पूर्व विद्यार्थीको योगदानमा लुभु माविको पुनरुत्थान !

by • • रिपोर्टComments (0)241


प्रवीण अधिकारी
यो विद्यालयको अवस्थालाई पुनः माथि उठाउनमा जिम्मेवार विभिन्न कुरामध्ये पूर्व विद्यार्थीको अग्रसरता पनि एउटा हो । करीब दुई वर्षअघि स्थापना भएको ‘पूर्व विद्यार्थी समाज’ को सम्पर्कमा अहिले करीब ४०० पूर्व विद्यार्थी आइसकेका छन् ।

विद्यार्थीलाई पढाउन छाडेर बिंगो खेलाइरहेका शिक्षक देख्नुभयो भने तपाईंलाई कस्तो लाग्छ ? पढाउनुको साटो केटाकेटीलाई नाचगानमा अल्मल्याउने विद्यालय कस्तो लाग्छ ?

यो पंक्तिकार ललितपुरको लगनखेलबाट करीब १० किलोमिटर पूर्व दक्षिणमा पर्ने पुरानो बजार लुभुमा रहेको लुभु माविमा पुग्दा कक्षा ३ का विद्यार्थी बिंगो खेल्ने तयारी गरिरहेका थिए र शिशु कक्षा एलकेजीका नानीहरू नाचगानको पालो पर्खिइरहेका थिए ।

कक्षा ३ की शिक्षक प्रमिला कायस्थले त्यस दिन कम्प्युटरसँग सम्बन्धित मुख्य शब्दहरू सिकाइरहेकी थिइन् । कक्षाको अगाडि बोर्डमा ठूल्ठूला अक्षरले सीपीयू, मोनिटर, प्रिन्टर, हार्डवेयर, ल्यापटप, पावरलगायतका ३२ वटा शब्द लेखिएका थिए । शुरूमा शिक्षकले उच्चारण गरी-गरी ती शब्द सिकाइन् । त्यसपछि उनले बिंगोको नियम बताउँदै विद्यार्थीलाई कापीमा धर्सा तानी १५ वटा कोठा बनाउन र तिनमा बोर्डमा रहेका कुनै १५ वटा शब्द लेख्न लगाइन् । सबैले लेखिसकेपछि अब खेल शुरू भयो । चार्ट बोर्डमा भएका सबै शब्द लेखिएका कागजका टुक्रा एउटा टोकरीमा राखिएका थिए । उनले टोकरीबाट एकएक गर्दै ती कागजका टुक्रा निकालेर त्यहाँ भएका शब्द भन्न थालिन् ।

विद्यार्थी भने शिक्षकले भनेका शब्द आफूले अघि टिपेका शब्दसँग मिल्नासाथ त्यसलाई गोलो घेराले घेर्न थाले । विद्यार्थी एकदमै खुशी र रमाएका देखिए । टोकरीबाट शब्द निकालेर हेर्ने क्रमको २३औं पटकमा समिरन राई, माधव माझी, अंकिश बोहोरा र अदेश श्रेष्ठको फुल हाउस बिंगो भयो । अर्थात् उनीहरूले छानेका शब्द सबै आए । बिंगो मिलाउने सबै विद्यार्थी अगाडि आए । उनीहरूलाई शिक्षकले चकलेट दिइन् ।

प्रारम्भिक बालशिक्षाअन्तर्गतको एलकेजी कक्षामा भने ‘रामेका सात भाइ छोरा छन्’ भन्ने बाल गीतमा विद्यार्थी र शिक्षक कमला भैल सँगसँगै नाच्दै छन् । उफ्रीउफ्री नाचिसकेपछि नानीहरू आ–आफ्नो ठाउँमा आएर बसे । अनि शिक्षकले आज भातसँग केको तरकारी खाएर आयौ, भनी सोधिन् । कसैले काउली, कसैले साग, कसैले आलु र कसैले मासु खाएको सुनाए । त्यसपछि अगाडि भित्तामा टाँसिएका विभिन्न फलफूल र तरकारीका चित्र देखाउँदै शिक्षकले विद्यार्थीलाई सोध्न थालिन् । विद्यार्थीले चित्रमा देखिएको तरकारीको नाम बताए । अघिल्लो दिनको कक्षामा उनीहरूले तरकारी र फलफूलबारे पढेका रहेछन्, त्यसैले आज उनीहरूलाई तरकारीकै नाम सम्झइएको रहेछ ।

नेपालकै सबैभन्दा पुरानो मध्ये पर्ने यो विद्यालयले करीब ११६ वर्षको अवधिमा धेरै उकाली–ओराली देखेको छ । राणा प्रधानमन्त्री देवशमशेरको मौखिक आदेशमा वि.सं. १९५८ मा शुरू भएको यो विद्यालयको प्रारम्भिक पहिचान ‘भाषा पाठशाला’ को थियो । पछि वि.सं. २०३१ सालमा संस्कृत तथा भाषा पाठशालाबाट रूपान्तरित भई निमाविस्तरको साधारण विद्यालय बन्यो । २०४१ सालमा यसले माध्यमिक तहसम्मको अध्यापन गर्ने अनुमति पायो । तर पछिल्लो दशकमा विभिन्न कारणवश विद्यालयले खासै प्रगति गर्न सकेन । कुनैबेला ८०० रहेको विद्यार्थी संख्या बीचमा घटेर १५० मा साँघुरिन पुग्यो । अहिले भने ३०० जना छन् ।

तालीमपछिको उत्साह
माथि उल्लिखित कक्षामा शिक्षक रमिला कायस्थले प्रदर्शन गरेको शिक्षणकला उनलाई केही महीनाअघि संचालित एउटा तालीमबाट प्राप्त भएको हो । ‘शान्ति शिक्षा अभियान’ ले आयोजना गरेको उक्त तालीममा ललितपुरको लुभु भेगका ६ वटा सामुदायिक विद्यालयका प्राथमिक तहका शिक्षकहरूको सहभागिता थियो । २०६१ सालदेखि लुभु माविमा कार्यरत शिक्षक कायस्थले यसअघि विभिन्न तालीम लिए पनि यो भने उनका लागि नौलोे थियो । “बालबालिकाले गीत, संगीत, कथा, खेल धेरै मन पराउँछन् भन्ने त थाहा थियो, तर त्यसको माध्यमबाट पढाउने सीप जानेकी थिइनँ, त्यही सिकियो” कायस्थ बताउँछिन् ।

शिक्षक कमला भैल विद्यार्थीसँग गाउँदै–नाच्दै ।

शिक्षक भैलले पनि आफूले प्रयोग गरिरहेको शिक्षणकला त्यही तालीमबाट प्राप्त गरेकी हुन् । सरासर पढाउँदाभन्दा गीत गाउँदै नाच्दै पढाएको खण्डमा साना नानीहरूले छिटो बुझने कुरा तालीमबाट सिकेकाले सोही अनुरूपको अभ्यास कक्षा गरेको उनी बताउँछिन् ।

विद्यालय शिक्षामा यस्ता अभ्यास खासै नौला होइनन् । तर, लुभु माविका लागि भने यो नयाँ कुरा हो र यस्तै सामान्य लाग्ने शिक्षण अभ्यासले नै सो स्कूलको अवस्थामा तात्विक परिवर्तन ल्याइदिएको छ । नयाँ शिक्षण विधिका कारण कक्षा कोठामा आएको परिवर्तनबाट विद्यार्थी त रमाउने भए नै सँगसँगै शिक्षकको शिक्षण सीप र आत्मबल पनि बढेको छ । त्यसबाट विद्यालयको सुधार कार्यक्रमलाई प्रत्यक्ष फाइदा पुगेको छ । प्रधानाध्यापक सगुनबीर श्रेष्ठ भन्छन्, “यसबाट विद्यार्थीको दैनिक स्कूल आउने बानीमा सुधार भएको छ भने बीचैमा स्कूल छाडेर जाने समस्या पनि केही हदसम्म घटेको छ ।”

पूर्व विद्यार्थीको अग्रसरता
यो विद्यालयको अवस्थालाई माथि उठाउनमा जिम्मेवार विभिन्न कुरामध्ये एउटा हो पूर्व विद्यार्थीको अग्रसरता । केही वर्षयता विगतमा यसै विद्यालयमा पढेका व्यक्तिहरूले व्यवस्थापन समितिसँगको परामर्शमा विद्यालयलाई विभिन्न किसिमले सहयोग गर्दै आएका छन् । करीब दुई वर्षअघि स्थापना भएको ‘पूर्व विद्यार्थी समाज’ को सम्पर्कमा अहिले करीब ४०० पूर्व विद्यार्थीहरू आइसकेका छन् । उनीहरूमध्येबाट ११ जनाको कार्यसमिति बनाइएको छ । प्रत्येक पूर्वविद्यार्थीले विद्यालयलाई दैनिक १ रुपैयाँका दरले मासिक वा वार्षिक रूपमा सहयोग गर्छन् । कोष बढाउनका लागि कार्यसमितिमा रहेकाले चाहिं मासिक रु.५०० दिने गरेका छन् । यसरी कोषमा जम्मा भएको पैसाले साउण्ड सिस्टम किनेर विद्यालयलाई दिइएको छ । अहिले हरेक बिहान प्रार्थना सभामा त्यसको प्रयोग हुन्छ ।

भूतपूर्व विद्यार्थी समाजका अध्यक्ष अनिल श्रेष्ठ विद्यालयको अवस्था खस्कँदै गएपछि आफूहरू जुर्मुराएको बताउँछन् । उनी भन्छन्, “हाम्रै छरछिमेकका विद्यालय विद्यार्थी नभएपछि मर्ज हुँदै, बन्द भएको देख्यौं, त्यही स्थिति आफूहरू पढेको विद्यालयको पनि नआओस् भनेर हामी सक्रिय भएका हौं ।” पूर्व विद्यार्थीहरूले गएको वर्षदेखि स्कूलमा छात्रवृत्तिको व्यवस्था पनि गरेका छन् । स्कूलले सिफारिश गरेका विद्यार्थीलाई यस्तो छात्रवृत्ति प्रदान गरिनेछ । कोषमा रकम जम्मा हुने क्रम जारी रहेकाले अहिलेलाई एक जना विद्यार्थीलाई वार्षिक दुई हजार रुपैयाँ मात्र छात्रवृत्ति प्रदान गर्न सकिएको श्रेष्ठ बताउँछन् ।

पूर्व विद्यार्थी समाजको सहयोग यतिमा मात्र सीमित छैन । कतिपय अवस्थामा विद्यार्थीको भ्रमण कार्यक्रमका लागि निःशुल्क यातायातको व्यवस्था पनि स्कूलले पूर्व विद्यार्थीबाट प्राप्त गर्ने गरेको छ । प्रधानाध्यापक श्रेष्ठ थप्छन्, “ल्याबमा रहेका कम्प्युटर बिग्रिए भने पनि पूर्व विद्यार्थी आएर नै बनाइदिन्छन् ।”
विद्यार्थी र अभिभावकको आकर्षण बढाउन विद्यालयले खाजाको व्यवस्था पनि मिलाएको छ । एक गैरसरकारी संस्थाको सहयोगमा चालू शैक्षिक सत्रको शुरूदेखि विद्यार्थीलाई खाजाको व्यवस्था गरिएको हो । खाजामा दिनैपिच्छे फरक–फरक परिकार पाक्ने गरेको छ । प्रारम्भिक बाल कक्षादेखि ५ सम्मका विद्यार्थीले विद्यालयमा खाजाको सुविधा पाउँछन् । तर खाजा खाने भाँडो भने विद्यार्थी आफैंले ल्याउनुपर्छ । खाजा खाएपछि खाएका भाँडा सबैले आ–आफैं सफा गर्छन् ।

प्रधानाध्यापक श्रेष्ठ निजी स्कूलमा महँगो शूल्क तिरेर पढ्नुपर्ने अवस्थाको अन्त्य गर्ने र पैसा तिर्नु नपर्ने स्कूल सामुदायिक स्कूलमा पनि गुणस्तरीय शिक्षा पाइन्छ भन्ने सन्देश स्थानीय समुदायमा पु¥याउने आफ्नो अभीष्ट विस्तारै पूरा हुँदै गएको बताउँछन् । भन्छन्, “यो वर्ष निजी विद्यालयका केही विद्यार्थी भर्ना हुन आएका छन् । स्थानीयले पनि चासो राख्न थालेका छन् ।” निजी विद्यालयमा पढाउन नसकेर सरकारी स्कूलमा छोराछोरी पढाएको भन्ने पर्ला भनेर मात्र केही रोकिएका नत्र धेरै स्थानीय विद्यालयप्रति लोभिएका छन् भन्ने उनको दाबी छ ।

विद्यालयमा पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्यावको राम्रो व्यवस्था गरिएको छ । कुनै दिन शिक्षक अनुपस्थित भएमा विद्यार्र्थी पुस्तकालयमा गएर पढ्छन् । यसबाहेक हरेक हप्ता प्रत्येक कक्षाका विद्यार्थीलाई त्यहाँ लगिने गरेको छ । यहाँ जम्मा २९ जना शिक्षक-कर्मचारी छन् । एउटा ठूलो भवनमा सबै कक्षाहरू संचालन हुने गरेको छ । जग उठाएर अलपत्र छोडिएको अर्काे एउटा भवन शान्ति शिक्षा अभियान संस्थाले हालै मात्र पूरा गरिदिएको छ । विद्यालयको वातावरण सफा र सुन्दर छ । विद्यालयले कक्षा ११ र १२ सञ्चालनका लागि पनि प्रयास शुरू गरिरहेको छ । त्यसनिम्ति मुख्य समस्या विद्यार्थीको संख्या नै रहेको छ । प्रधानाध्यापक श्रेष्ठ भन्छन्, “हामीसँग जम्मा २६ जना मात्र विद्यार्थी थिए, व्यवस्थापन संकायका लागि न्यूनतम ३० जना विद्यार्थी चाहिने रहेछ, आगामी वर्ष चाहिं ११ कक्षाको निम्ति जसरी भए पनि स्वीकृति लिन्छौं ।”

स्थापनाको लामो इतिहास बोकेको यो विद्यालय अहिले जाग्दैछ । विद्यालयमा अपनाइएका सुधार कार्यक्रमहरूका कारण केही वर्षअघि झ्ण्डै डेढ सयको हाराहारीमा झ्रेको विद्यार्थी संख्या अहिले बढेर ३०० पुगेको प्रधानाध्यापक सगुनवीर श्रेष्ठ बताउँछन् ।

सवै तस्वीरः खड्गबहादुर मगर

 

Related Posts

/*sign up form*/