देशको भूगोल बदलिएको छ !

by • • नेपाल–अध्ययनComments (0)1943

डा.तीर्थबहादुर श्रेष्ठ

हेक्का राखौं

देशको भूगोल बदलिएको !

Sckech_Tirtha sir -minआजका युवाले पढेको र बुझ्को नेपालको भूगोल तथा यिनले भोग्ने भोलिको नेपालको भूगोलमा धेरै ठूलो अन्तर आइसक्यो । आजका विद्यार्थीले घनघस्याको उकालो पढ्दछन् तर चढ्दैनन् । त्यसैले सडकका सञ्जाल र सम्भावित भविष्यका रेल बाटोलाई मध्यनजरमा राखेर नेपाली भूगोलका नयाँ अध्यायहरू लेखिनुपर्दछ र विद्यालय शिक्षामा तिनलाई उचित स्थान दिनुपर्छ ।

विक्रम सम्वत् २०७२ वैशाखको वर्षारम्भदेखि वर्षान्तको चैतसम्ममा घटेका घटना, परिघटना र दुर्घटनाले नेपाल राज्यको भूगोललाई नयाँ ढंगले पढ्ने, पढाउने, बुझने र बुझउने अवस्था सिर्जना गरेको छ । विनाशकारी भूकम्प र तिनका परकम्पनहरूले पुरयाएको प्रभाव, नयाँ संविधान र त्यसका प्रावधानहरूले ल्याएको नयाँ तरंग, भारतीय नाकाबन्दी र मधेशीय नाकाकस्सीका भोगाइ तथा चीनले खोलिदिएका नाकाका खापाहरूलाई मध्यनजरमा राखेर नेपालको भूगोल अध्ययनको नयाँ पाटो खोल्ने अवस्था आएको छ ।

२०७२; चैत १८ गतेको बिहीवारे बिहानी टहलमा सानेपाबाट सीधै बगलामुखी मन्दिर पुगियो । निकै भीडभाड थियो मन्दिर परिसरमा । दर्शनार्थीहरूको लस्करमा लाम लागेर बस्ने धैर्य रहेन । देवस्थल घुम्यौं र फक्र्यौं । बाटामा स्कूले छात्रछात्राको निकै चहलपहल थियो । एसएलसी परीक्षा प्रारम्भ हुने दिन रहेछ । सबै हँसिला र चञ्चल । डर, त्रास र पीर कसैको आँखामा देखिएन । हुन पनि, यसपटकदेखि एसएलसीको ढोकाका खापाहरू झ्किएको छ । अब त्यहाँबाट सबै छिर्दछन् । फेल भयो भनेर फर्कने कोही हुँदैनन् । तिनै विद्यार्थीका आँखामा नेपालको भविष्य देखिन्छ कि भनेर नियालें, तर तिनको भविष्यमा नेपाल छ कि छैन भन्ने हेक्का राख्न सकिएन । यिनले पढेको र बुझ्ेको नेपालको भूगोल तथा यिनले भोग्ने भोलिको नेपालको भूगोलमा धेरै ठूलो अन्तर आइसक्यो ।

आजका विद्यार्थीले घनघस्याको उकालो पढ्दछन् तर चढ्दैनन् । एक बिसौनी दुई बिसौनी, रूमाले कोस र स्याउले कोस, भञ्ज्याङका सुसेली र चौतारीका भेटघाट विस्मृतिमा बिलाउन थालिसके । सडकका सञ्जाल र सम्भावित भविष्यका रेल बाटोलाई मध्यनजरमा राखेर नेपाली भूगोलका नयाँ अध्यायहरू लेखिनुपर्दछ र विद्यालय शिक्षामा तिनलाई उचित स्थान दिनुपर्छ । एसएलसीले खोल्ने ढोका विदेश पलायनको मार्गद्वार नभई स्वदेश सेवाको स्वर्ण अवसरमा रूपान्तरण गर्न विशेष पहल नयाँ वर्ष २०७३ बाटै थालनी हुनसके सुनमा सुगन्ध होला ।

गत वर्षको विनाशकारी भूकम्पले हामीलाई धेरै पाठ सिकाएर गएको छ । हामीलाई राम्रैसँग ज्ञान भयो– हामी भूकम्पमाथि बसेका छौं र बसिरहन्छौं, जस्तै जापानलगायत सयौं अरू देशहरू पनि बसिरहेका छन् । तसर्थ भूकम्पलाई आत्मसात् गरेर कसरी विकास निर्माण गर्ने भन्ने ज्ञान, विज्ञान र प्रविधिसँग सम्बन्धित शिक्षा, दीक्षा, अध्ययन र अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने कुरा खुल्न आएको छ । हाम्रो भूगर्भ र भूगोललाई बुझने शिक्षाको विकासमा जोड दिनुपर्ने कुरा स्पष्ट भएको छ ।

दक्षिण एशियाको वर्तमान स्वरुप कहाँबाट आयो र कसरी निर्माण भयो भन्ने विषयमा वैज्ञानिकहरूको साझ निक्र्योल छ । त्यसअनुसार आजभन्दा ८ करोड वर्ष पहिले अफ्रिकी महादेश समेत संयुक्त रहेको भूखण्डबाट एक विशाल टुक्रा छुट्टिएर उत्तरतिरको यात्रामा लाग्न थाल्यो । त्यस भूखण्डले प्रति वर्ष १० वा १५ इन्चको दूरी तय गर्दै ४ हजार माइलको यात्रा गरेपछि उत्तरतिर अवस्थित यूरोप तथा एशियाको भूखण्डलाई छुन पुग्यो । भारतीय भूखण्ड (इण्डियन प्लेट) र एशियाली भूखण्ड (एशियन प्लेट) को त्यो मिलनपछि इण्डियन प्लेट एशियाली प्लेटको मुनितिर घुस्रेर एशियाली प्लेटलाई माथि उठाउन थाल्यो । समुद्रको पींध पनि उठ्न थाल्यो । सामुद्रिक जीवजन्तु र वनस्पतिका अवशेषहरू पर्वतीय भागमा भेटिनाले यसको पुष्टि हुँदै आएको छ । त्यसको एउटा उदाहरण शालिग्राम पनि हो । हिमालको भौगर्भिक अनुसन्धान गर्ने वैज्ञानिकहरूले सगरमाथाको थाप्लोमा सामुद्रिक पत्रे चट्टान भेट्टाए भने त्यसको लगत्तै तलको खण्डमा संगमरमरका चट्टान फेला पारे । हामीले सगरमाथको चित्रमा देख्ने गरेको पहेंलो रंगको चट्टानी पत्र त्यही संगमरमरको पत्र हो । त्यसको तलतिरका अरू चट्टान भने अझ् साह्रो ग्रेनाइट नामक कडा चट्टानले बनेको प्रमाणित भएको छ ।

नेपालको धरातलीय स्वरुप उत्तरको चीन र दक्षिणको भारतभन्दा ज्यादै कडा र साह्रो छ । हाम्रो हिमाल, महाभारत, चुरे र तिनले निर्माण गरेका लेक, बेंसी, उपत्यका र मधेश–तराईको बनोट वास्तवमा चट्टानी भूस्वरुप हो । माघ महीनामा बजार जाँदा घरतरुल कि वनतरुल भनेर कोट्याएर हेर्न मिल्ने जस्तो वस्तु नेपाल हैन । पृथ्वीनारायण शाहको ‘तरुल’ ले हाम्रो भूराजनीतिक स्थान विशेषलाई संकेत गरेको हो, त्यसले नेपालको अवस्थितिलाई मात्र बुझउँदछ । हाम्रो वास्तविकता पत्थरभन्दा साह्रो छ । त्यही पत्थरलाई कपेर, छेडेर वा फोरेर नयाँ सडक र सुरुङ तथा ठूल्ठूला पुलहरू निर्माण गरेर एशियाको फेरिंदो नक्शामा आफ्नो स्थान सुरक्षित राख्नुपर्ने चुनौती आजका नेपाली पुस्ताको काँधमा आइपरेको छ ।

श्रीलंका एउटा टापू हो र यसको चारैतिर पानी र समुद्र छ भने झ् नेपालको चारैतिर जमीन छ । यो जलपरिवेष्ठित हैन, भूपरिवेष्ठित छ । हामीलाई दक्षिणमा भारत वा उत्तरमा चीनतिर जानु प¥यो भने पानीजहाज वा हवाईजहाज चाहिंदैन । पैदलै पनि यात्रा गर्न सक्छौं । सडकको सञ्जाल सजिलै कायम गर्न सकिन्छ । यो भनेको ‘ल्याण्ड लिंकड’ अर्थात् जमीन जोडिएको अवस्था हो, ‘ल्याण्ड लक्ड’ अर्थात् जमीनले नै छेकेको अवस्था हैन । हालैको नाकाबन्दी भूगोलले गरेको तालाबन्दी हैन । भारतले नाकाबन्दी ग¥यो र चीनले नाका खोल्यो भन्नु राजनीतिक निर्णय हो, प्राकृतिक स्वरुप हैन । सैनिक शक्तिले सम्पन्न उन्मादी राष्ट्रले समुद्रमा नै युद्धपोत तेस्र्याएर अरू देशलाई नाकाबन्दी गरेका पनि थुप्रै उहाहरण छन् । वितेको वर्ष हामीले भोग्नु परेको नाकाबन्दी सैनिक बलको नाकाबन्दी हो, भौगोलिक नाकाबन्दी हैन । भूराजनीतिक कुटिलताले नेपालको भौगोलिक विशेषतालाई भजाएर नेपालको भविष्य उघार्नुपर्दछ । त्यसका लागि आवश्यक पर्ने जनशक्तिका स्रोत हाम्रा विद्यालय नै हुन् ।

धेरै वर्ष पहिले एउटा सानो कथा सुनेको थिएँ । त्यसमा एक जना चतुर व्यापारी हुन्छ । कालगतिले गर्दा त्यसलाई यमराजका दूत लिन आउँछन् । दूतले त्यस व्यापारीलाई ‘तिमीले आफ्नो कर्ममा पाप र पुण्य दुवै गरेका रहेछौ । स्वर्ग पनि र नर्क पनि जानुपर्ने नियति रहेछ । पहिले कता जान्छौं ?’ भनी सोध्दछन् । व्यापारीले जवाफ दिन्छ, “स्वर्ग र नर्कको दोबाटोमै राखिदिनुस्, किनभने त्यहाँ व्यापार हुन्छ, फाइदा हुन्छ ।” नेपालको भौगोलिक अवस्थिति त्यस्तै दोबाटोमा परेको हुनाले लाभ उठाउने रणनीतिक सोचको विकास हुने शिक्षाको आवश्यकता हामीले महसूस गर्नुपरेको छ ।

नेपालको जलशक्ति, भूशक्ति र जनशक्तिका बारेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसदीय भाषणमा प्रष्ट पारेका थिए । उनको दृष्टिमा राजमार्गको अन्तरदेशीय सञ्जाल, विद्युत् प्रसारण लाइनको अर्को अन्तरदेशीय सञ्जाल र सूचनाप्रविधिको सञ्जाल विकासले नेपालको भविष्यलाई सुनिश्चित गर्नुपर्ने कुरा खुल्न आएको थियो । हालैको नेपाल–चीनबीचको संयुक्त वक्तव्य र सम्झैताले मोदीको त्यो दृष्टिलाई साकार पार्न खोजेको छ । मोदीले बोलिदिए, सी जिङले खोलिदिए ।

चीनको केरुङबाट काठमाडौंसम्म रेल आइपुग्ने अवस्थामा भारतको सिद्धार्थनगरबाट अर्को रेल पनि काठमाडौं आइपुग्ने कुरा वि.सं. २०७२ ले उप्काएर ल्यायो । नेपालले भूसेतुको धर्म र कर्म निभाउने हो भने किमाथाङ्का र केचना जोडिन्छ, रक्सौलले रसुवालाई भेट्दछ, लोमान्थाङले लुम्बिनीलाई जोड्दछ, हुम्लाले हिरमिनिया (बाँके) छुन्छ, टनकपुरले टिंकर छिचोल्छ आदि ।

२०७२ सालले नेपालको भूराजनीतिक महत्वलाई पुनव्र्याख्या गर्नुपर्ने र यसमा निहित सम्भाव्यताका ढोकाहरू बेलैमा खोल्नुपर्ने अवस्था सिर्जना गरेको छ । त्यसका लागि हामीले हाम्रो जनशक्तिलाई अब विदेश पलायन हुनबाट रोक्नुपर्छ । हामीले शिक्षादीक्षा दिएका हाम्रा सन्ततिलाई यही भूमिमा यही माटोमा पर्याप्त अवसरको सिर्जना गर्न सक्नुपर्छ । एसएलसीको ढोकाबाट बाहिर निस्कने सबैलाई समुन्नत जीवनयापन गर्न चाहिने सामाजिक एवं आर्थिक अवसरहरू नेपालमै पर्याप्त छन् भन्ने सन्देश बोकाएर मात्र स्कूल छोड्ने, ‘स्कूल लिभिङ्ग सर्टिफिकेट’ दिनुपर्छ । ‘स्कूल लिभिङ्ग सर्टिफिकेट’ ‘कन्ट्री लिभिङ्ग सर्टिफिकेट’ नबनोस् । नव वर्ष २०७३ को शुभकामना !

Related Posts

/*sign up form*/