पाठ्यक्रममा त्रुटि , लहड कि लापरबाही ?

by • • मनका कुरा (ब्लग)Comments (0)2629

Print Friendly, PDF & Email

पूर्ण पी राई

“योपुस्तकको एउटै मात्र सबल पक्ष छ”— जाल्पा उमावि, चौकीडाँडा भोजपुरका शिक्षक हेमबहादुर राईले कक्षा ९ को गणित किताब देखाउँदै भने, “यसलाई झेलामा सजिलै बोक्न सकिन्छ ।” शैक्षिक सत्र २०७३ बाट लागू गरिएका कक्षा ९ का पाठ्यक्रम र पाठ्यपुस्तकको प्रबोधीकरण तालीममा राखिएको उनको भनाइले गत असार तेस्रो हप्ता जिल्ला शिक्षा कार्यालय भोजपुरको तालीम कक्षा हाँसोले गुञ्जियो । सुन्दा ठट्यौलो लागे पनि कुरा यथार्थ र गम्भीर थियो । उनले उक्त किताबका हरेकजसो पेजका कमजोरीहरू औंल्याए ।
हुन पनि शैक्षिक सत्र २०७३ बाट लागू गरिएका कक्षा ९ को सबै विषयका नयाँ किताबमा बग्रेल्ती गल्ती छन् । अंगे्रजी किताबको पहिलो पृष्ठमै गल्ती छ । ब्याटमिन्टन खेलाडीहरू लुनिभा, प्रीति, लक्ष्मण र राफीको नाम र चारवटै तस्वीर दिइए पनि एउटा केटाको दुइटा र एउटी केटीको दुइटा तस्वीर छन् । कुन तस्वीर कसको हो, छुट्टिएको छैन । तेस्रो पृष्ठमा ‘गिभन पिक्चर (दिइएको चित्र)’ भनिएको छ, तर चित्र छैन । पृष्ठ २० मा ‘सोलिडारिटी’ हुनुपर्ने देखिन्छ, ‘सोडालिटी’ छ । पृष्ठ ४३ मा ‘अबिचुअरी’, भनिएकोमा ‘कन्डोलेन्स’ दिइएको छ । पृष्ठ १०३ मा ‘अ सिटी म्याप’ शीर्षकमा काल्पनिक शहरको नक्शा छ, र यसबारे पृष्ठ १०३, १०४ र १०५ दिइएका विवरण र अभ्यास प्रश्नहरूमा नक्शामा हुँदै नभएका स्थान उल्लेख छन् । इकाइ ११ मा पाठशीर्षक ‘… टकिङ अबाउट प्रेजेन्ट’ हुनुको अर्थ ‘प्रेजेन्ट टेन्स (वर्तमान काल)’ हो, तर मुख्य पाठ ‘पास्ट टेन्स (भूतकाल)’ मा छ ।
एकाध हिज्जेका त्रुटिलाई सामान्य मानवीय कमजोरी मान्न सकिएला । कागज र छपाइको गुणस्तरलाई पनि ‘गरीब देशको गरीब सरकारले गरीब नागरिकका छोराछोरीलाई सित्तैंमा दिने किताब यस्तै हुन्छ’ भनेर चित्तबुझउन सकिएला । गल्ती तथ्यमा पनि छन् । जनसंख्या र सामाजिक विषयहरूमा दिइएका तथ्य, तथ्याङ्कहरू पुराना छन् । एउटै कुरा बारेका तथ्य पनि विषयपिच्छे फरक छन् ।


कक्षा ९ को पुस्तक यसै साल लागू भएको हो, पहिलो वर्ष यस्तै हुन्छ, अर्को वर्ष सुधारिएला भनेर आशा गर्न सकिएला । तर तल्ला कक्षाका पाठ्यपुस्तक लागू भएको दुई÷तीन वर्षसम्म पनि उस्तै छन् । कक्षा ८ को अंग्रेजी किताब पृष्ठ ६९ र ७० मा ‘न्यूज स्टोरी (समाचार)’ भनिएको छ, दिइएको छ ‘ओबिचुअरी (मृत्यु लेख)’ । पृष्ठ १५० मा विवरणमा ‘टेबल (तालिका)’ छ, चित्र ‘पाइचार्ट (वृत्तचित्र)’ छ । यो किताबमा भएका कविताहरू कुनैमा पनि अनुच्छेद छुट्याइएको छैन । पूरै सोलोडोलो । सग्लो काँक्रा जस्तो, कतै नटुक्रिएको ।
२०७२ सालमा नेपालमा दुइटा प्रमुख घटना भए— वैशाख १२ को भूकम्प र असोज ३ मा नयाँ संविधान जारी । भूकम्पले धरहरा ध्वस्त भयो । नयाँ संविधान जारी भएलगत्तै राष्ट्रपति फेरिए । डा. रामवरण यादव गए, विद्या भण्डारी आइन् । कक्षा ७ को अंग्रेजी किताब पृष्ठ ५० मा डा. रामवरण यादवले २३ जुलाई २००८ मा नेपालको प्रथम राष्ट्रपतिको शपथ गरेको उल्लेख छ । उनी कहिलेसम्म पदमा बहाल रहे उल्लेख छैन । यसले अहिलेसम्म पनि उनै राष्ट्रपति छन् भन्ने भाव दिन्छ । धरहरा भत्किएको अर्को शैक्षिक सत्रमा छापिएको किताबमा ‘धरहरा थियो’ भन्नुपथ्र्यो । कक्षा ६ को अंग्रेजी पृष्ठ २६ मा ‘बक्स’ भनिएको छ, बक्स छैन । पृष्ठ ६० मा ‘कम्प्लीट द टेबल (तालिका पूरा गर)’ भनेर निर्देशन दिइएको छ । तालिका पूरै भरिएको छ, पूरा गर्न बाँकी ठाउँ कतै छैन ।
पाठ्यक्रम र पाठ्यपुस्तकमा तालमेल मिलेका छैनन् । कक्षा ९ को अंग्रेजी विषय पाठ्यक्रममा २० इकाइ छन्, पाठ्यपुस्तकमा १५ मात्रै । कुनै कक्षाका किताबको अन्त्यमा ‘ग्लोसरी (शब्दार्थ सूची)’ दिइएको छ, कुनैमा छैन । कक्षा ६ कै ग्लोसरीमा उच्चारण वर्णमाला (फोनेटिक अल्फाबेट) दिइएको छ, यसबारेको जानकारी चाहिं बल्ल कक्षा ९ मा । कुनैमा ‘लिसनिङ टेक्स्ट’ दिइएको छ, कुनैमा छैन ।
सबै कक्षाका सबैजसो विषयका थुप्रै ठाउँमा ‘दिइएको चित्र’ को आधारमा विभिन्न खाले अभ्यासहरू छन् । चित्र भने बच्चाले मसी पोखेर कागज भिजाएको जस्ता काला दाग मात्रै देखिन्छन् । हरेक वर्ष ‘अपडेट’ गरेको दाबी गरिए पनि किताबको हालत उस्तै । हिज्जे, तथ्य–तथ्याङ्क, सज्जा, कागज र छपाइको गुणस्तर जस्ताको तस्तै ।
पाठ्यक्रम विकास केन्द्रको पाठ्यक्रम तथा पाठ्यसामग्री विकास निर्देशिका–२०६८ मा पाठ्यपुस्तक उत्पादनका चरणहरू उल्लेख छन् । सबै चरणहरू पार गरेरै नयाँ पाठ्यक्रम तथा पाठ्यपुस्तक जारी गरिएको दाबी गरिन्छ । तर पाठ्यपुस्तकले ती दाबीहरूलाई ठाडै खारेज गर्छन् । सामान्य शुद्धाशुद्धी समेत राम्ररी हेरिएको हुँदैन । इकाइ र उप–इकाइ तथा शीर्षक र उप–शीर्षकहरूको तहगत संगठन (सुपर अर्डिनेसन, कोअर्डिनेसन, सवअर्डिनेसन) गोलमा हुन्छन् । एक विषय र अर्का विषय, एउटै विषयको एक कक्षा र अर्को कक्षा बीच संगठनात्मक, सज्जा तथा शैलीगत एकरूपतामा ध्यान दिइँदैन । न पाठ्यपुस्तक लेखनका प्रचलित सिद्धान्तलाई पछ्याइन्छ न त नयाँ सिद्धान्त प्रतिपादन गरेको आभास नै मिल्छ ।
बेलामा पाठ्यपुस्तक आउँदैन । सिद्धेश्वर उमाविमा ६ कक्षाका किताब मंसीर लागेपछि बल्ल आए, शैक्षिक सत्र शुरू भएको आठौं महीनामा । ‘पाठ्यपुस्तक सहयोगी सामग्री मात्रै हो । शिक्षकले पाठ्यक्रम अनुसार पढाउने’ भन्ने कुरा उहिल्यै जानिएको हो । तर नयाँ पाठ्यक्रम यो आलेख तयार पार्दासम्म विद्यालयमा छैन । ‘पाठ्यपुस्तक उपलब्ध नभए पाठ्यक्रमले भने बमोजिमका अन्य पाठ्यसामग्री प्रयोग गर्ने, गराउने’ भन्ने पनि थाहा नभएको हैन । तर विद्यालयमा कति सन्दर्भ पाठ्यसामग्री छन् भन्ने कुरा गर्नेलाई मात्रै थाहा हुन्छ । शिक्षक निर्देशिका बजारमा नआई कक्षा ९ र १० को पाठ्यक्रम फेरियो । पाठ्यक्रम विकास केन्द्रको वेबसाइटमा राखिइएको शिक्षक निर्देशिका ‘मस्यौदा’ मै तुहियो ।
भाषा शिक्षणको सिद्धान्तले भन्छ, दुई किसिमका शैक्षिक सामग्री हुन्छन्ः ‘अनअथेन्टिक’ अर्थात् पाठ्यक्रम बमोजिम तयार पारिएका र ‘अथेन्टिक’ अर्थात् प्राज्ञिक वा अन्य उद्देश्यले तयार पारिएका तर पाठ्यक्रम बमोजिम शैक्षिक उद्देश्य हासिल गर्न प्रयोग गर्न सकिने । अधिकांश विद्यालयहरूमा ‘अथेन्टिक’ सामग्रीहरू पाउन मुश्किल छ । जम्माजम्मी सामग्रीको नाममा पाठ्यपुस्तक मात्रै हुन्छन् । अंग्रेजी विषयका पाठ्यपुस्तकका सामग्रीहरूमध्ये केही कविता बाहेक कुनै पनि ‘अथेन्टिक’ सामग्री छैनन् । माध्यमिक तहसम्मका अंग्रेजी विषयका किताब लेखकहरू आफैंलाई सर्वेसर्वा ठान्दा हुन्; त्यसैले एकथोक भनेकामा अर्कै थोक पर्न गएका छन् । किताबमा ‘न्यूज स्टोरी’ वा ‘न्यूजपेपर’ पाठमा बजारमा पाइने कुनै अंग्रेजी अखबारका फोटोकपी वा समाचार स्रोत खुलाएर राख्न सकिन्थ्यो । बधाई, समवेदना, समीक्षा वा अन्य सामग्रीहरू, कथा, निबन्ध, चिठीहरू पनि । जसले किताबलाई रोचक र गहकिलो बनाउँथ्यो ।
पाठ्यक्रम, पाठ्यपुस्तक र अन्य शैक्षिक सामग्रीमा भएको कमी–कमजोरी आंैल्याउँदा आधिकारिक निकायका आधिकारिक व्यक्तिहरूको भनाइ दुई किसिमको पाइन्छ । प्रवृत्ति र काम भने एउटै । एकखाले व्यक्तिहरूको प्रतिक्रिया हुन्छ, “यथार्थ कुरा भन्नुभयो । साह्रै राम्रो टिप्पणी गर्नुभयो । बहुत मिहिन केलाउनु भा’ रहेछ । हाम्रो गल्ती औंल्याइदिनुभयो ।” फुक्र्याउँछन् पनि, “हाम्रा कमी–कमजोरीहरूलाई तपाईं जस्ता शिक्षकले नऔंल्याएर कसले औंल्याउने ?” अनि भन्छन्, “अर्को वर्ष सबै कुरा सच्याइनेछ, ठीकठाक पारिनेछ ।” अर्काखाले व्यक्तिहरूको प्रतिक्रिया हुन्छ, “यी मानवीय त्रुटि हुन् । कामको दौरानमा गल्ती हुन्छ । तपाईंले गरे पनि गल्ती हुन्छन् । अरूको गल्ती औंल्याउन जसलाई पनि सजिलो लाग्छ । काम गर्न कठिन हुन्छ । तपार्इंका कुरा यदि सत्य रहेछन् भने अर्को वर्ष सच्याइने छ ।” अनि आदेश दिन्छन्, “अरूको गल्ती देखाउँदै बस्ने हैन, शैक्षिक गुणस्तर उकास्न खुरुखुरु लाग्ने !” दुवैको कुरा मिल्छ, “अर्को वर्ष सबै गल्तीहरू निमिट्यान्न पारिनेछ ।” अर्को वर्ष फेरि जस्ताको तस्तै । उही कुलो, उस्तै पानी ।

अन्त्यमा एउटा किस्सा !
एकपटक, जनावरहरूबीच काउकुती प्रतियोगिता भएछ— प्रतियोगीहरूलाई काउकुती लगाउँदा लामो समय नहाँस्नेले जित्ने । मानिसलगायत भएभरका जनावरहरू प्रतियोगितामा भाग लिन गएछन् । हरेक प्रतियोगीलाई नहाँसुन्जेल काउकुती लगाइयो र समय टिपिएछ । चितवनको एकसिङ्गे गैंडाको पालो आएछ । जति जसरी काउकुती लगाउँदा पनि हाँस्दै हाँसेनछ । लामो समय काउकुती सहेको मात्रै हैन काउकुतीले कुनै प्रभाव नै पारेन । पहिलो भएछ । पुरस्कार लिएर फर्कियो । ६ महीनापछि राप्ती किनारमा मूर्छा परी–परी हाँस्दै रहेछ, त्यो गैंडा । भएको के रहेछ भने गैंडाको छाला अरू जनावरको भन्दा धेरै बाक्लो । छाला एउटा इन्द्रिय हो । इन्द्रियले दिमागमा सन्देश पु¥याउँछ, दिमागको आदेशपछि जनावरले प्रतिक्रिया दिन्छ । उतिखेर लगाइएको काउकुती गैंडाको दिमागमा पुग्न ६ महीना लागेको रहेछ । अरूका पातला छाला, काउकुतीको असर तुरुन्तै देखियो, हाँसिहाले । गैंडा ६ महीनापछि हाँस्यो । हाम्रा शिक्षा नीति र सामग्री निर्माताहरू गैंडा हुन् त ? जसले आफ्नो बाक्लो छालाको छलले पुरस्कार जित्छ, सबैले बिर्सेको बेला हाँस्छ । बेकारमा दोष कसलाई दिनु, आफ्नै छाला बैगुनी !
(सिद्धेश्वर उमावि, दाँवा, भोजपुर)

२०७३ पुस अंकमा प्रकाशित

Related Posts

/*sign up form*/