तपाईं कति मज्जाको शिक्षक ?

by • • आलोपालोComments (0)440

ब्राजिलको एक विश्वविद्यालयमा अंग्रेजी भाषा पढाउने प्रा. एन्टोनियो लुसिआनो टोस्टाकाले बनाएको तलको प्रश्नावलीको मूल सन्देश ‘हाँसी हाँसी सिकाऊँ, खुशी खुशी सिकौं’ भन्ने हो । यसो गर्दा बालबालिकाका हरेक समूहलाई के उपयुक्त हुन्छ र के हुँदैन भन्ने भेद गर्न चाहिं भुल्नुहुँदैन ।
एन्टोनियो भन्छन्, “तलका प्रश्नलाई धेरै गम्भीरतापूर्वक लिनु पर्दैन । तर, हाँसी हाँसी रमाइलो वातावरणमा पढाउने शिक्षकले नै विद्यार्थीलाई बढी कुरा बुझउन, सिकाउन र पाठतिर आकर्षित गर्न सक्छ; शिक्षकसामु मन खोलेर हाँस्न पाउने/सक्ने विद्यार्थी सिकाइमा स्वतः अगाडि हुन्छन् भन्ने कुरालाई चाहिं हरेक भाषा शिक्षकले मनन गर्नै पर्छ ।”
१. भाषा पढाउँदा तपाईं हँसाउने खालका कथा कत्तिको सुनाउने गर्नुहुन्छ ?
अ. अहँ ! कहिल्यै पनि सुनाउदिनँ ।
ब. उचित र आवश्यक लाग्यो भने सुनाउने गर्छु ।
स. जहिले पनि सुनाउने गर्छु ।
२. कुनै शब्दको अर्थ खुलस्त पार्न कक्षामा नाटकीय हाउभाउ र अभिनयको प्रयोग गर्नुहुन्छ ?
अ. कहिल्यै गर्दिनँ । त्यस्तो गर्न मलाई आउँदैन पनि ।
ब. कक्षाको वातावरण र आफ्नो मूड अनुकूल भएको बेला गर्छु ।
स. अवश्य गर्छु । विद्यार्थीको ध्यान खिच्न जस्तो पनि गर्नुपर्छ ।
३. बालबालिकालाई मातृभाषा पढाउँदा उनीहरूको भाषाका उखान–टुक्का र शब्द–समस्या (पजल) हरूको प्रयोग कत्तिको गर्नुहुन्छ ?
अ. अहँ गर्दिनँ । त्यस्तो गर्न मलाई गाह्रो लाग्छ ।
ब. त्यसो गर्दा बालबालिकालाई पाठ बुझउन र सम्झ्रिाख्न सजिलो पार्छ भन्ने लाग्यो भने प्रयोग गर्छु ।
स. सधैंजसो प्रयोग गर्छु । बच्चालाई त आफ्नै भाषाका र अरू उट्पट्याङ उखान–टुक्का एकदमै मजा लाग्छन् ।
४. कक्षामा नाटक खेलाउनु पर्दा, नाटकका पात्रहरूको हँसाउने र रमाइलो लाग्ने खालका नाम राख्ने गर्नुहुन्छ ?
अ. त्यस्तो गर्ने सोचाइ कहिल्यै आएन ।
ब. कहिलेकाहीं अवस्था हेरेर त्यस्ता नाम राखिदिने गर्छु ।
स. हो, सधैंजसो त्यस्तै नाम राखिदिन्छु ।
५. के तपाईं कक्षामा केटालाई केटीको र केटीलाई केटाको भूमिका निर्वाह गर्न लगाउने गर्नुहुन्छ ?
अ. यस्तो गर्ने/गराउने सवाल नै उठ्दैन ।
ब. यदि कक्षा/स्कूलको तात्कालिक खाँचो र परिस्थिति अनुकूल छ भने गराउँछु ।
स. सम्भव भएसम्म सधैं यस्तै गराउँछु, किनभने बच्चालाई यसो गर्न रमाइलो लाग्छ ।
६. कक्षा वा कुनै कार्यक्रममा लोकप्रिय गीत बजाउँदा बालबालिकाले पनि गीत गुनगुनाउन पाउन् भनी गीतको आवाज मधुरो पारिदिने गर्नुहुन्छ ?
अ. कसैले माग ग¥यो भने मात्र ।
ब. यदि बच्चालाई राम्रो लाग्ने गीत छ भने त्यसो गरिदिन्छु ।
स. जरुर ! सधैं ।
७. यदि कक्षा÷स्कूलमा बनाइएका बच्चाका टोलीको नाम जनावरको नाउँबाट राखिएको छ भने त्यस्तो टोलीका बच्चालाई जनावरकै नामबाट सम्बोधन गर्ने गर्नुहुन्छ ? (जस्तो; ‘गाईहरूले यो प्रश्नको के जवाफ लेखे हँ ?’)
अ. त्यस्तो गर्दिनँ । कसैलाई नराम्रो लाग्न सक्छ ।
ब. शायद… यदि वातावरण हलुका छ भने ।
स. अवश्य गर्छु । यसो गर्दा झ्न् रमाइलो हुन्छ ।
८. के तपाईं रमाइला चित्र या कार्टून देखाएर शब्दको अर्थ व्याख्या गर्ने गर्नुहुन्छ ?
अ. अहँ ! मलाई चित्र÷कार्टून बनाउनै आउँदैन ।
ब. कहिलेकाहीं प्रयास गर्छु ।
स. सधैं त्यस्तै गर्ने प्रयास गर्छु ।

अब आफ्नो मूल्यांकन आफैं गर्नुस् ।
‘अ’ उत्तरको निम्ति ० (शून्य) अंक दिनुस् ।
‘ब’ उत्तरको निम्ति ३ अंक दिनुस् ।
‘स’ उत्तरको निम्ति ६ अंक दिनुस् ।
एन्टोनियोका यी प्रश्नले एउटा शिक्षकलाई आफ्नो शिक्षण शैली र शिक्षकीय प्रवृत्ति नियाल्ने मौका दिन्छन् । वैकल्पिक उत्तरमध्ये पहिलो पूरै नकारात्मक, दोस्रो सन्तुलित र सकारात्मक अनि तेस्रो चाहिं एकदमै प्रतिबद्ध र जोसपूर्ण छ । यदि आठ वटा प्रश्नमा तपाईंले १४ भन्दा कम अंक पाउनुभयो भने प्रा. एन्टोनियोको सुझव छः “तपाईंले आफूभित्रको ‘बालक’ लाई बाहिर ल्याउनु जरूरी छ ।”
यदि तपाईंको प्राप्ताङ्क १५ देखि ४० को बीचमा छ भने तपाईं “समझ्दारीका साथ कक्षामा उपयुक्त विधिहरूको प्रयोग गर्ने” शिक्षकको वर्गमा पर्नुहुन्छ । तपाईंले ४१ भन्दा बढी अंक हासिल गर्नुभयो भने चाहिं तपाईं विद्यालय हैन; शायद सर्कसमा हुनुपर्ने व्यक्तिमा पर्नुहुन्छ । विद्यार्थीले तपाईंको कक्षामा राम्रै मज्जा लुट्न पाउँछन् होला ! तर, तपाईंले ख्याल गर्नुपर्छ– “सिकाउनु र तमासा देखाउनु अलग कुरा हुन् ।”
एन्टोनियो जोड दिएर भन्छन्, “एउटा शिक्षक कक्षाको माहोल रमाइलो र सारगर्भित बनाउन कहिल्यै चुक्नु हुन्न; तर कक्षामा गरिने हरेक गतिविधि सोचविचार पु¥याइएका र योजनाबद्ध हुनैपर्छ ।”
आधार स्रोतः ‘इङ्गलिस टिचिङ फोरम’ नामक जर्नल
जनवरी २००१÷शैक्षिक सन्दर्भ, जून–जुलाई २००२
– राजेन्द्र दाहाल

शिक्षक  मासिक, २०७० जेठ अंकमा प्रकाशित

Related Posts

/*sign up form*/