धम्बोझी मावि प्रअ र अध्यक्षले मिलेर उठाए

by • • Uncategorized, रिपोर्टComments (0)617

Print Friendly, PDF & Email

 

 

कृष्ण अधिकारी, नेपालगञ्ज
३८औं शिक्षा दिवस (२०७४) मा बाँकेका सामुदायिक विद्यालयमध्ये उत्कृष्ट विद्यालयको पुरस्कार नेपालगञ्ज उपमहानगरपालिका–१ को धम्बोझी उच्च माविले पायो । यसले जिल्लास्तरमा उत्कृष्ट माविको पुरस्कार पाएको यो दोस्रो पटक हो । यो बाँके जिल्लामै धेरै विद्यार्थी भएको विद्यालय पनि हो । यहाँ १८०० विद्यार्थी अध्ययनरत छन् ।
२०७३ मा धम्बोझी उमाविबाट १११ जना विद्यार्थीले एसईई परीक्षा दिएका थिए । तीमध्ये ११० जना ‘सी’ भन्दा माथिको ग्रेडमा पास भए । यस्तै राम्रो परीक्षा–परिणामको कारण धम्बोझी उच्च माविमा विद्यार्थीको चाप वर्षेनि बढ्दै गएको छ । यताका वर्षमा बोर्डिङ स्कूल छाडेर वर्षेनि करीब ३०० विद्यार्थी यसमा आउन थालेका छन् । खासै फिस नलाग्ने तर पढाइ चाहिं राम्रो हुने भएपछि बोर्डिङमा अध्ययनरत विद्यार्थीका लागि पनि धम्बोझी उच्च मावि आकर्षक बनेको सम्बद्ध अभिभावकहरूको कथन छ । यस उमाविमा अहिले चार वटा संकायमा ११ र १२ कक्षाको पठनपाठन भइरहेको छ । प्रायः सबै संकायमा कोटाभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

ललित चौधरी धम्बोझी नजिकैको एक बोर्डिङ स्कूलमा कक्षा ५ मा पढ्थे । त्यहाँ उनको पढाइ कमजोर थियो । शिक्षकले पढाएको बुझदैनथे । अभिभावकले उनलाई धम्बोझी उमाविमा भर्ना गर्ने विचार गरे । यहाँका शिक्षकले उनको सिकाइ तथा पढाइको जाँच लिए । कक्षा–५ मा भर्ना गरेर पढाउन गाह्रो हुने देखिएपछि अभिभावक र शिक्षकहरूले ललितलाई कक्षा–४ मा भर्ना गराइदिए । बोर्डिङ छाडेर किन सामुदायिक विद्यालयमा आएको ? ललित चौधरी भन्छन्, “बोर्डिङमा एकपल्ट पाठ पढाएपछि प्रश्नको उत्तर लेखाइ दिनुहुन्थ्यो । र त्यही प्रश्नको उत्तर घोकेर कण्ठ पार्नुपथ्र्यो । तर जति पल्ट घोके पनि मैले धेरै प्रश्नको उत्तर याद गर्न सक्दिनथें । त्यसैले बोर्डिङमा पढ्दा मेरो पढाइ कमजोर थियो । तर यहाँ पहिले पढाइ हुन्छ । नबुझेको कुरा जतिपल्ट सोधे पनि सिकाइ दिनुहुन्छ तर उत्तर भने आफैं लेख्नुपर्छ ।”

धम्बोझी उमाविको शैक्षिक वातावरण पाएपछि ललितको सिकाइ क्षमता विस्तारै सुध्रिंदै गयो । उनले गत वर्ष सजिलै कक्षा ४ पास गरे । अहिले उनी कक्षा ५ मा अध्ययनरत छन् । अब उनी कक्षामा कमजोर या पिछडिएको विद्यार्थीमा पर्दैनन् ।

मावि तहको अंग्रेजी शिक्षक हुँदै २०६२ सालमा यो विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेकी किरण आचार्यले कक्षा १ देखि नै अंग्रेजीको पढाइमा विशेष जोड दिंदै आएकी छन् । २०५८ र २०५९ सालमा धम्बोझ्ी उच्च माविबाट एक जना विद्यार्थी पनि एसएलसी उत्तीर्ण हुनसकेका थिएनन् । तर यताका वर्षमा एसईईमा शतप्रतिशत उत्तीर्ण गराउने मात्र नभई बाँके जिल्लामै सर्वाधिक विद्यार्थी भएको उत्कृष्ट विद्यालयको पहिचान प्राप्त गर्न पनि धम्बोझी उमावि सफल भएको छ । यो उपलब्धिका पछाडि धेरैको मिहिनेत रहेको प्रअ आचार्य बताउँछिन् । तथापि, शिक्षकको खटाइ र हरेक विद्यार्थीलाई नजिकबाट नियालेर सहयोग गर्ने शिक्षण शैलीका कारण विद्यालयको समग्र सिकाइ उपलब्धिमा सुधार हुनसकेको प्रअ आचार्यको कथन छ ।

आफ्नो विद्यालयको पठन–पाठनको अवस्थाबारे प्रअ किरण आचार्यको अनुभव यस्तो छ— ‘सामुदायिक विद्यालयमा पढ्ने प्रायः विद्यार्थी गरीब तथा विपन्न वर्गका हुन्छन् । अभिभावकहरूको शैक्षिक स्तर पनि न्यून नै हुन्छ । घरमा शैक्षिक वातावरण पनि कम हुन्छ । विद्यार्थीले नजानेको गृहकार्य आमाबुवा तथा दिदीदाइले सिकाइदिने संभावना प्रायः हुँदैन । यस्तै कारण पढ्न चाहने राम्रा विद्यार्थी पनि गृहकार्य गर्न नसक्दा मानसिक दबाबमा हुन्छन् । त्यस्तो दबाबले उनीहरूको पढाइमा कहीं न कहीं असर पारेको हुन्छ । यी सबै कुरालाई ध्यानमा राखेर हामीले कक्षा १ देखि ३ सम्मका विद्यार्थीका लागि विद्यालयमै गृहकार्य गर्न गराउन शुरू ग¥यौं । विद्यालयमै गृहकार्य गर्न-गराउन लगाउँदा विद्यार्थीको सिकाइस्तर पनि तत्कालै थाहा हुने, शिक्षकलाई आफ्ना कमजोरी सच्याउन पनि सजिलो भयो ।’

प्रअ आचार्य अगाडि भन्छिन्, “कक्षामै गराउँदा विद्यार्थी पनि उत्साहित भएर गृहकार्य गर्ने र कसले छिटो गृहकार्य सक्ने भन्ने एक किसिमको प्रतिस्पर्धा नै हुन्छ । यसले विद्यार्थीको आत्मविश्वास र हौसला पनि बढाउँछ । यसबाट परीक्षा भन्नासाथ डराउने अवस्थाको पनि अन्त्य हुन्छ । परीक्षा पनि कक्षाकोठामा गृहकार्य गरेर बुझएको जस्तै एउटा प्रक्रिया हो भन्ने विद्यार्थीले बुझछन् । विद्यार्थीको सिकाइ स्तर र आत्मविश्वास बढ्छ । र, समग्रमा विद्यार्थीको पढाइ राम्रो हुन्छ ।”

विद्यालयको शैक्षिकस्तर सुधारका लागि यहाँ सर्वप्रथम शिक्षक आचारसंहिता बनाएर लागू गरियो । आचारसंहितामा विद्यालयमा शिक्षकहरू समयमै आउने, पूरै अवधि विद्यालयमा बस्ने र आ–आफ्नो जिम्मेवारीको विषयको पढाइ शैक्षिक सत्र पूरा हुनुभन्दा पहिले नै सक्ने जस्ता कुराहरू समेटिएका छन् । साथै उत्कृष्ट शिक्षक छनोट गरी त्रैमासिक रूपमा सम्मान गर्ने परिपाटी पनि शुरू गरियो । आचारसंहिता लागू गरिएपछि राम्रो गर्नुपर्छ भन्ने भावना शिक्षकहरूमा बढ्दै गएको सहायक प्रअ वामदेव सुवेदीले बताए । अभिभावक र शिक्षकहरूबीच नियमित अन्तरक्रिया गर्ने र राम्रा र रचनात्मक सुझवहरूको कार्यान्वयन गर्न शुरू गरिएपछि विद्यालयको शैक्षिक वातावरण सुध्रिंदै गएको उनले बताए । एक जना शिक्षकलाई पाँच पिरियडभन्दा बढी पढाउन नपर्ने गरी शिक्षकहरूको व्यवस्थापन गरिएपछि शिक्षकहरूले खेप्नुपर्ने चाप पनि घट्दै गयो ।

प्रअले विद्यालय संचालन हुने पूरै अवधि विद्यालयमै बसेर अनुगमन गर्ने, शिक्षकहरूलाई नियमित रूपमा काउन्सिलिङ गर्ने, पुरस्कृत गर्नेदेखि राम्रो भौतिक पूर्वाधार र विद्यालयमा आर्थिक पारदर्शिता कायम भएका कारण शिक्षकहरूमा राम्रो गर्नुपर्छ भन्ने भावना जागृत भएको विद्यालयका शिक्षक पूर्णबहादुर शाहीले बताए । दक्ष, तालीमप्राप्त र पर्याप्त शिक्षक भएका कारण नै यो विद्यालयको शैक्षिक वातावरण सुध्रिएकोमा द्विविधा छैन । प्राविमा पढाउने निजी स्रोतबाट राखिएका शिक्षक त डिग्री पास गरेका र ‘केही गरौं’ भन्ने भावनाबाट अभिप्रेरित पनि पाइन्छन् ।

यस्तो सफलता कसरी सम्भव भयो ? प्रअ आचार्यको जवाफ छोटो तर प्रष्ट छ— ‘हामीले इमानदारीपूर्वक पढाएका हौं । शिक्षकहरू नियमित रूपमा विद्यालय आउने, आफ्नो पिरियड पढाउने, विद्यार्थीलाई पाठहरू पढ्न लगाउने र कक्षामै गृहकार्य गर्न लगाउने जस्ता कामहरू शुरू गरिएपछि शैक्षिक वातावरण राम्रो बन्दै गएको हो । यो बाहेक अरू ठूलो रहस्य केही छैन ।’

Related Posts

/*sign up form*/