पढ्नु भनेको के ?

by • • विश्लेषणComments (0)1581

रिचर्ड सी. एन्डरसन, एल्फ्रिडा एच. हिबर्ट, जुडिथ ए. स्कट, इयान ए.जी. विल्किन्सन

सामान्यतः ‘लिखित सामग्रीबाट अर्थ निर्माण गर्ने प्रक्रिया’ लाई पढ्नु भनिन्छ । झवाट्ट सुन्दा यो प्रक्रिया जति सरल लाग्छ, वास्तवमा त्यति सरल भने छैन । ‘पढ्नु’ अत्यन्त जटिल कौशल हो, जसमा अनेक प्रकारका क्षमताहरूको निरन्तर ‘संवाद’ भइरहेको हुन्छ ।
‘पढ्नु’ लाई अर्केस्ट्राको मधुर ‘सिम्फोनी’ सँग दाँज्न सकिन्छ । ‘सिम्फोनी’ मा कैयौं वाद्ययन्त्र एकसाथ बज्छन् तर त्यसबाट समग्रमा एउटा धुन निस्किरहेको हुन्छ ।

यो दृष्टान्तबाट तीन कुरा स्पष्ट हुन्छन् । एकः सिम्फोनी जस्तै पढ्नु पनि एउटा समग्र प्रक्रिया हो । अर्थात्, हामी पढ्ने प्रक्रियालाई स–साना कौशलहरूमा त बाँड्न सक्छौं तर कुनै एक वा केही प्रक्रियामा दक्षता हासिल गर्दैमा पढ्न जानिंदैन । तपाईं वर्णमालासँग सुपरिचित हुनुहन्छ र शब्दहरू ठीकसँग चिन्न पनि सक्नुहुन्छ होला तर यति मात्रैले भन्न खोजिएको कुरा बुझन सक्नुहुन्न । पढ्न त्यसवेला मात्र सम्भव हुन्छ, जब यससँग सम्बन्धित सबै कौशल एक–अर्कासँग संवाद गर्दै एकसाथ काम गर्छन् । हामी अनुमान गर्न सक्छौं— अर्केष्ट्रामा तानपुरा, सितार वा तबलाको सुर बिग्रियो अथवा कुनै एउटा वाद्य बजेन भने कस्तो होला ?

दुईः जसरी संगीतका लागि अभ्यास आवश्यक छ त्यसरी नै पढ्नका लागि पनि । जसरी संगीत सिक्नका लागि पूरै जिन्दगी लाग्छ, त्यसैगरी पढ्नका लागि पनि । तीनः सिम्फोनीको जस्तै कुनै पनि पठन–सामग्रीका कैयौं अर्थ हुन सक्छन् । कुनै कथा, कविता वा संवादको कसैले कुन अर्थ ग्रहण गर्छ भन्ने कुरा पढ्ने व्यक्तिको पृष्ठभूमि, पढ्नुको उद्देश्य र पढाइको सन्दर्भबाट निर्धारित हुन्छ ।

आखिर, पढ्ने प्रक्रिया हुन्छ चाहिं कस्तो ? प्रचलित अवधारणा के छ भने पढ्ने प्रक्रियामा शब्दको उच्चारणले अर्थ तर्फ लैजान्छ, शब्दका अर्थहरू मिलेर उपवाक्य र वाक्यका अर्थ बन्छन् अनि वाक्य–वाक्यका अर्थहरू जोडिएर समग्र संवाद-संकथनको अर्थ निर्माण हुन्छ । यस अवधारणा अन्तर्गत के मानिन्छ भने केटाकेटीले सबैभन्दा पहिले अक्षर चिनेर शब्द र त्यसपछि वाक्य चिन्छन् । यसरी उनीहरू ‘एउटा ईंटामाथि अर्को ईंटा राखे झैं’ गरी अर्थसम्म पुग्छन् ।

परन्तु, यता आएर अनुसन्धानले यो अवधारणा आंशिक रूपमा मात्रै सही हो भन्ने सिद्ध गरेको छ । अक्षर र शब्दको जानकारीसँगै ‘पढ्न’ का निम्ति पाठ्यवस्तुसँग सम्बन्धित व्यक्ति, स्थान र वस्तुहरूका बारेमा पनि ज्ञान वाञ्छनीय हुन्छ । यति मात्र नभएर पठन–सामग्रीको रचना र गठनका बारेमा पनि एक तहको बोध जरूरी हुन्छ ।  पठन–सामग्री भनेको टम्म अर्थ राखिएको भाँडो जस्तो हुँदैन । वस्तुतः त्यसमा आंशिक रूपमा मात्र केही अर्थ र जानकारी हुन्छ । त्यसलाई आफ्नो पूर्व–ज्ञानसँग जोडेर सामग्रीको वास्तविक तथा समग्र अर्थसम्म पुग्ने ध्येयले पाठकले त्यसको प्रयोग गर्छ ।

पढ्नु भनेको त्यस प्रक्रियाको नाम हो जसमा पठन–सामग्रीबाट प्राप्त हुने जानकारी र पाठकको पूर्व–ज्ञानका बीच निरन्तर संवाद चलिरहेको हुन्छ । यसलाई हामी एउटा उदाहरणको मदतबाट अझ् राम्ररी बुझन सक्छौंः

मीना रेस्टुराँमा पुगेपछि ढोकामा उभिएकी महिलाले उनलाई नमस्कार गरी अनि आफ्नो लिस्टमा हेरेर उनको नाममा चिन्ह लगाई । एकै छिनमा मीनालाई उनको टेबुलमा पु¥याइयो र त्यस दिनको मेनु देखाइयो । खानेकुरा पस्किने व्यक्ति बाउँठो–बाउँठो थियो र अलिकति असभ्य पनि । अन्त्यमा उनले पैसा तिरिन् र हिंडिन् ।

पाठकलाई पहिलो हरफमै लागि सक्छ– रेस्टुराँसँग सम्बन्धित आफ्नो पूर्व–ज्ञान यहाँ प्रासंगिक हुनेछ । अर्थात् ‘रेस्टुराँ’ पढ्नासाथ त्यससँग जोडिएको आफ्नो ज्ञान, अनुभव र रेस्टुराँसँग सम्बन्धित अन्तर–सम्बन्धहरू पाठकको मस्तिष्कमा सजग हुन पुग्छन् । त्यसपछि पढ्न निकै सजिलो हुन्छ । पूर्व–ज्ञानकै आधारमा केही अनुमान वा अपेक्षा बन्न पुग्छन् । जस्तैः ढोकामा उभिएकी महिला निश्चय नै परिचारिका होली, पाहुनाको स्वागत गर्ने । भित्र गएर मीना एउटा टेबुलमा बस्नु नै छ । खानेकुरा पस्किने व्यक्ति भनेको वेयरा नै हुनुपर्छ । अन्त्यमा पैसा तिरेर हिंड्ने व्यक्ति मीना नै होलिन् ।

यसप्रकार अनुमान गर्न या निश्चयमा पुग्न पठनसामग्रीमा दिइएको जानकारी र आफ्नो पूर्व–ज्ञान दुवैको प्रयोग आवश्यक हुन्छ । प्रवीण पाठकले यीबीच कुशलतापूर्वक सामञ्जस्य कायम गर्छ । तर कच्चा पाठकहरू या प्रायः अक्षर र शब्दहरूमा नै अल्झ्रिहेका हुन्छन् या त आफ्नो पूर्व–ज्ञानकै सेरोफेरोमा ।

कतिपय केटाकेटी बडो उदासीन मनका साथ परिश्रमपूर्वक हिज्जे जोड्दै पढ्ने प्रयास गर्छन् (जस्तै म–ी–मी, न–ा–ना, मीना आदि) । उनीहरू शब्दको ‘सही’ उच्चारणमा यतिविघ्न डुब्न पुग्छन्, अर्थ र त्यसका विभिन्न पक्षतर्फ तिनको ध्यान नै हुँदैन । यस्ता केटाकेटीले छिटछिटो पढ्न खोज्दा अनौठा गल्ती गर्छन्, जस्तैः ‘…कोठामा उभिएकी माइलाले उसलाई नमस्ते भनी अनि आफू भित्तामा हेरेर उसको नाकमा चित्र लगाई ।’ तिनले पाठ्य–सामग्री पढ्न आफ्नो पूर्व–ज्ञानको प्रयोग पनि प्रायः गर्न सक्तैनन् ।

अर्का खालका, अपरिपक्व पाठकहरू चाहिं आफ्नो पूर्व–ज्ञानकै सेरोफेरोमा अत्यधिक निर्भर हुन्छन् । यस्ता केटाकेटीले चित्र, शीर्षक, कल्पना र पठन–सामग्रीमा रहेको छिटपुट जानकारीका आधारमा यस्तो ‘कथा’ बनाइदिन्छन्, जो ठीकै जस्तो लाग्छ । जस्तैः ‘अनि नि, मीना एउटा मिठाई पसलमा पुगिन् । उनले नि, ढोकैमा आफ्नो साथीलाई भेटिन् र नमस्ते गरिन् । अनि कुर्सीमा बसिन् कि, त्यसपछि त मजासँग मिठाई खाइन् नि ।’ यस्ता (दुवै खाले) बालबालिकामा त्यो क्षमता नै विकसित भइसकेको हुँदैन, जसबाट शब्द र वाक्यको पहिचान गर्न सकियोस् र पूरै पाठको अर्थ बुझन सकियोस् ।

अनुसन्धानका पाँच निष्कर्ष
पछिल्लो दशकमा भएको अनुसन्धानका आधारमा, पढाइको प्रक्रियाबारे पाँच निष्कर्ष निकाल्न सकिन्छ ।

पहिलोः ‘पढ्नु’ रचनात्मक गतिविधि हो ।
कुनै पनि पाठ्यसामग्रीले आफ्नो सबै कुरा स्वयम् बुझइदिंदैन । अर्थात्, त्यसले भन्न खोजेको सबै कुरा त्यसमा निहित हुँदैन । कुनै पनि पाठ्यसामग्री बुझन पाठकले त्यस विषयसँग सम्बन्धित आफ्नो पूर्व–ज्ञानको उपयोग गर्छ; गर्नु पर्छ । पाठ्यसामग्रीमा निहित सन्देशका अपूर्तिहरूलाई पूर्ति गर्न र त्यसमा दिइएका नयाँ जानकारीहरूलाई व्यवस्थित गर्न पूर्व–ज्ञानको उपयोग गरिन्छ । अर्थात्, पाठक स्वयम्ले अर्थको ‘निर्माण’ गर्छ । रेस्टुराँवाला उदाहरणमा पाठकले स्वयम् बुझछः मीना टेबुलमा होइन, टेबुलसँगैको कुर्सीमा बसिन् होला; उसले मेनुबाट खानेकुरा छानेर अर्डर गरिन् होला र उनलाई खानेकुरा ल्याएर दिने व्यक्ति त्यहाँको वेयरा थियो होला । यी कुरा उक्त पाठ्यसामग्रीमा भनिएको छैन । यी जानकारीको संयोजन पाठकले स्वयम् गर्छ ।

पूर्व–ज्ञान व्यक्तिपिच्छे फरक हुने भएकाले पाठकहरूले गर्ने अर्थ–निर्माणमा प्रशस्त विविधता हुन्छ । कतिपय पाठकमा पाठ्य–सामग्रीलाई बुझन आवश्यक परिमाणको पूर्व–ज्ञान नै हुँदैन भने कतिपयले चाहिं आफ्नो पूर्व–ज्ञानको उचित उपयोग गर्दैनन् । कुरा बुझइमा फरक प्रायः किन पर्छ भने विषयका बारेमा लेखक र पाठकका अवधारणा नै फरक हुन्छन् ।

हुन सक्छ, कुनै विषयका बारेमा केही केटाकेटीलाई कुनै जानकारी नहोस्, केहीलाई धेरथोर जानकारी होस् अनि केहीलाई प्रशस्त जानकारी होस् । पूर्व–ज्ञानको यस अन्तरले सम्बन्धित पाठ्यसामग्रीको बुझइमा पर्याप्त अन्तर सिर्जना गर्छ । उदाहरणका लागि, अनुसन्धानका क्रममा, दोस्रो कक्षाका विद्यार्थीहरूलाई—जसको पढ्ने क्षमता समान थियो— माकुराका बारेमा एउटा पाठ पढाउनुभन्दा अघि उनीहरूको पूर्व–ज्ञान जाँच्न एउटा ‘टेस्ट’ लिइयो । त्यसपछि उक्त पाठ पढाइयो र पाठ्यसामग्रीमा आधारित केही प्रश्न सोधियो । जसलाई माकुराका बारेमा पहिलेदेखि नै थाहा थियो, उनीहरूले दिएको उत्तर अरूको भन्दा राम्रो थियो । खास गरी त्यस्ता प्रश्नको उत्तर, जसमा तार्किक क्षमता चाहिन्थ्यो, त निकै नै राम्रो थियो ।

अनुसन्धानबाट के देखिएको छ भने केटाकेटीहरू प्रायः आफ्नो पूर्व–ज्ञानको उपयोग गर्न सक्तैनन्, खास गरी विद्यालयमा पढाइने कुराहरूका सन्दर्भमा । उनीहरूसँग केही उपयुक्त जानकारी हुन सक्छ तर पाठ्य–सामग्री बुझन त्यसको प्रयोग गर्न सक्तैनन् । केटाकेटीले आफ्नो पूर्व–ज्ञानको प्रयोग नयाँ परिस्थितिहरूमा गरून् वा गर्न सक्नुपर्छ भन्ने मान्यताले यहाँनेर हावा खान्छ । अलिक गहिरिएर हेर्ने हो भने थाहा पाइन्छ— उनीहरूले पाठ्यसामग्री बिल्कुलै बुझन सकेका रहेनछन् ।

दोस्रो निष्कर्षः ‘पढ्नु’ वास्तवमै धाराप्रवाह हुनुपर्छ ।
धाराप्रवाह पढ्नुको पहिलो आधार हो— शब्दहरूको पहिचान । वर्णमालामा आधारित भाषामा हिज्जे र शब्दबीच लगभग सुनिश्चित सम्बन्ध हुन्छ । पढ्न सिक्ने हरेक व्यक्तिले त्यो ‘कोड’ लाई आत्मसात् गर्नुपर्छ जसबाट हिज्जे, शब्द र तिनको अर्थका बीच सम्बन्ध स्थापित हुन सकोस् । अनुसन्धानबाट के सिद्ध भइसकेको छ भने केटाकेटीलाई पढ्न सिकाउन तपाईं शुरूमा के–कस्ता तरीका उपयोग गर्नुहुन्छ भन्ने कुराले केही फरक पर्दैन । कुरा बुझेर पढ्ने कौशलमा तिनै केटाकेटी अगाडि पुग्छन् जसले पहिलो कक्षामै शब्दहरूलाई सही किसिमले र तीव्रताका साथ चिन्न–जान्न थालेका हुन्छन् ।

कुनै शब्दलाई ‘डिकोड’ गर्नु अर्थात् त्यसको उच्चारण र अर्थ पहिचान गर्नु भनेको हिज्जे पहिचान गर्नुभन्दा निकै फरक कुरा हो । उन्नाइसौं शताब्दीदेखि नै हामीले थाहा पाइसकेका छौं— ससाना, परिचित शब्द त्यत्तिकै तीव्र गतिमा पढ्न सकिन्छन् जति तीव्र गतिमा वर्णमालाका अक्षर । कतिपय अवस्थामा त हिज्जेमा ध्यान नपुगे पनि शब्दको पहिचान भइरहेको हुन्छ । यदि, शब्द चिन्नका निम्ति हिज्जेको विश्लेषण आवश्यक शर्त हुँदो हो त यस्तो हुन सम्भव थिएन । के पनि सिद्ध भइसकेको छ भने, सार्थक सन्दर्भले शब्द र तिनको अर्थ-तात्पर्य पहिचान गर्न प्रशस्त मदत गर्छ । उदाहरणका लागि, ‘डाक्टर’ शब्द नजिकै, कतै छ भने ‘नर्स’ शब्दको पहिचान सहजै हुन्छ ।

पढ्ने प्रक्रिया अन्तर्गत, कुनै पनि शब्दको एउटा सम्भावित व्याख्या हाम्रो दिमागमा त्यसै वेला निर्माण हुन थालिसक्छ जुनवेला हाम्रो आँखा त्यस शब्दमा पर्छ र त्यसका बारेमा केही सूचना दिमागसम्म पुग्छ । हिज्जेमा गुम्फित अवशिष्ट जानकारीबाट यो व्याख्या थप पुष्ट हुन्छ । सन्दर्भबाट पर्याप्त जानकारी हासिल भएपछि उक्त सम्भावित व्याख्याले निश्चित रूपाकार ग्रहण गर्छ । यो सम्पूर्ण प्रक्रिया एउटा कुशल पाठकका निम्ति अत्यन्त तीव्र गतिमा घटित भइसक्छ, २५० मिलि–सेकेन्ड (एक सेकेन्डको चार खण्डको एक खण्ड) वा त्यसभन्दा पनि कम समयमा ।

शब्दहरूलाई तीव्र गतिले ‘डिकोड’ गर्ने क्षमता पाठकमा भएपछि मात्र उसले कुनै पनि पाठ्यसामग्रीको अर्थ निर्माणको प्रक्रियासँग तालमेल मिलाउन सक्छ । भर्खरै भनिए झैं, यदाकदा हिज्जेमा ध्यान नपुगे पनि उसले शब्दको तीव्रतासाथ र सही रूपमा पहिचान गर्छ र सही अर्थ निर्माण गर्छ । यस्तो स्थितिमा, कुशल पाठक र सामान्य पाठकबीच फरक सिर्जना गर्ने कुरा तीव्र गति हो, हिज्जेको पकड होइन । सामान्य पाठक हिज्जे र त्यसको उच्चारणको तरीकामै बढी अल्झ्रिहेको हुन्छ भने कुशल पाठक त्यसभन्दा माथि उठेर अर्थ निर्माणको स्वचालित प्रक्रियामा पुगिसकेको हुन्छ ।

त्यसैले, कुशल पाठक बन्नका निम्ति ‘डिकोडिङ’ को कुशलता त्यो स्तरसम्म विकसित गर्नु आवश्यक हुन्छ जहाँ यो प्रक्रिया स्वचालित हुन पुगोस् । त्यसबारे चेतन स्तरमा ध्यान दिइरहनुपर्ने कुनै आवश्यकता नरहोस् । पाठकको ध्यान पाठ्य–सामग्रीको अर्थमा केन्द्रित हुनुपर्छ, वाक्यका एक–एक शब्दको अर्थ के हो वा के हुनुपर्छ भन्नेमा होइन । सामान्य पाठक निम्न तहको ‘डिकोडिङ’ मै अल्झ्रिहने भएकाले पाठ्य–सामग्रीको अर्थ निर्माण गर्न प्रायः असफल हुन्छ भने कुशल पाठक त्यस्ता कुरामा अल्झ्रिहँदैन ।

उदाहरणका लागि रेस्टुराँवाला उक्त अनुच्छेदलाई नै लिऊँ । ‘रेस्टुराँ’ आफैंमा कठिन शब्द हो । रेस्…टु…रेस्टु…राँ… रेस्टुराँ भन्दै पढ्ने केटाकेटीलाई पूरै वाक्य पढिसक्न धेरै मिहिनेत र समय लाग्छ । आधा वाक्य सकेर अगाडि बढ्दा शुरूका कुरा धमिला हुन थाल्छन्; पूरै वाक्य पढिसक्ता शुरूको कुरा उसको दिमागबाट उडिसकेको हुन्छ । उसले समग्र वाक्यको समग्र अर्थ निर्माण गर्न सक्तैन ।

उपलब्ध तथ्यांक अनुसार, ९–१० वर्षको औसत कुशल पाठकले कुनै नयाँ कथा लगभग १०० शब्द प्रतिमिनेटको गतिमा मात्र पढ्न सक्छ । तर, त्यही उमेरको सामान्य पाठकले भने ५०–६० शब्द प्रतिमिनेटको गतिमा मात्र पढ्न सक्छ । कतिपय विद्वानहरूका अनुसार, यो गति कति ‘मन्द’ हो भने यसबाट सजिलो सामग्री पनि पढेर बुझन असहज हुन्छ । यति मात्र नभएर ‘बुझने’ नयाँ क्षमता विकसित हुन सक्ने कुनै मौका पनि यस गतिले उपलब्ध हुन दिंदैन ।

तेस्रो निष्कर्षः ‘पढ्नु’ मुख्य रूपमा युक्तियुक्त हुनुपर्छ ।
कुशल पाठकमा सधैं लचिलोपन विद्यमान हुन्छ । कुनै पनि पाठ्यसामग्री पढ्नुअघि त्यो कति जटिल छ, त्यसको विषयवस्तुसँग ऊ कति परिचित छ अनि त्यसलाई पढ्नुको उद्देश्य के हो भन्नेबारे कुशल पाठक स्पष्ट-सावधान हुन्छ । त्यसै अनुसार उसको पढाइको तरीका पनि निर्धारित हुन्छ । सामान्य वा अपरिपक्व पाठकहरू भने पाठ्यसामग्रीसँग सम्बन्धित आफ्नो पूर्व–ज्ञानबारे स्वयम् बेखबर हुन्छन् । यसका साथै उनीहरू पढ्ने प्रक्रियालाई नियन्त्रित गर्न सक्तैनन्, जसका कारण बुझने प्रक्रिया असफल भएको खण्डमा प्रयोग गर्न सकिने युक्तिहरूको प्रयोग पनि हुन सक्तैन ।

कुशल पाठकलाई पढ्नुका फरक–फरक उद्देश्य हुन्छन् भन्ने थाहा हुन्छ । त्यसै अनुरुप उसले पढ्ने तरीका परिवर्तन गर्छ । उदाहरणका लागि, रमाइलोका निम्ति पढ्दा विषयवस्तुलाई गहिरोसँग बुझ्रिहनु शायद जरूरी नहोला, तर परीक्षाका निम्ति त राम्ररी–गहिरोसँग बुझेरै पढ्नुपर्छ भन्ने उसको सोचाइ हुन्छ । एउटा अनुसन्धानमा तेस्रो र छैटौं कक्षाका विद्यार्थीहरूलाई दुई–दुई वटा कथा पढ्न दिइयो— एउटा केवल मनोरंजनका लागि र अर्को चाहिं परीक्षाका लागि । कुशल पाठकहरूले आफ्नो पढ्ने तरीकामा उचित परिवर्तन गरे, सामान्य पाठकहरूले गरेनन् । परिणामतः सामान्य पाठकहरूले दुईमध्ये एउटै कथा पनि राम्ररी बुझन सकेनन् न त कुनै कथा याद नै राख्न सके ।

‘पढ्नु’को उद्देश्य राम्ररी नबुझेकै कारण सामान्य पाठक प्रायः पढाइको प्रक्रियालाई नियन्त्रित गर्न सक्तैनन् । यसका विविध पक्ष हुन सक्छन् । नियन्त्रणको एउटा पक्ष हो— पढ्ने क्रममा कुन वेला कस्तो अमिल्दो वा अप्ठ्यारो कुरा देखा प¥यो भन्ने बुझन सक्नु । यसको जाँच गर्नका लागि अनुसन्धानकर्ताहरूले पाठकलाई पाठ्य–सामग्रीमा त्यस्ता कुरा पत्ता लगाउन भने, जो अमिल्दा थिए । उदाहरणका लागि निम्नलिखित दुई अनुच्छेद हेर्नुहोस्ः
क. यस कार्यालयमा काम गर्ने सबै मानिसहरूबीच आपसमा पर्याप्त मेलजोल छ । जोसँग प्रशस्त पैसा छ र जोसँग एकदमै कम पैसा छ— उनीहरू पनि घनिष्ठ साथी बनेका छन् । हाकिमहरूले मलाई बराबरीको व्यवहार गर्छन् । हामी सबै प्रायः सँगसँगै खाजा खान्छौं । मलाई कस्तो लाग्छ भने कार्यालयका सबै कर्मचारी एउटै परिवारका सदस्य हौं ।

. यस कार्यालयमा काम गर्ने सबै मानिसहरूबीच आपसमा पर्याप्त मेलजोल छ । जोसँग प्रशस्त पैसा छ र जोसँग एकदमै कम पैसा छ— उनीहरू पनि घनिष्ठ साथी बनेका छन् । हाकिमहरूले मलाई सधैं अनादर गर्छन् । हामी सबै प्रायः सँगसँगै खाना खान्छौं मलाई कस्तो लाग्छ भने कार्यालयका सबै कर्मचारी एउटै परिवारका सदस्य हौं ।
कुशल पाठकले अनुच्छेद ‘ख’ मा रहेको अमिल्दो कुरा (तेस्रो वाक्य) सहजै पत्ता लगाइहाल्छ । तर, सामान्य वा अपरिपक्व पाठकले चाहिं अनुच्छेद ‘ख’ पनि ठीकै छ भन्छ ।

पढाइको प्रक्रियामा नियन्त्रणको अर्को पक्ष हो— पढ्ने क्रममा कुनै कुरा बुझ्एिन वा कठिनाइ आयो भने त्यसको सामना गर्ने उपाय तत्काल खोजिहाल्नु । कुशल पाठकले यस्तो अवस्थामा विभिन्न उपाय अपनाउने गर्छन् । एउटा उपाय हो— कुनै शब्दको अर्थ बुझ्एिन भने, अलिक बेरपछि आफैं बुझ्एिला भन्ने आशामा अगाडि पढ्दै जानु । अर्को उपाय हुन सक्छ— नबुझ्एिको वाक्य÷परिच्छेद बारम्बार पढ्नु अथवा बाह्य स्रोतहरूबाट मदत लिनु । एउटा अनुसन्धानका क्रममा दोस्रो र छैटौं कक्षाका विद्यार्थीहरूलाई सोधिएको थियो— ‘पढ्दै जाँदा कुनै कुरा बुझ्एिन भने त्यसलाई बुझन तिमी के गर्छौ ?’ कुशल पाठकहरूले भनेका थिए— आफूभन्दा जान्ने व्यक्तिलाई सोध्छौं अथवा शब्दकोशमा हेर्छौं । यसो भन्नेहरू अधिकांश माथ्लो कक्षाका थिए । सामान्य वा अपरिपक्व पाठकहरूले भने त्यसवेला के गर्ने भनेर खास केही बताउन सकेनन् । यो कुरा विद्यार्थीहरूको अवलोकनबाट अरू पुष्ट भएको छ । अनुसन्धानकै सिलसिलामा चौथो कक्षाका विद्यार्थीहरूलाई एउटा कथा पढ्न दिइयो, जसमा केही कठिन शब्द थिए । अपेक्षा अनुसार नै, कुशल पाठकहरूले बुझेको शब्द कापीमा टिपे, शब्दकोशको सहयोग लिए अथवा त्यसबारे शिक्षकलाई सोधे । सामान्य पाठकहरूले भने यस्तो गरेनन् ।

कुशल पाठकसँग पढ्ने युक्तिहरूको विशाल भण्डार हुन्छ । उसले आफ्नो पढ्ने प्रक्रियालाई नियन्त्रित गरेको हुन्छ र बुझइका क्रममा आइपर्ने अवरोधहरूलाई हटाउन कुनै न कुनै युक्ति प्रयोग गरिहाल्छ ।

चौथो निष्कर्षः पढ्नका निम्ति प्रेरणा आवश्यक हुन्छ ।
प्रेरणा अर्थात् पढ्ने गहिरो इच्छा पढ्न सिक्नुको प्रवेशद्वार हो । पढ्नु स्वयंमा आनन्ददायक कार्य हो । कुशल पाठकका निम्ति मात्र होइन, धेरै हदसम्म ती केटाकेटीका लागि पनि— जो औसत अथवा त्यसभन्दा तल्लो तहमा पर्छन् । यो ‘आनन्द’ कै कारण उनीहरू पुस्तकमा डुब्न पुग्छन् । पढ्न सिकाउने प्रक्रियाको उद्देश्य बढीभन्दा बढी केटाकेटी कुशल पाठक बनून् भन्ने हुनुपर्छ । साथै यसको ध्येय आनन्दका लागि मात्र नयाँ– नयाँ पुस्तक पढ्ने बालबालिकाको संख्या बढोस् भन्ने पनि हुनुपर्छ । यसका निम्ति उनीहरूले मन पराउने पुस्तक सजिलै पाउन सक्ने व्यवस्था हुनुपर्छ ।

केटाकेटीलाई पढ्न सिकाउने प्रक्रिया प्रायः विरक्तलाग्दो र नीरस हुन्छ । पढाइका नाममा तिनलाई गर्न लगाइने गतिविधि अरुचिकर हुन्छ । एउटा अनुसन्धानमा उनीहरूलाई एक कक्षा माथिका पुस्तक पढ्न दिइएको थियो । त्यस क्रममा उनीहरूले भनेका थिए— पढ्न त मजा आइरहेको छ तर पाठका अन्त्यमा दिइएका अभ्यास-गतिविधि गर्न बिल्कुलै मन लाग्दैन । यसमा अनौठो मान्नुपर्ने कुरै छैन । केटाकेटीमा प्रेरणाको उच्च स्तर कायम राख्ने शिक्षकहरू निकै तीव्र गतिमा विविध पाठ पढाउने गर्छन् । अभ्यास-गतिविधिहरू उत्साहका साथ शुरू गराउँछन् र त्यसो गर्दा उनीहरूलाई के फाइदा हुन्छ भन्ने कुरा राम्ररी बुझउँछन् । यस्ता शिक्षकहरूको कक्षामा प्रशस्त काम हुन्छ र विद्यार्थी तथा शिक्षकका बीचमा पर्याप्त स्नेह तथा विश्वास हुन्छ । यसरी पढाइएका केटाकेटीले पढाइको मूल्यांकनमा औसतभन्दा माथि अंक ल्याउँछन् ।

अपरिपक्व पाठकहरू ‘पढाइ’ प्रति नकारात्मक हुन पुग्नु स्वाभाविक हो । उनीहरू यताउता पल्याकपुलुक हेरिरहन्छन्, पढाइमा ध्यान दिंदैनन्, कक्षाको प्रक्रियामा जानीबुझी बाधा खडा गर्छन्, आफूले गर्नुपर्ने काम गर्दैनन् । कुनै अभ्यास वा गतिविधि गर्नुपर्दा झ्ट्टै हातखुट्टा छोडिदिन्छन् । पाठ्यांश वाचन गर्न लगाउँदा वा परीक्षा दिनुपर्ने भएमा असाध्यै चिन्तित हुन्छन् । संक्षेपमा भन्दा, उनीहरू आफूलाई असहाय महसूस गर्छन् । तिनलाई लाग्छ— म केही पनि राम्रो गर्न सक्तिनँ ।

यस असहायपनको केही न केही सम्बन्ध शिक्षकको व्यवहारसँग गाँसिएको हुन्छ । असल शिक्षकले आफ्नो व्यवहार, कार्यशैली र कुराकानीको तरीकाबाट विद्यार्थीको मनमा के विश्वास जगाइदिन्छ भने— ध्यान दिने र मिहिनेत गर्ने हो भने हरेक छात्र राम्ररी ‘पढ्न’ जान्ने हुन सक्छ । यस्तो शिक्षकले पढ्नका निम्ति विद्यार्थीलाई त्यस्तो सामग्री दिन्छ जसलाई पढ्दा उनीहरूलाई ‘म राम्ररी पढ्न सक्तो रहेछु’ भन्ने अनुभूति हुन्छ । बुझ् न सुझ् हरेक विद्यार्थीको प्रशंसा गर्ने काम यस्तो शिक्षकले गर्दैन । त्यही विद्यार्थी उसको प्रशंसाको पात्र बन्छ, जसले यस्तो काम गरेर देखाएको होस्— जो उसका निम्ति साँच्चिकै मुश्किल थियो । उसले गर्ने प्रशंसा अमूर्त हुँदैन, विद्यार्थीले कुन विशेष समस्या कसरी सुल्झयो र पढ्ने प्रक्रियामा कस्तो कौशल, प्रयास र सफलता प्रदर्शन ग¥यो, त्यसको स्पष्ट उल्लेख हुन्छ । यसले भविष्यमा अझ् ‘सफल’ बन्न विद्यार्थी उत्प्रेरित हुन्छ ।

यति हुँदाहुँदै पनि, हामीले के बिर्सन हुँदैन भने ‘पढाइ’ मा असफलताको एक मात्र कारण प्रेरणाको अभाव नै चाहिं होइन । अनुभवबाट थाहा हुन्छ, केही प्रतिशत केटाकेटीले अत्यन्त अनुकूल परिस्थितिमा पनि ठीकसँग सिक्न सक्नेवाला छैनन्, तिनका समस्या थपिंदै जानेछन् । यसबारे हामी यहाँ विस्तारपूर्वक चर्चा गर्दैनौं, के मात्र स्मरण गराउन चाहन्छौं भने ‘प्रेरणा’का उपायहरू नै यो समस्या घटाउन पनि निकै उपयोगी हुन सक्छन् ।

पाँचौं निष्कर्षः ‘पढ्नु’ निरन्तर विकसित भइरहने कौशल हो ।
संगीत झैं ‘पढ्नु’ पनि त्यस्तो कला होइन जसमा एकै पटकमा प्रवीणता हासिल गर्न सकियोस् । यो यस्तो कौशल हो, जो अभ्यास सँगसँगै निरन्तर परिष्कृत हुँदै जान्छ । यो प्रक्रिया त्यहीवेला शुरू भइसक्छ जब कुनै व्यक्ति पढ्ने–लेख्ने संस्कृति वा कुनै पाठ्यसामग्रीका सामु पहिलोपल्ट ‘उपस्थित’ हुन पुग्छ । सधैं पालन गर्नुपर्ने पहिलो नियम भनेको ‘पढाइ’ लाई समग्र प्रक्रियाका साथ शुरू गर्नु नै हो । पाठ्यसामग्रीमा निहित अर्थ र सन्देशलाई ग्रहण गर्न नै ‘पढ्नु’ पर्छ ।

स्पष्ट छ, ‘पढ्न’ सिक्न शुरू गर्ने बालकका सामु यस मान्यताले ठूलो समस्या खडा गरिदिन्छ । ‘पढ्न’ सिक्नुभन्दा पहिले नै उसले पढ्न थाल्नु कसरी सम्भव छ ? र, यस्तो नभई ‘पाठ्यसामग्रीमा निहित अर्थ र सन्देश’लाई ग्रहण गर्न सक्ने क्षमता उसले कसरी आर्जन गर्न सक्छ ?

समस्या न्यूनीकरण गर्न विविध-नयाँ–नयाँ युक्तिहरू प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ । एउटा स्वाभाविक युक्ति के हो भने केटाकेटीलाई त्यस्ता कथा सुनाइयोस् (र पढ्न शुरू गराइयोस्) जोसँग उनीहरू पहिलेदेखि नै परिचित छन् र जो उनीहरूलाई लगभग कण्ठस्थ भइसकेका छन् । अर्को युक्ति हो— कथाको शब्दावली सीमित होस्; केटाकेटीले नजानेका शब्द त्यसमा नपरून् । यस क्रममा, अक्षर र ध्वनिका बीच रहेको सम्बन्धका बारेमा उनीहरूको ध्यानाकर्षण गर्न सक्दा पनि फाइदा हुन सक्छ ।

अन्य जटिल कौशलहरूमा जस्तै, ‘पढ्न’ सिकाउने प्रक्रियामा पनि यसका निम्ति आवश्यक सबै पक्ष, अंग, विमर्श, कोचिङ, अभ्यास आदिमा जोड दिइन्छ । तर, यी समग्र क्रिया र प्रक्रियाको मूल्यांकन त केटाकेटीमा कुरा बुझेर पढ्ने क्षमता कति विकसित भयो भन्ने कुराले नै हुने हो । त्यसैले, पढ्ने प्रक्रिया अन्तर्गतका ससाना कौशलमा प्रवीणता हासिल गर्नु–गराउनुलाई ‘पढ्न’ सिकाउनुको उद्देश्य मान्न सकिंदैन । यो त वास्तविक उद्देश्य प्राप्त गर्ने एउटा मार्ग मात्र हुन सक्छ । सबै ससाना कौशलमा दक्षता र सन्तुलन कायम गर्दै समग्रमा ‘कुरा बुझेर पढ्न सक्ने हुनु’ नै यसको वास्तविक उद्देश्य हो । किनभने, ‘पढ्नु’ भनेको यही हो ।

संक्षेपमा
पढ्नु रचनात्मक गतिविधि हो । कुशल पाठक बन्नका निम्ति जीवन–जगतका कुरा र विषयवस्तु–विशेषको ज्ञानमा आधारित पूर्व–ज्ञान आवश्यक हुन्छ जसका आधारमा पाठ्यसामग्रीसँग तार्किक संवाद स्थापित हुन सकोस् ।
पढ्नु वास्तवमै धाराप्रवाह हुनुपर्छ । कुशल पाठक हुनुको अर्थ हो— पढ्न चाहिने सबै खाले कौशलमा पूर्ण अधिकार । पढाइको प्रक्रिया स्वचालित रूपमा यसरी अघि बढ्नुपर्छ— पाठकको सम्पूर्ण ध्यान अर्थमा केन्द्रित हुन सकोस् ।

पढ्नु मुख्य रूपमा युक्तियुक्त हुनुपर्छ । कुशल पाठक बन्नका लागि पढ्नुको उद्देश्य, पाठ्यसामग्रीको प्रकृति र बुझइको प्रक्रियामा पूर्ण नियन्त्रण कायम हुनु जरूरी छ ।
पढ्नका निम्ति प्रेरणा आवश्यक हुन्छ । कुशल पाठक हुनुको अर्थ हो— पढाइमा लामो समयसम्म ध्यान केन्द्रित राख्न सक्नु अनि पाठ्यसामग्री रुचिकर तथा ज्ञानदायक हुन सक्छ भन्ने मान्नु ।

पढ्नु निरन्तर विकसित भइरहने कौशल हो । कुशल पाठक हुनुको मतलब हो— निरन्तर अभ्यास गरिराख्नु अनि पढ्ने कौशलमा निरन्तर विकास तथा सुधार भइरहनु ।

लेखकहरूद्वारा तयार पारिएको पुस्तक ‘बिकमिङ अ नेशन अफ रीडर्सः द रिपोर्ट अफ द कमिशन अफ रीडिङ’ बाट लिइएको तथा ‘शैक्षणिक सन्दर्भ’ मूल अंक–८६ मा प्रकाशित सामग्रीमा आधारित ।
भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/