पञ्चकन्या आभूवि मावि होइन, अझै उत्कृष्ट बन्ने धोको

by • • Highlight, रिपोर्ट, स्थलगतComments (0)361

Print Friendly, PDF & Email

 

– रोश्ना सुब्बा

“अब मावि बनाउनु प¥यो भन्ने सुझाव पनि आएका छन् । तर मावि होइन, उदाहरणीय आधारभूत विद्यालय नै बनाउने मन छ ।”
– बिनिता रंजित, प्रअ

चार वर्षअघि (२०७१ साउन) बिनिता रंजितले पञ्चकन्या आधारभूत विद्यालय, लम्टङगीन, काठमाडौंमा प्रधानाध्यापकको जिम्मेवारी पाइन् । सुधारको थालनी कहाँबाट गर्ने होला भनेर सोच्दै जाँदा उनलाई साना नानीबाट शुरू गर्न मन लाग्यो । “तीन-चार वर्षका केटाकेटी कोही फुको च्यूरा ल्याउने, कोही सुक्खा बिस्कुट खाने, कोही केही नल्याउने अरूले खाएको हेरेर बस्थे ।” त्यसैले टुलुटुलु हेर्न सकिनँ । उनले भनिन्, “विद्यालय व्यवस्थापन समिति सदस्य दुर्गेशनन्दिनी भट्टचन सामु यो कुरा राखें । र, उहाँले १० हजार रुपैयाँ दिनुभयो ।” त्यसपछि उनले आफ्ना शिक्षक सहकर्मीहरूसँग कुरा राखिन् । शिक्षकहरू पनि आर्थिक सहयोग गर्न तयार भए । यसरी ‘पञ्चकन्या दिवा खाजा कार्यक्रम कोष’ तयार भयो ।

त्यसपछि उनी यति उत्साहित भइन् कि विद्यालयमा कोही आयो भने सहयोग मागिहाल्थिन् । कसैले केही दिनको खर्च दिन्थे । कसैले आफन्तको जन्मदिन र श्राद्धका बेला दिन थाले । “उहाँहरूलाई अलि अलि दिए हुने । आफूलाई आफ्ना केटाकेटीका लागि धेरै दिन टर्ने”, शिशु कक्षा र कक्षा १ का केटाकेटीका लागि खाजा कार्यक्रम शुरू गर्दाको अनुभव हो यो, उनको ।

अहिले खाजाका लागि एक विदेशी गैरसरकारी संस्थाले सहयोग गरिरहेको छ । तर उनले अरूसँग पनि सहयोग लिने क्रम जारी राखेकी छन् । “अहिलेको संस्थाले सधैं सहयोग गर्ला नगर्ला”, भन्छिन् उनी । साना नानीहरूको माया लागेर शुरू गरेको यो कार्यक्रमको प्रभाव चाहिं उनले केही समयपछि थाहा पाइन् ।

दिवा खाजा कार्यक्रमको सबैभन्दा ठूलो असर विद्यार्थीको नियमिततामा प¥यो । उनीहरू रमाएर स्कूल आउन थाले । नियमितता बढ्न थाल्यो । पेट दुख्यो भन्ने केटाकेटी बिरामी हुन छाडे । यति मात्र कहाँ हो र विद्यार्थी संख्या नै बढ्न थाल्यो । २०७१ सालमा शिशु कक्षामा १४ जना थिए । अहिले ३४ जना छन् । “सारी समातेर आज त चिची माम हो नि म्याम भन्छन् । बुधबार उनीहरू सबभन्दा खुशी हुने दिन हो” खुशी हुँदै प्रअ रंजित सुनाउँछिन्, “आइतबार खीर, सोमबार जाउलो, मंगलबार हलुवा, बिहीबार अण्डा रोटी र शुक्रबार फलफूल दिने गरिएको छ ।”

साना केटाकेटीहरू उनको प्राथमिकतामा कति परेका छन् भन्ने कुरा त्यहाँको बाल विकास कक्षामा जाँदा थाहा हुन्छ । आकर्षक तरिकाले सजाइएको कक्षामा गीत–संगीत तथा कार्टुन हेर्न टेलिभिजन राखिएको छ । नीलो, हरियो, पहेंलो, रातो रंगका साना साना टेबल कुर्सी छन् । कथा सुनाउने, खेल खेलाउने, गीत गाउन लगाउने, खाजा खाने, सुत्ने हरेक कामका लागि समय छुट्याइएको छ । अंक, अक्षर, विभिन्न आकार, मौसम, रंग, फलफूल, ट्राफिक लाइट लगायतका बारेमा बुझउन विभिन्न सामग्री राखिएका छन् । कतिपय सामग्री बनाउँदा त साना केटाकेटी पनि संलग्न हुने रहेछन् । जस्तो ट्राफिक लाइट । बाल विकास सहजकर्ता सीता खत्रीको सहयोगमा उनीहरूले ट्राफिक लाइट बनाएका रहेछन् । खत्रीका अनुसार यसको उद्देश्य केटाकेटीलाई ट्राफिक लाइटको धारणा दिंदै रंग चिनाउनु हो । गोलाकार बुझउनु हो । ग्लुस्टिक समातेर आफैं टाँस्न र कुनै कुरामा ध्यान केन्द्रित (कन्सन्ट्रेट) गर्न पनि सिकाउनु हो । “विशेषतः सीता खत्रीकै आइडिया लिएर बनाएका हौं” शिशु कक्षा राम्रो हुनुमा मन्टेसरी विधिमा तालिमप्राप्त खत्रीलाई जश दिंदै प्रअ रंजित हाँस्दै भन्छिन्, “उनी पञ्चकन्याकै पूर्व विद्यार्थी हुन् ।”

उदाहरणीय बन्दै ‘निरंकुश प्रअ !’

पढाउन गए पनि हुने, नगए पनि हुने । स्कूल नआएको दिनको पनि हाजिरी गर्न पाइने । “यस्तो दुरवस्थालाई सुधार गरेरै छाड्छु” प्रअ भएपछि बिनिता रंजितले ठानिन् । “घण्टी लाग्यो, कक्षामा जानुहोस् भन्नुपर्ने, गोठालो नै लाग्नुपर्ने अवस्था थियो” उनी भन्छिन्, “त्यसैले टाइट गर्न थालें । केही साथीहरूलाई चित्त बुझेन र मलाई निरंकुश प्रअ भन्न थाले ।” पछि सबैले महसूस गर्छन् भन्ने कता कता विश्वास थियो उनलाई । नभन्दै यस्तै भयो । “अहिले त मभन्दा बढी उहाँहरू रमाउनुभएको छ । घरमा टेन्सन भयो भने स्कूल आएपछि हलुका हुन्छ भन्नुहुन्छ ।” आफ्ना सहकर्मीहरूमा आएको परिवर्तन देखेर उनी दंग छिन् । आफ्नो टीमप्रति पूरा विश्वास गर्दै उनी भन्छिन्, “म दिनभरि भइनँ भने पनि स्कूल राम्ररी चल्छ । यसो भएपछि स्रोत खोज्न पनि सहज हुने रहेछ ।”

विद्यालयलाई कसरी अगाडि बढाउने भन्ने कुरा प्रअमा धेरै भर पर्ने साँचो हो रहेछ जस्तो लागेको छ शिक्षक सीतादेवी पाण्डेलाई । दुई जना प्रअसँग काम गर्दाको अनुभव उनीसँग छ । उनको अनुभवमा पहिलेको प्रअ दुर्गा खड्का पनि असल थिइन्, तर प्रअ रंजित धेरै सक्रिय छिन् । शिक्षकहरूसँग समन्वय गर्छिन् । पठनपाठनका लागि साहै्रै चासो राख्दै चाहिएको शैक्षिक सामग्री जहाँबाट भए पनि खोजेर उपलब्ध गराउँछिन् । शिक्षकको काम त जो प्रअ भए पनि राम्रो गर्ने होइन र ? भन्दा उनी भन्छिन्, “घरमा पनि त अभिभावकले राम्रो वातावरण दियो भने केटाकेटी राम्रो हुने हो नि ! स्कूल पनि त्यस्तै हो रहेछ ।”

बाल विकास सहजकर्ता सीता खत्रीलाई पनि कुनै क्रियाकलापका लागि सामग्री माग्दा प्रअ रंजितले पछि गर वा नगरे पनि हुन्छ भनेको आजसम्म थाहा छैन । उनलाई धेरै नै सामग्री चाहिन्छ । जस्तो रातो रंगको पाठ छ भने उनलाई रातो रंग, रातो फूल, रातो कलर पेपर, रातो कलर पेन्सिल, स्याउ जस्ता सामग्री चाहिन्छ । “माग गरेको आधा घण्टामा उपलब्ध हुन्छ । यसले गर्दा आफ्नो काम गर्न रमाइलो लाग्छ”, उनी भन्छिन् ।

छोटो समयमै भएको शैक्षिक र भौतिक परिवर्तन देख्दा शिक्षक पाण्डेलाई कहिलेकाहीं त अचम्म पनि लाग्छ । “प्रअले खोजे त सामुदायिक विद्यालयलाई सहयोग गर्ने धेरै हुँदा रहेछन्” उनले महसूस गरेको अर्को पाटो हो, यो । “आफ्नो विद्यालय र प्रअको उदाहरण दाइभाइलाई पनि सुनाउन थालेकी छु” उनी भन्छिन्, “मेरा दाइभाइ नुवाकोटमा सामुदायिक विद्यालयमा प्रअ छन् ।”

उत्प्रेरणा

साना लाग्ने गतिविधिले पनि शिक्षकमा उत्साह र ऊर्जा थपिन सक्छ । प्रअ रंजितले विद्यालयमा सहकर्मी शिक्षकहरूको जन्मदिन मनाउने चलन शुरू गरेकी छिन् । जन्मदिनमा उनले शिक्षकलाई टीका लगाइदिने र विद्यालयका तर्फबाट सम्झ्नाका लागि सानोतिनो उपहार दिने गरिन्छ । शिक्षक रमेश खड्काका अनुसार पढाइ–लेखाइ प्रभावित नगरी खाजा समयमा जन्मदिन मनाउने गरिएको छ । “आफू जन्मेको दिन याद गरेर रमाइलो गर्दा कसलाई पो खुशी लाग्दैन र !” जन्मोत्सव मनाउँदाको उनको अनुभव छ ।

यस्तै कुनै दिन कोही शिक्षक अनुपस्थित भए, अतिरिक्त कक्षा लिने शिक्षकलाई १० रुपैयाँ दिने गरिएको छ । “थप काम गर्नु प¥यो भनेर कसैले गुनासो पनि गरेको छैन । मागेको पनि होइन ।” प्रअ बिनिता रंजितको भनाइमा यो पैसा सम्मानस्वरूप शिक्षकलाई दिइएको हो ।

यसैगरी सबै शिक्षकका लागि मासिक ४०० रुपैयाँ खाजा भत्ता दिने गरिएको छ । बाल विकास सहजकर्तालाई सरकारले उपलब्ध गराउँदै आएको मासिक ६ हजार रुपैयाँमा ४ हजार थप गरी १० हजार दिइएको छ । विद्यालयको सटरबाट आउने आम्दानीबाट यस्तो व्यवस्था गरिएको हो । विद्यालय व्यवस्थापन समितिको निर्णय गरी यस्ता सुविधा दिइएको छ । “शिक्षकहरूलाई यसरी ‘मोटिभेट’ गर्न सके सकारात्मक प्रभाव कक्षाकोठामै पुग्ने हो”, प्रअ रंजितको विश्वास यस्तो छ ।

स्थानीय समुदायलाई नजिक ल्याउने प्रयास

सामुदायिक विद्यालय ओरालो लाग्नुको एउटा कारण विद्यालयप्रति स्थानीय समुदायको अपनत्व नहुनुलाई पनि मानिन्छ । यही कारण देखाएर कति प्रअ त केही पहल नै नगरी आफ्नो कमजोरी लुकाउँछन् । तर प्रयास र पहल गरे स्थानीय समुदायसँग कुनै न कुनै रूपमा सम्बन्ध गाँस्न सकिने प्रअ बिनिता रंजितको अनुभव छ । उनी भन्छिन्, “सम्बन्ध विस्तार गर्न विद्यालय स्थापनाकाल (२०१७ साल) देखिका बूढापाकालाई बोलाएर स्कूल राम्रो बनाउन के गरुँ भनेर छलफल गर्छु । सहयोग माग्छु ।” यस्तै उनी सामाजिक कार्यमा जुटेका युवाहरू र केही संस्थालाई आवश्यक परेको बेला पठनपाठन प्रभावित नहुने गरी विद्यालयमा ठाउँ दिने गर्छिन् ।

“त्यसैले होला बिनिता म्याम र सबै शिक्षकसँग राम्रो सम्बन्ध बनेको छ । पहिले त्यति मतलब नहुने आफ्नो टोलको स्कूलको अचेल वास्ता लाग्न थालेको छ” दुई वर्षअघि दर्ता भएको पञ्चकन्या युवा क्लबका अध्यक्ष सुमन लिम्बू भन्छन्, “यहाँका विद्यार्थी निट एन्ड क्लिन देखिन्छन् ।” यो क्लबले वातावरण दिवसका कार्यक्रम हुँदा पञ्चकन्याका विद्यार्थी पनि सहभागी गराउन थालेको छ ।

आफ्नो टोलको स्कूल महिला प्रअ र शिक्षकले राम्रो बनाएकोमा स्थानीय बासिन्दा ८२ वर्षीय उदय थापा दंग छन् । “उनीहरू समयमा आउँछन्, पढाउँछन् । केटाकेटी खुशी छन् । विद्यालयमा राजनीति गर्दैनन् । बेलाबेला छलफलमा बोलाउँछन्”, उनलाई विद्यालयको सबभन्दा राम्रो लागेको पक्ष यही हो । उनी विद्यालयका सल्लाहकार पनि हुन् । उनले ५२ हजार रुपैयाँको अक्षय कोष नै स्थापना गरेका छन् । कहिले फोटोकपी मेशीन त कहिले कम्प्युटर दिन्छन् विद्यालयका लागि ।

यसरी नै व्यवस्थापन समितिका सदस्य र विद्यालयबीच असल सम्बन्ध छ । कोही विद्यार्थीलाई वर्षको एकपटक जाडोमा स्वेटर र वर्षायाममा रेनकोट दिन्छन् त कसैले लाइब्रेरीका लागि किताब । समितिमा पूर्व विद्यार्थी पनि राखिएको छ । “यसले गर्दा आफू पढेको विद्यालयका लागि केही गरौं भन्ने भावना हुँदो रहेछ”, प्रअ रंजितको भनाइ छ । यसैगरी कुनै स्थानीय संघसंस्थाले विद्यार्थीका लागि छात्रवृत्ति तथा कसैले स्टेशनरी दिने गरेका छन् । यसरी टोलछिमेकका व्यक्तिदेखि संस्था विद्यालयसँग नजिकिएका छन् । यसको लाभ सामाजिक, आर्थिक रूपमा पछिपरेका केटाकेटीमा नै पुगेको छ ।

उपलब्धि र योजना

पञ्चकन्या यो वर्ष काठमाडौं महानगरपालिकाको ‘सर्वोत्कृष्ट आधारभूत विद्यालय’ का रूपमा पनि पुरस्कृत भएको छ । शैक्षिक वातावरण निर्माण गर्न सघाउ पु¥याउने पक्षहरू— सरसफाइ, फोहोरमैला व्यवस्थापन, खानेपानी र शौचालयको संचालन अवस्था समेतका आधारमा काठमाडौं महानगरपालिकाले गरेको वर्गीकरणमा नौ वटा सामुदायिक विद्यालय ‘ए ग्रेड’ मा परेका थिए । ती नौमध्ये आठ वटा मावि छन् । आधारभूत विद्यालयमध्ये पंचकन्या मात्र ए ग्रेडमा पर्न सफल भएको हो ।

ए ग्रेडमा परेका माविहरूमा विश्व निकेतन मावि (प्रअ, हेरम्बराज कँडेल), धुम्रबराह मावि (प्रअ, सुजाता राजलवट), महेन्द्र बौद्ध मावि (प्रअ, हरिभक्त श्रेष्ठ), प्रभात मावि (प्रअ, राजेश्वरमान श्रेष्ठ), रत्नराज्य मावि (प्रअ, डा. गीता खरेल), नन्दी मावि (प्रअ, गीता काफ्ले), नन्दी रात्रि मावि (प्रअ, मोहनराज शर्मा) र कन्या मन्दिर मावि (प्रअ, नगेन्द्रबहादुर विष्ट) छन् ।

पंचकन्या विद्यालयले वार्षिक पाठयोजना निर्माण तथा कार्यान्वयन, पढाइ सिकाइमा शैक्षिक सामग्री प्रयोग, प्रयोगात्मक सिकाइ, विद्यालय सरसफाइमा विद्यार्थीको सहभागिता, नेतृत्व विकासका लागि सबै विद्यार्थीलाई पालैसँग मनिटर हुने व्यवस्था, तेक्वान्दो, नृत्य, संगीत लगायत विभिन्न अतिरिक्त क्रियाकलापलाई महत्व दिई लागू गरेको छ । अहिले यसमा (कक्षा ८ सम्म) २६२ विद्यार्थी छन् ।

मावि बनाउनु प¥यो भन्ने सुझव आए पनि विद्यालयको जग्गा कम (एक रोपनी जति मात्र) भएकोले प्रअ रंजितलाई मावि होइन, उदाहरणीय आधारभूत विद्यालय नै बनाउने मन छ । “अबको पाँच वर्षभित्र प्रत्येक कक्षालाई स्मार्ट क्लास बनाउने र शिक्षकहरूको त्यसै अनुसार क्षमता वृद्धि गर्ने योजना छ”, यो योजना पूरा गर्ने आधारबारे उनी भन्छिन्, “मेरो टीम मेरो तागत हो । राम्रो गर्न सबै तयार छौं । स्रोत खोज्न लागिसकेकी छु ।” किनकि चार वर्षको अनुभवले उनलाई “यो भएन, त्यो भएन भनेर गुनासो गर्दै सरकारको अनुदानमा मात्र चित्त बुझएर बसेको भए कहाँ सम्भव हुन्थ्यो र !” भन्ने राम्रैसँग सिकाएको छ ।

तस्वीरः खड्गबहादुर मगर

२०७५ भदौ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/