पढाइ भए सिकाइ सुध्रिन्छ

by • • 2072_04, आवरण, रिपोर्ट, विविध, स्थलगतComments (0)2229

Print Friendly, PDF & Email

बाबुराम विश्वकर्मा

Baburam BK

विद्यालय तहको सिकाइ उपलब्धिका दृष्टिबाट महोत्तरी र धनुषाका दुइटा स्कूलको आकस्मिक ‘केस स्टडी’ गर्दा दुइटा तथ्य प्रकट भएका छन् । पहिलो तथ्य हो : जुन स्कूल नियमित खुल्दैन, पढाइ हुँदैन, शिक्षक कक्षामा जाँदैनन्, छात्रछात्रा टिफिनअघि नै स्कूलबाट बाहिरिन्छन्; त्यो स्कूलको सिकाइ उपलब्धिको ग्राफ असाध्यै तल पुगेको छ । दोस्रो तथ्य हो : जुन स्कूलमा पढाइ हुन्छ, पूरा समय स्कूल खुल्छ, शिक्षकहरू कक्षामा गएर पढाउँछन् र छात्रछात्रा सिकाइ क्रियाकलापमा सक्रिय हुन्छन्; त्यो स्कूलको सिकाइको उपलब्धिको ग्राफ उच्च विन्दुमा पुगेको छ । धनुषाको गिद्धा बेलापट्टीको जउमावि नियमित पठनपाठनका कारण सिकाइ उपलब्धि सुधार गर्न सफल भएको छ भने महोत्तरीको रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमावि सामान्य पठनपाठन नै नभएर बरबाद बनेको छ । विगतमा पढाइ नभएकाले बिग्रिएको जउमावि पढाइ हुन थालेपछि सुध्रिएको छ भने विगतमा नियमित पठनपाठनले राम्रो बनेको राष्ट्रिय उमावि अहिले न्यूनतम पढाइ नभएकाले ध्वस्त भएको छ ।

त्यसैले पठनपाठन बाहेक सिकाइ सुधारको अर्को कुनै बाटो छैन । अरू जे गरे पनि स्कूलमा नियमित पठनपाठन नगर्ने हो भने सिकाइ उपलब्धि लज्जाजनक हुन धेरै समय लाग्दैन । किनभने शिक्षाको समग्र प्रक्रियाको अन्तिम परिणाम नै सिकाइ उपलब्धि हो । सिक्नुपर्ने उमेरका बालबालिकाले आज सिक्नुपर्ने कुरा सिकेनन् भने तिनले त्यो कहिल्यै सिक्ने अवसर पाउँदैनन् । त्यसैले समग्र कक्षाको पठनपाठनलाई उत्तिकै प्राथमिकता दिएर सिकाइ उपलब्धि बढाउने बाटोमा स्कूलहरू लाग्न ढिलो भइसकेको छ, तर समय अझ् सकिएको छैन ।

१. नपढाउँदा बिग्रेको स्कूल
महोत्तरीको रामगोपालपुरस्थित महेन्द्र राष्ट्रिय उमावि कुनै बेला जिल्लामा गतिलो स्कूलका रूपमा गनिन्थ्यो । तीन बिघा जमीनमा ठडिएका यस स्कूलका भवन बाहिरबाट हेर्दा जति भव्य देखिन्छन्, भित्र प्रवेश गरेपछि त्यति नै बैरागलाग्दा लाग्छन् । यो स्कूलमा पर्याप्त संख्यामा शिक्षक र छात्रछात्रा छन् । भवन, कक्षाकोठा, खेलमैदान लगायत आधारभूत शैक्षिक सामग्री कमी छैन । कक्षा १–१२ सम्म १८ सयभन्दा बढी बालबालिका भर्ना भएको दाबी गरिन्छ । थरी थरीका गरी २० जना शिक्षकको व्यवस्था छ । तर, पनि स्कूलमा हुनुपर्ने मुख्य काम पठनपाठन भने छैन । शिक्षण सिकाइ र शैक्षिक क्रियाकलाप खस्कँदै जाँदा स्कूलको प्रतिफल लभगभ शून्यमा झ्रेको छ ।IMG_7067

यो उमाविबाट यसपालिको एसएलसीमा २४८ जना छात्रछात्रा सहभागी थिए । तीमध्ये २१ जना (९ प्रतिशत) मात्र उत्तीर्ण भए । एसएलसीको राष्ट्रिय नतीजा ४७.४३ प्रतिशत छ । वार्षिक रु. १ करोड बजेट भएको स्कूलको यो नतीजा सम्मानजनक होइन । तल्ला कक्षाको सिकाइ उपलब्धि पनि योभन्दा बढी छैन; झ्न् बरबाद छ । किनभने सबैको चासो हुने एसएलसीको त यो हबिगत छ भने सबैभन्दा उपेक्षित तल्लो तहको सिकाइ उपलब्धि राम्रो हुन झ्नै कठिन हुन्छ ।

महेन्द्र राष्ट्रिय उमाविको शैक्षिक स्तर खस्किनुको कारण खोज्न यो संवाददाता १७ असार २०७२ बिहानै सो स्कूल पुग्यो । तराईमा गर्मीयामको स्कूल समय बिहान ६:३० देखि ११:३० निर्धारित गरिन्छ । तर, बिहान ७:३० सम्म पनि सो स्कूलमा पठनपाठनको सुरसार थिएन । केही शिक्षक स्कूल बाहिर खैनी माड्दै थिए भने केही कार्यालयमा गफिँदै ।

शिक्षकहरूसँग विद्यालयको सिकाइ कमजोर हुनुका कारणबारे जिज्ञासा राख्ता प्रायःले भौतिक सुविधाको अभाव, स्थानीय राजनीतिक खिचातानी आदिले प्रभाव पारेको बताए भने केहीले तल्लो कक्षाको सिकाइ कमजोर भएकाले समग्र स्कूलको सिकाइ उपलब्धि खस्केको भने । कुनै पनि शिक्षकले ‘नपढाएका कारण शैक्षिक नतीजा बिग्रिएको’ बताएनन् । प्रअ धीरेन्द्रकुमार मण्डलले भने, “यो स्कूलमा पढाइ नभएको सत्य हो । तर, कुनै पनि शिक्षक साथीहरू आफ्नो कमजोरी स्वीकार गर्न तयार हुनु हुन्न ।”

विद्यालयको पठनपाठनबारे सो विद्यालयका छात्रछात्रासँग जिज्ञासा राख्ता शिक्षक–प्रअको भन्दा फरक जवाफ आयो । कक्षा १० का छात्रछात्राले एकै स्वरमा भने, “हामी पढ्नका लागि स्कूल आउँछौँ । तर, हाम्रो स्कूलमा पढाइ नै हुँदैन । सरहरूलाई हामी ‘पढाइ दिनुस्’ भन्छौँ । तर, पढाइ नै हुँदैन ।” केही छात्रछात्राले त ‘शिक्षकहरूलाई कक्षामा जान आग्रह गरिदिन’ यो संवाददातालाई समेत गुहारे । त्यसपछि प्रअ र विव्यस अध्यक्षलाई कक्षा १० मा उपस्थित गराएर छात्रछात्राको आवाज सुन्न आग्रह गरियो ।

‘स्कूलमा नियमित कक्षा हुनुपरयो’ भन्ने आवाज कक्षा १० को मात्र होइन, अरू कक्षाका छात्रछात्राको पनि थियो । विद्यालयमा ७ घण्टी पढाइ भएको त्यहाँका छात्रछात्रालाई थाहा छैन । दिनमा मुश्किलले ३ घण्टी पढाइ हुन्छ । त्यहाँका शिक्षकले जति बेला स्कूल आउँदा पनि हुने, नआउँदा पनि हुने, पढाए पनि हुने अनि नपढाए पनि हुने छुट पाएको देखिन्छ । स्कूलमा पढाइ भए÷नभएको अनुगमन स्रोतकेन्द्र अथवा जिल्ला शिक्षा कार्यालयले पनि गरेको छैन । यसरी सबैले बेवास्ता गर्दाको एकमुष्ठ नतीजा हो अहिलेको औसत १० प्रतिशत सिकाइ उपलब्धि ।

व्यवस्थापन समितिमा भएको ‘अतिराजनीति’ ले गर्दा स्कूलका प्रअ भर्खरै परिवर्तन भएका छन् । यसको असर शिक्षकहरूमा परेको छ । स्कूलमा पठनपाठन नै नभएपछि विद्यार्थीमा पनि टिफिन अघि नै स्कूलबाट बाहिरिने बानी परेको छ । मावि शिक्षक सुधा झ भन्छिन्, “हाम्रो स्कूलमा पढाइ होइन, ‘शिवचर्चा’ हुन्छ । शिक्षक–विद्यार्थी भेट भएपछि केही बेर शिवको भजन गाउने अनि आफ्नो घरतिर लाग्ने चलन छ ।”

यस उमाविका शिक्षकहरूले विद्यार्थीको उत्तरपुस्तिका परीक्षण हचुवा शैलीमा गर्ने गरेका कारण केही लेख्तै नलेख्ने छात्रछात्राले पनि पास अंक पाएको देखिन्छ भने कतिपय उत्तरपुस्तिकामा शिक्षक आफैले उत्तर लेखिदिएको पनि भेटिन्छ । स्कूलमा वार्षिक शैक्षिक योजना, दैनिक पाठ योजना आदि केही पाइँदैन ।

शिक्षा मन्त्रालयको मापदण्ड अनुसार वार्षिक २२० दिन स्कूल खुल्नुपर्छ । कागजमा उक्त स्कूल पनि २२० दिन नै खोलिएको छ, तर यथार्थमा यो स्कूल १०० दिनभन्दा बढी नखुल्ने स्थानीयको कथन छ । अरू जे कारण भने पनि यो स्कूल बरबाद हुनुमा पठनपाठन नहुनु नै मुख्य कारण हो । “स्कूलमा कुनै दिन ७ घण्टी पढाइ भयो भने त्यो ठूलो आश्चर्य हुन्छ । नत्र बाहिरबाट आएका मानिसको अगाडि विद्यार्थीले हात जोडर ‘हामी पढ्न चाहन्छौँ, हामीलाई पढाइयोस्’ भन्ने थिएनन् ।” स्थानीय पत्रकार राकेश चौधरी भन्छन् ।

२. पढाउँदा सप्रेको स्कूल
तीन वर्ष अघिसम्म धनुषाको गिद्धा बेलापट्टीस्थित जउमाविको हालत माथि चर्चा गरिएको महेन्द्र राष्ट्रिय उमाविको भन्दा राम्रो थिएन । समयमा स्कूल नखुल्ने, पठनपाठन नहुने, व्यवस्थापन समितिमा राजनीति हुने आदि कारणले जउमाविलाई पनि बरबाद पारेको थियो । तर, सो स्कूलले प्रअको रूपमा पवनकुमार मण्डलको नेतृत्व पाएपछि भने तीन वर्षमै लोभलाग्दो प्रगति गरेको छ ।
मण्डल प्रअको कुर्सीमा बसेपछि उनले चौतर्फी सुधारको अभियान चलाए । छात्रछात्रा स्कूल नआउने, ढिलो आउने र चाँडो जाने समस्या हल गर्न उनले सर्वप्रथम सबै छात्रछात्रा र अभिभावकको मोबाइल नम्बर संकलन गरेर बिहान डेढ घ20150627_073437ण्टा ‘फोन इन’ कार्यक्रम सञ्चालन गरे । छात्रछात्रालाई स्कूलमा तान्न र टिकाउनका लागि शुरू गरिएको यो कार्यक्रम अन्ततः वरदान सावित भयो । स्कूलले फोन गरेर बोलाएपछि सबै छात्रछात्रा समयमा स्कूल आउन थाले, अभिभावक पनि सक्रिय भएर छोराछोरीलाई समयमा स्कूल पठाउन थाले ।

छात्रछात्राको कक्षा छाड्ने दर रोक्न मण्डलले निवेदन स्वीकृत नगराई कसैले पनि स्कूल छाड्न नपाउने नियम लागू गरे । यसले गर्दा छात्रछात्रालाई स्कूल आएपछि कक्षामा बसेर पठनपाठनमा केन्द्रित हुने बाध्यात्मक परिस्थिति सृजना भयो । स्कूल ढिलो आउने र नपढाउने रोगबाट जउमाविका शिक्षकहरू पनि ग्रसित थिए । ‘१२ बजे लेट नहीँ, दो बजे भेट नही’ को उखान प्रचलित थियो । प्रअ मण्डलले समयमा आएर पूरै समय कक्षा नलिने शिक्षकसँग लिखित स्पष्टीकरण सोध्न थाले । त्यति गर्दा पनि नसुध्रिने शिक्षकको हाजिरीमा गयल जनाउने र गयल कटाएर तलब निकासा गर्न थालेपछि मात्र ठेगान लागे । त्यसपछि शिक्षकहरू समयमा आउन र पठनपाठन सुचारु हुन थाल्यो ।

प्रअ मण्डलले जउमाविको सिकाइ सुधारका लागि शिक्षक, छात्रछात्रा र अभिभावकबीच शुरूमा दैनिक र पछि मासिक रूपमा काउन्सिलिङ शुरू गरे । अहिले चाहिँ सिकाइ काउन्सिलिङ दुई महीनामा हुन्छ । यस सम्बन्धमा मण्डल भन्छन्, “सिकाइका बारेमा शिक्षक, छात्रछात्रा र अभिभावकबीच अन्तरक्रिया हुन थालेपछि सबैलाई बालबालिकाको सिकाइ स्तरको बारेमा थाहा मात्र भएन, सुधार गर्न बाध्य पनि बनायो ।” सिकाइ उपलब्धि सुधार गर्नका लागि एसएलसीमा उत्कृष्ट अंक ल्याउने तीन जना छात्रछात्रालाई नगद र अरू पास हुने सबैलाई सान्त्वना पुरस्कार दिने व्यवस्था गरिएको छ । त्यस्तै त्यहाँ आफ्नो विषयमा राम्रो अंक ल्याउन सफल हुने शिक्षकहरूलाई पनि पुरस्कृत गर्ने गरिएको छ ।

हरेक महीना कक्षागत परीक्षा सञ्चालन गरी त्यसको नतीजा सार्वजनिक गर्ने गरिएको छ । अन्य स्कूलहरूमा स्थायी शिक्षकहरूले मात्र पोशाक भत्ता पाएका छन् । तर, जउमाविले शिक्षकबीच समानता ल्याउन सबैलाई एकै थरी पोशाकको व्यवस्था गरेको छ । शिक्षकलाई हरेक दिन पाठयोजना बनाउन अनि स्कूलमा सम्पादन गरेका कामको टिपोट गर्न डायरी र कलम समेत दिने गरिएको छ । जउमावि दैनिक सात घण्टी पढाइ हुने धनुषाका थोरै स्कूलमध्येमा पर्छ । यसमा शुक्रवार पनि पूरै समय स्कूल सञ्चालन हुन्छ । त्यहाँ दैनिक बिहान बेलुका थप घण्टी अतिरिक्त कक्षा पनि हुने गरेका छन् । यस्तै प्रयत्नको परिणाम हो, तीन वर्ष अघि १५ प्रतिशतको हाराहारीमा रहेको एसएलसी नतीजा अहिले ३६ प्रतिशत पुगेको छ । मण्डलको कार्यकालको पहिलो वर्ष १९, दोस्रो वर्ष २७ हुँदै यसपालि ५७ जना छात्रछात्रा एसएलसी पास भएका छन् । प्रअ मण्डल भन्छन्, “केही वर्षमा हामी शतप्रतिशत सफल हुन्छौ ।” एसएलसी बाहेक तल्ला कक्षाको समग्र सिकाइ उपलब्धि अहिले नै ७० प्रतिशतभन्दा माथि पुगिसकेको उनको दाबी छ ।

प्रअको जिम्मेवारी समालेपछि मण्डलले हरेक शिक्षकको कक्षा अवलोकन गरेर शिक्षण सुधार्न फिडब्याक दिने गरेका छन् । शिक्षकलाई प्राथमिक तहमा निरन्तर विद्यार्थी मूल्यांकन गर्न कठिन भएको देखेका उनले विद्यालयमै ‘क्यास’ को तालीम आयोजना गरे । विद्यालय सुधारले फड्को मारेपछि जउमाविको छात्रछात्रा संख्या अहिले १४ सय पुगेको छ । एउटा कक्षामा १०० जनाभन्दा बढी विद्यार्थी हुने र शिक्षकलाई कक्षा व्यवस्थापन गर्न कठिन हुने गरेकाले उनले स्कूलमै ठूलो कक्षामा कसरी पढाउने सम्बन्धी तालीम सञ्चालन गरे । त्यहाँ अभ्यासमुखी शिक्षणलाई प्राथमिकता दिइएको छ भने लेक्चर मेथडलाई कम गर्ने नीति लिइएको छ ।

जउमाविले भौतिक पक्षमा पनि राम्रो प्रगति गरेको छ । तीन वर्षको अवधिमा ९ कोठे भवन, बेराघेरा, कम्युटर, भेटनरी तथा विज्ञान प्रयोगशाला थपिएका छन् । छात्रा शौचालय र हरेक कक्षामा पंखाको व्यवस्था गरिएको छ । यो स्कूलमा बीबीएस र बीएको पठनपाठन हुने क्याम्पस पनि सञ्चालित छ । जउमावि धनुषाको धनी स्कूलमा पर्छ । स्कूलको वार्षिक बजेट करीव ६५ लाख छ । स्कूल वरिपरि फूलबारी छ । १४ बिघा जग्गामा रहेको उक्त स्कूलले पोखरी, धानखेत, बजार, जग्गाभाडा, घरभाडा आदिबाट वार्षिक ४ लाख आम्दानी गर्छ । प्रअ मण्डल उत्साहित हुँदै थप्छन्, “स्कूल बाहेक मेरो कुनै काम छैन । म यो स्कूललाई धनुषाकै नमूना बनाउन चाहन्छु र त्यो लक्ष्यमा सफल भएरै छाड्छु ।”
पनि दलीय राजनीतिले व्यवस्थापन समिति बन्न दिएको छैन । तर, सुखद पक्ष के छ भने व्यवस्थापन समितिको राजनीतिले जउमाविको पठनपाठन बिथोलेको छैन । यसमा प्रअ मण्डलको नेतृत्व क्षमताले काम गरेको देखिन्छ । उनी बीएडको अभ्यास शिक्षणका क्रममा २०५३ सालमा जउमावि पुगेका थिए । त्यति बेलाको मेहनत देखेर छात्रछात्रा र अभिभावकले उनलाई स्कूलबाट फर्किन दिएनन् । अभ्यास शिक्षण गर्दागर्दै निजी स्रोत शिक्षक भएका उनी २०६२ मा मावि स्थायी भए भने त्यसको ६ वर्षपछि २०६८ मा प्रअ । नेपालीमा एमए, एमड गरेका उनी कर्मशील शिक्षक हुन् । उनकै कर्मशीलताले स्कूलका शिक्षक र छात्रछत्रालाई मात्र होइन, अभिभावकलाई पनि कर्मशील बनाएको छ, स्कूललाई जीवन्त बनाएको छ ।

Related Posts

/*sign up form*/