दिगो र प्रभावकारी ढंगबाट सिकाउने जाँगर

by • • स्थलगतComments (0)68

रामजी दाहाल

कपिलवस्तु जिल्लाको दक्षिण भेगको सरस्वती सामुदायिक निमाविले हरेक विषयको पढाइमा शैक्षिक सामग्री प्रयोग गरी सिकाइ क्रियाकलापलाई दिगो र प्रभावकारी तुल्याएको छ । तर, कपिलवस्तुको यो क्षेत्रमा सरस्वती निमावि अपवाद हो; यहाँका अधिकांश विद्यालयको पठन–पाठन कमजोर छ ।

२०७३ कात्तिक १८ गते कपिलवस्तु जिल्लाको दक्षिण भेगका सबैजसो विद्यालय स्थानीय विदाका कारण बन्द थिए । तर सदरमुकाम तौलिहवादेखि ९ किमी दक्षिण महुवा गाविसस्थित सरस्वती सामुदायिक निमावि, लक्ष्मणपुर भने त्यस पनि दिन खुलै थियो । ग्रामीण भेगको यो विद्यालयमा कार्यालय सहयोगीदेखि शिक्षकहरूसम्म सबै महिला छन्— मीना गिरी, पूर्णिमा पौडेल, बेगलक्ष्मी थारू, कमला गिरी, रागिनी गुप्ता, शिवकला केसी, मञ्जु थारू र अमृता थारू । त्यस दिन उनीहरू बिहान ९ ३० बजेदेखि नै शैक्षिक सामग्री बनाउनमा व्यस्त थिए ।
उनीहरू पहिलो पटक विद्यालयमा शैक्षिक सामग्री बनाइरहेका पनि थिएनन् । गत साउन ११ गते विद्यालयमा बाढी पसी पुस्तकालयमा राखिएका सबै शैक्षिक सामग्री डुबाएका कारण नयाँ शैक्षिक सामग्रीको जोहोमा उनीहरू जुटेका हुन् । यसबीच शैक्षिक सामग्री नहुँदा शिक्षकहरूलाई किताबको मात्र भर पर्नु परेको थियो भने विद्यार्थीलाई पढाएको राम्रोसँग बुझउन गाह्रो परिरहेको थियो । बाढीको पानीले भिजाएको फोमको म्याट धोइपखाली सुकाएर त्यसैबाट उनीहरू प्रयोगात्मक सामग्री बनाइरहेका थिए । शिक्षकहरूमध्ये कसैका हातमा सलाइका काँटी थिए भने कसैका हातमा माला र पोते, कसैका हातमा चुरा । अनि कोही चाहिं कैंचीले विभिन्न आकार–प्रकारका कागज र म्याट काटिरहेका थिए ।

शैक्षिक सामग्री बनाउँदै सरस्वती सामुदायिक निमाविका शिक्षकहरू

स्टारफिस, अमिबा, शंखेकीरा जस्ता जीव विज्ञान विषयसँग सम्बन्धित शैक्षिक सामग्री मात्र होइन, हिमाल, पहाड र तराईको पोशाकबारे पनि चित्र देखाएर पढाउने गरेका छन् उनीहरूले । किताबको कुरा मात्र पढाउँदा विद्यार्थीले राम्रोसँग नबुझने तर हिमाल, पहाड र तराईका महिला र पुरुषले लगाउने पोशाकको चित्रसहित व्याख्या गर्दा राम्ररी बुझउन सकिएको प्रअ मीना गिरीको भनाइ छ । स्थानीय खानेकुरा र जनावर बारे पनि यहाँ प्रयोगात्मक विधिद्वारा नै पढाउने गरिएको छ । प्रयोगात्मक विधिबाट पढाउँदा बालबालिकाको सिकाइ दिगो र प्रभावकारी त भएको छ नै, साथै विद्यार्थीले पनि चाख दिएर सुन्ने गरेको प्रअ गिरीको अनुभव छ ।
यहाँ अभिभावहरूसँग खुल्ला छलफल गरेपछि मात्र विद्यालयले कुनै निर्णय लिने गरेको छ । यसले गर्दा विद्यालयका क्रियाकलापप्रति सबैको विश्वास स्थापित हुनसकेको छ । यो विद्यालयको अर्को प्रमुख विशेषता भनेको राजनीति शून्यता हो । यहाँका शिक्षकलाई पार्टी राजनीतिमा पटक्कै चासो छैन । त्यसैको परिणाम हो कुनै पनि नाममा हुने बन्द, हड्तालका कारण विद्यालय बन्द हुँदैन । अरू त अरू, गत वर्षको महीनौं लामो तराई–मधेश आन्दोलनले समेत यो विद्यालयलाई छुन सकेन । अभिभावकसहित स्थानीय नेताहरूको विश्वासका कारण यो सम्भव भएको प्रअ गिरी बताउँछिन् ।

शान्त र स्वच्छ वातावरण
विद्यालय हातामा हुर्किएका रूख–बिरुवाले स्कूलको वातावरण शान्त र सुन्दर बनाएको छ । कक्षाकोठा उत्तिकै सफा र चिटिक्क देखिन्छन् । हरेक कक्षाकोठामा सफा पिउने पानीको व्यवस्था छ । कुन कक्षामा कति विद्यार्थी भर्ना भएका छन् भन्ने कुरा भित्तामा टाँसिएको चार्ट हेरेरै थाहा हुन्छ । चार्टमा विद्यार्थीको नाम र जन्ममिति मात्र होइन, तिनको उँचाइ, तौल अनि अभिभावकको नाम र फोननम्बर समेत उल्लेख गरिएको छ । विना जानकारी कुनै विद्यार्थी अनुपस्थित भएमा तत्कालै घरमा फोन गरेर शिक्षकहरू जानकारी लिइहाल्छन् । कुनै बेला घरमै पुगेर पनि विद्यार्थीलाई स्कूल ल्याउने गरिएको छ । विद्यालयको शान्त वातावरण अनि शिक्षकहरूको नम्र व्यवहारले पढाइमा राम्रो भएको बताउँछिन् कक्षा ५ की छात्रा गीता बनियाँ । हरेक विषयमा शैक्षिक सामग्री प्रयोग गरिएका कारण कक्षामा पढाएको कुरा तत्कालै सम्झ्न सकिएको उनको अनुभव छ । कक्षा ४ का सत्यवा खातुन मनिहार पढेको कुरा हत्तपत्त नबिर्सने बताउँछन् । भन्छन्, “घरमा बा–आमाबाट पाउने जत्तिकै माया पाएका छौं मिसहरूबाट ।”

विद्यार्थीलाई सरसफाइमा केन्द्रित गराउनका लागि धारासँगै राखिएको ऐनासहितका सामग्री

यहाँ छात्र र छात्राका लागि छुट्टाछुट्टै शौचालयको व्यवस्था गरिएको छ । शौचालय भित्र पर्याप्त पानी छ भने बाहिर हात धुने धारा छ, साथमा साबुन पनि । धारासँगै हात पुछ्ने रुमाल झ्ुण्ड्याइएको छ । त्यसैको अर्को छेउमा ऐना र काइयो राखिएको छ । प्रअ गिरीका अनुसार यहाँ यसरी रुमाल, ऐना र काइयो राख्न थालिएको ६ वर्ष भयो । कुनै दिन कक्षाकोठामा कोही विद्यार्थी अलि फोहोरी जस्तो देखिएमा ‘आज तिमी कस्तो÷कस्ती भएका÷भएकी छौ, ऐना हेरेर आउ त’ भनेर पठाउने गरिएको शिक्षक पूर्णिमा पौडेलले बताइन् । शिक्षक पौडेलको भनाइमा साबुन, पानी र ऐनाले विद्यार्थीलाई सरसफाइप्रति स्वतः जागरुक र जाँगरिलो बनाएका छन् ।
विद्यालय र विद्यार्थीमा देखिएको यो सबै परिवर्तनको जस शिक्षक तालीमलाई दिन्छिन् प्रअ गिरी । उनको भनाइमा तालीम नलिंदासम्म कसरी पढाउँदा प्रभावकारी हुन्छ भन्ने थाहै थिएन, कक्षामा विद्यार्थीसामु कसरी प्रस्तुत हुने भन्ने कुरा समेत तालीमले नै सिकाएको उनको भनाइ छ । प्रअ गिरीका अनुसार उनले पोखरामा लिएको १० महीने तालीम शिक्षण सिकाइमा मात्र नभई कक्षाकोठा व्यवस्थापन, खानेपानी, शौचालय जस्ता आधारभूत विषयमा समेत केन्द्रित थियो ।

विद्यार्थी टिकाउने काइदा
सरस्वती निमाविमा अहिले १३५ छात्र र ८६ छात्रा गरी २२१ जना विद्यार्थी भर्ना छन् । यहाँ वर्षको शुरूमा भर्ना भएका सबै विद्यार्थी नियमित आउँछन्, हत्तपत्त कोही पनि कक्षा छुटाउँदैनन् । जबकि शिक्षा विभागको रेकर्ड अनुसार भर्ना भएका विद्यार्थी टिकाउन कठिन पर्ने जिल्लाहरूमा कपिलवस्तु अगाडि छ । त्यसो भए यो विद्यालयमा चाहिं विद्यार्थी टिकाइराख्न कसरी सकिएको छ त ? शिक्षकहरूको भनाइमा यसका लागि विद्यालयमा हरेक दुई महीनामा नियमित अभिभावक भेला डाकिन्छ । त्यस्तो भेलामा प्रायः घरबाट आमाहरू नै प्रतिनिधित्व गर्छन् । ती आमाहरूलाई पढाइको महŒवबारे महिला शिक्षकहरूले आफ्नै समाजको उदाहरण दिएर बुझउने प्रयास गर्छन् । यसरी विद्यालयमा सामूहिक रूपमा बोलाएर बारम्बार शिक्षाको महŒवबारे बुझएपछि अभिभावकहरू पनि स्कूल भर्ना भएका आफ्ना छोराछोरीलाई हत्तपत्त छुटाउन चाहँदैनन् । यति मात्र होइन, हरेक साता शिक्षकहरूले घरदैलो कार्यक्रम पनि चलाउने गरेका छन् । आमाकेन्द्रित यो कार्यक्रम निकै प्रभावकारी भएको प्रअ गिरीको भनाइ छ ।

विभिन्न क्षेत्रका मानिसले लगाउने पोशाकबारे प्रयोगात्मक जानकारी गराउनका लागि तयार पारिएको चित्र

तथापि, सरस्वती सामुदायिक निमावि सजिलै आजको अवस्थामा आइपुगेको भने होइन । यसका लागि यहाँका शिक्षकहरूले धेरै मिहिनेत गरेका छन् । मुस्लिम बहुल यो क्षेत्रका बालबालिकालाई विद्यालयमा पठाउनुपर्छ भनेर शुरूका दिनमा घर–घरमा जाँदा ‘तिमीहरू इज्जत नभएको मान्छे, हाम्रो घरमा आएर अनेक कुरा गर्छौ !’ भनेर महिलाहरूले नै शिक्षकहरूलाई हप्काएका थिए । शुरूको वर्ष २२ जना विद्यार्थी भर्ना गराउन उनीहरू सफल भए । पछि घरदैलो कार्यक्रम गरेर ‘हामी पनि तपार्इं जस्तै हौं, छोराछोरी पढ्न पठाउनुपर्छ’ भनेर आमा र दिदीबहिनीसँगको व्यवहार गरेपछि बिस्तारै पढ्न पठाउन थालेको सम्झ्न्छिन् प्रअ गिरी । दोस्रो वर्ष ३७ जना विद्यार्थी भर्ना गराउन सफल भए उनीहरू । स्थानीय अभिभावक मोहम्मद इजहार मनिहार बालबालिका पढ्न जान थालेपछि गाउँमा सकारात्मक परिवर्तन आएको बताउँछन् । हिजोका दिनमा पढ्न नपठाएर आफूहरूले गल्ती गरेको उनको भनाइ छ । अभिभावक शान्ति धोबी भन्छिन्, “यहाँका शिक्षिकाहरूले हाम्रो आँखा खोलिदिएका छन् ।” यहाँ विद्यालय नभएको भए यो क्षेत्रका बालबालिका निकै पछाडि पर्ने उनको बुझइ छ । प्रअ गिरीका अनुसार अहिले विद्यालयको सेवा क्षेत्रभित्रका कुनै पनि बालबालिका विद्यालय बाहिर छैनन् ।
विद्यालयले सञ्चालन गरेको खुत्रुके कार्यक्रमले पनि विद्यार्थी उपस्थिति दर बढाउन मद्दत गरेको छ । कतिपय विद्यार्थी हप्तौंसम्म विना जानकारी अनुपस्थित हुने क्रम रोक्न शुरू गरिएको यो कार्यक्रम अन्तर्गत अनुपस्थित हुने विद्यार्थीले दिनको एक रुपैयाँको दरमा खुत्रुकेमा पैसा जम्मा गर्नुपर्छ । अभिभावकलाई विद्यालयमा डाकेर एक दिन अनुपस्थित हुँदा पढाइमा कति नोक्सानी पर्छ भन्ने राम्रोसँग बुझएपछि उनीहरूकै सहमतिमा शिक्षकहरूले यस्तो नियम बनाएका हुन् । यसबाट गत वर्ष रु.६० जम्मा भएको थियो । त्यसमा केही पैसा थपेर विद्यालयले किनिदिएको घडी कक्षा ३ को भित्तामा झ्ुण्ड्याइएको छ ।
यहाँ १ कक्षामा भर्ना हुने बालबालिकालाई शुरूको ६ महीनासम्म यस क्षेत्रको सम्पर्क भाषा अवधीमा पढाउने गरिन्छ । त्यसपछि विस्तारै उनीहरूलाई नेपाली भाषामा पढाउने गरिएको छ । प्रअ गिरीका अनुसार यो गाविसमा अहिलेसम्म एसएलसी पास गरेका ११ जना मात्र छन् । तीमध्ये सात जना त महिला नै छन् । त्यसमध्ये गुञ्जेश्वरी कुर्मी, पुनम थारू, साधना थारू र अनिता थारू यही विद्यालयमा पढेका हुन् । उनीहरू चारैजना अहिले दश जोड दुईमा पढिरहेका छन् । अमृता थारू, राधा थारू र सावित्री यादव चाहिं विवाह भएर अन्यत्रबाट यो गाउँमा आएका हुन् । अमृता र राधा श्री माविमा पढाउँछन् भने सावित्री नुरुल उलु मदरसा बदलपुरामा पढाउँछिन् । युवाहरू भने साक्षर भएपछि कामको खोजीमा भारतलगायतका मुलुकमा जाने गरेका छन् । जसका कारण पनि यो क्षेत्रमा एसएलसी पास गर्ने पुरुषभन्दा महिला बढी भएका हुन् ।

 

शून्य दरबन्दी

कपिलवस्तु जिल्लामै उम्दा पढाइ हुने विद्यालयमध्ये पर्ने सरस्वती सामुदायिक निमाविमा स्थायी शिक्षक दरबन्दी भने एउटा पनि छैन । कार्यालय सहयोगी मात्र होइन, अरू शिक्षकहरू पनि राहत र निजी स्रोतका मात्र हुन् । पूर्णिमा, बेगलक्ष्मी र मीना राहत शिक्षक हुन् भने अरू सबै पीसीएफ र निजी स्रोतका । उनीहरूले पाउने मासिक तलब भनेको मात्र रु.३ हजार हो । जबकि बिदाको दिनमा समेत उनीहरू स्कूलको काममा दत्तचित्त भएर लागेका हुन्छन् । यति थोरै पैसामा बिहान ९ः३० देखि बेलुकी ४ बजेसम्म पढाउन लगाउँदा आफैंलाई अप्ठेरो लागेको बताउँछिन् प्रअ मीना गिरी । तर पनि; ‘पैसा मात्र सबै थोक होइन, विद्यालय हाम्रो हो’ भन्ने भावनाले शिक्षकहरूले पढाइरहेको उनको कथन छ । जबकि तराईका कतिपय जिल्लाका प्रअहरूले नक्कली विद्यार्थी खडा गरेर तिनका नाममा शिक्षा कार्यालयबाट पैसा निकासा गराएर सरकारी बजेट हिनामिना गर्ने गरेका छन् । शिक्षक मासिकको कात्तिक अंकमा पर्साको ग्रामीण भेगका प्रअहरूले कसरी नक्कली विद्यार्थी खडा गरी तिनका नाममा सरकारी बजेट दुरुपयोग गरिरहेका छन् भन्ने खोज सामग्री प्रकाशित गरेको थियो ।

सरस्वती सामुदायिक निमाविका शिक्षक

मिहिनेती शिक्षक, विद्यालयको सफा र स्वच्छ वातावरण, विद्यार्थीप्रति शिक्षिकाहरूको मायालु व्यवहार अनि प्रयोगात्मक शैलीको पढाइ यो विद्यालयको विशेषता हो । पढाइसँगै विद्यार्थीको चौतर्फी विकासमा पनि विद्यालयले ध्यान दिएको छ । जस अन्तर्गत हरेक शुक्रबार विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा सहभागी गराउने गरिएको छ । जसले उनीहरूको बौद्धिक र शारीरिक विकासमा मद्दत पु¥याएको छ । यहाँ पढाइ पूरा गरेर अन्य विद्यालय गएका विद्यार्थी पढाइमा अब्बल देखिएको बताउँछिन् प्रअ गिरी । दक्षिणी भेगको यो विद्यालयको सिकाइ उपलब्धि समेत राम्रो भएको जिल्ला शिक्षा अधिकारी हरि गौतमले बताए । उनका अनुसार सिकाइ उपलब्धिका हिसाबले यो विद्यालय जिल्लाकै उत्कृष्टमध्येमा पर्छ । सिंगो समाजको विश्वास जितेको यो विद्यालयमा स्थायी दरबन्दीको व्यवस्था गर्ने पहल भइरहेको बताउँछन् जिल्ला शिक्षा अधिकारी गौतम ।

सवै तस्वीरहरू ः रामजी दाहाल

 

२०७३ मंसीर अंकमा  प्रकाशित

Related Posts

/*sign up form*/