नाममा के छ र !’ तर, नाम चाहिंदो रहेछ

by • • नेपाल–अध्ययनComments (0)143

डा.तीर्थबहादुर श्रेष्ठ

डा.तीर्थबहादुर श्रेष्ठ

वनस्पतिको वैज्ञानिक नामकरणमा व्यक्ति सम्मानको सिलसिला निकै लामो छ । नेपालका सुनाखरी विशेषज्ञ भक्तबहादुर रास्कोटीले हालै एउटा नौलो सुनाखरीको प्रजातिलाई नन्दादेवी कुँवरको सम्मानमा ‘ओडोन्टोचिलस नन्देयी’ भन्ने नाम जुराएका छन् । नन्दादेवी कैलालीकी एक सामान्य गृहिणी हुन् ।

‘नाममा के छ र ?’ (What’s in a name ?) भन्ने वाक्यांश सन् १५९६ देखि विश्व चर्चित हुन थाल्यो, जब आफ्नो नाटक ‘रोमियो र जुलियट’ को संवादमा विलियम शेक्सपियरले प्रयोग गरे । आफ्नो प्रेममा बाधा पुरयाउने नाम परित्याग गर्न सल्लाह दिंदै जुलियट रोमियोलाई भन्छिन्, ‘बुवाको कुरा नसुन । तिम्रो नाम नै परित्याग गर । नाममा के हुन्छ र ! एउटा गुलाबलाई जे नामले पुकारे पनि त्यसको वास्ना उत्तिकै मीठो हुन्छ ।’ अर्थात् नाम फेरिंदैमा गुण फेरिंदैन भन्ने जुलियटको आग्रह थियो ।
हो, गुलाबलाई जे नाम दिए पनि हुन्छ । भाषा अनुसार गुलाबका नाम पनि फरक–फरक नै छन् । अंग्रेजहरू गुलाबलाई रोज भन्छन् । जापानिजहरू बारा भन्छन् । चिनियाँहरूको अर्कै नाम होला । तथापि, विश्वजगतमा गुलाबलगायत हरेक जीव–वनस्पतिको साझ नामको खाँचो भने सबैलाई खट्केको अवस्था थियो । गुलाबका सम्बन्धमा शेक्सपियरले उठाएको नामको झ्मेला त्यसको १५७ वर्षपछि स्वीडेनका कारोलस लिनियस(Carolus Linneaus) ले जीव–विज्ञानमा प्रवेश गराए । उनले प्रत्येक प्राणी वा वनस्पतिलाई संसारभरका वैज्ञानिकले एउटै नामबाट पहिचान गर्ने नयाँ पद्धति बसाले । त्यस अनुसार हरेक प्राणी वा वनस्पतिलाई लेटिन (Latin) भाषाका दुई शब्दमा बाँधेर सम्बोधन गर्न थालियो ।

सुनाखरी

सुनाखरी

संसारमा गुलाब पनि अनेकौं थरीका हुन्छन् । प्राकृत रूपमा पाइने जंगली गुलाबका प्रजातिकै संख्या पनि सयभन्दा बढी होलान् । ती सबै गुलाबलाई लेटिनमा रोजा (Rosa) जाति (Genus)  भित्र समेटिएको छ । तिनका विभिन्न प्रजाति (Species) लाई अर्को शब्दले जनाइन्छ । यसरी प्रत्येक प्रजातिलाई दुई शब्दले सम्बोधन गर्नुपर्ने नियम लिनियसले बसाएका हुन् । उनले सेतो गुलाबको एउटा प्रजातिलाई रोजा अल्बा (Rosa alba) भन्ने संज्ञा दिए । यहाँ अल्बाले सेतो भन्ने जनाउँछ । नेपालमा भैंसीकाँडे भनिने कस्तूरीको जस्तो वास्ना महकिने गुलाबलाई वैज्ञानिक जगतमा रोजा मोस्केटा भनिन्छ । सामान्य बोलीचालीको अंग्रेजी भाषामा त्यसलाई मस्क रोज (Musk Rose) अर्थात् कस्तूरी गुलाब भनिए तापनि वैज्ञानिक जगतमा रोजा मोस्केटा (Rosa moschata) नै भन्नुपर्ने हुन्छ, किनभने त्यो वनस्पति सम्बन्धी सबै वैज्ञानिक अध्ययन र अनुसन्धान संसारभर सोही नामबाट हुने गर्दछन् । त्यस गुलाबको नमूना बेलायतको वैज्ञानिक वनस्पति संग्रहालय (हर्बेरियम) मा सुरक्षित छ । भैंसीकाँडे गुलाबको निम्ति ‘रोजा मोस्केटा’ नाम सन् १८२४ मा प्रस्तावित भएको थियो । तर वनस्पति अनुसन्धानको क्रममा पछि के थाहा भयो भने सोही (भैंसीकाँडे) गुलाबलाई सन् १८२० मा नै रोजा ब्रुनोनाई (Rosa brunonii)  भन्ने नाम विधिवत् दिइसकिएको रहेछ । अन्तर्राष्ट्रिय वैज्ञानिक पद्धति अनुसार पहिलो नामलाई मान्यता दिनुपर्ने कारणले भैंसीकाँडे गुलाबलाई रोजा ब्रुनोनाई नै भन्नुपर्ने भयो । अहिले रोजा मोस्केटा चाहिं त्यसको वैकल्पिक नामको रूपमा रहेको छ ।
नेपालका वनस्पतिको वैज्ञानिक नामकरणको क्रम सन् १८०२÷०३ मा नेपाल आएका अंग्रेज कूटनीतिज्ञ फ्रान्सिस बुचानानन् ह्यामिल्टन (Fransis Buchananun Hamilton) ले यहाँ संकलन गरेर बेलायतको संग्रहालयमा पु¥याइएका वनस्पतिका नमूनाबाट प्रारम्भ भयो । ह्यामिल्टनले संकलन गरेको भैंसीकाँडे गुलाबको नमूना नै रोजा ब्रुनोनाईको आधिकारिक नमूना हो । त्यो वनस्पति नमूना (Herbarium Specimen) आज पनि बेलायतको ब्रिटिश म्युजियमको वनस्पति संग्रहालयमा सुरक्षित छ, र अध्ययन अनुसन्धानका लागि खुल्ला पनि छ । ह्यामिल्टनले नै संकलन गरेको उत्तिसको नमूनालाई अल्नस नेपालेन्सिस(Alnus nepalensis) भन्ने संज्ञा दिइयो सन् १८२५ मा । नेपालबाट संकलित भएको हुनाले डेभिड डोन (David Don) ले त्यस वनस्पतिलाई नेपालेन्सिस भन्ने नाम सुझए । यो वृक्ष गढवालदेखि सिक्किम, भूटान, बर्मा र चीनमा पनि पाइन्छ, तर त्यसको नाम भने अल्नस नेपालेन्सिस नै रहने वैज्ञानिक बाध्यता छ । सन् १९९६ मा यो पंक्तिकार र सहकर्मी रवीन्द्रमान जोशीले नेपालका दुर्लभ, रैथाने एवं संकटापन्न वनस्पति (Rare, Endemic and Endangered Plants of Nepal)   नामक पुस्तक प्रकाशन गर्दासम्म फूल फुल्ने ६ हजार ५०० वनस्पति प्रजातिमध्ये ९३ वनस्पतिको वैज्ञानिक नाममा नेपाल जोडिएको पाइएको थियो । तीमध्ये ३२ वटा बिरुवा भने नेपाल बाहिर नपाइने ठहरिएका थिए । तिनमा कुनै विष प्रजातिका थिए भने कुनै घाँस प्रजातिका ।
वनस्पतिशास्त्रीहरूलाई बिरुवाको नामकरण गर्दा आफूखुशी जे पनि नाम दिने स्वतन्त्रता हुन्छ । तर त्यस्ता बिरुवा अरूले नामकरण गरी नसकेको नौलो हुनुपर्छ र वनस्पतिको वैज्ञानिक नमूना आधिकारिक वनस्पति संग्रहालयमा विधिवत् सञ्चय पनि भएको हुनुपर्छ । त्यसरी दिइएको नाम वैज्ञानिक मान्यता प्राप्त पुस्तक, पुस्तिका वा अन्य आधिकारिक प्रकाशनमा प्रकाशित हुनुपर्छ । वनस्पतिशास्त्रीहरू आफ्नो नौलो प्राप्तिलाई नयाँ नाम जुराउँदा कहिले बिरुवाको गुण वा आकृतिलाई महŒव दिन्छन् त कहिले केलाई । वैज्ञानिक भाषामा लालीगुराँसलाई रोडोडेन्डन अर्बोरियम (Rhododendron arboreum) भनिन्छ । यहाँ वृक्षको कद बुझउन अर्बोरियम भन्ने संज्ञा चयन भयो । कतिपय बिरुवाको नाम स्थान नामसँग जोडिएको हुन्छ । इण्डिका, चाइनेन्सिन, जापोनिका मात्र हैन गाउँ ठाउँको नाम पनि दिने चलन छ, जस्तै फुल्चोकीयन्सिन, मुस्ताङगेन्सिस, धनकुटेन्स आदि । स्थान नाम मात्र हैन स्थानीय नामलाई आधार बनाएर पनि थुप्रै वनस्पतिको नामकरण भएको छ । खेतबारीमा पाइने बुकी झरलाई एनाफालिस बुसुवा (Anaphalis busua) भनिन्छ । नेवारी नाम बुँस्वाँलाई आधार बनाएर त्यो नाम चयन भयो ।

Bhakta
व्यक्तिविशेषको नामबाट पनि प्रशस्तै बिरुवाका नाम स्थापित छन् । हाम्रो चिलाउनेको वृक्षलाई वैज्ञानिक जगतमा शिमा वालिचाई (Schima wallichii) भनिन्छ । एक अंग्रेज वनस्पतिशास्त्री हुन् नाथनियल वालिच (Nathaniel Wallich) । उनले सन् १८२० मा नेपालबाट थुप्रै वनस्पति संग्रह गरेका थिए । तीमध्ये चिलाउने पनि पर्न गएको थियो ।
वनस्पतिको वैज्ञानिक नामकरणमा व्यक्ति सम्मानको सिलसिला निकै लामो छ । यसै सन्दर्भमा हालै नेपालका सुनाखरी विशेषज्ञ भक्तबहादुर रास्कोटीले एउटा नौलो सुनाखरीको प्रजातिलाई ‘ओडोन्टोचिलस नन्देयी’ (Odontochilus nandae) भन्ने नाम जुराएका छन् । यस सम्बन्धी विस्तृत विवरण २०७३ भदौ ४ गतेको कान्तिपुर दैनिक मा प्रकाशित छ । नन्दादेवीको नाम बोकेको सुनाखरी र सुनाखरीको सौभाग्य बोकेकी नन्दादेवीको चित्रले सुशोभित उक्त विवरण नेपाली समाजमा वनस्पति सम्बन्धी चेतनाको संचार गराउन सफल भएको छ ।
नन्दादेवी कुँवर एक सामान्य ग्रामीण परिवारकी गृहिणी हुन् । आफ्नो गाउँको वन संरक्षण गरेर बसेकी एक सशक्त महिला— कैलाली जिल्लाको मालाखेती गाविसमा पर्ने मधुमालती सामुदायिक वनकी अध्यक्ष । वन अतिक्रमणकारीका लागि एक दह्रो तगारो बनेर ३०० घरपरिवार सदस्य रहेको वन उपभोक्ता समूहको २७ विगाको वनकी संरक्षक । उनी वि.सं. २०६९ को वैशाख ९ गते बिहानीको ९ बजेको समयमा वनलाई तारबार गरिरहेकै अवस्थामा वन अतिक्रमणकारीको सांघातिक हमलामा परिन्; दाहिने हात काटिएर बीभत्स घाइते हुन पुगिन् । गाउँलेको सहयोगमा समयमा नै उपचार पाएर ज्यान जोगाइन् तर हात काम लाग्ने भएन । अपाङ्ग जीवन बिताउन बाध्य छिन् । त्यस घटनाले संरक्षण क्षेत्रमा निकै चर्चा पायो । जिल्ला वन कार्यालयको पहलमा उनलाई विश्ववन्यजन्तु कोषले संरक्षण पुरस्कार पनि प्रदान ग¥यो । त्यहाँको सामुदायिक वनको नाम पनि ‘मधुमालती नन्दा सामुदायिक वन’ भनेर नामकरण गरियो । हालमा, एउटा सुनाखरीको नाम तिनै नन्दादेवीकै नाममा दर्ता भएको छ ।
ख्यातिप्राप्त नाम बन्यो नन्दादेवी । तर नामले मात्र मामको समस्या टार्न सकिंदो रहेनछ भन्ने ज्वलन्त उदाहरण पनि बनेकी छिन् उनै नन्दादेवी । आउँदा दिनमा उनको जीवन गुजाराका लागि नन्दादेवी कोष स्थापना हुन सकेन भने ‘नाममा के छ र ?’ भन्ने प्रश्नको उत्तर शेक्सपियरबाट हैन नन्दादेवी कुँवरबाट चाहिं आउन सक्छ । तसर्थ, ‘नाममा केही छ’ भन्नेहरू नन्दादेवीको घाउमा मल्हम लगाउन समय छँदै अघि सर्नु बुद्धिमानी हुने देखिन्छ । अस्तु ।

Related Posts

/*sign up form*/