प्रारम्भिक तहमा समय शिक्षण

by • • कक्षाकोठाComments (0)794

 

पद्मप्रिया शिराली

समय स्वयंमा अमूर्त अवधारणा हो, जसलाई न छुन सकिन्छ, न त देख्न नै । घडीमा समय पढ्नु पनि केटाकेटीका लागि सजिलो काम होइन । किन भने, यसको हिसाब बेग्लै पाराको हुन्छ । त्यसले उनीहरूलाई रनभुल्ल पार्छ ।

समय यस्तो अवधारणा हो, जसलाई मानिसले प्रतिदिन उपयोग गर्छन् । सम्भवतः पशुपन्छी र रूखबिरुवाको जीवनमा पनि यसको सहज उपयोग हुन्छ । कुखुरालाई थाहा हुन्छ— उसले कुन वेला बास्नुपर्ने हो । फूलको बिरुवालाई थाहा हुन्छ— उसले कहिले फुल्नुपर्ने हो । रूखलाई थाहा हुन्छ— उसले कुन समयमा पात झर्नुपर्ने हो । समयको अवधारणासँग केटाकेटीको सामना स्कूल जान लाग्दा र प्रारम्भिक तहमा नै हुन थालिसक्छ । तर, यसलाई सिक्नु र सिकाउनु निकै चुनौतीपूर्ण हुन्छ । किन भने, समय स्वयंमा अमूर्त अवधारणा हो । यसमा त्यस्तो चीजको मापन गर्नुपर्ने हुन्छ— जसलाई न छुन सकिन्छ, न त देख्न नै । यान्त्रिक रूपले समयलाई पढ्न सिक्नु पनि सजिलो काम होइन । त्यसैले, प्रारम्भिक तहका केटाकेटीलाई समयको अवधारणा पढाउने आधार ध्यानपूर्वक तयार गर्नु र उनीहरूको उमेर तथा स्तर अनुरूपका गतिविधिमार्फत शिक्षण प्रक्रिया अघि बढाउनु एकदमै जरूरी हुन्छ । यो आलेख यसैमा केन्द्रित छ । यसमा खास गरी ३–५, ५–७ र ७–९ वर्ष उमेर समूहका केटाकेटीलाई समयको अवधारणा सिकाउन उपयोगी हुने गतिविधिबारे चर्चा गरिनेछ ।
समयलाई पढ्ने–पढाउने प्रक्रियामा सामना गर्नुपर्ने कतिपय चुनौती यस्ता छन्ः

सुईवाला (एनालग) घडीमा समय पढ्नु ।
यस्ता घडीमा घण्टाको सुई एक दिनमा दुईपल्ट घुमिसक्छ । पहिलो त यही अवधारणा बुझन केटाकेटीलाई कठिन हुन्छ । सुई कताबाट घुम्छ भन्ने कुरा पनि उनीहरूले थाहा पाउनुपर्छ । कहाँ पुग्दा घुमाइ आधा हुन्छ र कहाँ पुग्दा त्यसको पनि आधा हुन्छ भन्ने बुझनुपर्छ । एकदेखि पाँचसम्मका अंकहरूले घण्टा जनाउँदा जत्तिको तत्ती र मिनट जनाउँदा चाहिं पाँच गुणा जनाउँछन् भन्ने कुराले उनीहरूलाई थप असजिलो पार्छ । (त्यसैले प्रारम्भिक तहमा सेकेन्डको सुईको झ्मेला नराख्नु बेस हुन्छ ।

एउटा एकाइलाई अर्कोमा रूपान्तरित गर्नु ।
समयको रूपान्तरण पद्धति बेग्लै खालको छ, जो अरू कुनै पनि मापन–पद्धतिसँग मिल्दैन । यसमा ६० सेकेन्डको एक मिनट र ६० मिनटको एक घण्टा हुन्छ । एक हप्तामा सात दिन हुन्छन् र यो संख्या कहिल्यै फरक पर्दैन । तर एक महीनामा कति दिन हुन्छन् भन्ने निश्चित छैन; कुनैमा ३० दिन, कुनैमा ३१ दिन त कुनैमा २९ दिन हुन्छन् । अझ् कुनै–कुनै महीनामा त २८ वा ३२ दिन पनि हुन्छन् । यसले केटाकेटीलाई निकै अलमल्याउँछ ।

समय जनाउने तरीकामा विविधता ।
१२ः३० लाई ‘बाह्र बजेर ३० मिनट’ पनि भन्न सकिन्छ; ‘साढे बाह्र’ पनि । ५ः४५ भनेको ‘पाँच बजेर ४५ मिनट’ पनि हुन सक्छ; ‘पौने ६’ पनि । ९ः५५ ‘नौ बजेर ५५ मिनट’ पनि हुन सक्छ; ‘१० बज्न पाँच मिनट बाँकी’ पनि । यस्ता विविधताभित्रको एकरूपता बुझन केटाकेटीलाई समय लाग्छ ।

घडीको संकेत रूपान्तरण गर्नु ।
२४ घण्टा जनाउने घडीको संकेतलाई १२ घण्टा जनाउने घडीको संकेतमा र १२ घण्टा जनाउने घडीको संकेतलाई २४ घण्टा जनाउने घडीको संकेतमा रूपान्तरण गर्न केटाकेटीलाई सहज हुँदैन । १२ घण्टा जनाउने घडीको प्रयोग गर्दा पूर्वाह्न (एएम) र अपराह्न (पीएम) को पनि ख्याल गर्नुपर्छ ।

यसका साथै एक सेकेन्ड, एक मिनट, पाँच मिनट, दश मिनट, एक घण्टा आदिको बोध वा ज्ञान विकसित हुन पनि निकै समय लाग्छ । केटाकेटीको मात्र के कुरा, कतिपय वयस्कहरूमै पनि यस्तो बोध विकसित नभएको देखिन्छ । जस्तैः कसैले फोनमा ‘पाँच मिनटमा आएँ’ भन्यो भने ऊ पाँच मिनटमा आउनेवाला छैन, आधा घण्टासम्म लाग्न सक्छ भन्ने बुझनुपर्ने हुन्छ ।
समयको शिक्षणमा यी चुनौतीको सामना गर्न तयार हुनु जति जरूरी छ, शिक्षण–क्रममा गरिने गतिविधि केटाकेटीका व्यक्तिगत अनुभवसँग, तिनको वास्तविक जीवनका परिस्थितिहरूसँग जोडिएका हुनुपर्छ भन्ने कुरामा ध्यान दिनु पनि उत्तिकै जरूरी हुन्छ ।

उमेर समूहः ३ देखि ५ वर्ष समय शिक्षणको उद्देश्य

– समयसँग सम्बन्धित शब्दावली (दिन, रात, हिजो, आज, भोलि, बिहान, दिउसो, राति, धेरै बेर, थोरै बेर आदि) बुझनु र प्रयोग गर्नु ।

– कुनै घटनाका सम्बन्धमा ‘अघि’ र ‘पछि’ जस्ता शब्दको प्रयोग गर्नु ।
– आफ्नो दिनचर्याका घटनाहरूको क्रम निर्धारित गर्नु ।
– हिजो, आज, भोलि– को क्रम निश्चित गर्नु; तिनलाई घटनासँग जोडेर हेर्नु ।
– समय बित्ने प्रक्रियासँग परिचित हुनु ।

नर्सरी स्कूलमा भर्ना हुने केटाकेटीको दिनचर्यासँग समय पहिलेदेखि नै जोडिएको हुन्छ । उनीहरू दाँत माझने र मुख धुने कुरालाई बिहानसँग; खाजा खाने कुरालाई दिउसोसँग, बाहिर निस्केर खेल्ने कुरालाई साँझ्सँग र अँध्यारो हुनुलाई रातसँग जोडेर हेर्छन् । तर, यसो हुँदैमा, उनीहरूले समयसँग सम्बन्धित शब्दावली बुझेका हुन्छन् भन्न सकिंदैन । जस्तैः कैयौं दिन पहिले भएको घटनाका लागि उनीहरू ‘हिजो’ शब्द प्रयोग गर्न सक्छन् ।

समयसँग सम्बन्धित शब्दावली बुझउन शिक्षकहरूले उनीहरूसँग कुरा गर्दा निरन्तर त्यस्ता शब्दहरूको प्रयोग गर्नु राम्रो हुन्छ । जस्तैः अहिले दश बज्यो । अब प्रार्थना गर्नुपर्छ । दिउसो खाजा खाने, त्यसपछि एक घण्टा खेल्ने । चार बजे घण्टी लाग्छ, अनि घर जाने ।

गतिविधि
अभिनय गर्ने । साना केटाकेटीलाई अभिनय गर्न असाध्यै मन पर्छ । उनीहरूलाई दुई समूहमा विभाजन गर्न सकिन्छ । पहिलो समूहलाई दिनमा गरिने कामहरूको अभिनय गर्न लगाउने । जस्तै— नुहाउने, स्कूल जाने, साइकल चलाउने । दोस्रो समूहलाई राति गरिने कामहरूको अभिनय गर्न लगाउने । जस्तै— टीभी हेर्ने, पढ्ने, सुत्ने । यसैगरी एउटा समूहलाई स्कूलमा बिहान गरिने गतिविधि (जस्तै– प्रार्थना, पीटी) र अर्को समूहलाई दिउसो गरिने गतिविधि (जस्तै— खाजा खाने, खेल्ने) को अभिनय गर्न लगाउन सकिन्छ ।

अभिनय पछि उनीहरूलाई ती गतिविधिको चित्र बनाउन र तिनमा समय अंकित गर्न लगाउन (सूर्य, चन्द्रको माध्यमबाट) सकिन्छ । यस्ता चित्रलाई दिन र रात, बिहान र बेलुकाको वर्गमा विभाजित गरी चार्ट पेपरमा टाँसेर भित्तामा सजाउन पनि सकिन्छ ।
घटना–क्रम । केटाकेटीलाई बेग्लाबेग्लै कार्डमा, स्कूलमा दिनभर हुने विभिन्न घटनाको चित्र बनाउन सघाउन सकिन्छ । उनीहरूले बनाएका चित्र उत्कृष्ट नहोलान् तर तिनमा दिनभरका गतिविधि अंकित हुनेछन् । जस्तै— प्रार्थना, कथा सुनाउने, चित्र बनाउने, खाजा खाने, खेल्ने, सुत्ने आदि । चित्रहरू तयार भएपछि तिनलाई क्रमबद्ध रूपमा बोर्डमा टाँस्न सकिन्छ । त्यस पश्चात् ‘अघि’ र ‘पछि’ को अभ्यास गराउन सकिन्छ । जस्तैः प्रार्थना पछि कथा सुन्ने । खेल भन्दा अघि चित्र बनाउने ।
यसैगरी, आमा–बाबुको सहायताले घरमा हुने गरेका गतिविधिको चित्र कार्डमा बनाएर ल्याऊ भन्न सकिन्छ । केभन्दा अघि के, केभन्दा पछि के भन्ने अभ्यास गराउन यस्ता चित्र उपयोगी हुनेछन् ।

समाचार सुनाउने । प्रार्थना पछि विभिन्न घटनाबारे जानकारी दिन केही समय छुट्याउन सकिन्छ । यस गतिविधिलाई समयसँग सम्बन्धित विभिन्न शब्दबारे विद्यार्थीलाई परिचित गराउन र तिनको प्रयोग गराउन उपयोग गर्नुपर्छ । जस्तै— हिजो संगीतको कक्षा थियो । भोलि सबैले गीत गाउनुपर्छ । आज पुस्तकालय जाने दिन हो । भोलि हामी कक्षाभित्र खेल खेल्नेछौं । यसै क्रममा स्कूल बाहिर हिजो भएका, आज हुने र भोलि हुने घटनाबारे पनि जानकारी दिन सकिन्छ ।
क्रियाकलाप कार्ड । विभिन्न गतिविधिका चित्र अंकित कार्डहरू भेला गर्नोस् । आधा कार्डमा त्यस्ता गतिविधि होउन्— जसमा बढी समय लाग्छ । बाँकी कार्डमा कम समय लाग्ने गतिविधि होउन् । दुवै समूहका एक–एक कार्ड एकसाथ देखाउनोस् र केटाकेटीसँग छलफल गर्नोस् । जस्तै– के गर्न बढी समय लाग्छ— दाँत माझन कि नुहाउन ? हात धुन कि खाना खान ? लुगा लगाउन कि जुत्ता लगाउन ?

सबै कार्ड मिसाएर केटाकेटीलाई दिनोस् र दुई वर्गमा छुट्याउन लगाउनोस्— १. बढी समय लाग्ने, २. कम समय लाग्ने । ती गतिविधिबारे उनीहरूसँग कुरा गर्नोस् ।
यसैगरी, केटाकेटीलाई स्कूल परिसरमा अथवा बाहिर घुमाउन लैजानोस् । त्यस क्रममा समयसँग गाँसिएका सन्दर्भ राखेर उनीहरूसँग कुराकानी गर्नोस् । जस्तै— ‘हामी २० मिनट घुम्न जाने ।’ ‘अब पाँच मिनटमा फर्कने ।’ ‘अब पुस्तकालय जाने र एक घण्टा पढ्ने ।’

 

उमेर समूहः ५ देखि ७ वर्ष समय शिक्षणको उद्देश्य
– ‘अस्ति’ र ‘पर्सि’ जस्ता शब्द सिक्नु र प्रयोग गर्नु ।
– सातवटै वारको नाम र तिनको क्रम याद गर्नु ।
– बाह्रवटै महीनाको नाम र तिनको क्रम याद गर्नु ।
– क्यालेन्डरसँग परिचित हुनु ।
– घण्टाका रूपमा समयलाई पढ्नु र लेख्नु ।
– घटनाहरूको अवधिबीच तुलना गर्नु ।
– अमानक एकाइहरूको उपयोग गरेर समय मापन गर्न सिक्नु ।
– आधा घण्टा’ लाई ‘तीस मिनट’ भन्न सिक्नु ।
– ‘सवा’ र ‘पौने’ भन्न सिक्नु ।

गतिविधि
डिस्प्ले बोर्ड । अस्ति, हिजो, आज, भोलि, पर्सि जस्ता शब्दबारे बुझउँदै कक्षामा एउटा डिस्प्ले बोर्ड तयार पार्नोस् । यी शब्दसँग वार र गतेलाई जोड्नोस् । अनि ती दिनमा भएका र हुनसक्ने गतिविधिबारे छलफल गर्नोस् ।

ठूलो हुँदै गएको । केटाकेटीलाई सम्भव भएसम्म एक वर्षको उमेरदेखिका विभिन्न समयका फोटो लिएर आउन लगाउनोस् । पालैपालो सबैको फोटो समय–क्रम अनुसार बोर्डमा अड्काउनोस् । त्यसपछि समयको सन्दर्भ गाँसेर फोटोबारे चर्चा गर्नोस् । जस्तैः यो फोटो कति वर्षको हो ? तिमी कति वर्षमा हिंड्न थालेका थियौ । यो फोटो दुई वर्षको जस्तो देखिन्छ, त्यसवेला तिमीले बोल्न थालेका थियौ ?

केटाकेटीले बताउन सकेनन् भने पनि केही छैन । घर गएर यसबारे आमा–बाबुसँग सोध्नू भन्नोस् । कक्षामा चाहिं धेरैजनाको फोटो एकसाथ बोर्डमा राखेर अनुमान लगाउने खेल खेलाउन सकिन्छ । जस्तै– यो कसको फोटो होला ? यसमा ऊ कति वर्षको थियो होला ?

ताली बजाउने । त्यस्ता केही काम लिनोस् जो केटाकेटी प्रतिदिन गर्छन् । जस्तै— पेन्सिल ताछ्ने, जुत्ताको तुना कस्ने, चित्र बनाउने । यो गतिविधि जोडी बनाएर गराउनोस् । एउटाले काम गरुन्जेल अर्काले ताली बजाओस् । कतिचोटि ताली बजाएँ भनेर गन्ती पनि गरोस् ।

केटाकेटीले ताली बजाउने तरीका र गति फरक हुन्छ । कसैले छिटो बजाउँछन् त कसैले ढिलो । यो कुरा बुझ्ेपछि समय मापनबारे उनीहरू सचेत हुन्छन् र यसका भरपर्दा अन्य उपाय खोज्न उत्प्रेरित पनि हुन्छ ।

अमानक एकाइ । समय मापन गर्ने अमानक एकाइको उपयोग गराउनोस् । जस्तै– प्लास्टिकका बोतलको प्रयोग गरेर बनाइने बालुवा–घडी । एउटा बोतलमा बालुवा भर्नोस्, बिर्को लगाउनोस्, त्यसमा सानो प्वाल पार्नोस् र अर्को बोतलमाथि घोप्ट्याएर राखिदिनोस् । एउटा निश्चित समयभित्र बालुवा खसिसक्छ । यो दृश्य हेर्न केटाकेटीलाई रमाइलो लाग्नेछ ।

‘ताली बजाउने’ अन्तर्गत गराइएका गतिविधि एकसाथ शुरू गराउनोस्, बालुवा–घडीको प्रयोग गर्दै । यसबाट कुन काम गर्न सबैभन्दा कम समय लाग्छ र कुन काम गर्न सबैभन्दा बढी समय लाग्छ भनेर केटाकेटीले देख्न सक्नेछन् ।
वास्तविक घडी । एउटा ठूलो घडी खोजेर केटाकेटीलाई घण्टा र मिनटका सुईहरूसँग परिचित गराउनोस् । शुरूमा घण्टाको सुईबारे बताउनोस् । त्यसले कसरी एक–एक घण्टाको जानकारी दिन्छ भनेर सम्झउनोस् । त्यसपछि मिनटको सुई बारे बताउनोस्, एक घण्टा बित्दा त्यसले कसरी एक फन्का मार्छ भनेर सम्झउनोस् । घडी चलाएर त्यसले काम गरेको देखाउनोस् । उनीहरूलाई बुझन दिनोस् ।

जीवन्त घडी । यो केटाकेटीका लागि निकै रमाइलो गतिविधि हुनेछ । १४ जना केटाकेटीलाई सहभागी बनाएर जीवन्त घडीको प्रदर्शन गर्न सकिन्छ । सर्वप्रथम भुइँमा निकै ठूलो, गोलो रेखा बनाउनोस् र त्यस वरिपरि एकदेखि १२ अंकसम्म लेखेका कार्डबोर्ड लिन लगाएर बाह्र जना बच्चालाई मिलाएर बसाउनोस् । दुई जनालाई केन्द्रमा खुट्टा पर्ने गरी सुतेर घण्टा र मिनटको सुईको काम गर्ने भूमिकामा राख्नोस् । एक जना होचो र अर्को अग्लो भए बेस हुनेछ । ‘१० बजे’ भन्दा घण्टाको सुईको काम गर्ने बच्चा १० अंकतिर टाउको पर्ने गरी र मिनटको सुईको काम गर्ने बच्चा १२ अंकतिर टाउको पर्ने गरी सुत्नेछ ।
यसैगरी, केटाकेटीको इच्छा अनुसार विभिन्न समय दर्शाउने गरी घडीलाई चलायमान गराउन सकिनेछ । यस क्रममा साढे अथवा आधा घण्टाको अवधारणा पनि सिकाउन सकिनेछ । शिक्षकको भूमिका उनीहरूलाई सघाउनु, अवधारणा स्पष्ट पार्नु र कुरा बुझउनु हुनेछ ।

प्लेटको घडी । कागजका अथवा अन्य किसिमका प्लेटमा घडी बनाउन लगाएर पनि समयबारे सिकाउन सकिन्छ । अंक देखाउन प्लेटमा साइन–पेनले लेख्दा पनि हुन्छ, कागज टाँसेर त्यसमा लेख्दा पनि हुन्छ । घण्टा र मिनटको सुई चाहिं बाक्लो कागज वा गत्ता काटेर बनाउन सकिन्छ । यस्तो घडी बनाउन शिक्षकले आवश्यक मदत गर्नुपर्छ । आफूले बनाएको घडीमा सुई घुमाएर समय हेर्न र देखाउन केटाकेटीहरू खूब रमाउनेछन् ।

केटाकेटीलाई वरिपरि राख्नोस् र निश्चित समयमा गरिने कुनै गतिविधिको नाम लिन लगाउनोस् । एक जनाले घण्टा र मिनटको सुई घुमाएर घडीमा त्यो समय देखाओस् । जस्तैः ‘स्कूल आउने’ भन्दा नौ बजे, ‘खाजा खाने’ भन्दा एक बजे, ‘घर जाने’ भन्दा तीन बजे आदि । अथवा एक जनाले सुईहरू घुमाएर कुनै समय देखाओस् र अरूले त्यस समयमा गर्ने कामको नाम बताउन् ।

उमेर समूहः ७ देखि ९ वर्ष समय शिक्षणको उद्देश्य
– मिनटका रूपमा समयलाई पढ्नु र लेख्नु ।
– सेकेन्डको सुईको उद्देश्य बुझनु ।
– सुईवाला (एनालग) र डिजिटल घडीका बीचको अन्तर-सम्बन्ध बुझनु ।
– १२ घण्टा देखाउने र २४ घण्टा देखाउने दुवैखाले घडीबाट समय पढ्नु ।
– पूर्वाह्न र अपराह्न (एएम÷पीएम) को प्रयोग गर्नु ।
– दिन घण्टाहरूमा विभाजित हुन्छ भनेर बुझनु ।
– एक मिनट, एक सेकेण्ड, एक घण्टा जस्ता समयका अवधि बारे बोध विकसित गर्नु ।
– घण्टाको मिनटसँग र मिनटको सेकेन्डसँगको सम्बन्ध बुझनु ।
– क्यालेन्डरको प्रयोग गर्नु ।
– गते-तारीखको क्रम थाहा पाउनु ।
– महीनाहरूमा हुने दिनको फरकबारे सचेत हुनु । अंग्रेजी महीनाका दिनहरूको संख्या थाहा पाउनु ।

 

गतिविधि
आधा घण्टाको समय पढ्ने । यसका लागि एउटा वास्तविक सुईवाला घडी (टेबल घडी अथवा भित्ते घडी आवश्यक हुन्छ । (सवा-पौने बजे सिकाउन पनि यस्तै घडी चाहिन्छ ।) मिनटको सुई आधा गोलाइ पार गरेर ६ मा पुग्दा घण्टाको सुई दुई अंकको बीचमा हुन्छ । यसलाई राम्ररी अवलोकन गर्न र ‘साढे’ भन्न केटाकेटीलाई सघाउनोस् ।
कतिपय घडीमा १ देखि १२ सम्मका सबै अंक लेखिएका हुँदैनन् । ३, ६, ९ र १२ मात्र लेखिएको हुन्छ र तिनका बीचमा रहेका दुई अंकलाई संकेत गर्न ससाना धर्का राखिएका हुन्छन् । ती धर्काको अर्थ बुझन, तिनलाई अंकमा परिणत गरेर बुझन र त्यसै अनुसार समय पढ्न केटाकेटीलाई सघाउनोस् । (यो समग्र गतिविधिमा घडीका सुईलाई तपाईंले आफैं घुमाएर देखाउनुपर्छ । एक पटक होइन, कैयौं पटक– बारम्बार ।)

वास्तविक घडीमा आधा घण्टाको समय पढ्न सक्ने भएपछि केटाकेटीलाई उनीहरूले बनाएको प्लेटको घडीमा समय देखाउन लगाउनोस् । एक जनाले कुनै समय (आधा घण्टा जनाउने) भनोस् र अर्काले सुईहरूलाई ठीक ठाउँमा राखोस् । सुईहरू ठीक ठाउँमा रहेको–नरहेको हेर्न र सम्झउने काम चाहिं तपाईंको हो ।

चौथाइ-तीन चौथाइ घण्टाको समय पढ्ने । अघिल्लो गतिविधिमा झैं मिनटको सुई घुमाउनोस् र ‘सवा’ तथा ‘पौने’ घण्टाको अवधारणा स्पष्ट पार्नोस् । मिनटको सुई त्यसरी ३ अथवा ९ अंकमा पुग्दा घण्टाको सुई दुई अंकका बीच कहाँ पुग्छ भन्ने पनि बुझउनोस् । त्यो समय पढ्न र ‘सवा’ तथा ‘पौने’ भन्न अभ्यास गराउनोस् । कागजको प्लेटमा पनि गतिविधि गराउनोस् ।

पाँच–पाँचका रूपमा गन्ती गर्ने । मिनटको सुईको काम बुझन पाँच–पाँचको चरणमा (पाँच–दश–पन्ध्र–बीसको हिसाबले) गन्ती गर्न लगाउनोस् । घडीको सुई घुमाउँदै क्रमशः एक–एक अंकमा रोक्नोस् र केटाकेटीलाई कति मिनट हो भन्न लगाउँदै १२ मा पु¥याउनोस् । यस क्रममा उनीहरूलाई पाँचदेखि ६० सम्म मिलाएर पढ्न सक्ने बनाउनोस् ।

त्यसपछि घडीको सुईलाई क्रमहीन तवरमा जुनसुकै अंकमा लैजानोस् र त्यसले जनाउने मिनट भन्ने अभ्यास गराउनोस् । जस्तै— ४ मा पुग्दा बीस मिनट, ७ मा पुग्दा ३५ मिनट । हतार नगर्नोस्, केटाकेटीलाई बुझेर सिक्न र अभ्यास हुन दिनोस् । घडीमा समय पढ्न लामो अभ्यास गर्नुपर्ने हुन्छ ।

मिनट पढ्ने । पाँच–पाँचको चरणमा मिनट पढ्ने अभ्यास पश्चात् हरेक मिनट पढ्ने अभ्यासमा लैजानोस् । यसका लागि १२ देखि १, १ देखि २ आदिका बीचमा रहेका ससाना चिह्न (धर्का) बारे ध्यान आकर्षित गराउनोस् । तिनका आधारमा मिनट पढ्ने अभ्यास गराउनोस् ।

एनालग र डिजिटल घडी । एनालग घडीमा मिनट पढ्न सक्ने भएपछि केटाकेटीलाई एनालग र डिजिटल घडी एकसाथ राखेर तिनले कसरी काम गर्छन् भन्ने देखाउनोस् । डिजिटल घडीले एक–एक मिनट कसरी देखाउँदै जान्छ र खास गरी ५९ बाट अघि बढ्दा त्यसमा समय कसरी बदलिन्छ भन्नेतर्फ ध्यान दिलाउनोस् । त्यसले सधैं दुई अंक मात्र देखाउँछ र एउटा अंक देखाउनु पर्दा त्यसभन्दा पहिले शून्य देखाउँछ (जस्तै ०५) भन्ने पनि ख्याल गराउनोस् ।

दुईवटै घडीमा १२ बजाई एकसाथ चलाएर देखाउनोस् । एनालग घडीको मिनटको सुई कहाँ पुग्दा डिजिटल घडीले कति देखाउँदो रहेछ अनि डिजिटल घडीमा अंक परिवर्तन हुँदा एनालग घडीको मिनटको सुई कहाँ पुग्दो रहेछ भन्ने हेर्न दिनोस् ।

स्न्याप (खेल) । दश जोडी मेटाकार्ड तयार गर्नुहोस् । एउटामा एनालग घडीको पारामा समय (सवा, साढे पौने समेत) देखाइएको होस् र अर्कोमा त्यही समय डिजिटल घडीको पारामा लेखिएको होस् । दुवैखाले कार्ड बेग्लाबेग्लै तर क्रम नमिलाईकन घोप्ट्याएर टेबुलमा राख्नुहोस् । केटाकेटीलाई टेबुल वरिपरि बोलाउनोस् । दुई जनालाई एक–एक वटा कार्ड लिएर एकैचोटि सुल्टो पार्न लगाउनोस् । दुवै कार्डको समय मिलेको भए कार्ड सुल्ट्याउनेले ‘स्न्याप’ भन्नुपर्छ । जसले पहिले ‘स्न्याप’ भन्छ, उसले एक अंक पाउँछ र अर्को ‘आउट’ हुन्छ । समय मिलेको रहेनछ भने ‘स्न्याप’ भन्ने नै आउट हुन्छ । जो रहन्छ, उसले अर्कोसँग जोडा बनाउँछ र फेरि दुवैले कार्ड लिएर सुल्टो पार्छन् । खेल यसरी अघि बढ्छ । सबै कार्ड सुल्टाइसकिएपछि शिक्षकले तिनलाई पहिले जस्तै गरी (बेग्लाबेग्लै तर क्रम नमिलाईकन) टेबुलमा राखिदिन्छ । जसले सबैभन्दा बढी अंक पाउँछ, ऊ विजयी हुन्छ ।

२४ घण्टा देखाउने घडी । सामान्य एनालग घडीलाई २४ घण्टा देखाउने घडी बनाउन त्यसका वरिपरि १३ देखि २४ अंकको घेरा बनाउनोस् । यो गतिविधि वास्तविक घडीमा अथवा प्लेटको घडीमा पनि गर्न सकिन्छ । केटाकेटीलाई भित्री घेरा मध्यरातदेखि दिउसो १२ बजेसम्मको समय पढ्न काम लाग्छ र बाहिरी घेरा दिउसोदेखि मध्यरात १२ बजेसम्मको समय पढ्न काम लाग्छ भन्ने बुझन मदत गर्नुहोस् । पढ्ने अभ्यास गराउनोस् ।

क्यालेन्डर । वर्षका बाह्रै महीना एउटै पन्नामा देखाइएको वास्तविक क्यालेन्डर ल्याउनोस् । त्यसबारे बताउनोस् । महीनाहरूबारे बुझउनोस् । कुन महीनामा के हुन्छ, के गरिन्छ भन्ने जानकारी दिनोस् । खास गरी कुन महीनामा केटाकेटीसँग सम्बन्धित के गतिविधि हुन्छ (जस्तै– स्कूल खुल्ने, परीक्षा हुने, जाडो र गर्मीको छुट्टी हुने, चंगा उडाउने, दशैं–तिहार–होली मनाउने आदि) भनेर बताउनुभयो भने उनीहरूले रमाएर बुझनेछन् ।

अंग्रेजी क्यालेन्डरमा कुन महीना कति दिनको हुन्छ भने निश्चित हुन्छ र त्यसलाई याद गर्ने सरल तरीकाहरू पनि छन् । केटाकेटीलाई त्यसबारे बताउनोस् । हरेक चौथो वर्षमा आउने ‘लीप इयर’ बारे पनि जानकारी दिनोस् ।
स्कूल क्यालेन्डर बनाउने । हरेक महीनाको प्रारम्भमा त्यस महीनाको स्कूल क्यालेन्डर बनाउन सघाउनोस् । यो केटाकेटीका लागि निकै रोचक गतिविधि हुनेछ । चार्ट पेपरमा लाइन तानेर क्रमानुसार गते लेख्न लगाउनोस् । कुन दिन स्कूलमा के खास गतिविधि हुन्छ, कुन दिन कसको जन्मदिन पर्छ, कुन दिन केटाकेटीलाई मन पर्ने गतिविधि हुन्छ जस्ता कुरा उल्लेख गर्न दिनोस् । यसले दिन, गते र महीनाको बोध गर्न मदत पुग्छ ।

घण्टा, मिनट र सेकेन्डको बोध । सेकेन्ड, मिनट र घण्टा (वा आधा घण्टा) कति लामो हुन्छ भनेर केटाकेटीलाई बोध गराउन यो गतिविधि विशेष उपयोगी हुन्छ । उनीहरूलाई सोध्नोस्ः
– एक मिनट कति लामो हुन्छ ?
– एक मिनटमा तिमी के गर्न सक्छौ ?
– एक मिनटमा दशपल्ट उफ्रिन सक्छौ ?
– एक मिनटमा दौडेर स्कूलको परिक्रमा गर्न सक्छौ ? आदि ।

उनीहरूलाई अनुमान लगाउन दिनोस् र एक मिनटमा के काम कति गर्न सकिन्छ भनेर प्रयोग गरी हेर्न दिनोस् ।
केटाकेटीलाई ‘एक–हजार–एक, एक–हजार–दुई भन्दै एक–हजार–दश सम्म गन्ती गर्न कति समय लाग्दो रहेछ, गरिहेर्न दिनोस् । यसले सेकेन्ड बारे उनीहरूको बोध बलियो हुनेछ । त्यसपछि १० सेकेन्डमा कुन काम (जस्तै– उठबस) कति पटक गर्न सकिन्छ भन्ने अनुमान लगाउन उनीहरूलाई सजिलो हुनेछ । त्यसपछि त्यो काम गरेर आफ्नो अनुमान मिले–नमिलेको हेर्न सक्नेछन् ।

यस्ता गतिविधिले केटाकेटीमा एक मिनट, आधा मिनट, दश सेकेन्ड, पाँच सेकेन्ड, एक सेकेन्ड आदिको बोध विकसित हुँदै जान्छ । अधिकतर स्कूलमा एउटा घण्टी ४० मिनटको हुन्छ । त्यसको हिसाब गरेर उनीहरूले एक घण्टा भनेको कति हो भन्ने अनुमान लगाउन थाल्नेछन् । त्यसका आधारमा घरबाट स्कूल पुग्ने समय, खेल्ने समय, मनपर्ने टीभी कार्यक्रमको अवधि आदिबारे पनि अनुमान लगाउन सक्छन् । यसो गर्न प्रोत्साहित गर्नोस् र अनुमानलाई सही बनाउन सहयोग गर्दै जानोस् ।
गतिविधिहरूको चार्ट । यसै क्रममा केटाकेटीलाई एक सेकेन्ड, पाँच सेकेन्ड, दश सेकेन्ड, आधा मिनट, एक मिनट, पाँच मिनट, दश मिनट, पन्ध्र मिनट, आधा घण्टा र एक घण्टामा गर्न सकिने कामहरूको चार्ट बनाउन लगाउनोस् । शुरूमा समयको श्रेणी कम दिए पनि हुन्छ ।

‘मेरो कथा’ । यस अन्तर्गत केटाकेटीलाई एउटा चार्ट पेपरमा आफ्नो टाइमलाइन बनाउन भन्नोस् । त्यसमा उनीहरूले यस्ता कुरा उल्लेख गर्न सक्नेछन्ः जन्मेको वर्ष, स्कूल आउन थालेको वर्ष, कतै यात्रा गरेको वर्ष, आफ्ना भाइ–बहिनी जन्मेको वर्ष, आफूले कुनै पुरस्कार पाएको वर्ष आदि । वर्षसँगै महीना पनि लेख्न प्रोत्साहित गर्नोस् ।
समयको रूपान्तरण । यस अन्तर्गत केटाकेटीलाई घण्टा र मिनट, मिनट र सेकेन्ड, दिन र घण्टाहरूबीचको सम्बन्धका बारेमा बताउनोस् । समय जनाउन बिहान, दिउसो, बेलुका र राति शब्दको प्रयोगबारे चर्चा गर्नोस् । बिहान ८ बजे, बेलुका ८ बजे; दिउसो एक बजे, राति एक बजे जस्ता शब्दावली प्रयोग गर्न सिकाउनोस् । पूर्वाह्न र अपराह्न बारे सिकाउन पनि प्रयास गर्नोस् । अंग्रेजीमा एएम, पीएम भनिन्छ, त्यो समेत सिकाउनोस् ।

समयलाई विभिन्न किसिमले पढ्न, बुझन र देखाउन चार कलमको तालिका बनाउनुहोस्, जसबाट एउटै समयलाई २४ घण्टाको हिसाबमा, १२ घण्टाको हिसाबमा, सुईवाला घडीमा र डिजिटल घडीमा कसरी लेखिन्छ वा देखाइन्छ भन्ने स्पष्ट हुन सकोस् । (हे. चित्र माथि)

समयको अन्तराल । दुई समयबीचको अन्तरालको गणना गर्ने तरीका सिकाउनोस् । जस्तै— १२ देखि १ बजेसम्म= एक घण्टा । २ देखि ३ः३० बजेसम्म = डेढ घण्टा ।

यसभन्दा जटिल समय–अन्तरालको गणना गर्न पनि सिकाउनोस् । जस्तै— १२ः१५ देखि २ः३० सम्म । यसका लागि पहिले १२ः१५ देखि १ बजेसम्म (४५ मिनट), त्यसपछि १ देखि २ बजेसम्म (एक घण्टा) र त्यसपछि २ः०० देखि २ः३० सम्म (३० मिनट) को हिसाब निकाल्न लगाउनोस् । सबैलाई जोड्दा हुन्छ– २ घण्टा १५ मिनट । घण्टा र मिनटको हिसाब लगाएर समय निकाल्न र समयान्तर गणना गर्न बारम्बार अभ्यास गराउनोस् ।

कक्षाको साप्ताहिक रुटिन । केटाकेटीहरूलाई कक्षाको साप्ताहिक रुटिन तयार पार्न लगाउनोस्, जसमा हरेक दिन, हरेक घण्टीमा (अलग–अलग समयमा) कुन विषयको पढाइ वा कस्तो गतिविधि हुन्छ भन्ने उल्लेख गरिएको होस् । उनीहरूलाई जोड्न लगाउनोस्— हप्तामा कति घण्टा टिफिनको छुट्टी हुन्छ ? संगीतको कक्षा जम्मा कति समय चल्छ ?
व्यक्तिगत दैनिक रुटिन । केटाकेटीलाई प्रत्येक दिन आफ्नो व्यक्तिगत रुटिन तयार पार्न लगाउनोस् । त्यस दिन पढ्न, लेख्न, खेल्न, घुम्न, खाना खान, टीभी हेर्न, सरसफाइ गर्न र अन्य कार्यमा कति बजेदेखि कति बजेसम्म अर्थात् कति समय लगाउने भन्ने उल्लेख होस् । त्यसबारे छलफल गर्नोस् । यसले उनीहरूलाई समयको अवधारणाबारे स्पष्ट हुन र समयबारे सचेत रहन सघाउनेछ । रुटिन अनुसार काम भयो कि भएन, कुनै काममा रुटिनमा भने जत्तिकै समय लाग्यो कि कम वा बढी समय लाग्यो भन्ने बारे पनि कुराकानी गर्नोस् । समय किन महत्वपूर्ण  हुन्छ भन्ने बुझएर समयको सदुपयोग गर्न सचेत बनाउनोस् ।

यस प्रकारको योजना, गतिविधि र अभ्यासबाट तपाईंले केटाकेटीलाई समयको प्रभावकारी शिक्षण दिन सक्नुहुनेछ । यस क्रममा केटाकेटीलाई आफ्नो जीवनमा समयका विभिन्न पक्षबारे विचार गर्न उत्प्रेरित गर्नु विशेष उपयोगी हुनेछ । त्यसनिम्ति उपयोगी केही सम्भावित प्रश्नका साथ म यो आलेख टुंग्याउन चाहन्छुः
– मलाई दिनभरिमा कुन समय सबैभन्दा बढी मन पर्छ ? किन ?
– घटनाहरूलाई सही क्रममा राख्नु किन महत्वपूर्ण  हुन्छ ?
– मैले कुन दिन ढीला गरेको थिएँ ? किन ? केही मानिसहरू किन सधैं ढीला गर्छन् ?
– समयमा आइपुग्नु किन आवश्यक छ ? म कुन दिन÷कहिले समयमा आएको÷आएकी थिएँ ?
– समयलाई सटीक रूपमा मापन गर्न किन जरूरी छ ?
– म आफ्नो फुर्सतको समय कसरी बिताउँछु ? त्यसवेला अरू के गर्न सकिन्छ होला ?
– म आफ्नो समयको बढी राम्ररी उपयोग कसरी गर्न सक्छु होला ?

ऋषि भ्याली स्कूल, आन्ध्र प्रदेश (भारत) मा तीन दशकदेखि अध्यापनरत लेखिका हाल पाठ्यक्रम सुधार तथा प्राथमिक स्तरका गणितका पाठ्यपुस्तक निर्माणमा संलग्न छिन् ।
साभारः www.teachersofindia.com

भाषान्तर तथा सम्पादनः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/