प्राविधिक कक्षाः धान्नै धौ धौ !

by • • HighlightComments (0)432

Print Friendly, PDF & Email

रोश्ना सुब्बा
कक्षा ११ र १२ मा प्राविधिक धारका ८० प्रतिशतसम्म विद्यार्थी फेल भएपछि त्यस्ता कक्षा संचालन गर्ने विद्यालयका प्रअ नै चिन्तामा पर्न थालेका छन् । अंग्रेजी माध्यम, गाह्रो पाठ्यवस्तु र प्रशिक्षक नटिक्ने जस्ता कारणले सामुदायिक विद्यालयहरूमा शुरू गरिएको प्राविधिक शिक्षा विद्यार्थीका निम्ति आकर्षण होइन विकर्षणको विषय बनेको पाइन्छ ।

प्रयोगात्मक कक्षामा पञ्चकन्या विद्याश्रम मावि कक्षा ९ का प्राविधिक धारका छात्राहरू ।

देशमा प्राविधिक शिक्षा विस्तार गर्ने उद्देश्यले २०७० सालमा शिक्षा विभाग मार्फत शुरू गरिएको प्राविधिक तथा व्यावसायिक कक्षा संचालन गर्ने सामुदायिक विद्यालयको संख्या २८३ पुगेको छ । प्राविधिक धारतर्फ कक्षा ९–१२ मा विद्यालयको छनोट अनुसार बाली विज्ञान, पशु विज्ञान, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ अथवा इलेक्ट्रोनिक्स इन्जिनियरिङमध्ये कुनै एउटा विषयको पढाइ हुन्छ । सामाजिक आर्थिक रूपले पछि परेका विद्यार्थीको प्राविधिक शिक्षामा समतामूलक पहुँच होस् भन्ने यो कार्यक्रमको प्रमुख लक्ष्य हो ।

सरकारले यस्तो प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि पूर्वाधार, प्रशिक्षक तथा प्रयोगशाला सहयोगी, विद्यार्थीको कार्यस्थल अभ्यास जस्ता शीर्षकमा विद्यालयहरूलाई अनुदान दिने गरेको छ । तर पूर्व तयारी कार्य राम्ररी नगरिएका कारण प्राविधिक विषय रोजेका सबै विद्यालयले उत्तिकै व्यवस्थित ढंगबाट कक्षा चलाउन सकेका छैनन् । धेरै ठाउँमा प्राविधिक शिक्षा विद्यार्थीको भन्दा पनि विद्यालयको मात्र रोजाइको विषय बन्दैछ । कक्षा ११ र १२ मा प्राविधिक धारका ८० प्रतिशतसम्म विद्यार्थी फेल हुन थालेपछि त्यस्ता कक्षा संचालन गर्ने विद्यालयका प्रअ नै पनि चिन्तामा पर्न थालेका छन् । विशेषगरी अंग्रेजी माध्यम, गाह्रो विषयवस्तु, प्रशिक्षक नटिक्नु र उनीहरूलाई शिक्षण विधि सम्बन्धी ज्ञान नै नदिई पढाउन पठाउनु जस्ता कारणले सामुदायिक विद्यालयहरूमा शुरू गरिएको प्राविधिक शिक्षा चुनौतीपूर्ण बन्दै गएको देखिन्छ ।

प्रमुख बाधाः अंग्रेजी माध्यम
धेरैजसो सामुदायिक विद्यालयमा पढाइको माध्यम सामान्यतः नेपाली हुन्छ । तर प्राविधिक विषयहरू अंग्रेजीमा पढ्नु र जाँचमा पनि अंग्रेजीमै लेख्नुपर्ने बाध्यताले कमजोर अंग्रेजी भएका विद्यार्थीहरू ठूलो मर्कामा पर्ने गरेका छन् । कतिपयका लागि त पढ्न चाहेर पनि अंग्रेजीकै कारण यो विषय छोड्नुपर्ने अवस्था आएको छ । पद्मकन्या विद्याश्रम मावि, काठमाडौंकी छात्रा यशोदा पहाडीलाई प्राविधिक तथा व्यावसायिक शिक्षा पढ्न मन थियो । त्यसैले उनी कक्षा ९ मा प्राविधिक धारतर्फ भर्ना पनि भइन् । तर दुई हप्तापछि नै उनी साधारण धारमै फर्किइन् । सानैदेखि नेपाली माध्यममा पढेकी सिन्धुलीकी यशोदालार्ई अंग्रेजी माध्यममा पढ्न गाह्रो र नम्बर कम आउला कि भन्ने चिन्ता भयो । उनी अहिले कक्षा १० मा पढ्छिन् ।

यस्तै महेन्द्र राष्ट्रिय मावि, काठमाडौंका विद्यार्थी राजाराम बस्नेत अहिले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएर बसेका छन् । पढाइ सिकाइको माध्यम अंग्रेजी भएकोले उनलाई पनि प्राविधिक तथा व्यावसायिक शिक्षा गाह्रो लाग्यो । राजाराम भन्छन्, “सरहरूले नेपालीमा पनि भनिदिनुहुन्थ्यो तर नेपाली माध्यममा पढेकोले अंग्रेजीमा लेख्न त गाह्रै हुन्छ नि ! नोट घोकेको भरमै परीक्षा दिइयो । अब कक्षा १० को नतिजा हेरेर मात्र ११ मा यो विषय पढ्ने वा नपढ्ने भन्ने बारेमा निर्णय गर्छु ।”

नारायणी मावि, ताप्लेजुङको कक्षा ९ मा कम्प्युटर इन्जिनियरिङ पढ्न यसपालि ४० जना विद्यार्थीले प्रवेश परीक्षामा नाम निकाले । तर; सो विद्यालयका प्रअ पहलमान चोङबाङका अनुसार अंग्रेजी माध्यममा पढ्न गाह्रो हुने थाहा पाएपछि १२ जना विद्यार्थी साधारणतिरै फर्किए ।

कैलाली जिल्लाको जानकी गाउँपालिकास्थित रघुनाथ आदर्श माविका विद्यार्थीले त २०७४ सालको कक्षा १० को परीक्षामा अंग्रेजीमा मात्र प्रश्न सोधिएपछि झ्ण्डै परीक्षा छोडेका थिए । यस सम्बन्धमा प्रअ वसन्तकुमार महतो आफैं प्रश्न गर्छन्, “कक्षा १ देखि नेपाली माध्यममा पढेका विद्यार्थीले कसरी अंग्रेजीमा लेख्न सक्छन् ?” यसअघि दुवै भाषामा प्रश्न सोधिन्थ्यो ।
प्राविधिक तथा व्यावसायिक शिक्षा शाखा हेर्ने शिक्षा विभागका उपनिर्देशक हरिप्रसाद अर्यालका अनुसार प्राविधिक विषय भएकाले अंग्रेजीमा पढाउन जोड दिइएको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेको सन्दर्भ सामग्री पनि अंग्रेजीमै छ । धेरै विद्यार्थीलाई अंग्रेजी माध्यम बाधक बनेपछि कतिपय विद्यालयमा त निजी विद्यालयका विद्यार्थीले मात्र बढी मौका पाउन सक्ने अवस्था आएकोले कोटा तोक्न सुझव दिइएको उपनिर्देशक अर्यालको भनाइ छ । अर्याल भन्छन्, “अंग्रेजी कमजोर भएकै कारण विद्यार्थीले यो विषय पढ्न नपाउनु समताका दृष्टिकोणले ठीक होइन । त्यसैले अंग्रेजीको सहयोगी कक्षा चलाउन विद्यालयलाई अनुरोध गरिएको छ ।”

प्राविधिक शिक्षक संगठन नेपालका उपाध्यक्ष केदारनाथ दाहालको बुझइमा प्राविधिक शब्द नेपालीमा उल्था गरेर पढाउन गाह्रो हुने भएकोले पनि विद्यार्थीमा राम्रो अंग्रेजी चाहिन्छ । उनी भन्छन्, “मिहिनेत गर्ने हो भने असम्भव चाहिं छैन ।”

गाह्रो कोर्स, घट्दो आकर्षण
पद्मकन्या विद्याश्रम माविबाट प्राविधिकतर्फको पहिलो समूहका २९ जना विद्यार्थीले यसपालि कक्षा १० को परीक्षा (एसईई) दिए । यो ब्याचका १० जनाले बीचमै पढाइ छाडेको प्रअ रीता तिवारीले बताइन् । अहिले उक्त कोर्समा कक्षा ९ मा ३८ जना भर्ना भएका छन् । प्रअ तिवारी भन्छिन्, “भन्ने बेलामा साधारण विद्यार्थीले पनि गरेर खान सकोस् भनेर शुरू गरियो । तर कोर्स गाह्रो छ । कमजोरले यो पढ्न सक्दैनन् ।”

शिक्षा विभागबाट प्राविधिक शिक्षा संचालन गर्ने अनुमति पाएका विद्यालयमा वरपरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीले पनि पढ्न पाउने व्यवस्था छ । एउटा विद्यालयलाई ४८ जना विद्यार्थीको कोटा दिइए पनि धेरैमा त्यति विद्यार्थी भर्ना भएका छैनन् । ठाडोदेवी मावि, काभ्रेका प्रशिक्षक सिद्धलाल बोहराका अनुसार सो विद्यालयको कक्षा ९ मा यसपटक १८ जना मात्र विद्यार्थी भर्ना भएका छन् । प्राविधिक विषयअन्तर्गत १०० मा ६० अङ्क प्राक्टिकलको हुन्छ र एसईईमा राम्रो ग्रेड आउँछ भनेर आकर्षित गर्न खोज्दा पनि विद्यार्थीले पढ्न नमानेको उनको भनाइ छ । विद्यालयमा छात्रावासको पनि व्यवस्था गरिएको छ । तर त्यहाँ बस्दा थप खर्च लाग्ने भएकोले पनि विद्यार्थी छात्रावासमा बसेर पढ्न मन गर्दैनन्, प्रशिक्षक बोहरा बताउँछन् ।

यस्तै जनता वनबाली मावि; सिरहामा कक्षा ९ मा ३८ जना विद्यार्थी भर्ना भएका छन् । प्रअ रामईश्वर यादव भन्छन्, “कमजोर विद्यार्थी प्रवेश परीक्षामा नै रोकिन्छन् ।” तर उता, रघुनाथ आदर्श मावि, कैलालीमा वैशाख १५ गते भएको प्रवेश परीक्षामा कुनै विद्यार्थी पनि पास नभएपछि फेरि अर्को परीक्षाको तयारी भइरहेको प्रअ वसन्तकुमार महतोले बताए ।
विद्यार्थीको संख्या थोरै हुने मुस्ताङ जिल्लाको जनआदर्श माविले कक्षा ९ भन्दा माथि प्राविधिक धारका कक्षा मात्र चलाउने निधो गरेको छ । यस सम्बन्धमा प्रअ टीकाराम शर्मा भन्छन्, “कक्षा ८ पछि ९ मा प्राविधिक धार पढ्न नचाहने, साधारण विषय नै पढ्न चाहने विद्यार्थीलाई हामीले छिमेकी विद्यालयमा पठाउने व्यवस्था गरेका छौं ।” प्रअ शर्माका अनुसार उनको विद्यालय र म्याग्दीबाट आएका समेत गरी अहिले कक्षा ९ को प्राविधिक कक्षामा २७ जना विद्यार्थी भर्ना भएका छन् ।
अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका प्रअ ठाकुरप्रसाद पाण्डेका अनुसार वरपरका अन्य विद्यालय समेतका गरी यसपटक उनको विद्यालयको प्राविधिक धारको कक्षा ९ मा ३० जना विद्यार्थी भर्ना भएका छन् । कक्षा १० मा २० जना र ११ मा १७ जना छन् । १२ मा २० जना विद्यार्थी परीक्षा दिंदैछन् । प्राविधिक धार सम्बन्धी आफ्नो अनुभव सुनाउँदै प्रअ पाण्डे भन्छन्, “गरिखान सक्ने मध्यमस्तरको जनशक्ति उत्पादन गर्ने भनिएको थियो । त्यसैले सिभिल विषय रोजियो । तर ११÷१२ मा धेरै विद्यार्थी फेल भए । अब त कक्षा १० सम्म पढ, सब ओभरसियर भइहाल्छौ । ११ पढ्न मन नलागे अन्य विषय पढ्दा भइहाल्छ भनेर प्रेरित गर्नुपर्ने अवस्था छ ।” राम्रा विद्यार्थी जति प्राविधिकमा जाँदा पनि ११÷१२ मा प्राविधिकको नतिजा बिग्रिएकोमा उनी चिन्तित छन् । “शिक्षा र व्यवस्थापनमा कमजोर विद्यार्थी मात्र बाँकी रहँदा त्यताको नतिजा पनि खस्कियो । के गर्ने होला साह्रै द्विविधा भयो” उनी दुखेसो गर्छन् ।

कक्षा ९ र १० मा प्राविधिक विषय अन्तर्गत ६० प्रतिशत अङ्क विद्यालयले दिने भएकोले कक्षा १० को नतिजा राम्रै देखिए पनि केही विद्यालयको बाहेक समग्रमा ११ र १२ को नतिजा कमजोर छ । प्राविधिक तथा व्यावसायिक शिक्षा विद्यालय संजालका अध्यक्ष तथा श्रीपद्म मावि, भक्तपुरका प्रअ राम हाडाका अनुसार कक्षा १२ मा १७ र कक्षा ११ मा २१ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् ।

कक्षा ११ र १२ को प्राविधिक कोर्स साहै्र गाह्रो भएको बताउँदै परिमार्जन गरिएन भने यो कार्यक्रम धरासायी हुने प्राविधिक शिक्षक संगठनका उपाध्यक्ष केदारनाथ दाहाल दाबी गर्छन् । शिक्षा मन्त्रालयका सहसचिवहरूले अलि अघि गरेको विद्यालयहरूको अवलोकनका क्रममा प्राविधिक विषयतर्फ पाठ्यवस्तु (कन्टेन्ट) बढी भएको र कक्षा ९ अनि १० कै कतिपय विषयको पढाइ स्नातक तहका भएको उल्लेख गरिएको छ । ११-१२ मा प्राविधिक विषयबाहेक सैद्धान्तिक विज्ञान अर्थात् भौतिकशास्त्र, रसायनशास्त्र र जीवशास्त्र पनि पढ्नुपर्छ । त्यसको कोर्स स्नातक तहका विद्यार्थीले पढ्ने कोर्स सरह रहेको प्रशिक्षकहरू बताउँछन् । विभागका उपनिर्देशक अर्यालका अनुसार विशेष गरी ११-१२ को विज्ञानको विषयवस्तु गाह्रो भएको गुनासो प्रअ र प्रशिक्षकबाट आइरहेकोले पाठ्यक्रम परिमार्जनको तयारी भइरहेको छ ।

प्राविधिक कक्षामा प्रशिक्षक र विद्यार्थी ।

प्रशिक्षक टिक्दैनन्
कोर्स गाह्रो हुने बाहेक अर्को समस्या प्राविधिक विषयका प्रशिक्षक लामो समयसम्म नटिक्नु हो । प्रायः छोटो करारमा राखिने यस्ता प्रशिक्षकहरू सुगम ठाउँमा काम पाउने वा लोकसेवामा नाम निकाल्ने बित्तिकै हिंडिहाल्छन् । प्रशिक्षकको छुट्टै दरबन्दी छैन । नयाँ प्रशिक्षक भर्नाका लागि विज्ञापन र अन्य प्रक्रिया पूरा गर्दा त्यसबीचमा पठनपाठन प्रभावित हुने गरेको छ । विद्यालय प्रशासन तथा व्यवस्थापन समितिले अन्य विषय पढाउन लगाएकाले पनि प्रशिक्षकहरू नटिक्ने समस्या भएको विभागका उपनिर्देशक अर्याल बताउँछन् । यस्तै, केही ठाउँमा नियुक्ति दिए बापत ६ महीनासम्मको तलब घूस माग्ने गरेको गुनासो पनि सुनिएका छन् । शिक्षण सीपमा आफूहरू कमजोर रहेको कुरा स्वयं प्रशिक्षकहरू पनि स्वीकार गर्छन् । यसबारे आफ्नो कठिनाइ कोट्याउँदै प्राविधिक शिक्षक संगठनका दाहाल भन्छन्, “आफ्नो विषयमा त पोख्त छौं, तर कसरी पढाउँदा–सिकाउँदा सिक्छन् भनेर शिक्षण विधिबारे हामीलाई तालिम दिइएन, अहिलेसम्म पाठ्यपुस्तक पनि छैन ।” यस्तै धेरै विद्यालयको ल्याबमा चाहिने सामान प्रशिक्षकलार्ई थाहा नै नदिई किन्ने गरिएको गुनासो पनि छ । प्रशिक्षक सिद्धलाल बोहरा भन्छन्, “कति बजेट हुन्छ थाहा दिइँदैन र सल्लाह लिइँदैन । त्यसैले प्रयोगात्मक सिकाइका लागि सही सामग्री पाइँदैन ।”

यो सँगसँगै, विभिन्न विद्यालयको अवलोकन गर्दा कार्यस्थल अभ्यास अर्थात् ‘अन द जब टेनिङ’को व्यवस्थापन पनि प्रभावकारी नपाइएको उपनिर्देशक अर्याल बताउँछन् । यस्तो अभ्यास कक्षा १० पछि तीन, ११ पछि तीन र १२ पछि ६ महीना गर्नुपर्ने व्यवस्था छ । अर्यालका अनुसार कम्प्युटर इन्जिनियरिङका विद्यार्थीले ‘ओजेटी’ का लागि जिल्ला प्रशासन कार्यालयमा नागरिकता टाइप गरेर बसेको र विद्यालयमा सिंचाइयोग्य जमीन प्रशस्त हुँदाहुँदै कृषिका विद्यार्थीलाई जिल्ला कृषि कार्यालयमा पठाइएको समेत पाइयो । ‘हामीले कार्यस्थल अभ्यास सम्बन्धी निर्देशिका त बनायौं तर बुझउन र प्रचारप्रसार गर्न सकेनौं । साथै संचालन अनुमति दिंदा पूर्वाधार नपुगेका विद्यालयलाई पनि दिइयो । त्रुटि भएकै हो’ अर्यालको स्वीकारोक्ति छ । उनी थप्छन्, “हामीसँग प्राविधिक दक्षता छैन । सीटीईभीटीसँग समन्वय पनि हुनसकेको छैन । उसकोे र हाम्रो करिकुलम एउटै बनाउने कि भन्ने पनि अनौपचारिक रूपमा चर्चा चलेको छ ।”

यसरी शिक्षा विभागले पाँच वर्षसम्म काम गर्दा पनि यी विविध समस्या रहेको अवस्थामा अब प्राविधिक शिक्षाको जिम्मेवारी स्थानीय तहमा आएको छ । स्थानीय तह अहिले आफैं अलमलमा परेको अवस्था छ । यस्तोमा पाँच वर्षअघि शुरू भएको कार्यक्रम कतै परीक्षणमै सीमित त हुने होइन भन्ने आशंका पनि उब्जिएको छ ।

सवै तस्वीरः खड्गबहादुर मगर ‘अनिल’
२०७५ जेठ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/