दक्षिण कोरियाको तालीम उपयोगी बनाउने उपाय

by • • मनका कुरा (ब्लग)Comments (0)389

Print Friendly, PDF & Email

 

तिलक कुँवर

शिक्षामा राम्रो प्रगति गरेको दक्षिण कोरियाले एशिया र अफ्रिका महादेशका कम विकसित मुलुकहरूको विद्यालय तहको शिक्षामा सूचना–सञ्चारप्रविधिको माध्यमबाट गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले त्यस्ता देशका माध्यमिक तहका शिक्षकलाई वर्षेनि कोरियाका विभिन्न शहरमा तालीम दिंदै आएको छ । सन् २०१४ देखि कोरियाको उल्सान महानगरपालिकाको सहयोगमा नेपालका शिक्षकले पनि उक्त तालीममा सहभागी हुने मौका पाएका छन् । तर वितेका तीन वर्षको अवधिमा नेपालबाट २३ जना मात्र शिक्षकले त्यो सौभाग्य पाए, बाँकी ३१ स्थान सरकारी कर्मचारीले ओगटे ।
यो तालीमका बारेमा छनोट हुने समयमा जति चर्चा परिचर्चा हुन्छ, अन्य समयमा यसबारे कसैले चासो लिएको पाइँदैन । लाखौंको लगानीमा तालीम लिएर आएका व्यक्तिहरूले त्यहाँ सिकेका कुरा कक्षामा प्रयोग गरे कि गरेनन् भन्ने त टाढाकै विषय रह्यो; त्यो तालीमबाट फर्केर आएकाहरूले एक अक्षरको प्रतिवेदन पनि कसैलाई बुझउनुपर्दैन । गत वर्ष (८–१६ नोभेम्बर, २०१६) सञ्चालित तालीममा शिक्षकको कोटामा यो पंक्तिकारलाई पनि सो तालीममा भाग लिने अवसर प्राप्त भएको थियो । हाल मेरो जिम्मेवारी नेपाल शिक्षक महासंघमा भएका कारण उक्त तालीमबाट सिकेका सीपहरू तत्काल कक्षाकोठामा प्रयोग गर्न सम्भव नभए तापनि आफूले लिएको तालीमका विषयमा शिक्षा मन्त्रालयलाई जानकारी गराउन खोज्दा बेवास्ता मात्र हात लाग्यो ।
यो तालीम नेपाली शिक्षकका लागि धेरै नै उपयोगी छ, तर नेपाल सरकारको अपारदर्शी छनोट प्रक्रियाका कारण दातृराष्ट्रको लगानीको सही सदुपयोग हुन सकिरहेको छैन । शिक्षा मन्त्रालयको सहभागी छनोटको तौरतरीका अत्यन्तै हचुवा र मनखुसी प्रकृतिको छ । तालीमबाट सिकेका सीपहरू विद्यार्थीसम्म पुग्ने कुनै सुनिश्चितता छैन । यस्तै परिपाटी रहँदै गएमा दाताले कुनै पनि समयमा यो कार्यक्रम रोक्न सक्ने देखिन्छ । यसर्थ सर्वप्रथम तालीमका सहभागी छनोटको प्रक्रिया पारदर्शी बनाउने र तालीमबाट सिकेको सीप, ज्ञानलाई कक्षाकोठामा पुग्ने व्यवस्था गर्नु जरूरी छ ।
यो तालीम मूलतः माध्यमिक तहमा अध्यापनरत शिक्षकका लागि हो । तालीमको उद्देश्य शिक्षण सिकाइ क्रियाकलापमा सूचना सञ्चारप्रविधि (आईसीटी) को प्रयोग गरी सिकाइलाई बढी प्रभावकारी बनाउनु हो । कक्षाकोठामा मोबाइल, कम्प्युटर, इमेल–इन्टरनेट, प्रोजेक्टर, अडियो, भिडियो आदि विद्युतीय सामग्रीद्वारा नवीनतम शिक्षण विधि प्रयोगमा ल्याउन यो तालीमले मद्दत पु¥याउँछ । यो तालीममा कम्प्युटर कसरी चलाउने भन्ने कुरा सिकाइँदैन । यसमा त कम्प्युटरभित्र छिरेर शिक्षण विधिलाई सघाउने विभिन्न सीप र सामग्रीहरू कसरी पहिल्याउने तथा कक्षामा प्रयोग गर्ने भन्ने कुरा सिकाइन्छ । तर विडम्बना, हाम्रा कतिपय सहभागीहरू (नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष बाबुराम थापाले शिक्षक मासिकको २०७३ को मंसीर अङ्कमा बताए झैं) कम्प्युटरको ‘क’ पनि नजान्ने हुने गरेका छन् । त्यस्तै, कतिपय सहभागी शिक्षकहरू प्राथमिक तहका पनि थिए जसलाई माध्यमिक तहको निम्ति डिजाइन गरिएको आईसीटी सम्बन्धी सो तालीम प्याकेज कसैगरी सान्दर्भिक र रुचिकर हुनसकेको थिएन । अझ् बहुसंख्यक सहभागी कर्मचारी थिए जो कहिल्यै पनि कक्षाकोठामा जानु पर्दैन ।


सन् २०१६ को तालीमका सहभागीहरू उल्सान पुग्दा, त्यहाँ कोरिया सरकारको तर्फबाट ‘तालीममा सहभागी हुनु हुने नेपाली शिक्षकहरूलाई स्वागतम् !’ भनेर ठूलो व्यानर टाँगिएको थियो । तालीम हलमा पनि प्रशिक्षकहरूले शिक्षकलाई मात्र सम्बोधन गरिरहेका थिए त्यसले पनि यो तालीम नेपालका ‘कर्मचारीहरूको लागि होइन’ भन्ने स्पष्ट सन्देश दिइरहेको थियो । यस्तो व्यवहार पाएपछि एकजना सहभागी कर्मचारीले त भने पनि “हामी कर्मचारीले घुम्न पायौं भनेर शिक्षकको कोटामा आउनु गलत रहेछ !” शिक्षा मन्त्रालयले कर्मचारीलाई छनोट गर्दा प्रायः ‘प्रशिक्षक’ बिल्ला भिराएर पठाएको पाइन्छ । तर त्यस्ता कतिपय कर्मचारीहरू शैक्षिक जनशक्ति विकास केन्द्रको ढोकामा समेत नपुगेका थिए । उनीहरू नातावाद–कृपावादको आधारमा छनोट भएको स्पष्टै देखिन्थ्यो । कोरिया तालीममा छनोट हुने प्रायःजसो भाग्यमानीहरू मन्त्रीका नातागोता, कार्यकर्ता र सचिवका भाइभतिजाहरू हुने गरेको आरोप छ ।
गत वर्ष नेपाल शिक्षक महासंघको कोटाबाट तीन जना, सचिवको कोटामा दुई जना र बाँकी सबै मन्त्रीको सचिवालय र मन्त्री निकटका कर्मचारी तथा शिक्षक छनोट गरिएको देखिन्छ । नेपाल शिक्षक महासंघले पनि ठूलै संघर्षपछि उक्त कोटा पाएको थियो । शिक्षकलाई पठाउने तालीममा कर्मचारीलाई पठाई अनियमितता नगरियोस् भनी मन्त्रालयलाई दबाब दिएपछि छनोटको अन्तिम घडीमा महासंघलाई तीन जनाको नाम सिफारिश गर्न भनिएको थियो ।
विदेशको तालीम या भ्रमणमा जाँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म मात्र सहभागीहरू यो वा त्यो हैसियतका हुने रहेछन्, जहाज चढेर फिर्ता यही विमानस्थलमा नउत्रिउञ्जेलसम्मको अवधिभर सबै जना ‘नेपाली’ मात्र हुँदा रहेछन् । विदेश जानेहरूले राम्रो गर्दा ‘नेपाल’ ले राम्रो गर्दोरहेछ र कमजोरी गर्दा ‘नेपाल’ को कमजोरी हुँदोरहेछ भन्ने तीतो अनुभव यसपटकको कोरिया प्रवासमा स्पष्टसँग गरियो । कोरियाली जनताको समय व्यवस्थापन, कामप्रतिको लगाव, समर्पण र दक्षता हेर्दा हामीले यो तालीममा पठाउने व्यक्तिको छनोट पनि सोही अनुसार गर्नु अपरिहार्य देखियो ।
तालीम कक्षमा होस् वा अवलोकन भ्रमणको क्रममा होस्– हाम्रा कतिपय सहभागीमा रहेका अनपेक्षित कमजोरीका कारण कोरियालीहरूले खिन्नता प्रकट गरेको छर्लङ्गै देखिन्थ्यो । हाम्रो टोलीको तर्फबाट त्यहाँ रहँदा बस्दा सकेसम्म कुनै पनि किसिमको कमि–कमजोरी हुन नदिने प्रयास गरिरह्यौं, तापनि कतिपयमा रहेको न्यूनतम सीप र ज्ञानको अभावले गर्दा चाहेर पनि राम्रो प्रस्तुति हुन सकेन । छिटो–छरितो र फूर्तिलो स्वास्थ्य अवस्था तथा कम्प्युटर चलाउन सक्ने सामान्य जानकारी पनि नभएको व्यक्तिलाई कसरी पढाउन् कोरियनहरूले आईसीटी प्रविधि र शिक्षण विधि !
कोरियाको सूचना–सञ्चारप्रविधि तालीममा सहभागी भएर आजसम्म आर्जन गरिएको अनुभवका आधारमा अबका दिनमा यसमा केही सुधार गर्नै पर्ने देखिन्छ । यसमा गरिनुपर्ने सबैभन्दा महŒवपूर्ण कार्य चाहिं उपयुक्त व्यक्तिको छनोट नै हो । यो तालीमलाई बढीभन्दा बढी फलदायी बनाउन निम्नानुसार गर्नुपर्ने देखिन्छः
१. शिक्षा मन्त्रालयमा तालीमको निम्ति जिम्मेवार व्यक्ति तोक्ने र बजेटको व्यवस्था गर्ने,
२. तालीममा सहभागी छनोट तथा व्यवस्थापन सम्बन्धी निर्देशिका तयार गरी लागू गर्ने,
३. तालीममा सहभागीहरूको छनोट गर्दा निम्नानुसार गर्ने–
क) शैक्षिक जनशक्ति विकास केन्द्रमा छनोट इकाई गठन गर्ने र सबै छनोट ‘अनलाइन’ परीक्षामार्फत योग्यताका आधारमा गर्ने,
ख) तालीमको समग्र व्यवस्थापनमा संलग्न गराउने गरी मन्त्रालयको एक जना उपसचिव बाहेक अन्य कर्मचारी शैक्षिक जनशक्ति विकास केन्द्र र मातहतका तालीम केन्द्रबाट मात्र लिने,
ग) सातवटै प्रदेशबाट दुई दुई जनाका दरले माध्यमिक तहका कक्षा शिक्षकलाई मात्र छनोट प्रक्रियामा शामेल गर्ने,
घ) छनोट प्रक्रियाको समय तालिका बनाई शैक्षिक जनशक्ति विकास केन्द्रको वेबसाइटमा सार्वजनिक गर्ने ।
४. तालीममा सहभागी छनोट गर्दा मन्त्रालयको उपसचिव व्यवस्थापक– एक जना, शैक्षिक जनशक्ति विकास केन्द्रका प्रशिक्षकहरू मध्येबाट– तीन जना र ७ वटा प्रदेशबाट दुई जनाका दरले माध्यमिक शिक्षक– १४ जना पर्ने गरी गर्ने,
५. तालीमबाट फर्किसकेपछि सबैले अनिवार्य रूपमा प्रतिवेदन प्रस्तुत गर्नुपर्ने,
६. तालीमबाट सिकेको कुरा कक्षामा प्रयोग गरे÷नगरेको शैक्षिक विकास केन्द्रमार्फत अनुगमन गरी उत्कृष्टलाई पुरस्कार र लापरवाही गर्नेलाई अन्य सुविधाबाट वञ्चित गरिनुपर्ने ।
देश/विदेशमा सञ्चालन हुने कुनै पनि तालीम, सेमिनार र गोष्ठीहरूको उद्देश्य नेपालको शिक्षाको गुणस्तर वृद्धि हुने गर्दछ । तसर्थ दाता राष्ट्रहरूले नेपालको शिक्षाको सुधारका लागि प्रदान गर्दै आएका यस्ता उपयोगी तालीममा मनपरी ढंगको सहभागी छनोट गरी दुरुपयोग गर्नु गम्भीर अपराध हो । तालीममा सही व्यक्ति छनोटदेखि सिकेको ज्ञान, सीपलाई अधिकभन्दा अधिक प्रयोगमा ल्याई नेपालको शिक्षा विकासमा योगदान पु¥याउन सबैले संकल्प गरौं, सबैले सबैलाई सघाऊँ !
(महासचिव, नेपाल शिक्षक महासंघ)

Related Posts

/*sign up form*/