दण्डरहित शिक्षण सम्भव रहेछ !

by • • दण्डरहित सिकाइः अनुभव र विकल्पComments (0)211

रामप्रसाद पाण्डेय

५० को दशकमा शिक्षण पेशामा प्रवेश गर्दा मेरो हातमा सखुवाको लौरो हुन्थ्यो । पछि तालीम, अनुभव तथा जीवनका भोगाइबाट मैले शिक्षण विधिमा ‘युटर्न’ को गति लिएँ । आज मेरो हातमा लट्ठी हुँदैन । मानिसलाई सुधार गर्ने अस्त्र दण्ड–सजाय नभएर उसलाई दिने मायालु वातावरण र उसको जिज्ञासाको सही समाधान एवं त्यसको कदर नै रहेछ ।

हुर्कने उमेरका बालबालिकाले जे जस्तो वातावरण प्राप्त गर्छन्, उनीहरूमा त्यही किसिमको धारणा र प्रवृत्ति विकास हुन्छ । आफूले अरूबाट अमर्यादित र अपमानजन्य व्यवहार पाए भने उनीहरूले अरूप्रति पनि त्यस्तै व्यवहार गर्न सिक्छन् । घरपरिवार र विद्यालयमा बालबालिका विरूद्ध हुने शारीरिक तथा मनोवैज्ञानिक सजाय संवेदनशील विषय हो । आफू बाल्यकालमा सजाय तथा दुव्र्यवहारको शिकार बन्न पुगेका अभिभावक तथा शिक्षकले विद्यार्थीलाई सजाय दिंदा उनीहरूको बानी व्यवहार सुध्रन्छ भन्ने भ्रमपूर्ण मान्यताका कारण आज पनि बालबालिका अभिभावक तथा शिक्षकहरूबाट सजायका भागीदार बन्न पुगेका छन् ।
यथार्थमा ‘पिटेर नै बच्चा हुर्काउनुपर्छ, नत्र बिग्रन्छ’ भन्ने परम्परागत सोच र भनाइ सम्पूर्ण रूपमा गलत छ । शारीरिक सजाय बालबालिकाको व्यवहार नियन्त्रण गर्न प्रयोग गरिने शारीरिक पीडा हो । तर व्यवहार परिवर्तन र नियन्त्रण फरक–फरक कुरा हुन् । दण्डले बालबालिकामा अपेक्षित व्यवहार परिवर्तन हुनुको सट्टा शारीरिक साथै मानसिक असर पनि पु¥याउँछ । कहिलेकाहीं सजायबाट विद्यार्थीको व्यवहार क्षणिक रूपमा नियन्त्रण त हुन सक्छ तर स्थायी रूपमा व्यवहार सुध्रन सक्दैन ।
संसारका अधिकांश देशमा विद्यालयमा हुने शारीरिक दण्ड प्रतिबन्धित छ । संयुक्त राष्ट्रसंघद्वारा सन् १९८५ मा पारित बालअधिकार महासन्धिलाई नेपालले सन् १९९० को १४ सेप्टेम्बरका दिन अनुमोदन गरेर बालअधिकारको संरक्षण गर्नको लागि आफ्नो प्रतिबद्धता जाहेर ग¥यो र अन्तर्राष्ट्रिय स्तरमा जवाफदेही भयो । तर पनि हामीकहाँ निर्दोष निमुखा बालबालिकालाई कतिपय विद्यालयमा गृहकार्य नगरेको, अनुशासन पालना नगरेको, शिक्षकलाई आदर सत्कार नगरेको, भनेको नमानेको, अटेर गरेको, कक्षाकोठामा हल्ला गरेको कारण देखाई खास समस्याको निदान नै नगरी शारीरिक र मानसिक दुवै खाले सजाय दिने गरेको अवस्था विद्यमान छ ।

विद्यार्थीले कुन अवस्थामा शिक्षक र अभिभावकको अपेक्षा बाहिरको कार्य गर्छन् ?
अध्ययनले के देखाएको छ भने हरेक कार्यको कारण हुन्छ । कारण विना कुनै पनि कार्य हुँदैन । विद्यार्थीले चाहेर यस्तो गल्ती गर्दैनन् तरः
क) आफ्ना आवश्यकता (प्रथमतः मनोवैज्ञानिक आवश्यकता) पूरा नभएमा ।
ख) अर्को व्यक्तिबाट होच्याइ तथा तिरस्कारपूर्ण व्यवहार भएमा, भेदभाव गरेमा ।
ग) घरपरिवारदेखि उब्जेको व्यवहार ।
घ) अरूबाट हप्काइ वा पिटाइ खाएमा ।
ङ) आवश्यकता अनुसार सुविधा नपाएमा ।
च) अभिभावक र शिक्षकले गर्ने व्यवहार फरक परेमा ।
सामान्यतः जब बालबालिका या विद्यार्थीले शिक्षक तथा अभिभावकले दिएको निर्देशन पालना गर्दैनन्, त्यस्तो अवस्थामा हामी उनीहरूलाई नियन्त्रण गर्न आफ्ना कमी–कमजोरीमा सुधार नगरी, बदलास्वरुप विद्यार्थीलाई दण्ड दिएर दिने गर्दछौं । घरायसी समस्या र बाह्य वातावरणको प्रभाव, कक्षाकोठासँग सम्बन्धित वातावरण, आफ्नै मानसिक–शारीरिक असक्तता जस्ता कारणले पनि विद्यार्थीले गल्ती गरेका हुनसक्छन् । त्यस्तै कारणले गर्दा उनीहरू गल्ती दोहो¥याइरहन्छन् र त्यो नै बानीमा परिणत हुन्छ । तर हामी भने सुधारको नाममा विभिन्न प्रकारका सजाय माथि सजाय मात्र थपिरहेका हुन्छौं ।

सजायरहित शिक्षणका उपाय
अनुशासन भनेको दण्ड होइन बरू बालबालिकालाई आफ्नो गलत र खराब व्यवहार स्वनियन्त्रण गर्न सिकाउनु हो । यसका लागि बालबालिकालाई दिशानिर्देश आवश्यक देखिने वित्तिकै कुनै न कुनै प्रतिक्रिया वा उसप्रति ध्यान आकृष्ट गर्नु आवश्यक हुन्छ । यस्तो अवस्थामा उनीहरूलाई अनुशासनमा राख्न दण्ड–सजाय नदिई विभिन्न विकल्प प्रयोग गर्न सकिन्छ । जस्तैः
क) सकारात्मक अनुशासन विधि
ख) समूह÷समुदाय निर्माण
ग) प्रजातान्त्रिक अनुशासन पद्धति
घ) मध्यस्थता विधि
ङ) चरित्र निर्माण
समस्या परेका बेला बालबालिकालाई उनीहरूले नकारात्मक व्यवहार गर्ने कारण बारे भन्न दिनु, उनीहरूको विचार राम्रोसँग सुनिदिनु तथा छलफलका माध्यमबाट समस्याको समाधान गर्नु शिक्षक तथा अभिभावकको कर्तव्य हुन आउँछ । कक्षामा अनुशासन तोडिरहने कुनै विद्यार्थी छ भने उसले कुन बेला राम्रो व्यवहार गर्दछ, हेरिरहनुपर्दछ र त्यही बेला पुरस्कृत गर्नुपर्दछ । व्यवहारको लगत्तै पुनर्बल प्रस्तुत गरेमा फेरि असल व्यवहार दोहो¥याउने हौसला मिल्दछ । लगातार अभ्यस्त हुँदा असल बानीको विकास हुन्छ ।
मेरो अध्यापनको अनुभव झ्ण्डै दुईदशक भन्दा लामो भइसकेको छ । म माध्यमिक तहमा भाषा पढाउँछु । ५० को दशकमा शिक्षण पेशामा प्रवेश गर्दा मेरो हातमा सखुवाको लौरो हुन्थ्यो । मैले भाषाका कक्षामा पनि विद्यार्थीबाट ‘पिन ड्रप साइलेन्ट’ को अपेक्षा राख्थें र त्यही कायम गर्थें । मदेखि विद्यार्थी डराउँथे, दण्ड–सजाय दिएर पनि विद्यार्थीलाई अनुशासनमा राख्थें । २०५७ सालदेखि कक्षा ११ र १२ तथा २०६२ सालदेखि मैले कलेजमा पनि पढाउने अवसर पाएँ तर मदेखि कलेजका विद्यार्थी पनि डराएको आफूले नबुझ्ेको सोध्न पनि हिच्किचाएको अनुभव मैले केही वर्ष अघिदेखि मात्र गरें ।
पछि तालीम, अनुभव, परिपक्वता तथा जीवनका भोगाइबाट मैले शिक्षण विधिमा ‘युटर्न’ को गति लिएँ । आज मेरो हातमा लट्ठी हुँदैन भए पनि शैक्षिक सामग्रीको रूपमा त्यसलाई प्रयोग गर्ने गर्दछु ।
निष्कर्षमा मलाई के लागेको छ भने हामीले देखाउने गरेको व्यवहार अरूले मनपराइ दिएर वा त्यसबाट प्रभावित भएर सकारात्मक प्रतिक्रिया दिएमा त्यसबाट बालबालिकाले त्यस्तो व्यवहार फेरि फेरि प्रस्तुत गरेर अरूबाट त्यस्तो प्रशंसा वा स्याबासी पाउन लालायित हुन्छन् । प्रत्येक बालबालिका सबैको प्रिय हुने अभिलाषा राख्छन् । अरूलाई मनपर्ने व्यवहार हो भन्ने जानेपछि र त्यस्तो व्यवहार दोहो¥याएमा अरूहरूले उनीहरूलाई मन पराउने कुरा थाहा पाएपछि त्यस्तो व्यवहार पुनः प्रदर्शन गर्ने बानीको विकास हुँदै जान्छ तथा अरूहरूलाई सताउने, दुःख दिने र अझ् बढी रिस उठ्ने बनाउने, अरूलाई मन नपर्ने व्यहार दोहो¥याउने प्रक्रिया स्वतः कम भई उनीहरू जिज्ञासु, अनुशासित र अध्ययनशील बन्दै जान्छन् । मानिसलाई सुधार गर्ने अस्त्र दण्ड–सजाय नभएर उसलाई दिने मायालु वातावरण र उसको जिज्ञासाको सही समाधान एवं त्यसको कदर नै रहेछ ।
(भगवती नमूना मावि, मिर्मी ढाव, स्याङ्जा)

शिक्षक  मासिक, २०७३ चैत अंकमा प्रकाशित

Related Posts

/*sign up form*/