नेपाल–अध्ययन काठ र जीवन !

by • • नेपाल–अध्ययनComments (0)1782

Print Friendly, PDF & Email

नेपाल–अध्ययन
काठ र जीवन !
डा.तीर्थबहादुर श्रेष्ठ
नेपाल र नेपालीको जीवन र संस्कारमा आमाको कोखबाट जन्मेको दिन तापेको आगोदेखि चितामा बल्ने दाउरासम्म; निधारमा लगाउने चन्दनदेखि पाउमा लगाउने खराउसम्म, हलो समाउने अनौदेखि बैठक सजाउने फर्निचरसम्म तथा वन चहार्ने राउटेदेखि देश हाँक्ने राष्ट्रपतिसम्म पनि उही काठ, उही दाउराको अहम् भूमिका स्थापित छ ।
काठ प्रकृतिको अद्भुत वरदान हो । काठका अनेकौं गुणमध्ये एउटा अनौठो गुण हो– यो पानीमा डुब्दैन, न त पग्लेर नै जान्छ । काठको ठूलो मूढा पनि पानीमा डुब्दैन र तैरन्छ, तर एउटा सानो तामाको पैसा चाहिं किन डुब्छ भनेर विज्ञान विषयमा अकसर सोधिने प्रश्न हो । वि.सं. २०१७ ताका एक जना माध्यमिक तहका विद्यार्थीले त्यसको उत्तर ज्यादै रोचक ढंगले लेखेको मलाई सम्झ्ना हुन्छ । एक परीक्षकको नाताले मैले उसलाई नम्बर त दिइनँ किनभने उसले आर्किमिडिजको सिद्धान्त पकडेको थिएन । तर उसको आफ्नै प्रकारको तर्क थियो, जसले मलाई आजसम्म वेलाबखत कुत्कुत्याउँछ । नम्बर नदिएकोमा पछुतो पनि हुन्छ । उसले लेखेको थियो, ‘तामा खानीभित्र पाइने पदार्थ हो । खानी जमीनको मुनि धेरै गहिराइमा हुन्छ । गहिरोमा बस्ने तामाको स्वभाव हो । त्यसैले तामाको पैसा गहिराइ खोज्दै पानीमा डुब्छ । काठ रूखबाट प्राप्त हुन्छ । रूखको स्वभाव जमीनबाट माथि उठ्ने हो । माथि अग्लिने स्वभाव भएकोले काठ पानीमा माथिबाटै बस्छ, डुब्दैन ।’
dugout-canoe_pix_1-minहो, काठ पानीमा डुब्दैन । काठको यही गुण र स्वभावले मानव सभ्यतालाई आजको अवस्थामा पुरयाउने विशेष भूमिका खेलेको छ । सभ्यताको यात्रामा डुंगा÷जहाजको भूमिका निकै महत्वपूर्ण रह्यो । देशदेशान्तर चहार्न, बन्द–व्यापार बढाउन, घर–सम्पत्ति थुपार्न, लडाइँ–संग्राम जित्न गरिने जलयात्राका लागि काठको योगदान अतुलनीय रह्यो । आजै पनि कतिपय जल विहार र जलक्रीडामा काठको प्रयोग हुन्छ । २०२० सालतिर सिमलको डुंगा चढेर फेवाताल घुमेको थिएँ । सिमलको मुडालाई खोपेर बनाइएको त्यस्तो डुंगालाई आजभोलि काठका फल्याक जोडेर बनाइएका नयाँ प्रकारका डुंगाले विस्थापित गर्दैछन् । मलाई लाग्छ मानिसलाई पानीमा पस्ने पहिलो साहस काठबाट प्राप्त भएको हुनुपर्छ किनभने काठ पानीमा डुब्दैन । एक घनमिटर आयतनको काठको तौल सामान्यतया १००० किलोग्राम हुन्छ । त्यस अर्थमा काठको घनत्व पानीभन्दा कम हुन्छ र, पानीमा डुब्दैन ।
मानव सभ्यताको पहिलो इतिहास आगोको आविष्कारबाट प्रारम्भ भएको मानिन्छ । मानिसले यस पृथ्वीमा पाइतालाले टेकेर दुई खुट्टामा उभिएर हिंड्ने र आफ्नो गाँस–बासको व्यवस्था गर्ने वेलादेखि नै काठको उपयोग हुँदै आएको छ । विश्वमा काठ उपलब्ध नहुँदो हो त मानव इतिहास वेग्लै हुनेथियो । निर्माण सामग्रीको रूपमा काठ प्राप्त नभएको भए मानिसका घरबस्ती कस्ता हुनेथिए– त्यसको अनुमान गर्न गाह्रो छ । आगो र काठ, काठ र दाउरा अनि हाम्रो गाँस र बासको कुरा ग¥यौं भने अझ् पनि अधिकांश नेपालीको चूलो दाउराले बल्दछ । हालैको नाकाबन्दी र इन्धन अभावले गर्दा हाम्रा शहरबजार र तारे होटल पनि दाउरे युगमै फर्कन बाध्य भएका थिए । गत वैशाखको विनाशकारी भूकम्पबाट प्रभावित क्षेत्रमा काठ–दाउराको अभाव भएको भए जीवन अझ् कष्टकर हुनेथियो । हामीकहाँ काठ–दाउराको माग तत्काल कम हुने देखिंदैन, किनभने जन्मदेखि मृत्यु संस्कारसम्म हामीलाई काठ दाउराको आवश्यकता पर्दछ ।
काठको प्रसंग कोट्याइरहँदा, २०७२ सालको वैशाख १२ गते दिनको १२ बजे ध्वस्त भएको बसन्तपुरको काष्ठमण्डप बिर्सन सक्तैनौं । विक्रमको १२औं शताब्दीमा नै त्यो सम्पदा अस्तित्वमा आइसकेको कुरा वरिष्ठ पुरातत्वविद् रमेशजंग थापाको निक्र्योल छ । त्यो स्मारक ६५ फिट ४ इन्च अग्लो र ६५ फिट ११ इन्चको लम्बाइ तथा त्यतिकै चौडाइभित्रको जमीनमा निर्माण भएको थियो । किंवदन्ती अनुसार काष्ठमण्डपको सम्पूर्ण निर्माण एकल वृक्षबाट सम्पन्न भएको हो । त्यसो हो भने त्यो सालको वृक्ष कति ठूलो थियो होला र त्यो वृक्षका काठ कुन वनबाट, कसरी त्यस निर्माण स्थलसम्म ल्याइयो होला भन्ने अनुमान पनि उत्तिकै रोचक हुन्छ ।
काष्ठकलाको दृष्टिले काठमाडौं उपत्यका विश्व प्रसिद्ध छ । यस उपत्यकामा फस्टाएको मल्लकालीन सभ्यतामा काष्ठकलाको विशेष स्थान छ । काठमाडौं उपत्यकाका कलात्मक झयालहरू नामक पुस्तकमा त्यसका लेखक ई. चन्द्रबहादुर जोशीले २१ प्रकारका झयाल र तिनका सयौं बुट्टाबारे सचित्र विवरण प्रस्तुत गरेका छन् । वि.सं. २०४६ मा नेपाल राजकीय प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित उक्त पुस्तकको प्रकाशकीय राष्ट्रकवि माधव घिमिरेले लेखेका थिए । (हे. बक्स झयाल महिमा)
नेपालको जैविक र सांस्कृतिक विविधताको स्पष्ट चित्र विभिन्न जातजातिले प्रयोग गर्ने काठका उपकरणहरूबाट उजागर हुन्छ । घरेलु जीवनको कुरा गर्दा काठबाट के बन्दैन वा बनेन भनेर विचार गर्दा आगोमा ठाडै बसालेर पकाउने कसौंडी, कराई र खड्कौंलो बाहेक सबै घरेलु भाँडाकुडा, ज्याबल र उपकरणहरूमा काठको अत्यधिक प्रयोग हुन्छ । डाडू, पन्यूँ, दाबी, आरी, ठेकी, मदानी, गोबुवादेखि खेतबारीमा प्रयोग हुने औजारहरू हलोदेखि मियोसम्म काठले नै बनेका वा बनाइएका हुन्छन् । घरेलु प्रयोगका प्राथमिक आवश्यकताका वस्तु मात्र हैन वैदिक यज्ञिय उपकरण पनि अधिकांश काठबाटै निर्माण हुन्थे । यसै वर्ष प्रकाशित डा. आमोदवर्धन कौण्डिन्न्यायनद्वारा लिखित ‘वैदिक यज्ञिय उपकरण र वृक्षहरू’ नामक पुस्तकले वैदिककालदेखि आजसम्म पनि काठका उपकरणहरूले हाम्रो धर्म, संस्कृति र परम्परा धानेको तथ्य उजागर गर्दछ । पलाँस, खयर, डुम्री, सिप्लिकान आदि विभिन्न वृक्षका विशेष गुण पहिचान गरेर तिनको उचित प्रयोग गर्ने विधि र प्रविधि हजारौं वर्षदेखि हाम्रो समाजमा स्थापित थियो । वास्तवमा प्राचीन र आधुनिक विश्वलाई जोड्ने महत्वपूर्ण कडीको रूपमा काठ र काष्ठपदार्थ स्थापित छ । धनुवाणदेखि बन्दूक, राइफल, पिस्तोलसम्म, डण्डीबियोदेखि क्रिकेट र टेनिससम्म, सारंगीदेखि वेला (भ्वायोलिन) र गिटारसम्म, गोरुगाडादेखि हवाईजहाजसम्म हेर्दा आज पनि काठ र काष्ठ पदार्थको उपादेयता घटेको हैन, बरू बढ्दै गएको देख्न पाइन्छ ।
काठको प्रसंगमा हामीले तामा (धातु) को प्रकृति र स्वभावको कुरा पनि कोट्याएका थियौं । आजको विश्वमा धातु पदार्थ र खनिज तेलको अधिक प्रयोग हुन्छ । खनिज र खानीजन्य पदार्थहरू नवीकरणीय हुँदैनन् । पृथ्वीमा तिनको भण्डार सीमित छ । एक दिन ती रित्तिन्छन् । तर काठ त्यस्तो हैन । यो नवीकरणीय पदार्थ हो, र यो बहुउपयोगी गुणकारी प्राकृतिक सम्पदा पनि हो । धेरै विद्वान र चिन्तकहरू यो विश्वको भविष्य काठमा देख्छन्; धातु, सिमेन्ट र छडमा हैन । आजको विश्व जलवायु प्रदूषण र जलवायु परिवर्तनले त्रसित छ, आक्रान्त छ । त्यसको मूल कारण वायुमण्डलमा संचित हुने कार्बनडाइअक्साइड नामक वायु हो । सबै जीव प्राणीले सास फेर्दा त्यही वायु छोड्छन्, काठदाउरा बाल्दा त्यही वायु उत्सर्जन हुन्छ । तेल, मट्टीतेल, डिजल, पेट्रोल, कोइला आदि इन्धनको खपत हुँदा पनि सोही वायु उत्सर्जन हुन्छ । त्यही वायुले गर्दा पृथ्वीमा उष्णता बढ्छ, तापमान बढ्छ र सबै जीवप्राणी हरितगृह (Green house) भित्र गर्मीले उसिनिन्छौं । जलवायु परिवर्तन हुन्छ । त्यसले प्रलयको भय निम्त्याउँछ । त्यस्तो प्रलयकारी वायु अर्थात् कार्बनडाइअक्साइडलाई सोर्ने, बढार्ने र सोस्ने शक्ति हरियो वनस्पति र वृक्षमा बाहेक अरूमा छैन ।
वैज्ञानिक तथ्याङ्क अनुसार पृथ्वीको वायुमण्डलमा भन्दा पृथ्वी सतहका वनमा बढी कार्बन संचित छ । त्यस अनुसार पृथ्वीको वायुमण्डलमा ३००० गिगाटन कार्बन छ भने पृथ्वीको वनमा ४५०० गिगाटन छ । यो तथ्यलाई मनन् गर्दै अबको विश्व वातावरण नीतिले विश्वको मौजुदा वन, विशेष गरेर पुराना प्राकृतिक ज्येष्ठ वन सम्पदा (Old Growth Forests) मा कार्बनको सुरक्षित भण्डारण गर्ने कुरालाई उच्च प्राथमिकता दिनुपर्दछ । त्यसमा पनि लामो आयु हुने वृक्ष र वनको क्षेत्र बढाउनुपर्ने कुरामा अधिक जोड दिइनु जरूरी हुन्छ ।
काठ र काष्ठ पदार्थ बहुउपयोगी र संसारका जुनसुकै कुनामा बस्ने जनसमुदायका लागि काम गर्न सजिलो वस्तु हो । यसको यस्तै विशेषताका कारण, प्रकृति र संस्कृतिको साइनो बलियो बनाउन तथा काठको उपादेयता प्रवद्र्धन एवं स्रोत सम्वद्र्धनमा ध्यान केन्द्रित गराउनको लागि प्रत्येक वर्ष मार्च महीनाको २१ तारीखमा विश्व काष्ठ दिवस मनाइन्छ । यो वर्षको अन्तर्राष्ट्रिय कार्यक्रम नेपालमा पनि संचालन हुने भएको छ । त्यस अवसरमा मानव मात्रको शान्तिपूर्ण सहअस्तित्व र दिगो विकासको सन्दर्भमा प्रकृति र संस्कृतिको अन्तर निर्भरतामा काठको भूमिकालाई लिएर आपसी ज्ञान, विज्ञान, कला, साहित्य र संस्कृति बारे अन्तरक्रिया गर्ने लक्ष्य निर्धारण गरिएको छ । यस कार्यक्रम अन्तर्गत सम्पन्न हुने विचार गोष्ठीलाई ६ बुँदामा बाँधिएको छ । ती यसप्रकार छन्–
Vaidik Yajniya_Pix-min१. ऐतिहासिक पृष्ठभूमिमा काठको प्रयोग र सांस्कृतिक सम्पदामा काष्ठ पदार्थको सम्वद्र्धन
२. काष्ठ सामग्री र परम्परागत प्रचलनहरू
३. दुर्लभ वस्तुको पुनःप्राप्ति र तिनको संरक्षण
४. आर्थिक समृद्धि र दिगो विकासमा काठको भूमिका
५. अन्तर्राष्ट्रिय एवं स्थानीय स्तरका चुनौती
६. कला, कलात्मक ढाँचा (डिजाइन) र वास्तुकला ।

अन्त्यमा,
नेपाल र नेपालीको जीवन र संस्कारमा आमाको कोखबाट जन्मेको दिन तापेको आगोदेखि चितामा बल्ने दाउरासम्म; निधारमा लगाउने चन्दनदेखि पाउमा लगाउने खराउसम्म, हलो समाउने अनौदेखि बैठक सजाउने फर्निचरसम्म तथा वन चहार्ने राउटेदेखि देश हाँक्ने राष्ट्रपतिसम्म पनि उही काठ, उही दाउराको अहम् भूमिका स्थापित छ । त्यसो भनिरहँदा काष्ठ सम्पदाको विविधतामा नेपालको सम्पन्नता पनि बिर्सनुहुँदैन ।
गुण र स्वभावमा एउटा प्रजातिको काठ अर्कोसँग मिल्दैन । साल, सतिसाल र विजयसाल तीन प्रजातिका वृक्ष हुन् । तिनका गुण, स्वभाव र उपयोगमा ठूलो भिन्नता हुन्छ । नेपालको वृक्ष सम्पदामा कति प्रजाति छन् भन्ने यकिन तथ्यांक छैन । तर मधेश–तराईका साल तथा साल प्रधान वनमा १२४ विभिन्न प्रजातिका वृक्ष पाइन्छन् । तिनमा हर्रो, बर्रो, अमला, जंगली आँप, चाँप, खयर, सिसौ, साज, शिरीष, सिमल, कर्मा, कदम आदि प्रमुख छन् । त्यस्तै चिलाउने र कटुसको वनमा १४३ वृक्ष प्रजाति भेटिएका छन् । मध्य पहाडी क्षेत्रमा फस्टाउने यस्तो वनमा पात्ले, ढाले र मुसुरे गरी तीन प्रकारका कटुस पाइन्छन् । अरू वृक्षमा फलाँट, लालीगुराँस, चाँप, चिउरी, काउलो, रिट्ठा आदि प्रमुख छन् ।
यस प्रकार नेपालको ३५ प्रकारका वन भित्र ५०० भन्दा अधिक प्रजातिका वृक्ष हुनुपर्छ भन्ने अनुमान गर्न सकिन्छ । नेपालका विभिन्न जनजातिका परम्परागत ज्ञान र सीपका आधारमा काष्ठ सम्पदाको सदुपयोग र विकासका सम्भाव्यताहरूको ढोका काठको दैलोबाट खोल्न सकौं । शिक्षक वर्गले त्यसमा साथ दिऊन् । विश्व काठ दिवस– २०१६ को अवसरमा यही शुमकामना व्यक्त गर्दछु !

झयाल महिमा
Kathmandu Vally Pix-minकुनै व्यक्तिको मनको भाव हेर्ने हो भने– उसका आँखा हेरे पुग्छ, कुनै देशको निवासीको मनको भाव हेर्ने हो भने – तिनका झयाल हेरे पुग्छ । सालको खोटो लाएका चौकोसका झयालहरू साँच्ची नै गाजल लाएका लमकोसे आँखा जस्तै देखिन्छन्– तिनीहरू स्वयं नै सुन्दर देखिन्छन् र संसारलाई पनि सुन्दर देख्छन् । बुट्टा नकाटिएका झयालहरूले त घरलाई झयालखाना बनाउँछन् । झयाल केवल हावा खाने प्वाल मात्र हैन – यो त त्यो वैचिœयपूर्ण विश्वलाई हेर्ने कलाको कल्पना हो । केही छेकिनु र केही देखिनु नै त कला हुन्छ – उदाङ्गमा कुनै रंग कुनै रचना हुन्न । नेपालीको मयूरपंखी झयाल केवल बुट्टा हैन – त्यो त पल–पल बदलिने छायाँ छवि हो र त्यो हेरेर प्रतिपल नवीनताको अनुभूतिमा नाच्ने मनको प्रतिबिम्ब हो ।
नेपालका काठमा विचित्र बुट्टा र बान्कीका झयालको अगाडि उभिंदा कलैकलाको अलकापुरीमा पुगेजस्तो लाग्छ र एक झयाल उघ्रिंदा चित्रको चौकोसभित्रबाट एक जीवन्त मूर्ति मुस्कुराएर निस्किरहेजस्तो लाग्छ । नेपालीको विमानझयाल यस्तो यथार्थको कलात्मक अंक हो – जहाँ बस्ता सम्पूर्ण परिवार नै यस घरमै धर्तीमै र जुनीमै स्वर्गको आनन्दको अनुभव गर्छन् । चारैतिर देवी–देवता र मंगल चिह्नहरूले भरिपूर्ण चौकोसहरू चतुर्दिक् सुरक्षाको आभास र आस्थाका अभेद्य परिधि हुन् । नेपाली दक्ष शिल्पीहरूले काठ ताछेर केवल शिल्पका बुट्टा मात्र निकालेनन्, तिनीहरूले त्यहाँ अदृश्य सौन्दर्यलाई पनि आविर्भूत गरे । ती कलाकार मात्र थिएनन्, चिन्तक पनि थिए – तिनले स्थापत्यकलामा आफ्नो युगको आस्था र चिन्तनलाई नै अभिव्यक्ति दिए । आज हामी आफ्ना कलामा आफूलाई प्रकट गरिरहेका छौं कि छैनौं ? प्राचीन झयालका सहस्र आँखाबाट हाम्रा पुर्खाहरू हेरिरहेका छन् ।
भौतिक सुविधाले पूर्ण घर मात्र उपलब्धि हैन, सधैं यस्तै–यस्तैले त हामीलाई तनावग्रस्त बनाउँछ, कलात्मक एउटै झयालले पनि कल्पना जगाइरहन्छ र मनलाई कता–कता उन्मुक्त बनाइरहन्छ । ७
माधवप्रसाद घिमिरे
(काठमाडौं उपत्यकाका कलात्मक झयालहरू
पुस्तकको प्रकाशकीयमा)

Related Posts

/*sign up form*/