असफलता यसै विद्यालयका प्रअ, शिक्षक, विव्यस पदाधिकारी र सम्बद्ध अभिभावकहरूको धैर्य, मिहिनेत र सुझ्बुझ्मा निर्भर गर्नेछ । तथापि, यो प्रयोग सफल हुँदा टाढा–टाढाका अन्य विद्यालय, विव्यस, बालबालिका र अभिभावकहरू समेत लाभान्वित हुन सक्नेछन्, किनभने यस्तै समस्या प्रायः देशैभरका विद्यालयमा छ ।

Related Posts

/*sign up form*/