प्रावि सिकाइमा प्रभाव पार्ने तत्व र तिनको निराकरण

by • • कक्षाकोठाComments (0)399

बालकुमार जमरकट्टेल

पाठ्यक्रम विकास केन्द्रले ‘नेपालका प्राथमिक तहका विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वहरू’ नामक अध्ययन प्रतिवेदनमा २०६१ सालमा औंल्याएका कुरा आज पनि त्यत्तिकै सान्दर्भिक छन् । सो प्रतिवेदनमा काभ्रे, ललितपुर र कास्की जिल्लाका चारवटा विद्यालयका कक्षा पाँचका गणित, नेपाली र विज्ञान विषयमा विद्यार्थीले हासिल गर्ने सिकाइ उपलब्धिमा के कस्ता तत्वले प्रभाव पारेका छन् भन्ने सम्बन्धमा शिक्षक, विद्यार्थी र अन्य पक्षहरूसँग समेत अन्तरक्रिया गरी प्राप्त निष्कर्ष प्रस्तुत गरिएको छ । सबै विषयको सिकाइ उपलब्धिमा प्रभाव पार्ने तत्वमा विद्यार्थी, विद्यार्थीको घरपरिवार, विद्यालयको वातावरण, नीतिनिर्माण तथा कार्यान्वयन गर्ने निकायहरू लगायत अन्य पक्षहरूको प्रभाव करीब करीब समान रहेको पाइन्छ । तथापि; गणित विषयको सिकाइ उपलब्धिमा भने शिक्षक, शिक्षक–विद्यार्थी सम्बन्ध र शिक्षण–सिकाइ क्रियाकलापको प्रभाव बढी रहने गरेको कुरा प्रतिवेदनमा औंल्याइएको छ ।

भिन्नः समानुपातिक भिन्नको अवधारणा

यस लेखमा चाहिं प्रतिवेदनले औंल्याएका कुरालाई आधार मानी आफ्नो अनुभव समेतको आधारमा प्राथमिक तहको गणित विषयमा अपेक्षित सिकाइ उपलब्धि हासिल गर्न शिक्षकको तर्फबाट के कस्ता उपायहरू अवलम्वन गर्न सकिन्छ भन्ने विषयमा चर्चा गर्ने प्रयास गरिएको छ ।
विद्यार्थीको सिकाइ उपलब्धिमा असर पार्ने तत्व वा पक्षहरूलाई निम्नानुसार विभिन्न वर्गमा विभाजन गर्न सकिन्छः
– घरपरिवार तथा समुदायसँग सम्बन्धित,
– विद्यार्थीसँग सम्बन्धित,
– विद्यालयसँग सम्बन्धित,
– पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग सम्बन्धित,
– नीतिनिर्माण र कार्यान्वयन पक्षसँग सम्बन्धित,
– शिक्षण–सिकाइ क्रियाकलापसँग सम्बन्धित,
– शिक्षकसँग सम्बन्धित, आदि ।
यीमध्ये शिक्षक र शिक्षण–सिकाइ क्रियाकलापसँग सम्बन्धित कुराहरूमा सम्बद्ध शिक्षक आफैंले अग्रसरता लिएर विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्न सकिन्छ भने अन्य पक्षहरूसँग सम्बन्धित विषयमा सम्बन्धित पक्षहरूसँगको प्रत्यक्ष अन्तरक्रियाबाट र सो सम्भव नहुने अवस्थामा सम्बन्धित निकायमा लिखित सुझवहरू प्रस्तुत गरी समस्या निराकरणको लागि पहलकदमी गर्न सकिन्छ ।

१.घरपरिवार र समुदायसँग सम्बन्धित पक्षः
घरपरिवार, समुदाय र विद्यालय बालबालिकाका क्रमशः पहिलो, दोस्रो र तेस्रो पाठशाला हुन् । घरपरिवार र समुदायबाट धेरै कुरा सिकिसकेपछि मात्र बालबालिका विद्यालयमा प्रवेश गर्छन् । विद्यालयमा प्रवेश गरिसकेपछि पनि बालबालिकाको अधिकांश समय परिवार र समुदायसँगै बित्छ र जीवनको लागि आवश्यक पर्ने धेरै कुराहरू उसले त्यहीं सिक्छ । विद्यालयमा सिकेको औपचारिक ज्ञानभन्दा घरपरिवारबाट सिकेका मानवीय मूल्यमान्यता तथा अनुशासनका पाठहरू व्यक्तिको लागि बढी जीवनोपयोगी हुन सक्छन् । तर व्यक्तिले सबै कुरा बाहिर नै सिकेर विद्यालय प्रवेश गर्नुपर्छ भन्ने होइन ।
विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने घरपरिवार र समुदायसँग सम्बन्धित तत्वहरू निम्नानुुसार हुन सक्छन्
– परिवारको आकार (संख्या) तथा जन्मान्तर,
– अभिभावकको चेतनास्तर, शिक्षाको अवस्था र पेशा,
– घरपरिवार तथा समुदायमा बोलिने भाषा,
– घरपरिवार तथा समुदायको जातीय बनोट,
– विद्यालयका क्रियाकलापमा अभिभावकको संलग्नता,
– परिवारको आम्दानी स्रोत,
– घरमा रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर आदिको सुविधा,
– खाजा तथा खानाको नियमितता र पोषणको स्थिति,
–घरमा अतिरिक्त पाठ्यसामग्रीको उपलव्धता,
–विद्यार्थीले घरको काममा दिनुपर्ने समय,
– विद्यार्थीले पठनपाठनमा परिवारका सदस्यबाट पाउने सहयोग,
– विद्यार्थीले घरपरिवारबाट पाउने मायाममता, आदि ।
यी लगायत यस्ता विविध विषयमा बेलाबेलामा विद्यार्थीका अभिभावक र समुदायका अन्य व्यक्तिहरूसँग अन्तरक्रिया गर्ने, उनीहरूको संलग्नता अभिवृद्धि गर्न विद्यालयमा विभिन्न कार्यक्रमहरूको आयोजना गर्ने, अभिभावकहरूका सुझाव , गुनासा सुन्ने आदि काम शिक्षकको अगुवाइमा विद्यालयले गर्न गराउन सक्छ । प्राथमिक तहका बालबालिकाका हकमा त यो कुरा अझ् बढी सान्दर्भिक हुन्छ; किनभने यो तहका विद्यार्थी आफ्नो लागि आफैं निर्णय गर्न सक्ने अथवा अभिभावकसामु आफ्ना कुराहरू स्पष्टतः राख्न सक्ने अवस्थामा हुँदैनन् । यसैले प्राथमिक तहका विद्यार्थीहरूको सिकाइ उपलब्धि अभिवृद्धि गर्न शिक्षकले विशेष भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

 

२. विद्यार्थीसँग सम्बन्धित पक्षः
बालबालिका नै शिक्षण–सिकाइको केन्द्र भएकोले हाम्रा सम्पूर्ण गतिविधि र प्रयासहरू उनीहरूप्रति नै लक्षित र केन्द्रित रहेका हुन्छन् । प्राथमिक तहका बालबालिकाहरू आफ्नो लागि आफैं निर्णायक हुन नसक्ने भएकोले उनीहरूसँग सम्बन्धित गतिविधिहरू पनि विद्यालय, शिक्षक र अभिभावकमार्फत नै संचालन गर्नुपर्ने हुन्छ । घरपरिवार र समुदायमा रहँदा अभिभावकमार्फत र विद्यालयमा रहँदा शिक्षकमार्फत नै उनीहरूको गतिविधिलाई नियन्त्रण र आवश्यकताअनुसार मार्गनिर्देशन गर्नुपर्ने हुँदा यसको लागि पनि शिक्षकले नै पहलकदमी लिनुपर्ने हुन्छ । विद्यार्थीसँग सम्बन्धित केही पक्ष निम्नानुसार छन्ः
– विद्यार्थीको व्यक्तिगत गुण तथा अभिवृत्ति,
– तल्लो कक्षाको सिकाइ उपलब्धि,
– विद्यार्थीको विद्यालयमा नियमितता,
– विद्यार्थीको सम्बन्धित विषयप्रतिको सुझाव  आदि ।

३. विद्यालयसँग सम्बन्धित पक्षः
कक्षामा पठनपाठन हुने विषयमा विद्यार्थीको सिकाइ उपलब्धि बढाउन मात्र नभई व्यक्तिको भविष्य निर्माण गर्नको लागि आवश्यक सम्पूर्ण गतिविधि संचालन गर्ने मूलथलो विद्यालय नै भएकोले विद्यालयको वातावरण बालमैत्री हुनु आवश्यक छ । सिकाइ उपलब्धि वृद्धि गर्नको लागि पहलकदमी लिने काम शिक्षकले गर्ने भए तापनि यसको लागि उपयुक्त वातावरण विद्यालयले नै मिलाउनुपर्ने हुन्छ । विद्यालय प्रशासन त्यसप्रति सकारात्मक भएन भने शिक्षकको व्यक्तिगत प्रयासले मात्र यो सम्भव नहुन सक्छ । विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने विद्यालयसँग सम्बन्धित तत्व या पक्षहरू निम्नानुसार छन्
– विद्यालयमा भर्नाहुँदाको विद्यार्थीको उमेर,
– विद्यार्थीको घरदेखि विद्यालयसम्मको दूरी,
– शिक्षक विद्यार्थी अनुपात,
– कक्षाकोठा र विद्यार्थी अनुपात,
– कक्षामा विद्यार्थीको उमेरको अन्तर र शारीरिक भिन्नता,
– शैक्षिक सामग्रीको उपलब्धता र प्रयोग,
– पाठ्यपुस्तकको सहज उपलब्धता,
– सन्दर्भ सामग्रीको उपलब्धता,
– भौतिक सुविधाको पर्याप्तता,
– सम्बन्धित निकायबाट विद्यालयको निरीक्षण,
– विद्यालयमा बाहिरी हस्तक्षेप, आदि ।

४. पाठ्यक्रम तथा पाठ्यपुस्तकसँग सम्बन्धित पक्षः
पाठ्यक्रम तथा पाठ्यपुस्तकहरूले आफैंमा विद्यार्थीको सिकाइ उपलब्धिमा तात्विक असर पार्ने गरेको पाइएको छैन । तथापि, पाठ्यक्रम तथा पाठ्यपुस्तकहरू समसामयिक रूपमा परिमार्जन तथा परिवर्तन हुन नसक्दा सिकाइ उपलब्धि विद्यार्थीको लागि जीवनोपयोगी नहुन सक्छ भन्ने कुरामा भने स्वयं शिक्षकहरू नै सचेत हुनुपर्छ । उदाहरणको लागि, हाल प्रचलित पाठ्यपुस्तकहरूमा दिइएको नेपालको जनसंख्या २०५८ सालको जनगणनामा आधारित छ । केन्द्रीय तथ्याङ्क विभागले २०६८ सालको जनगणनाको अन्तिम नतिजा सार्वजनिक गरिसकेको अवस्थामा हामी शिक्षकहरूले पाठ्यपुस्तक परिमार्जनलाई पर्खनु भन्दा आफू अद्यावधिक भई विद्यार्थीलाई पनि सोही अनुसार जानकारी गराउनुपर्छ ।
त्यसैगरी; पाठ्यक्रम र पाठ्यपुस्तकमा समसामयिक परिवर्तन र परिमार्जनको लागि सम्बन्धित निकायमा सुझव दिनुको साथै स्थानीय पाठ्यक्रम निर्माण र प्रयोगमा समेत शिक्षकले नै अग्रणी भूमिका निर्वाह गर्नुपर्ने हुन्छ ।

५. नीतिनिर्माण तथा कार्यान्वयन पक्षसँग सम्बन्धित पक्षः
हाम्रो शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीति र कार्यक्रमहरू अझै  पनि परीक्षणको रूपमा नै चल्ने गरेका छन् । यसले गर्दा यससँग सरोकार राख्ने पक्ष (मूलतः शिक्षक वर्ग) जहिले पनि अन्योल र असन्तुष्टिको स्थितिमा रहन विवश छन् । यसको कारणबाट पनि विद्यार्थीको सिकाइ उपलब्धिमा नकारात्मक प्रभाव पर्ने गरेको छ । तर यस विषयमा यहाँ विस्तृत चर्चा गरिने छैन ।

६. शिक्षण–सिकाइ क्रियाकलापसँग सम्बन्धित पक्षः
विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्नको लागि मुख्य भूमिका खेल्नुपर्ने शिक्षकले नै हो । अन्य पक्षहरू आ–आफ्ना ठाउँमा जिम्मेवार भए तापनि कक्षाकोठाभित्र गरिने शिक्षण–सिकाइ क्रियाकलापले नै विद्यार्थीको सिकाइ उपलब्धि बढाउनमा प्रमुख भूमिका खेल्ने र शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्ने जिम्मेवारी उनीहरूकै भएकोले कुन विषयवस्तु सिकाउन कस्तो वातावरण र क्रियाकलाप आवश्यक पर्छ भन्ने कुराको सरोकार शिक्षकको नै रहन्छ । शिक्षण–सिकाइ क्रियाकलापसँग सम्बन्धित केही पक्ष निम्नानुसार छन्ः
– कक्षा क्रियाकलापमा विद्यार्थीको सहभागिता,
– कक्षामा विद्यार्थीको बसाइ व्यवस्थापन,
– विद्यार्थीलाई दिइने गृहकार्य र त्यसको परीक्षण,
– बहुकक्षा शिक्षण गर्नुपर्ने अवस्थामा कक्षा तथा समय व्यवस्थापन,
– एकाइ परीक्षा र कक्षा परीक्षाको निरन्तरता,
– प्रश्नपत्रको प्रभावकारिताको विश्लेषण,
– शिक्षण सिकाइ क्रियाकलापमा शैक्षिक सामग्रीको प्रयोग,
– शैक्षिक सामग्री निर्माणमा विद्यार्थीको सहभागिता, आदि ।

७. शिक्षकसँग सम्बन्धित पक्षः
शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्ने प्रमुख जिम्मेवारी शिक्षकको नै भएकोले शिक्षकले नै आफूसँग सम्बन्धित तत्वहरूको मिहिन रूपमा पहिचान गरी यसको कार्यान्वयनतर्फ अग्रसर हुनुपर्ने हुन्छ । शिक्षकसँग सम्बन्धित केही पक्षहरू निम्नानुसार छन्ः
–  शिक्षकको तालिम तथा शैक्षिक योग्यता,
– शिक्षकको उमेर र लैङ्गिक पक्ष,
– शिक्षकमा विद्यार्थीको मातृभाषाको ज्ञान,
– शिक्षकको पेशागत सन्तुष्टि,
– शिक्षकको तलबको स्रोत,
– शिक्षकका पेशागत संगठनमा संलग्नता,
– तलब तथा अन्य सुविधा,
– अनुभव,
– पेशागत प्रतिबद्धता,
– विद्यार्थीसँगको सम्बन्ध,
– शिक्षकमा शैक्षिक सामग्री निर्माण र प्रयोग गर्ने कौशल, आदि ।
विद्यार्थीको सिकाइ उपलब्धि अभिवृद्धि गर्ने कतिपय तत्वहरू प्रत्यक्ष रूपमा अन्य पक्षसँग सम्बन्धित देखिए तापनि अप्रत्यक्ष रूपमा शिक्षकसँग नै सम्बन्धित भएर आउँछन् । तसर्थ यसमा शिक्षकको नै पहलकदमी हुनु आवश्यक हुन्छ ।

धारणाः भिन्न
उद्देश्यः भिन्नसम्बन्धी धारणाको सबलीकरण

सिकाइ उपलब्धिमा प्रभाव पार्ने केही तत्व र तिनको प्रभाव
माथि चर्चा गरेअनुसार, प्राथमिक तहका विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गराउनमा विभिन्न पक्ष वा तत्वले सकारात्मक तथा नकारात्मक प्रभाव पारिरहेका हुन्छन् । यिनीहरूको प्रभावको पहिचान गरी सोही अनुसार शिक्षण–सिकाइ क्रियाकलाप सञ्चालन गर्न र सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न सकेमा नै विद्यार्थीको सिकाइ उपलब्धि हासिल गराउनमा हामी शिक्षकको सकारात्मक पहलकदमी ठहरिनेछ । प्राथमिक तहका विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने केही तत्व वा पक्ष; तिनको प्रभाव तथा त्यसको लागि लिन सकिने पहलकदमी निम्नानुसार हुन सक्छन्
(क) अधिकांश विद्यार्थी प्राथमिक तहदेखि नै अन्य विषयको तुलनामा गणित विषयमा कमजोर रहेको पाइन्छ । त्यति मात्र होइन, गणित विषयका विद्यार्थीको प्राप्ताङ्कको विचलन (उच्चतम र न्यूनतम प्राप्ताङ्कमा अन्तर) समेत उच्च रहने र धेरैजसो विद्यार्थीको प्राप्ताङ्क न्यून रहने गरेको पाइन्छ । थोरै मात्र विद्यार्थीको प्राप्ताङ्क औसत प्राप्ताङ्कभन्दा माथि रहनुमा शिक्षकको अध्यापन कौशल र शिक्षण–सिकाइ क्रियाकलापको प्रभावकारिता भन्दा पनि विद्यार्थीको आन्तरिक क्षमताको भूमिका बढी रहेको बुझन सकिन्छ ।
(ख) गणित विषयमा उच्च अंक प्राप्त गर्ने विद्यार्थीमध्ये केहीले मात्र गणित विषय मन पराउने गरेको र गणित शिक्षक मन पराउने विद्यार्थीको संख्या अत्यन्तै न्यून रहने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । त्यसको कारण गणित विषयको पठनपाठन हाम्रा कक्षाहरूमा अत्यन्तै यान्त्रिक र निरस रूपमा हुने गरेको छ भन्ने बुझन सकिन्छ । गणित विषयलाई दैनिक जीवनसँग एकाकार गरेर सोही अनुसार विद्यार्थीलाई सिकाइ क्रियाकलापमा सहभागी गराउन नसकिएको यथार्थलाई हामी शिक्षकहरूले स्वीकार्न आनाकानी गर्नुहुँदैन । अर्थात् गणितको कक्षालाई रमाइलो बनाउन र दैनिक जीवनसँग सरोकार राख्ने गरी शिक्षण–सिकाइ क्रियाकलापहरू सञ्चालन गर्न हामीले धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ ।
(ग) हाम्रा अधिकांश विद्यार्थी गणित विषयका कक्षामा ज्यामितीय आकृति तथा रचना, बीजीय अभिव्यञ्जक तथा साधारण व्याजका समस्यामा नै अलमलिने गरेको पाइन्छ । यसो हुनुमा ती विषयवस्तुहरू गाह्रो भएर भन्दा पनि यसको शिक्षणमा पर्याप्त मात्रामा शैक्षिक सामग्रीको प्रयोग र यी विषयवस्तुलाई हाम्रो दैनिक जीवनसँग जोडेर पर्याप्त अन्तरक्रिया हुन नसक्नु नै हो भन्ने कुरामा हामी शिक्षकहरू सचेत हुनु जरुरी छ ।
(घ) हाम्रा अधिकांश विद्यालयहरूमा गणित विषयमा आवश्यक पर्ने शैक्षिक सामग्रीको उपलब्धता अत्यन्तै कम र शिक्षकमा पनि स्थानीय सामग्री प्रयोग गरी कक्षा क्रियाकलाप संचालन गर्ने कौशल तथा इच्छाशक्ति खासै नरहेको अवस्था छ । शैक्षिक सामग्रीको प्रयोगले कक्षा क्रियाकलापलाई प्रभावकारी पार्नुका साथै विद्यार्थीमा विषयवस्तुको सिकाइ दिगो भई सिकाइ उपलब्धि वृद्धि हुन सहयोग पुग्छ । स्थानीय सामग्रीको प्रयोगबाट बनाउन सकिने भिन्नका नमूना तथा चार्ट, कागज पट्याउने, काट्ने, टाँस्ने आदिबाट बनाउन सकिने सामग्रीहरू, फलाटिन बोर्ड, ठोस वस्तुका आकृति र जालीहरू, डाइस, घडी, क्यालेण्डर, तराजु, जियोबोर्ड, बेसटेन कार्ड, एवाकस आदि विभिन्न किसिमका शैक्षिक सामग्रीहरूको निर्माण र प्रयोगले गणित विषयमा विद्यार्थीको सहभागिता बढाई त्यसको माध्यमबाट गणित विषयमा सिकाइ उपलब्धि बढाउन सकिन्छ । एकपटक बनाएको सामग्री सधैं र सबै कक्षाको लागि उपयोगी हुन्छ । त्यस्ता सामग्रीको संकलन, सजावट र भण्डारण गरी गणितको प्रयोगशाला नै तयार पार्न पनि सकिन्छ ।
(ङ) विद्यार्थीको पढाइमा सहयोग गर्ने व्यक्तिहरू घरपरिवारमा हुनु पनि सिकाइ उपलब्धिमा असर गर्ने एउटा पक्ष हो । विद्यार्थीका बाबुभन्दा आमाको शैक्षिक योग्यता र त्योभन्दा पनि दाजुदिदीको सहयोग बढी प्रभावकारी रहने गरेको छ । घरमा सहयोग गर्ने व्यक्ति नभएको अवस्थामा ‘ट्युसन’ र विद्यालयले व्यवस्था गर्ने अतिरिक्त कोचिङ कक्षाले पनि विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नमा सकारात्मक प्रभाव पार्ने गरेको पाइन्छ ।
(च) विद्यालयमा विद्यार्थीको उपस्थिति नियमित हुनु र नहुनुले पनि सिकाइ उपलब्धिमा प्रभाव पार्छ । नियमित रूपमा उपस्थित हुने विद्यार्थीहरू कक्षाका हरेक सिकाइ क्रियाकलापमा सक्रिय रूपमा सहभागी हुन सफल हुन्छन् । त्यसले उनीहरूलाई आफूले नवुझेका कुराहरू साथी र शिक्षकसँग सहजै खुलेर राख्ने अवसर दिन्छ । तर नियमित उपस्थित नहुने विद्यार्थीमा त्यसै पनि नवुझेको कुरा साथीहरूको बीचमा र शिक्षकसँग सोध्न संकोच रहने हुँदा उनीहरूको सिकाइ उपलब्धि न्यून रहने गरेको पाइन्छ । यसर्थ नियमित रूपमा अभिभावकहरूसँग अन्तरक्रिया गरी विद्यार्थी नियमितताको प्रभावकारिताको बारेमा उनीहरूलाई जानकारी गराउनु शिक्षकको सरोकारको विषय हुन आउँछ ।

चतुर्भुज र यसका प्रकारः एउटै मेकानोस्ट्रिप्सको माध्यमबाट आयत र समान्तर चतुर्भुजको धारणा दिन सकिन्छ । त्यसैगरी वर्ग र समभुजा चतुर्भुजको धारणा दिन सकिन्छ ।

(छ) विद्यार्थीको घरमा हुने बालबच्चाहरूको संख्या पनि विद्यार्थीको सिकाइ उपलब्धिमा असर पार्ने एउटा तत्व रहने गरेको विभिन्न अध्ययनहरूले देखाएका छन् । औसतमा तीन जनासम्म बच्चा भएका परिवारका विद्यार्थीमा सिकाइ उपलब्धि उच्च रहने गरेको पाइएको छ । परिवारमा बच्चाहरूको संख्या निर्धारण गर्ने कुरामा शिक्षकको खासै भूमिका नरहने भए तापनि अप्रत्यक्ष रूपमा अभिभावक तथा समुदायका व्यक्तिहरूको चेतना अभिवृद्धिका क्रियाकलापहरू संचालनमा शिक्षकहरूले सघाउन सक्छन् ।
(ज) उच्च पद वा पेशा अपनाउने अभिभावकको भन्दा साधारण पेशामा संलग्न अभिभावकका बच्चाहरूको सिकाइ उपलब्धिको स्तर राम्रो रहने गरेको पाइएको छ । साधारण पेशामा संलग्न अभिभावकले आफ्ना बच्चाहरूको पढाइमा तुलनात्मक रूपमा बढी समय दिन सक्ने कारणले यो प्रभाव परेको हो भन्ने कुरा सहजै बुझन सकिन्छ । तसर्थ अभिभावकले आफ्ना बच्चालाई बढी समय दिनुपर्छ भन्ने पक्षमा शिक्षकहरूले अभिभावकहरूसँग समय समयमा अन्तरक्रिया गर्नुपर्छ ।
(झ्) आफ्ना बच्चाको पढाइमा बढी चासो राख्ने अभिभावकका बच्चाहरूको साथीको संगत पनि राम्रो हुने गरेको पाइएको छ । त्यस्ता विद्यार्थीको सिकाइ उपलब्धि पनि तुलनात्मक रूपमा राम्रो रहने गरेको छ । तसर्थ पढाइमा प्रत्यक्ष सहयोग गर्न नसक्ने अभिभावकले पनि आफ्ना बच्चाको पढाइमा बढी भन्दा बढी चासो राख्नु लाभदायक हुन्छ भनी अभिभावकलाई सचेत गराउनु पनि विद्यालय र शिक्षकको जिम्मेवारी हुन आउँछ ।
(ञ) विद्यार्थीसँग राम्रो सम्बन्ध भएका शिक्षकको विषयमा विद्यार्थीको सिकाइ उपलब्धि तुलनात्मक रूपमा उच्च रहने गरेको पाइएको छ । तसर्थ शिक्षकले विद्यार्थीसँग निरन्तर अन्तरक्रिया गरी उनीहरूसँग सम्बन्ध राम्रो बनाउन प्रयत्नशील रहनुपर्छ । शिक्षकले कक्षाकोठाभित्र वा बाहिर समेत विद्यार्थीसँग व्यक्तिगत सम्बन्ध अभिवृद्धि गरेमा विद्यार्थीहरू त्यस्ता शिक्षकले पढाउने विषयतर्फ बढी झुकाव राख्ने र त्यसको माध्यमबाट सो विषयमा उनीहरूको सिकाइ–उपलब्धि बढ्न सक्ने हुन्छ ।
(ट) घरमा अभिभावक (आमाबाबु)को बीचमा बारम्बार झ्गडा भइरहने र बाबुआमाबाट आत्मीयता कम प्राप्त गर्ने बच्चाहरूमा विद्यालयमा आउँदा पनि पढाइमा मन नजाने हुन्छ । यो कारणबाट उनीहरूको सिकाइ उपलब्धिमा कमी आउने गरेको पाइन्छ । तसर्थ शिक्षकले हरेक विद्यार्थीको पारिवारिक पृष्ठभूमिको अध्ययन गरी घरमा सकारात्मक वातावरण बनाउनमा प्रयत्नशील रहनुपर्छ ।
(ठ) भिन्न मातृभाषा भएका बालबालिकालाई नेपाली भाषामा सञ्चार गर्न कठिनाइ पर्न सक्छ । उनीहरूले आफ्ना मनका कुराहरू शिक्षक तथा साथीहरूको बीचमा व्यक्त गर्न संकोच मान्न सक्छन् । परिणामतः शिक्षकले त्यस्ता विद्यार्थीका मनका कुरा नबुझन सक्छन् । यसरी भाषिक कारणले शिक्षक र विद्यार्थीको बीचमा पर्याप्त अन्तरक्रिया हुन नसक्दा विद्यार्थीको सिकाइ उपलब्धिमा नकारात्मक प्रभाव पर्ने गरेको पाइन्छ । यसर्थ; विशेषतः प्राथमिक तहमा अध्यापन गर्ने शिक्षकले विद्यार्थीको मातृभाषामा पूर्ण दखल राख्न नसके पनि आधारभूत जानकारी राख्ने प्रयत्न गर्नुपर्छ । त्यसो भए मात्र विद्यार्थी र अभिभावकहरूसँग शिक्षकलाई आत्मीय सम्बन्ध कायम राख्न संभव हुन्छ । आफ्ना कुरा अभिव्यक्त गर्न भाषाको पूर्ण दखल नभए पनि केही असर पर्दैन भन्ने कुरामा विद्यार्थी निश्चिन्त हुन सकेमा उनीहरू कक्षा क्रियाकलापमा खुलेर सहभागी हुन्छन् । यसको माध्यमबाट उनीहरूको सिकाइ उपलब्धिमा सकारात्मक प्रभाव पर्न जान्छ ।
(ड) विद्यार्थीमा अघिल्लो कक्षामा अपेक्षित सिकाइ–उपलब्धि हासिल हुन नसक्दा माथिल्लो कक्षामा त्यसको झ्न् ठूलो प्रभाव रहने गरेको पाइन्छ । तसर्थ प्राथमिक तहका कक्षाहरूमध्ये पनि तल्ला कक्षाहरूमा विद्यार्थीलाई उत्तीर्ण गराउने गरी मात्र अध्यापन गर्ने भन्दा माथिल्लो कक्षाको लागि समेत उपयोगी हुने सिकाइ–उपलब्धि हासिल गराउने कुरामा हामी शिक्षकहरू सचेत हुनुपर्ने देखिन्छ ।
(ढ) विद्यालयमा पठनपाठन संचालन भइरहेको समयमा शिक्षकहरूको तालिम संचालन गरिंदा एकातर्फ विद्यालयलाई कक्षा व्यवस्थापन गर्न समस्या हुने र अर्कोतर्फ शिक्षकसँग सम्बन्धित विषयमा शिक्षण–सिकाइ क्रियाकलाप गर्न पर्याप्त समय नपुग्ने समस्या रहेको पाइन्छ । यसको लागि छोटो अवधिका पुनर्ताजगी तथा पेशागत विकास (टीपीडी) तालिमहरू विद्यालय बन्द रहेको वा विद्यालयमा पठनपाठन नहुने समयमा संचालन गर्न सकिने तथा लामो समयको तालिममा जानुपर्ने समयमा विद्यालयले सट्टा शिक्षकको व्यवस्था गर्नु जरुरी देखिन्छ ।
(ण) शिक्षकले आफ्नो समय उचित रूपमा व्यवस्थापन गर्न नसक्दा पनि विद्यार्थीको सिकाइ उपलब्धिमा असर पर्ने गरेको छ । बिहान–बेलुकीको समय र बिदाको दिनमा घरको काममा व्यस्त रहनुपर्ने वा विद्यालयमा धेरै पिरियड पढाउनुपर्ने आदि कारणले कक्षा क्रियाकलापको लागि आवश्यक पर्ने शैक्षिक सामग्री, शैक्षणिक योजना निर्माण तथा तिनको प्रयोगमा शिक्षकले पर्याप्त समय दिन नसकेको र त्यसको परिणामस्वरुप विद्यार्थीको सिकाइ उपलब्धिमा प्रतिकूल असर परेको तथ्यप्रति हामी शिक्षकहरू सचेत हुनै पर्छ ।
(त) परीक्षाको समयमा विद्यार्थीले प्रश्नपत्र राम्ररी बुझ्ेर सोही अनुसार समस्याको समाधान गर्न नसक्नु पनि विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पार्ने एक कारण रहेको पाइन्छ । प्राथमिक तहका विशेष गरी गणित विषयको कक्षाकार्य वा गृहकार्य शिक्षक वा अभिभावकको मार्गदर्शनमा मात्र समाधान गर्न अभ्यस्त भएका विद्यार्थीहरू परीक्षामा कसैको मार्गदर्शन विना समस्या समाधान गर्नु पर्दा अलमलमा पर्ने गरेका पाइन्छन् । गणितीय समस्या समाधान गर्दा त्यसलाई दैनिक जीवनसँग एकाकार गरेर भन्दा गणितीय सूत्रहरू प्रयोग गरी यान्त्रिक रूपमा समाधान गर्न मात्र विद्यार्थीहरू अभ्यस्त हुने गरेकोले पनि यो समस्या सिर्जना भएको हो । तसर्थ विद्यार्थीलाई पर्याप्त मात्रामा कक्षा क्रियाकलापमा सहभागी गराई उनीहरूमा गणितीय धारणा बसाल्न हामी शिक्षकहरू सचेत हुनु आवश्यक छ ।

धारणाः भिन्न
उद्देश्यः भिन्नमा देखाउने क्रियाकलाप

(थ) विद्यार्थी अनुशासन र नियमितता पनि सिकाइ उपलब्धिमा असर पार्ने तत्व हो । त्यसैगरी शिक्षकको नियमितता तथा सामाजिक र नैतिक आचरणमा विद्यार्थी र अभिभावकले प्रश्न उठाउने अवस्थामा शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न गाह्रो हुन्छ । यसले गर्दा शिक्षकलाई कक्षा व्यवस्थापन गर्न सहज नहुने हुँदा यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ उपलब्धिमा पर्छ । यसर्थ यसतर्फ पनि हामी शिक्षकहरू सचेत हुनु जरुरी हुन्छ ।
(द) समुदायमा सञ्चालन हुने विभिन्न सांस्कृतिक गतिविधि र विभिन्न मौसमी कामहरू जस्तैः यार्सागुम्बा टिप्ने, इटाभट्टामा काम गर्ने, सामुदायिक वनबाट घाँस–दाउरा र निर्माण सामग्री ओसार्ने आदि काममा अभिभावकहरू आफ्ना बालबच्चासहित सहभागी हुने कारणले विद्यालयको पठनपाठन प्रभावित हुने गरेको छ । यसको प्रत्यक्ष असर विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने गरेको छ । यसको निराकरणको लागि समुदायसँग छलफल गरी त्यस्ता विशेष समयमा विद्यालयमा हिउँदे वा बर्खे बिदा समायोजन गर्नेतर्फ विद्यालयले पहल गर्नु उपयुक्त हुन्छ ।
(ध) कक्षामा विद्यार्थीको व्यवस्थापनमा शिक्षकको तालिम भन्दा शिक्षकको अनुभव र अनुभवभन्दा उसको पेशागत सन्तुष्टि बढी प्रभावकारी रहेको पाइएकोले सोही अनुसार विद्यार्थीको सिकाइ उपलब्धि प्रभावित हुने गरेको छ । तसर्थ यसको व्यवस्थापनको लागि विद्यालय प्रशासन, व्यवस्थापन र अन्य सरोकारवाला पक्षले ध्यान दिनु आवश्यक छ ।
(न) विद्यालयको वातावरण शिक्षकहरूको व्यावसायिक दक्षता अभिवृद्धि गराउने खालको नहुनुले पनि यसको प्रभाव विद्यार्थीको सिकाइ उपलब्धिमा पर्ने गरेको पाइएको छ । विद्यार्थीका समस्या पहिचान गर्ने र आपसी छलफलबाट यसका निराकरणको लागि उपचारात्मक विधि प्रयोग गर्ने, शिक्षकका समस्याबारे छलफल गरी टुङ्गोमा पुगी आवश्यक प्राविधिक सहयोग प्राप्त हुने वातावरण मिलाउनेतर्फ विद्यालयले सक्रियता देखाउने गरेको पाइँदैन । यसले गर्दा पनि विद्यार्थीको सिकाइ उपलब्धिमा प्रभाव पर्ने गरेकोले यस्ता समस्या न्यूनीकरण गर्न विद्यालय प्रशासन र अन्य सरोकारवाला पक्षको बीचमा व्यापक छलफल गरी दीर्घकालीन नीति अवलम्वन गर्नुपर्ने देखिन्छ । ७
नवयुग माध्यमिक विद्यालय, जैशिदेवल, काठमाडौं

शिक्षक  मासिक, २०६९ माघ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/