पद्मोदय पब्लिक मावि, दाङ परियोजना कार्यमा पोख्त

by • • स्थलगतComments (0)68

रोश्ना सुब्बा
केही अपवादलाई छोडेर शहरी तथा सुगम क्षेत्रका अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी संख्या र पठनपाठन ओरालो लागिरहेको बेला दाङको घोराही–११, भरतपुरमा रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालय भने राप्ती अञ्चलकै विश्वासिलो विद्यालय बन्दै गएको छ । यसका १ देखि १२ सम्मका कक्षामा हाल ४००० भन्दा बढी विद्यार्थी अध्ययनरत छन् । यहाँका विद्यार्थीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान; इन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक र अन्य विश्वविद्यालयमा समेत छात्रवृत्तिमा नाम निकाल्न थालेपछि यो विद्यालय यस क्षेत्रका विद्यार्थी तथा अभिभावकबीच आकर्षणको केन्द्र बनेको हो । चिकित्साशास्त्र तथा इन्जिनियरिङ्ग विषय अध्ययनका लागि पछिल्ला केही वर्षमा यहाँका १९ जना विद्यार्थीले छात्रवृत्तिमा नाम निकालेका छन् । मध्यपश्चिम र सुदूरपश्चिममा उत्कृष्ट भएका विद्यार्थीहरू यहाँ ११–१२ कक्षा पढ्न आउने गरेका छन् । यहाँ कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन र शिक्षा संकायमा गरी अहिले १८०० विद्यार्थी छन् । २०७२ सालमा नियमिततर्फ यसका ६८ प्रतिशत विद्यार्थीले १२ कक्षा पास गरेका छन् ।
२०७२ सालको प्रवेशिका परीक्षामा सहभागी भएका पद्मोदय पब्लिकका ३४६ जना विद्यार्थीमध्ये एक जना ‘ए प्लस’, १५ जना ‘ए’ र ४१ जना ‘बी प्लस’ ग्रेडमा उत्तीर्ण भएका छन् । यसैगरी ६३ जनाले ‘बी’, ७५ जनाले ‘सी प्लस’, १०० जनाले ‘सी’ र ४८ जनाले ‘डी प्लस’ ग्रेड पाएका छन् । तीन जना विद्यार्थी भने ११ कक्षामा भर्ना हुन असफल भएका थिए । यसअघि यो विद्यालयबाट ५० प्रतिशत भन्दा बढी विद्यार्थी प्रवेशिका उत्तीर्ण हुने गर्थे । प्रधानाध्यापक डा. कृष्णराज डीसीका अनुसार यहाँ नर्सरीदेखि १० कक्षासम्म हाल २२०० जना विद्यार्थी अध्ययनरत छन् । २०० भन्दा बढी विद्यार्थी यसै वर्ष थपिएका हुन् । आधारभूत तहका विद्यार्थीको सिकाइ उपलब्धि ५८ र मावि तहको सिकाइ उपलब्धि ४३ प्रतिशत छ ।

विज्ञान प्रयोगशालामा विद्यार्थी ।

२००४ सालमा स्थापित यो ऐतिहासिक विद्यालय साढे आठ बिघा क्षेत्रफलमा फैलिएको छ । प्राथमिक, माध्यमिक र उच्च मावि तहका लागि बेग्लाबेग्लै भवन छन् । खेलमैदान विशाल छ । ११ र १२ कक्षाका छात्र र छात्राका लागि फरक फरक छात्रावास छन् । छात्राका लागि सरकारद्वारा संचालित ‘फिडर छात्रावास’ भने निःशुल्क छ । यसैगरी प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) द्वारा संचालित कार्यक्रमका लागि पनि अलग्गै भवन छ । यो कार्यक्रम अन्तर्गत ४०० विद्यार्थी छन् ।
पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा केटाकेटी भर्ना गर्न भनेर कतिपय अभिभावकहरू बाहिरी जिल्ला छाडेर दाङ आउन थालेका छन् । रोल्पाकी गंगा बिक आफ्ना छोराछोरी पद्मोदयमा पढाउन गाउँ छाडेर यसै साल घोराही आएकी हुन् । उनका तीन जना सन्तान यही विद्यालयमा पढ्छन् । उनी भन्छिन्, “यो विद्यालय ‘टप’ छ भन्ने सुनेर यहाँ पढाएकी हुँ । छोराछोरीको पढाइ राम्रो होला भन्ने विश्वास छ ।”
गंगा बिककै गाउँकी सरिता बिक पनि यसै विद्यालयकी विद्यार्थी हुन् । कक्षा ९ मा पढ्दै गरेकी सरिता भन्छिन्, “यहाँ सधैं पढाइ हुन्छ । रोल्पामा त सरहरू एक हप्ता आउनुहुन्छ, एक हप्ता आउनुहुन्न । आए पनि पूरै समय पढाउनुहुन्न ।”
यस्तै प्यूठानकी नीमा बुढामगर यसै वर्ष ११ कक्षामा भर्ना भएर पढ्दैछिन् । यही विद्यालयमा पढेकी उनकी दिदीले पद्मोदयमा पढाइ राम्रो हुन्छ भनेकोले उनी प्यूठानबाट यहाँ आएकी हुन् ।
विद्यालयका प्रधानाध्यापक डा. डीसी शिक्षकका कारण पठनपाठन प्रभावकारी भएकोले नै अभिभावकहरूले यो विद्यालयलाई विश्वास गरेको बताउँछन् । उनी भन्छन्, “हाम्रा सबै शिक्षक तालीमप्राप्त छन् । विषय विज्ञ र अनुभवी छन् । पठनपाठन शैली राम्रो बनाउन मिहिनेत गरेका छन् । शिक्षक नै विद्यालयका सबभन्दा सबल पक्ष हुन् । विद्यालय प्रशासन, भौतिक पूर्वाधार, विभिन्न विषयका प्रयोगशाला, पुस्तकालय र शैक्षिक सामग्री पनि हाम्रो विद्यालयका महŒवपूर्ण पाटा हुन् ।”
सहायक प्रधानाध्यापक लोकबहादुर बस्नेतका अनुसार यहाँ दरबन्दीका ३१ जना र निजी स्रोतका ६३ जना समेत गरी ९४ जना शिक्षक कार्यरत छन् । विद्यालयका आफ्नै दुई वटा बस छन् । साथै जेनेरेटर पनि छ । विद्यालयमा भौतिक, जीव र रसायन विज्ञान विषयका लागि छुट्टाछुट्टै प्रयोगशाला, कम्प्युटर ल्याब, गणित प्रयोगशाला र पुस्तकालय छन् । यी प्रयोगशाला र पुस्तकालयले पनि यो विद्यालयलाई अरूभन्दा विशिष्ट तुल्याएका छन् । यहाँका विद्यार्थीले चार वर्षअघि नेपाल म्याथम्याटिक्स सेन्टरले आयोजना गरेको गणित विषयको राष्ट्रिय प्रतिस्पर्धामा पहिलो स्थान हासिल गरेका थिए । यसैगरी तीन महीनाअघि पनि यहाँका विद्यार्थीहरूले गरेको परियोजना कार्य राष्ट्रिय प्रतिस्पर्धामा ‘मोस्ट इनोभेटिभ प्रोजेक्ट’ को उपाधि जित्न सफल भएको थियो ।

परियोजना कार्यमा पोख्त
आफैं गरेर सिक्ने उक्त पुरस्कृत परियोजना कार्यमा विद्यार्थीले आफ्ना अभिभावकलाई समेत सहभागी गराएका थिए । त्यस अनुसार, शिक्षकले ८ र ९ कक्षाका विद्यार्थीलाई कथा लेखन सीप सिकाउने उद्देश्यले ‘मलाई एउटा कथा भनिदिनुस् (Tell me a tale) शीर्षकमा विद्यार्थीका आफ्ना हजुरबुवा वा हजुरआमा अथवा छरछिमेकका बूढापाकासँग भेटेर उहाँहरूका पालाका कथा वा चाखलाग्दा घटना संकलन गर्न लगाए । कथा सुनिसकेपछि बुँदा टिपेर विद्यार्थीले विद्यालयमा प्रस्तुत गर्नुपर्दथ्यो । उनीहरूले प्रस्तुत गरेको बुँदाका आधारमा नेपाली विषयकी शिक्षक देवा पौडेल र अंग्रेजी विषयका शिक्षक दुर्गाप्रसाद पाण्डे मिलेर विद्यार्थीलाई कथा लेख्न सिकाए । नेपालीमा लेख्न चाहनेले नेपाली र अंग्रेजीमा लेख्न चाहनेले अंग्रेजीमा लेखे । छलफल र सुझवपछि हरेक विद्यार्थीले सफा अक्षरमा ‘ए फोर’ साइजको पेपरमा कथा सारे । यसरी २५० वटा कथा संकलन भए । ती कथालाई एकत्रित गरी बाइन्डिङ्ग गरेपछि तयार भयो एउटा मौलिक प्रकारको कथासंग्रह ।
सिकाइ प्रक्रियामा आफैं सहभागी भएर विद्यार्थीले एकातिर कथा लेख्न सिके भने सँगसँगै अर्कातिर पुरानो पुस्ताको अवसानसँगै लोप भएर जाने पुराना कथा र अनुभवहरूको जर्गेना पनि भयो । त्यो कथा संग्रह स्कूलको पुस्तकालयमा राखिएको छ जहाँ जुनसुकै तहका विद्यार्थीले पनि हेर्न र पढ्न सक्छन् ।
विद्यार्थी आफैंले सहभागी भएर गरेर सिक्ने अर्थात् परियोजना कार्यमा आधारित शिक्षण विधि अपनाउँदा विद्यार्थी निकै खुशी हुने र सिकाइ प्रभावकारी हुने शिक्षक दुर्गाप्रसाद पाण्डेको अनुभव छ । उनी भन्छन्, “मलाई एउटा कथा भनिदिनुस् (Tell me a tale) त एउटा उदाहरण मात्र हो । शिक्षकले पूर्व तयारी गर्ने हो भने हरेक विषयमा यस्तो विधि प्रयोग गर्न सकिन्छ । जस्तो, तल्लो तहका विद्यार्थीलाई पासाङ ल्हामुको जीवनीबारे पढाइसकेपछि स्थानीय, राष्ट्रिय वा अन्तर्राष्ट्रियस्तरमा मन पर्ने व्यक्तिका बारेमा जीवनी लेख भनेर समूह वा एकल रूपमा परियोजना कार्य दिन सकिन्छ । यसो गर्दा विद्यार्थीले कि कसैलाई सोध्नुपर्ने हुन्छ । कि त पुस्तकालय गएर पुस्तकमा पढ्नुपर्ने हुन्छ, कि त इन्टरनेटबाट खोज्नुपर्ने हुन्छ । यसले गर्दा उनीहरूमा सोधखोज गर्ने बानीको विकास हुन्छ । पासाङ ल्हामुको योगदान जतिकै आफूले मन पराएको व्यक्तिको योगदान छ कि छैन त ? तुलना गर्ने वा सकारात्मक नकारात्मक पाटा केलाउने आलोचनात्मक सोच विकास हुन्छ । आफूले सोधखोज गरेर तयार गरेको कामबारे साथीहरूसँग छलफल गर्ने, सुझव लिने, अन्तिम रूप दिने काम गर्दा बालबालिकाले संचार सीप पनि सँगसँगै सिकिरहेका हुन्छन् । समूहका अगाडि आफ्नो प्रस्तुति राख्दा आत्मविश्वास बढ्छ । यस्ता सीप उनीहरूलाई पछिसम्म काम लाग्छन्, जुन किताब खर्खर्ती पढाएर सिकाउन सकिंदैन । जीवनी लेख्न पनि सिक्छन् । धेरै व्यक्तिका बारेमा पनि थाहा पाउँछन् । पाठको उद्देश्य पनि पूरा हुन्छ । यसरी विद्यार्थीको सिकाइ आकर्षक, दिगो र प्रभावकारी बनाउन सकिन्छ ।”

आर्थिक स्रोतको आधारः
अभिभावकको सहयोग
पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा ५ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ हुन्छ । तर, परियोजना कार्यदेखि अंग्रेजी माध्यमसम्मका कार्यहरू कक्षाकोठामा पु¥याउन रहर गरेर मात्रै हुँदैन । त्यसनिम्ति अन्य कुराका अतिरिक्त भरपर्दो आर्थिक स्रोत जरूरी हुन्छ । सरकारले दिने नियमित बजेटबाट यस्ता क्रियाकलाप धान्न सम्भव हँहुँदैन । त्यसै भएर पद्मोदय पब्लिक उमाविले अभिभावकलाई नै स्रोत परिचालनको माध्यम बनाएको छ । यहाँ सबभन्दा तल्लो कक्षा नर्सरीका विद्यार्थीका अभिभावकले ‘मासिक सहयोग’ भनेर रु.२०० तिर्छन् । ५ कक्षाका लागि मासिक रु.७०० तोकिएको छ । ६ देखि १० कक्षासम्म भने अंग्रेजी र नेपाली गरी फरक फरक माध्यममा पढाइ हुने गरेको छ । कुल विद्यार्थीमध्ये करीब करीब दुईतिहाइ जति विद्यार्थी अंग्रेजी माध्यममा रहेको प्रधानाध्यापक डीसी बताउँछन् । दुवै माध्यमका लागि अभिभावकले ‘मासिक सहयोग’ बापत रकम तिर्छन् । अंग्रेजी माध्यममा पढ्ने ६ कक्षाका विद्यार्थीका अभिभावकले मासिक रु.६०० तिर्छन् भने १० कक्षाका विद्यार्थीका अभिभावकले रु.१२०० तिर्छन् । नेपाली माध्यममा पढ्ने ६ कक्षाका विद्यार्थीका अभिभावकले मासिक रु.११० र १० कक्षाका अभिभावकले मासिक रु.२०० तिरे पुग्छ । कम्प्युटरका लागि मासिक सहयोग रु.१५० तिर्नुपर्छ । यसैगरी प्लस टुतर्फ विज्ञान संकायका विद्यार्थीले मासिक रु.१३००, व्यवस्थापन संकायकाले रु.८०० र शिक्षाशास्त्रका विद्यार्थीले रु.५०० तिर्छन् ।

गणित प्रयोगशालामा गणित शिक्षक बस्नेत ।

यसरी अभिभावकबाट उठ्ने रकम विद्यालयको बलियो आर्थिक स्रोत भएको छ । ‘सामुदायिक विद्यालय भएर पनि शुल्क लिएको’ आरोप यो विद्यालयमाथि बेलाबेलामा लाग्ने गरेको छ । त्यस सम्बन्धमा प्रधानाध्यापक डा. कृष्णराज डीसी भन्छन्, “अभिभावककै अनुरोध र मागका कारण हामीले अंग्रेजी माध्यम शुरू गरेका हौं । शिक्षक दरबन्दी पर्याप्त नभएको र भएका सबैले अंग्रेजी माध्यममा पढाउन नसक्ने हुँदा हामीले निजी स्रोतका शिक्षक राखेका छौं । निजी स्रोतका शिक्षकहरूलाई पनि सरकारीसरह तलब दिइएको छ । गाउँगाउँबाट अभिभावकले विद्यार्थी पठाउन चाहन्छौं भनेपछि व्यवस्थापन समितिबाट निर्णय गरी हामीले स्कूल बस किनेका हौं । स्कूलमा विभिन्न प्रयोगशालाहरू छन् । लाइब्रेरी छ । अडियो भिजुअल कक्षाकोठा छन् । त्यहाँ चाहिने सामग्रीहरू अभाव हुन दिएका छैनौं । अभिभावकले तिरेको पैसा बालबालिकाकै शिक्षाका लागि खर्च हुने गरेको छ । हामी नाफामुखी संस्था त होइनौं । अहिलेको प्रतिस्पर्धाको समयमा राजधानी र अन्य ठाउँका विद्यार्थीसँग कसरी प्रतिस्पर्धा गर्न सक्छन् त हाम्रा विद्यार्थीले अभिभावकसँग सहयोग नलिने हो भने ?”
‘पर्याप्त शुल्क तिर्न सक्ने र नसक्ने विद्यार्थीका कारण एउटै विद्यालयमा दुईथरी माध्यममा पढाइने गरेको हो ?’ भन्ने प्रश्नप्रति असहमति जनाउँदै प्रअ डीसी भन्छन्, “त्यसो होइन । हाम्रो विद्यालयका सबै विद्यार्थी अंग्रेजी माध्यममा नै पढ्छन् । तर रुकुम, रोल्पा, सल्यान, प्यूठान जस्ता ठाउँबाट ६ कक्षामा भर्ना हुन आएका विद्यार्थी, जो धेरैजसो पछि परेका समुदायका हुन्छन्, उनीहरूको अंग्रेजीको आधार कमजोर हुन्छ । उनीहरूले यहाँ तलदेखि पढ्दै आएका विद्यार्थीसरह अंग्रेजी माध्यममा पढ्न सक्दैनन् । त्यसै भएर उनीहरूलाई अलग व्यवस्था गरिएको मात्र हो ।”
एउटै सामुदायिक विद्यालयमा नेपाली र अंग्रेजी माध्यम, महँगो र सस्तो शुल्क आदिको बचावट गर्दै विद्यालय व्यवस्थापन समितिका पूर्व सदस्य दीपेन्द्रकुमार घर्ती भन्छन्, “हामीले राम्रो गर्न यसो गरेका हौं । अंग्रेजी माध्यम भएन भने अभिभावकले सामुदायिक विद्यालयलाई विश्वास गर्दैनन् । तर यसका लागि राज्यले सामुदायिक विद्यालयमा चाहिने जति शिक्षक दिंदैन । राजधानीकै सामुदायिक विद्यालयले पनि दुई थरी माध्यम लागू गरेका छन् र शुल्क पनि उठाएका छन् । साधन–स्रोत नभई राम्रो गर्नु भनेर राम्रो गर्न सकिंदैन ।”
तर, दाङका जिल्ला शिक्षा अधिकारी रमेश मैनाली यसरी भाषामा कमजोर भएको वा पैसा तिर्न नसकेका कारण एउटै विद्यालयमा दुई थरी विद्यार्थी हुनु सामाजिक न्यायका दृष्टिले सकारात्मक नभएको बताउँछन् । उनी अगाडि थप्छन्, “पद्मोदय नमूना माध्यमिक विद्यालयले गुणस्तरीय पठनपाठनका लागि निकै मिहिनेत गरेको छ । त्यसैले राष्ट्रिय रूपमै राम्रो मध्येमा यो विद्यालय पनि पर्छ । राज्यको लगानी छ त्यहाँ । त्यसैगरी समुदायको पनि लगानी छ । तर कमजोर विद्यार्थीलाई पनि कुनै तरीकाले उठाएर सबै विद्यार्थीलाई एउटै माध्यममा पढाउनेतर्फ यसले पहल गर्नुपर्छ ।”


यहाँ विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरी प्रधानाध्यापक र सहायक प्रधानाध्यापक बाहेक अरूलाई पनि कामको जिम्मेवारी बाँडफाँड गरिएको छ । प्लस टु अन्तर्गत विज्ञान, व्यवस्थापन र शिक्षातर्फ तीन जना संयोजक तोकिएको छ । तीन जना संयोजकमध्येबाट पनि प्रमुख संयोजक छानिएको छ । यसैगरी अंग्रेजी र नेपाली माध्यमका अलग अलग संयोजक तोकिएका छन् । प्राविधिक शिक्षातर्फ पनि संयोजक तोकी जिम्मेवारी दिइएको छ । प्रयोगशाला, पुस्तकालय अनि छात्रावासको जिम्मेवारी पनि फरक फरक व्यक्तिलाई दिइएको छ ।

 

अनुकरणीय गणित प्रयोगशाला
पद्मोदय पब्लिक नमूना माविको एउटा आकर्षण, यसको गणित प्रयोगशाला र गज्जबका गणित शिक्षक पनि हुन् । गणित विषयलाई प्रयोगात्मक तरीकाबाट सिकाउनको लागि सहायक प्रधानाध्यापक तथा गणित शिक्षक लोकबहादुर बस्नेतले यहाँ गणित प्रयोगशाला बनाएका छन् । उनी प्रयोगशालामा तल्लो तहदेखि नै गणित बलियो होस् भनेर शिक्षकहरूमाझ् गणित प्रदर्शनी समेत गर्छन् । विद्यार्थीलाई के सिकाउने हो त्यसै अनुसारका सामग्री तयार पारी झेलामा झ्ुन्ड्याइएको छ । जस्तै बीज गणितको कुनै सूत्र प्रयोगात्मक रूपमा सिकाउनु छ भने त्यसैसँग सम्बन्धित प्लाइउडका सामग्री छन् । त्यस्तै पिरामिड र स्फेयर अर्थात् गोलाको आयतन निकाल्न सिकाउनु छ भने उनले बाँसको सिन्का र आलुबाट पिरामिड बनाएका छन् । कागज प्रयोग गरेर पिरामिड र स्फेयर बनाएका छन् । त्रिभुज, चतुर्भुज, वर्गाकार, षट्कोण जस्ता थरीथरीका आकार सिकाउन रंगीचंगी कागज र विभिन्न प्रकारका आकृति प्रयोग गरेर रंगीन फूटबल बनाइएको छ । पाठ अनुसारका चित्र कोरेर भित्ताभरि टाँगिएको छ ।
आफ्नो प्रयास र प्रयोगका बारेमा शिक्षक बस्नेत भन्छन्, “जबसम्म गणितलाई प्रयोगात्मक तरीकाबाट सिकाइँदैन तबसम्म सिकाइ अर्थपूर्ण हुँदैन । कोरा लेक्चरको सिकाइ विद्यार्थीमा जबर्जस्ती लादिएको हो । अर्थपूर्ण सिकाइ त्यतिखेर हुन्छ जब बालबालिकाले आफ्नो घरमा अनौपचारिक रूपमा सिकेको पूर्वज्ञानलाई प्रयोगात्मक सिकाइमा जोड्न सकिन्छ ।” उनी उदाहरण दिंदै भन्छन्, “जस्तो, विद्यार्थीलाई एरिया अर्थात् क्षेत्रफल निकाल्न वा नाप्न सिकाउनु छ भने सबभन्दा पहिले उनीहरूसँग उनीहरूको अनुभवबारे कुराकानी गर्नुपर्छ । उनीहरूले घरमा आमाले धान वा चामल नापेको देखेका हुन सक्छन् । डण्डीबियो खेल्ने क्रममा बित्ताले वा हातले ठाउँ नापेका हुन सक्छन् । त्यसपछि उनीहरूलाई तिम्रो घरको आँगन ठूलो कि विद्यालयको ग्राउन्ड ठूलो भनेर सोध्न सकिन्छ । केही न केही भन्छ, जवाफ दिन्छ विद्यार्थीले । केही चीज; जस्तो चामल फिंजाएर ‘सानो कागजमा बढी कि ठूलो कागजमा’ भनेर सोध्न सकिन्छ । उसको डेस्कको एक छेउदेखि अर्को छेउ कत्रो छ वा कति छ भनेर सोध्यो भने कसैले यति बित्ता भन्ला, कसैले यति सेन्टिमिटर भन्ला । यति गरेपछि अब प्रयोगशालामा भएका सामग्री (सनमाइका र प्लाइउडबाट बनाइएका वर्ग एकाइ) प्रयोग गरेर डेस्कको सानो क्षेत्रफल नाप्न लगाउन सकिन्छ र त्यसपछि चार्टमा बनाइएको चित्र प्रयोग गरेर विद्यार्थीलाई एरियाको कन्सेप्ट दिनुपर्छ । यसरी कन्सेप्ट बुझएपछि मात्र किताबमा भएको सूत्र अर्थात् एरिया (क्षेत्रफल) बराबर लम्बाइ र चौडाइको गुणनफल भनेर विद्यार्थीलाई सिकाउनुपर्छ । यसरी सिकाएपछि उसले आफ्नो डेस्क बेन्च, कक्षाकोठा र अरू क्षेत्रको क्षेत्रफल नाप्न र निकाल्न सक्छ । यस्तो सिकाइ दिगो र व्यावहारिक हुन्छ ।”


विद्यालयमा प्रयोगशाला भन्ने बित्तिकै विज्ञान विषयको प्रयोगशाला भन्ने बुझइ धेरैको हुन्छ । कतिलाई त गणित प्रयोगशाला पनि हुन्छ भन्दा अनौठो लाग्न सक्छ । यो स्वाभाविक पनि हो किनकि हामीमध्ये धेरैले यस्तो प्रयोगशाला देख्न नै पाएनौं । अहिले पनि अधिकांश बालबालिकाले गणित प्रयोगशाला देख्न र त्यहाँ गएर सिक्न पाइरहेका छैनन् । “भ्यालु दिएर एरिया निकाल भन्दा निकाल्न सक्छन्, तर कक्षाकोठामा भएको डेस्क बेन्चको एरिया निकाल्न सक्दैनन् विद्यार्थीहरू”— शैक्षिक गुणस्तर परीक्षण केन्द्रका सहसचिव डा. लेखनाथ पौडेल विद्यार्थीको सिकाइ राम्रो र सन्तोषजनक नपाइएको बताउँछन् । किताबमा भएका सूत्र घोकाउने र प्रश्नको हल गराउने विधि धेरै विद्यालयले अँगाले पनि पद्मोदय विद्यालयमा भने बालबालिकाहरू गणित प्रयोगशालामार्फत फरक तरीकाले सिक्न पाइरहेका छन् । गणित सिक्दा उनीहरूले आफ्नो घर वा परिवेशमा जाने बुझेको ज्ञान ज्ञानका आधारमा विभिन्न वस्तु, चित्र, चार्ट पेपर, रंगीचंगी कागज जस्ता सामग्रीको माध्यमबाट जान्न बुझन पाइरहेका छन् । यसैकारण उनीहरूमा जिज्ञासा जाग्छ र प्रश्न गर्न थाल्छन् अनि सिकाइ मजबूत हुन्छ । गणितका विषय शिक्षकले चाहने र विद्यालय प्रशासनले सहयोग गरिदिने हो भने अन्य विद्यालयमा पनि गणित प्रयोगशाला बनाउन र बालबालिकालाई प्रयोगात्मक तरीकाले गणित सिकाउन असम्भव लाग्दैन ।

२०७३ पुस अंकमा प्रकाशित

Related Posts

/*sign up form*/