पठनपाठन सुधार्न अभिभावक परिचालन

by • • HighlightComments (0)597

Print Friendly, PDF & Email

कृष्ण मल्ल, बुटवल

हिजोआज किसनामती जस्ता अभिभावकलाई विद्यालयमा बोलाएर बच्चाको बारेमा कुरा गर्नु जनता आधारभूत विद्यालयको नियमित कार्य भित्र पर्छ । जिल्लाका अन्य राम्रा विद्यालयका अभ्यास हेरेपछि पठन–पाठनमा अभिभावकको सहभागितालाई यहाँ विशेष प्राथमिकता दिन थालिएको हो ।

अभिभावकलाई सम्झाउँदै प्रअ विष्णुकुमारी क्षेत्री ।

‘यहाँ हामीले देखभाल गर्छौं, घरमा तपाईंहरूले गर्ने है !’, प्रधानाध्यापक विष्णुकुमारी क्षेत्री अभिभावक किसनामती केवटलाई अवधी भाषामा सम्झउँदै थिइन् ।

किसनामती रूपन्देहीको सियारी गाउँपालिका वडा नं. १, कैलाशनगरमा अवस्थित जनता आधारभूत विद्यालयको कक्षा ५ का छात्र राकेश केवटकी आमा हन् । किसनामतीलाई विद्यालयले राकेशका स्कूलका क्रियाकलाप र पढाइको अवस्थाबारे जानकारी गराउन र उनको घरका गतिविधिबारे बुझनका लागि बोलाएको थियो ।

विद्यालयमा प्रअसँगको कुराकानीपछि किसनामतीले घरबाट छोरो स्कूल जान भनेर हिंडे पनि नियमित रूपमा विद्यालय आउने नगरेको थाहा पाइन् । प्रअ क्षेत्रीले राकेश विद्यालय नियमित नभएको कुरा सुनाएपछि किसनामतीले उल्टै प्रश्न गरिन् “घरबाट त सधैं हिंड्छ, तर कहाँ जान्छ त ?” लामो छलफलपछि किसनामती र प्रधानाध्यापक क्षेत्रीले राकेशलाई विद्यालयमा नियमित गर्नका लागि मिलेर सम्झउने र निगरानी गर्ने निधो गरे । त्यस अनुसार जुन दिन राकेश स्कूल आउँदैनन्, विद्यालयले अभिभावक या किसनामतीलाई तत्काल खबर गर्ने तय भयो ।

हिजोआज किसनामती जस्ता अभिभावकलाई विद्यालयमा बोलाएर बच्चाको बारेमा कुरा गर्नु जनता आधारभूत विद्यालयको नियमित कार्य भित्र पर्छ । प्रधानाध्यापक क्षेत्रीका अनुसार शैक्षिक सत्रको शुरू, मध्य र अन्तिम गरी तीन पटक अनिवार्य रूपमा अभिभावकहरूलाई विद्यालयमा बोलाउने गरिएको छ । विद्यालयले अनुपस्थित बालबालिकाका अभिभावकलाई अन्य बालबालिका मार्फत विद्यालयमा उपस्थितिका लागि खबर गर्ने गरेको छ । यस बाहेक; कुनै बालबालिकाको पढाइ सम्बन्धी समस्या देखिए सम्बन्धित अभिभावकलाई व्यक्तिगत रूपमा विद्यालय बोलाएर बालबालिकाको पढाइ तथा अन्य विषयमा छलफल गर्ने परिपाटी पनि यहाँ बसालिएको छ । अभिभावकलाई विद्यालयमा बोलाएर कुरा गर्दा बालबालिकाको सिकाइ सुधार्नमा प्रत्यक्ष सहयोग पुगेको प्रअ क्षेत्रीको कथन छ ।

यस बाहेक, जनता विद्यालयका प्रअ तथा शिक्षकहरूले अभिभावकको घरदैलोमै पुगेर पनि सम्झउने गरेका छन् । बालबालिकाको घरको अवस्था र घरको पढाइ के कस्तो छ भन्ने जानकारी पाउनका लागि शिक्षक मार्फत घरदैलो कार्यक्रम गर्ने गरिएको जानकारी प्रअ क्षेत्रीले दिइन् । शैक्षिक सत्रको शुरूमा चाहिं विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू समेत घरदैलो कार्यक्रममा सहभागी हुने गर्दछन् । विद्यालय व्यवस्थापन समिति र शिक्षकहरूले जिल्लाका अन्य राम्रा विद्यालयको अवलोकन गरेपछि बालबालिकाको पठन–पाठनमा अभिभावकको सहभागितालाई यहाँ विशेष प्राथमिकता दिन थालिएको हो ।

यो विद्यालयले अभिभावक भेला, अभिभावकको घर भ्रमणका अतिरिक्त निजी विद्यालयमा सन्तान पठाउने अभिभावकलाई समेत विद्यालयमा बोलाउने र उनीहरूको घरमा पुग्ने कार्यक्रम सञ्चालन गरेको छ । यस्तो भ्रमण र भेटघाट मार्फत बालबालिकाको सिकाइ सुधारसँगै विद्यालयमा कार्यरत निजी स्रोतका तीन जना शिक्षकको तलब, विद्यालयको मर्मत सम्भार र भौतिक निर्माणको लागि समेत सहयोग जुटाउने गरेको छ । निजी विद्यालयमा बालबालिका पढाउने अभिभावकहरूबाट समेत प्राप्त हुने आर्थिक सहयोग विद्यालय चलाउन मद्दत पुगेको प्रधानाध्यापक क्षेत्रीले बताइन् । आफ्ना बच्चा निजी स्कूलमा पढाउने अभिभावकको घरदैलोमा पुगेर ‘तपाईंले आफ्नो बच्चाको निम्ति तिर्ने एक महीनाको फिस हामीलाई दिएर सहयोग गर्नुस् हामी स्कूल सुधार गर्छौं’ भन्दै अनुरोध गर्दा राम्रै सहयोग उठ्ने गरेको क्षेत्रीले सुनाइन् । उनका अनुसार यसरी घरदैलो गर्दा एक परिवारबाट कम्तीमा रु.१०० देखि बढीमा रु.१० हजारसम्म सहयोग जुट्ने गरेको छ । यसरी उठेको रकम विद्यालयलाई सहयोग गर्न नसक्ने गरीब परिवारका बालबालिकाका निम्ति खर्च गर्ने गरिन्छ ।

जनता आधारभूत विद्यालयको पाँच मिनेटको दूरीमै दुई निजी विद्यालय छन् । तर ती विद्यालयसँग प्रतिस्पर्धा गरेरै यो विद्यालय प्रगतितिर लम्किएको छ । घेरिएको कम्पाउण्ड, बन्द रहने विद्यालयको गेट, कम्पाउण्डभित्रै खानेपानी, शौचालय र खेलमैदानका कारण विद्यालय समयभित्र बालबालिकाले कक्षा छाड्ने र हराउने अवस्था यसमा छैन । विद्यालयमा कक्षागत रूपमा कति विद्यार्थी छन् र कति उपस्थित भए भन्ने दैनिक विवरण कार्यालयको भित्तामा झ्ुण्डिएको बोर्डबाटै थाहा हुन्छ । साथै कुन शिक्षक विद्यालयमा उपस्थित छन्, को अनुपस्थित छन् र के कामले अनुपस्थित भए भन्ने पनि त्यही बोर्ड हेरेर थाहा पाउन सकिन्छ ।

कक्षागत विद्यार्थी र शिक्षक उपस्थिति तालिका देखाउँदै शिक्षक चिनीमाया देवकोटा ।

बाल विकास केन्द्रलाई प्राथमिकता
बालबालिकाको सिकाइ उपलब्धि सुधार्नका लागि विद्यालयका तल्लो कक्षाको भौतिक पूर्वाधार र सिकाइ क्रियाकलाप सुधारिनुपर्ने तर्क प्रअ क्षेत्रीको छ । उनी भन्छिन्, “जग बलियो बनाए घर बलियो भए जस्तै तल्ला कक्षा र त्यहाँका बालबालिका विद्यालयको जग भएकोले हामीले बाल विकास केन्द्रलाई उच्च प्राथमिकतामा राखेका छौं ।” यहाँ बाल विकास केन्द्रलाई पनि जुनियर र सिनियर गरी दुई समूहमा बाँडिएको छ । उनीहरूको लागि कक्षा कोठा र सहयोगी कार्यकर्ता समेत अलग्गै व्यवस्था गरिएको छ ।
बाल कक्षा संचालन हुने कोठामा कार्पेटिङ गरिएको छ । बालबालिकाले जुत्ताचप्पल ढोका बाहिर मिलाएर राख्ने गर्दछन् । बालबालिकाहरू खेल्दै सिक्नका लागि बाल सामग्रीको व्यवस्था गरिएको छ । त्यसबाहेक स्थानीय सामग्रीको प्रयोग गरी बाल सामग्री पनि बनाइएको छ । बालबालिकाहरूलाई अडियोभिडियो सुनाउन र देखाउनका लागि एउटा ल्यापटप कम्प्युटर र एक प्रोजेक्टरको व्यवस्था छ ।

आफ्नै सन्तानको व्यवहार गर्छु
जनता आधारभूत विद्यालयकी बाल विकास सहयोगी कार्यकर्ता शारदा नेपाली १० वर्षदेखि यो भूमिकामा क्रियाशील छिन् । कक्षामा बालबालिकासँगै नाचगान गर्दै गर्दा भेटिएकी शारदाले स्कूलमा आफ्ना दिन सधैं त्यसरी नै बित्ने गरेको बताइन् । शारदाले बालबालिकाले आफूलाई बिर्साउने गरेको समेत बताइन् ।

साना बच्चा जति सबै आफ्नै जस्ता लाग्ने शारदा बताउँछिन् । उनी भन्छिन्, “यिनीहरू रोए काखमा राख्छु, हाँसे सँगै हाँसिदिन्छु । आमा खोजे म नै आमा बनिदिन्छु, साथी खोजे म नै साथी बनिदिन्छु । उनीहरूले चाहे अनुसार, खोजे अनुसार गरिदिंदा बच्चा नजिक भइहाल्छन् ।” बच्चाहरूलाई भुलाउन र सिकाउन समेत आवश्यक गीत गाउने, मादल बजाउने, नाँच्ने सीप उनले स्कूलमै आएर सिकेकी हुन् । “शुरू शुरूमा केही अप्ठ्यारो भयो, गर्दै जाँदा सिकिने, जानिने रै’छ” शारदा भन्छिन् । बाल विकास केन्द्रमा मुख्यगरी समूह क्रियाकलाप, गीत, कथा, सिर्जनात्मक चाल, पूर्व साक्षरता क्रियाकलापलाई ध्यान दिने गरिएको छ ।

बाल विकास केन्द्रको संचालनले विद्यालयलाई कक्षा १ मा बालबालिका भर्नामा सहज भएको सहयोगी कार्यकर्ता शारदाको अनुभव छ । उनका अनुसार निजी स्कूलहरूले मन्टेसरी, नर्सरी, केजी कक्षा संचालन गरेर सानै उमेरका बच्चा जम्मा पारिरहेको अवस्थामा बाल विकास केन्द्र त्यसका विकल्प बनेका छन् । “बाल विकास केन्द्र नहुँदो हो त, सामुदायिक विद्यालयमा बच्चा झ्नै कम हुन्थे होला” शारदाको अनुमान छ ।

बाल विकास र सिकाइ क्रियाकलापका निम्ति अनुकूल वातावरण समेतका कारण जनता आधारभूत विद्यालय सियारी गाउँपालिकाका राम्रा विद्यालयमध्ये परेको सो गाउँपालिकाका शिक्षा इकाइ प्रमुख सुधिर पौडेल बताउँछन् । स्थानीय समुदायसँग जनता आभू विद्यालयले विस्तार गरेको सम्बन्ध अरू विद्यालयका लागि पनि उदाहरणीय भएको उनले बताए । पौडेलका अनुसार गाउँपालिकाले तल्लो कक्षामा अझै बढी सुधार गर्ने गरी कार्यक्रम तयार गर्न लागेको छ । बालमैत्री विद्यालय, अभिभावकले माग गरे अंग्रेजी माध्यममा पठनपाठन, नियमित कक्षा निरीक्षण, शिक्षक व्यवस्थापन, विद्यालयमा अभिभावक सहभागिता, शैक्षिक सामग्रीको प्रयोगमा जोडका साथै कम्प्युटर शिक्षकका लागि तालिमका कार्यक्रम प्राथमिकतामा रहेको पौडेलले बताए ।

(शान्ति शिक्षा अभियान नेपाल, आभिओन्टे होप फाउण्डेसन नेपाल र शिक्षक मासिकको सहकार्य)

२०७५ जेठ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/