धेरै बोल्ने विद्यार्थी सुन्ने शिक्षक

by • • रिपोर्टComments (0)2699

Print Friendly, PDF & Email

रोश्ना सुब्बा

यहाँका शिक्षकभन्दा विद्यार्थी धेरै बोल्छन् र उनीहरूका कुरा शिक्षक सुन्छन् । सिकाइमा सहभागी भयो भने मात्र विद्यार्थीले थप नयाँ कुरा सिक्न र बुझन प्रयास गर्छन् । ट्राइ इट, मेक मिस्टेक एन्ड लर्न इट’ भन्ने यहाँका शिक्षकहरूको आदर्श वाक्य रहेछ ।

पिम्बल गलर्स  हाईस्कूल, अष्ट्रेलियाकी एक छात्रा कक्षामा आफ्नो परियोजना कार्य प्रस्तुत गर्दै थिइन्; अचानक देखाउँदै गरेको भिडियो अड्कियो । उनले प्रयास गरिन् तर पनि चलेन । पाहुना (हामी) का अगाडि यस्तो हुँदा उनले अप्ठ्यारो महसूस गरिन् । गाला राता भए । उनी आत्तिइन् पनि । यत्तिकैमा शिक्षकले उनको हात समातिन्, ढाड सुम्सुम्याइन् र भनिन्, “प्रविधिमा यस्तो समस्या जहाँ पनि हुन्छ, चिन्ता नगर !” शिक्षकको ढाढस र व्यवहारपछि उनले आत्मविश्वासका साथ आफ्नो प्रस्तुति सकिन् । ठूलाका आँखाबाट हेर्दा यो घटना सामान्य र सानो थियो । तर त्यहाँ शिक्षकले जति छिटो र गम्भीरताका साथ ती छात्रालाई परेको अप्ठेरो र त्यसबाट उत्पन्न संवेगलाई सम्हालिन् त्यसले हामी ‘पाहुना’ हरूको मनमस्तिष्कलाई झञ्कृत ग¥यो, छोयो ।

तरकारीका बिरुवा रोप्ने तयारी गर्दै

ती छात्राको परियोजना कार्यको शीर्षक थियो– क्यान्टिन क्लिन अप । उनले आफ्नो विद्यालयको क्यान्टिनमा वार्षिक ७० हजार र त्यहाँ हुने अन्य कार्यक्रममा ३० हजार गरी एक लाख जति प्लास्टिकका कप प्रयोग हुने तथ्यांक प्रस्तुत गर्दै यस्ता कप स्वास्थ्यका लागि हानिकारक हुने विभिन्न अध्ययनका निष्कर्ष पनि सुनाइन् । यो समस्याको समाधानका लागि उनले सडेर जाने ‘बायो कप’ को विकल्प अघि सारिन् । आफूले खोजेका सबै जानकारी अगाडि राखेर उनले विद्यालयका वित्त निर्देशकसँग पनि कुराकानी गरेकी रहिछन् । वित्त निर्देशकले पुनः प्रयोग गर्न सकिने ‘बायो कप’ ल्याउने विद्यार्थीलाई ‘हट ड्रिंक’ मा डिस्काउन्ट दिन सकिने प्रस्ताव गरेका रहेछन् । यो अध्ययनपश्चात् ती छात्राले घरमा पनि प्लास्टिक कप प्रयोग गर्न छाडिछन् । ती छात्राका कुराले; परियोजना कार्यमा संलग्न गराएर विद्यार्थीलाई सिकाइको अवसर दिने हो भने विषयगत ज्ञानसँगै उनीहरूको व्यवहार परिवर्तन गर्न समेत सकिने रहेछ भन्ने देखाइरहेको थियो । अरूका अगाडि आफू र आफ्ना कुरा प्रस्तुत गर्ने, आफ्नो प्रस्तुतिमा कसैले जिज्ञासा वा प्रश्न राखे त्यसको उत्तर दिने जस्ता सीप र आत्मविश्वास आर्जन गर्ने कुरा त छँदैछ ।

शिक्षाका विविध विधा र निकायमा कार्यरत हामी ७ जना नेपाली र ७ जना भूटानी अष्ट्रेलिया सरकारको निम्तोमा त्यहाँका विद्यालयहरूको शैक्षिक गतिविधि नियाल्न यही मंसीरको पहिलो साता सिड्नी पुगेका थियौं । हाम्रो अध्ययन भ्रमणको संयोजन त्यहाँको युनिभर्सिटी अफ टेक्नोलोजी, सिड्नी युटीएसले गरेको थियो । हाम्रो कार्यक्रम मूलतः विद्यालय तहको गणित र विज्ञान विषय शिक्षण विधिमा केन्द्रित हुनेथियो । हामीलाई प्राथमिक र माध्यमिक विद्यालयमध्ये कुनै एक रोज्न दिइएको थियो । मैले प्राथमिक तह रोजें । यसमा केही कारण थिए । ‘उदार कक्षोन्नतिको दुरुपयोगः सिकाउँदै नसिकाई कक्षा चढाइन्छ’ शीर्षकमा केही महीनाअघि शिक्षक  मासिकका निम्ति रिपोर्टिङ गर्दा पाँचथरकी विद्यार्थी सुजाता न्यौपानेसँग गरेको कुराकानी मेरो मनमस्तिष्कमा ताजै थियो । कक्षा १० मा पुग्दा समेत उनले आफूलाई जोड, घटाउ, गुणन र भाग गर्न नआएको बताएकी थिइन् । यस्तै, प्राथमिक तहका कतिपय विद्यार्थीले आफूलाई सबभन्दा गाह्रो लाग्ने विषय ‘गणित’ भएको पनि सुनाएका थिए । ‘किन’ भन्दा कतिपयको जवाफ हुन्थ्यो— ‘गणित त कण्ठ पार्न सकिंदैन नि त !’ गणित जस्तै विद्यार्थीले तलैदेखि गाह्रो मान्ने विषय विज्ञान पनि हो ।

यसबाहेक ‘गणित र विज्ञान साँच्चै नै जटिल विषय हुन् । प्रतिभाशाली विद्यार्थीले मात्र यी विषय पढ्न सक्छन्’ भन्ने छाप हामीमा पहिल्यै पारिएको हुन्छ । यसैले; मैले अष्ट्रेलियामा प्राथमिक तहका विद्यार्थीलाई कसरी सिकाइँदो रहेछ भनेर हेर्न र जान्न चाहेकी थिएँ । त्यहाँ, शिक्षकको मुख्य चासो कुनै पनि विषयको सिकाइ प्रक्रियामा विद्यार्थीलाई कसरी संलग्न र सहभागी गराउने भन्ने हुँदोरहेछ । यसका लागि विद्यार्थीले के के गर्दा विषयवस्तुप्रति रुचि देखाउँछन्, ध्यान दिन्छन्, जिज्ञासा वा आफ्नो भनाइ राख्छन्, प्रश्न वा छलफल गर्न सक्छन् भन्ने पूर्ण आकलन गरेर त्यस सम्बन्धमा शिक्षकले तयारी गर्दा रहेछन् । जस्तो; विद्यार्थीलाई कक्षाकोठा बाहिर लगेर अवलोकन गराउने कि, कक्षाकोठामै कुनै अभ्यास गराउने कि, नाटक मञ्चन गर्ने कि, खेल खेलाउने कि, परियोजना कार्य वा समूहगत प्रस्तुति गर्न लगाउने भन्ने बारेमा कक्षाकोठामा जानुअघि शिक्षकले पहिले नै योजना बनाउँदा रहेछन् । सिकाउन लागिएको विषयवस्तुप्रति विद्यार्थीको आफ्नो परिवेश वा दैनिक जीवनमा कस्तो बुझइ वा अनुभव छ भन्ने कुरालाई पनि कक्षाको सिकाइसँग जोडिंदो रहेछ । यसो गर्दा विद्यार्थीलाई कुनै पनि विषयको अवधारणा (कन्सेप्ट) बुझउन सजिलो र सिकाइ जीवन्त हुने रहेछ । सिकाइ क्रियाकलापमा यसरी सक्रिय रूपमा सहभागी भएपछि विद्यार्थीलाई सैद्धान्तिक ज्ञान र व्यावहारिक सीप हासिल गर्न सजिलो हुने नै भयो ।

सबै विद्यार्थी तरकारी बारीमा
सिकाइ प्रक्रियामा विद्यार्थीको सक्रिय सहभागिता सुनिश्चित गर्न अष्ट्रेलियाली शिक्षकहरू के के गर्दारहेछन् त ? केही उदाहरण हेरौं—
आई लाइक इट …
आई डन्ट लाइक इट…
ओ…आई डन्ट लाइक चिल्ली… इट्स स्पाइसी…

तरकारी बारी (भेजिटेबल गार्डेन) मा खुर्सानी र गोलभेंडाको बिरुवा रोप्ने तयारी हुँदै गर्दा किन्डरगार्टेन (केजी) का साना विद्यार्थी विभिन्न तरकारीको स्वादबारे शिक्षक सामु आफ्नो भनाइ राख्दै थिए । विद्यार्थीको त्यो समूहमा नेपाल, न्यूजिल्याण्ड, इङ्गल्याण्ड र जर्जियाबाट बसाइँ सरेर आएका केटाकेटी पनि थिए । केटाकेटीका भनाइ सुनेपछि शिक्षकले बिरुवाका जरा र अन्य भाग देखाएर तिनको नाम भने । बारीमा केही दिनअघि नै उनीहरूले फर्सीको बीउ रोपिसकेका रहेछन् । फर्सीका बिरुवामा दुई वटा पात पलाइसकेका थिए । बिरुवालाई उम्रन, हुर्कन के के चाहिन्छ ? शिक्षकले सोधे । पानी, माटो, घाम देखाउँदै केटाकेटीहरू जवाफ दिन थाले । छिटो छिटो सास फेर्दै शिक्षकले फेरि सोधे, ‘अरू के चाहिन्छ ?’ ‘अक्सिजन’— केटाकेटी एकैस्वरमा कराए । त्यसपछि उनीहरूले शिक्षकको निर्देशन अनुसार बिरुवा रोपे । कसैले बगैंचा नजिकै रहेको धाराबाट हजारीमा भरेर बिरुवामा पानी हाले । कसैले नयाँ बिरुवा रोप्नका लागि पानी हालेर माटो भिजाए ।

तरकारीमा पानी हाल्दै ।

बिरुवा रोप्ने काम सकिएपछि बगैंचामा फस्टाएको पुदिनाको बोटबाट पात टिपेर शिक्षकले केटाकेटीलाई चाख्न दिए । कोही पुदिनाको स्वाद मनपर्ने बताउँदै थिए । कोही मुख बिगार्दै थिए । त्यसै बेला एक जना विद्यार्थी खुशी हुँदै बोटमा फलिरहेको हरियो खुर्सानी साथीलाई देखाउँदै थिए । आफूतिर ध्यान नदिएकोमा यिनीहरूसँग शिक्षक रिसाउने हुन् कि ? मनमनै सोचें । तर किन रिसाउँथे र ? उनीहरूतिर हेर्दै मुसुक्क पो हाँसे । स्कूलको करेसाबारीमा गाँजर, खुर्सानी, भाण्टा, विभिन्न थरीका सागका बिरुवा हुर्किसकेका थिए । शिक्षकले हामीतिर फर्किएर भने ‘केटाकेटीहरू थरी थरीका सागसब्जी खान्छन् । ती कहाँबाट आउँछन् भनेर उनीहरूलाई बुझउन जरूरी छ ।’ तरकारी बारीको बीचमा एउटा सानो कम्पोस्ट मल बनाउने ढ्वाङ पनि राखिएको थियो । त्यसभित्र फलफूलका बोक्रा थिए । विद्यार्र्थीलाई कम्पोस्ट मलको बारेमा बुझउन यसो गरिएको रहेछ ।

यसरी केजी तहका केटाकेटीहरू बीउबाट बिरुवा उम्रन्छ, ठूलो हुन्छ अर्थात् हुर्कन्छ, यसका लागि माटो, पानी, घाम चाहिन्छ भन्ने ज्ञान लिइरहेका थिए । आफूले खाने तरकारीका बिरुवा चिनिरहेका थिए । तरकारी बारीमा काम गर्ने तौरतरिका सिकिरहेका थिए ।

कक्षा २
‘नेपाल र भूटानबाट हामीकहाँ केही पाहुना आउनुभएको छ’ भनेर शिक्षकले भन्नासाथ विद्यार्थीहरू खुशी हुँदै ताली बजाएर र ‘हाम्रो नाटक हेर्नुस् है !’ भनेर अनुरोध गरे । नाटक शुरू गर्नुअघि शिक्षकले विद्यार्थीलाई उनीहरू हरेकको भूमिकाका बारेमा सोधिन् । एक जना विद्यार्थी साथीहरूले बोल्नुपर्ने संवाद पनि आफैं बोल्दै थिए । शिक्षकले उनलाई धन्यवाद दिंदै सम्बन्धित विद्यार्थीलाई बोल्न दिन अनुरोध गरिन् । ह्यान्सल एण्ड ग्रेटेल (Hansel and Gretel) शीर्षकको बाल कथालाई लिएर सो नाटक प्रस्तुत गर्न लागिएको थियो । केही विद्यार्थीले पालैसँग यसको सारांश पनि प्रस्तुत गरे । ह्यान्सल एण्ड ग्रेटेल दुई दाजु–बहिनीलाई सौतेनी आमाका कारण बुबाले जंगलमा छाडेपछि उनीहरू कसरी घर फर्कन र खुशीसाथ सँगै बस्न सफल हुन्छन् भन्ने कथाको मूल सार रहेछ ।

कथाको सारांश प्रस्तुत गर्दा, कतिपय शब्दहरू सही उच्चारण गर्न नजान्ने विद्यार्थीलाई शिक्षक तुरुन्तै उच्चारण गर्न सिकाउँथिन् । यो कक्षामा तिब्बती मूलका विद्यार्थी बढी थिए । तीमध्येकै एक विद्यार्थीले ‘ट्रेल’ (trail) शब्दको अर्थ सोधे । उनले जसरी कथामा ह्यान्सलले जंगलको बाटो नबिर्सिइयोस् भनेर चिह्नका रूपमा सेतो ढुंगाका टुक्राहरू फालेका हुन्छन् । शिक्षकले पनि त्यसरी नै कक्षाकोठाको एक छेउबाट अर्को छेउमा रातो–हरियो रंगका प्लास्टिकका क्यूब राख्दै हिंडिन् र यो ‘ट्रेल’ अर्थात् बाटोको संकेत चिह्न हो भनेर बुझइन् । यसपछि उनीहरूले आफ्नो पात्र अनुसारको पोशाक र नक्कली कपाल लगाए । आ–आफ्नो संवाद बोल्दै हाउभाउ गर्दै अभिनय गरे । शिक्षकले प्रशंसा गर्दै स्याबासी दिइन् । हामीले ताली बजायौं । उनीहरू खुशी भए र धन्यवाद भने ।

नाटक सकिएपछि विद्यार्थीलाई छुट्टाछुट्टै कागजमा खाली ठाउँ भर्ने अभ्यास गर्न दिइयो । शिक्षक आफैं पनि विद्यार्थीका कापी जाँच्दै थिइन् । साथै, जसको सबै मिलेको थियो, ती विद्यार्थीलाई अरू साथीलाई सहयोग गर्न लगाउँथिन् । यसरी विद्यार्थीहरू भाषाको सुनाइ, बोलाइ, लेखाइ जस्ता सीप सिकिरहेका थिए ।

कक्षा ४
कक्षाकोठाको स्मार्टबोर्डमा त्यस घण्टीमा पढाइने पाठ र त्यसको सिकाइ उद्देश्यबारे लेखिएको थियो । उक्त कक्षामा गणितको भाग विधिको अवधारणा बुझउने तयारी थियो ।

(Learning Intention: Students will model division by sharing a collection of objects into equal groups using everyday language and record using informal methods)

पाठको उद्देश्य प्राप्तिका लागि शिक्षकले एक विद्यार्थीलाई कालो रंगका १२ वटा क्यूब चार जना साथीलाई बराबरी गरेर बाँड्न लगाइन् । ती विद्यार्थीले चार जना साथीका लागि चार फरक फरक रंगका चार वटा क्यूब लिए । र, आफ्नो टेबलमाथि चार जना साथीको नाम भन्दै फरक फरक ठाउँमा क्युब राखे । अनि एक एक वटा गर्दै बाँड्न थाले । सबैको भागमा तीन-तीन वटा प¥यो । अर्का विद्यार्थीलाई तीन जना मान्छे भएको सानो पिक्चर कार्ड र १२ वटा लाम्चो आकारको सामग्री दिइएको थियो । उनी पनि ती सामग्री आफ्नो टेबलमाथि राखेर तीन जनालाई भाग लगाउँदै थिए । कोही विद्यार्थी कम्प्युटरमा यस्तै खाले अभ्यास गर्दै थिए ।

अरू कोही विद्यार्थी ठूलो पिक्चर कार्डमा भएका वस्तु शिक्षकले भने जति मानिसलाई समान रूपमा भाग लगाऊ भनेपछि त्यही अनुसार भाग लगाउँदै थिए । यसरी आफूसँग भएको सामान वा वस्तु भाग लगाउन अर्थात् बाँड्न सक्ने भएपछि विद्यार्थीलाई समूह बनाई खेलाउन थालियो– हामीले लुँडो खेले झ्ैं । चार जना विद्यार्थीले चार रंगको गोटी छान्ने र खेल शुरू गर्ने । जस्तो, रातो गोटी छानेको विद्यार्थीको डाइसमा तीन आयो र तेस्रो स्टेप चल्दा ६०÷५ छ भने उसले क्यालकुलेटर प्रयोग गरेर उत्तर भन्नुपर्ने । क्यालकुलेटर प्रयोग गरेर उत्तर भन्न पाउने भएपछि सबैको उत्तर सही हुने नै भयो । अनि सबै विद्यार्थी खेलमा सहभागी हुन पाउने तर कसैको हार र कसैको जीत पनि नहुने; सबैको जीत हुने । कस्तो रमाइलो तरिका !
विद्यार्थीलाई भाग गर्ने औपचारिक विधि सिकाउनुअघि भागको अवधारणा बुझउन उनीहरूसँग भएका वस्तु भाग लगाउन सिकाइएको थियो । साना विद्यार्थीले घरमा आफन्तसँग अनि विद्यालयमा साथीसँग कुनै वस्तु जस्तो चकलेट बाँडेका हुन सक्छन् । उनीहरूको यही अनुभव वा पूर्व बुझइलाई नै शिक्षकले विभिन्न क्रियाकलापमार्फत सिकाइसँग जोडेकी थिइन् ।

कक्षा ५-६

अर्को ज्यादै महत्वपूर्ण  पक्ष, सिक्नका लागि यहाँका विद्यार्थीले शिक्षकबाट पाएको सम्मानजनक व्यवहार र वातावरण हो । यहाँ विद्यार्थीले कपाल लामो पाल्न वा पंक स्टाइल बनाउन पाउँछन् । यसो गर्दा उनीहरूलाई अनुशासनहीन भनिंदैन ।

विभिन्न समूहमा विभाजित विद्यार्थी आ–आफ्नो डुंगासहित प्रस्तुतिका लागि पालो कुर्दै थिए । आफ्नो डुंगा पानीमा तैरिन्छ कि डुब्छ, उनीहरू यही प्रयोग गर्ने तयारीमा थिए । उनीहरूले प्लास्टिकको कप, आइसक्रिम खाने काठको हल्का चम्चा, रंगीचंगी पाइप (स्ट्र), पानीका बोटल, कोकको बोटल जस्ता सामान प्रयोग गरेका थिए । समूह पिच्छेका फरक–फरक डिजाइन थिए । कक्षाकोठाको बीचमा टेबल थियो । त्यसैमाथि राखिएको प्लास्टिकको चारकुने भाँडामा आधाभन्दा अलि बढी पानी थियो । त्यही पानीमा आफ्नो डुंगा राखेर सबै समूहले प्रस्तुति गरे । हरेक समूहका विद्यार्थीले आफूले प्रयोग गरेको सामग्री र डिजाइनको बारेमा शिक्षक क्याथी सामु व्याख्या गरे । यसरी प्रस्तुति गर्दा एकजना मात्र नबोली समूहका सबै विद्यार्थी पालैसँग बोल्थे । सबैको सहभागिता हुन्थ्यो । एक विद्यार्थी भने रिसाएर छुट्टै बसेका थिए । उनका आँखा रसाएका थिए । केही साथीले बोलाए तर उनी आफ्नो ठाउँबाट टसको मस भएनन् । शिक्षक क्याथीले फकाइनन् ।

अन्तिम समूहको डुंगाको एकछेउ असन्तुलन भएर पानीमा डुब्ला जस्तो भएको थियो । किन यस्तो भयो भनेर त्यहाँ छलफल भयो । त्यो डुंगा मिनरल वाटरको बोतल प्रयोग गरेर बनाइएको थियो । बोतलको बिर्को खुकुलो रहेछ र त्यहाँबाट पानी छिरेर डुब्न लागेको रहेछ । त्यो समूहले डुंगा ‘रिमोडलिङ’ गर्ने निर्णय ग¥यो । पानीमा कस्तो वस्तु किन डुब्छ र कस्तो वस्तु तैरन्छ अर्थात् ‘बोयोन्सी’ के हो ? यसबारेमा सिकाउनुअघि उनीहरूलाई यस्तो अभ्यास गर्न दिइएको रहेछ ।

सो कक्षाबाट बिदा हुँदै गर्दा मैले शिक्षक क्याथीलाई ती रिसाएर बस्ने विद्यार्थीको बारेमा सोधें । ‘अहिले उसलाई ठीक छ’ उनले हाँस्दै भनिन् । समूहमा आफ्नो मात्र कुरा थोपर्न थालेपछि साथीहरूले उनलाई समूहमा राख्न नमानेका कारण उनी रिसाएका रहेछन् । यही कुरा क्याथीले सम्झएपछि उनले आफ्नो गल्ती महसूस गरेछन् । विद्यार्थीलाई समूह बनाई डुंगा प्रदर्शन गर्न लगाइएको क्रियाकलापको अर्को उद्देश्य समूहमा मिलेर काम गर्न, एक अर्काका आइडियामा छलफल गर्न र सबैका विचारको सम्मान गर्न सिकाउने पनि रहेछ ।

विद्यालय भ्रमण र कक्षाकोठा अवलोकनका क्रममा हामीलाई महसूस भएको अर्को ज्यादै महत्वपूर्ण  पक्ष, सिक्नका लागि यहाँका विद्यार्थीले शिक्षकबाट पाएको सम्मानजनक व्यवहार र वातावरण हो । यहाँ विद्यार्थीले कपाल लामो पाल्न वा पंक स्टाइल बनाउन पाउँछन् । विद्यार्थीलाई कुनै पुरस्कार दिन अगाडि बोलाइयो भने ऊ खुशीले आफ्नै पारामा नाच्दै उफ्रँदै पुरस्कार थाप्न जान पाउँछ । यसो गर्दा उनीहरूलाई अनुशासनहीन भनिंदैन । धेरै बोल्दा हाँस्दा, कक्षामा रिसाएर बस्दा, गल्ती गर्दा होच्याउने वा चित्त दुख्ने शब्द प्रयोग पनि गरिंदैन रहेछ । यहाँका शिक्षकभन्दा विद्यार्थी धेरै बोल्छन् र उनीहरूका कुरा शिक्षक सुन्छन् । सिकाइमा सहभागी भयो भने मात्र विद्यार्थीले थप नयाँ कुरा सिक्न र बुझन प्रयास गर्छन् । (‘ट्राइ इट, मेक मिस्टेक एन्ड लर्न इट’) भन्ने यहाँका शिक्षकहरूको आदर्श वाक्य रहेछ ।

हामी किताब पढेर प्रवचन दिन्छौं । किताबमा भएका प्रश्न उत्तर कण्ठ पार्न लगाउँछौं । विद्यार्थीले बुझेनौं  भन्दा ‘पढाएको बेला ध्यान कहाँ थियो हँ ?’ भनेर थरी थरीका उपनाम दिन्छौं । जबकि, पट्यारलाग्दो शिक्षण शैली प्रयोग गरेर किताब घोक्न बाध्य नपार्न हामी पनि विद्यार्थीलाई पाठको उद्देश्यअनुसार सिकाइ क्रियाकलापमा सक्रिय सहभागी गराउन सक्छौं । उनीहरूले गर्ने भनेको पनि पाठ्यक्रम तथा शिक्षक निर्देशिका अध्ययन र आफूले सिकेको तालिम प्रभावकारी सिकाइका लागि प्रयोग गर्ने नै रहेछ । वास्तवमा सोच, जाँगर र जिम्मेवारीको कुरा बढी महत्वपूर्ण  हो रहेछ ।

२०७४ पुस अंकमा प्रकाशित । 

Related Posts

/*sign up form*/