‘ठिटा’ हेडमास्टरले फेर्न थाले विद्यालयको मुहार

by • • आवरणComments (0)760

Print Friendly, PDF & Email

गजेन्द्र बोहरा

‘ठिटा’ हेडमास्टरहरूले हाँकेका दाङका केही सामुदायिक विद्यालयमा पुग्दा लाग्छ, ती कुनै निजी विद्यालयभन्दा कम छैनन् । ती ‘हेडमास्टरहरू’ आफूले उच्च कक्षामा पढेका र सिकेका कुराहरू आफ्ना विद्यालयमा लागू गरिरहेका छन् । त्यसबाट अभिभावक, शिक्षक अनि विद्यार्थीले थुप्रै उपलब्धि हासिल गरिरहेको यथार्थ तिनको अनुहारमै झ्ल्किन्छ ।

 

शिवशक्ति मावि, धनौराको कक्षा

जनज्योति मावि, तुहिरनियापुर

उनी चौबीस वर्षका ठिटा थिए । माध्यमिक तहको स्थायी नियुक्तिपत्र बोकेर पहिलो दिन विद्यालय छिर्दा उनले त्यहाँ एउटा लामो टहरो देखे । दश कोठे त्यो टहरो देख्दा उनलाई आफूले कतैको भीडभाडयुक्त हाटबजारमा देखेको कुखुराको मासु बेच्ने ‘बजार’ को सम्झना  भयो । तीन वर्षअघि दाङको तुहिरनियापुरको जनज्योति माविको आँगनमा पहिलो पाइला टेक्दाटेक्दै उनले मनमनै सबैभन्दा पहिले टहरो फालेर नयाँ भवन बनाउने संकल्प गरे ।
केही समयपछि विद्यालय व्यवस्थापन समितिले उनलाई प्रधानाध्यापक बनाउने निर्णय ग¥यो । २४ वर्षका ती ठिटा थिए,

प्रकाश भट्टराई, निवर्तमान प्रअ, जनज्योति मावि

प्रकाश भट्टराई । आफ्नै बाबुसरहका शिक्षकहरूका ‘हेडमास्टर’ हुनु एउटा अनौठो र चुनौतीपूर्ण काम थियो । प्रअको जिम्मेवारी सम्हालेपछि उनले टहरो भत्काएर नयाँ भवन बनाउने प्रस्ताव ल्याए । त्यसमा उनलाई विव्यसले साथ दियो, अभिभावकहरू एकजुट भए, शिक्षा कार्यालयलगायतका संघसंस्थाले पनि सहयोग गरे । केही समयमै नयाँ भवन तयार भयो ।

टहरोबाट नयाँ भवनमा सरेका विद्यार्थीसँगै उनी शिक्षकहरूको पनि रूप फेर्नतिर लागे । शिक्षकहरूको ड्रेस कोड बन्यो । सरकारी विद्यालयका विद्यार्थी पनि सर्ट, पाइन्ट, जुत्ता अनि घाँटीमा टाइ झुण्डयाउने  भए, विद्यालयको रूप आधाजति फेरिइसक्यो । त्योभन्दा पनि महत्वपूर्ण  कुरा विद्यालयमा पढ्ने र पढाउने तरिका फेरियो । जसले गर्दा विद्यार्थीको सिकाइ उपलब्धि पनि उकालो लाग्न थाल्यो ।

“परिवर्तनका लागि शुरूआत गर्ने आँट र संकल्प मात्रै चाहिने रहेछ । मैले त्यहाँ गएर, रातारात केही पनि गरेको होइन । त्यत्रो काम हुँदा पनि केही नभएको जस्तो भइरहेको थियो” आफ्नो अनुभव सुनाउँदै प्रकाशले भने “परिवर्तनको चाहना पनि त्यहीं हुन्छ, त्यसलाई चाहिने ऊर्जा पनि त्यहीं हुन्छ, त्यसलाई कसरी प्राप्त गर्ने भन्ने कुराको योजना मात्र गर्नुपर्छ । काम कसरी थाल्ने र व्यवस्थित गर्ने भन्ने मात्रै हो मैले गरेको ।”

हुन त अहिले प्रकाश भट्टराई जनज्योति माविमा छैनन् तर, त्यहाँ उनले बसाएको थिति अब हत्तपत्त मेटिंदैन । किनभने त्यो कुरा विद्यालयको परम्परा र संस्कार बनिसकेको छ । त्यो विद्यार्थीको भविष्य र अभिभावकको चिन्तनसँग पनि गाँसिइसकेको छ । भर्खरै सरुवा भएर काठमाडौंको कीर्तिपुर माविमा अध्यापनसँगै थप अध्ययन शुरू गरेका प्रकाश भन्छन्, “अभिभावकसँगको अपनत्व, विद्यार्थीसँगको आत्मीयता र व्यवस्थापन समितिसँगको प्रभावकारी समन्वयबाट सामुदायिक विद्यालयमा परिवर्तन ल्याउन सकिने निश्चित छ ।”

अरू पनि छन् धेरै शिवशक्ति मावि, धनौरा
२०७१ को शिक्षक सेवा आयोगको परीक्षामा प्रकाश भट्टराईसँगै सहभागी थिए, अर्का युवा पूर्णबहादुर डाँगी । डाँगीका लागि पश्चिम दाङको शिवशक्ति मावि, धनौरामा प्रधानाध्यापकको कुर्सी पर्खिरहेको थियो । आयोग पास भएर त्यो विद्यालय छिरेका उनलाई २०७१ भदौ १९ गतेदेखि विव्यसले प्रअको नियुक्ति थमाइदियो ।

माध्यमिक तहको स्थायी नियुक्ति बोकेर पहिलोपटक विद्यालय छिर्नै लाग्दा २७ वर्षे युवा, पूर्णबहादुर दंग थिए । तर, जब उनका आँखा विद्यालयको रूपरंगमा अडिए अनि उनी झ्स्किए । २००८ सालमा बनेको स्कूलको रूपरंग सबै खुइलिइसकेको थियो । केही भवन ढल्ने अवस्थामा थिए । तर, पनि उनी दरिलो हिम्मतका साथ स्कूल छिरे । युवा जोश र नयाँ जागिरको उमंगले मन उसै पनि फुरुङ्ग थियो ।

पूर्णबहादुर डाँगी, प्रअ, शिवशक्ति मावि, धनौरा, दाङ

त्यो बेला विद्यालयमा मावि तहमा एकजना पनि शिक्षक थिएनन् । प्रावि र निमावि तहका शिक्षकहरूले नै माविसम्म धानेका थिए । निमित्त प्रअ समेत प्राविस्तरकै शिक्षक थिए । आयोगबाट नाम निकालेर सीधै मावि तहको शिक्षकको नियुक्तिपत्र बोकेर विद्यालय छिरेका डाँगीको विषय नै अंग्रेजी थियो । आफू जन्मिनुअघिदेखि नै पढाइरहेका त्यही ठाउँका शिक्षक र अभिभावकका अगाडि डाँगीको ‘सान’ उँचो हुने नै भयो ।
विव्यसले उनलाई प्रअको नियुक्ति दिएसँगै उनले पहिला विद्यालयकै नीति नियम बदल्ने अठोट गरे । डाँगी भन्छन्, “त्यसपछि मैले अभिभावक शिक्षक साथीहरूसँग छलफल गरेर विव्यसलाई कन्भिन्स गरें ।” सबैले उनलाई साथ दिए ।
प्रअ भइसकेपछि उनका अगाडि सबैभन्दा ठूलो चुनौती तेर्सिएको थियो, विव्यस चुनावको । राजनीतिले बेस्सरी गाँजिइसकेको समाज । त्यसमाथि विद्यालयभित्र झ्नै धेरै राजनीति हावी थियो । उनले विव्यसको नेतृत्व सर्वसम्मत बनाउने संकल्प गरे । चुनावमा पराजित हुने ठूलो हिस्सा बाहिरिएपछि निर्वाचित नेतृत्वलाई उसले साथ दिंदैन भन्ने कुरा उनलाई थाहा थियो । समुदायको एक पक्षलाई मात्रै विद्यालयको अपनत्व भएन भने, विद्यालय फेर्ने आफ्नो सपना पूरा पनि नहुने भएकोले उनले सर्वसम्मत नेतृत्वका लागि अभिभावकहरूसँग बसेर छलफल चलाए । समितिका पदाधिकारी, समाजका अगुवा अनि राजनीतिक दलहरूसँग पनि थुप्रै प्रयास गरे । अन्ततः उनको ‘मिशन’ सफल भयो । अघिल्लो कार्यसमितिमा सदस्य स्थानीय ज्ञानेन्द्रराज शर्मा सर्वसम्मत विव्यस अध्यक्ष भए । कक्षा १ देखि त्यहीं पढेका शर्माले एसएलसी पनि त्यहींबाट गरेका थिए । शर्माको पनि सपना थियो, विद्यालयलाई जिल्लाकै नमूना बनाउने । प्रअ र अध्यक्ष दुवैको सपना मिल्यो, विद्यालय ‘बनाउने’ ।

तर त्यो बेलासम्म कुनै पनि कक्षामा किताब राख्ने डेस्क थिएनन् । विद्यार्थी आउने जाने, कुनै समय थिएन । शिक्षक आउने जाने, पढाउने ठेगानै थिएन । खाली पिरियडमा विद्यार्थी कहाँ पुग्थे, के गर्थे कसैलाई पत्तो हुँदैनथ्यो । शिक्षकहरू प्रायः गफिइरहेका हुन्थे । प्रअ डाँगीले विद्यालयका केही नीति नियमलाई ‘नयाँ’ रूप दिए । विद्यार्थीको कक्षाकोठामा साँझ्, बिहान दुई पटक हाजिर हुन थाल्यो । शिक्षकले पनि आएको र गएको समयमा हाजिरी लगाउनुपर्ने भयो । कुनै पनि पिरियड खाली भएन । कोही शिक्षक विदामा भएर त्यो पिरियड खाली भयो भने त्यहाँ अर्काे शिक्षकले कक्षा सम्हाल्नै पर्ने भयो ।
शिक्षक विद्यार्थी आफूखुशी लुगा लगाएर विद्यालय आउँथे । अब सबैका लागि डे«स अनिवार्य बनाइयो । विद्यार्थी चिटिक्क परेको सर्ट पाइन्टसँगै घाँटीमा टाइ झुन्डयाएर  विद्यालय आउन थाले । त्यसबाट लोभिएका विद्यालयका अघिल्ला पुस्ताका विद्यार्थीले बाटोमा गरेको कुराकानीले प्रअ मनमनै मक्ख पर्थे ।

दिसा, पिसाब गर्न शिक्षक, विद्यार्थी नजिकै गाउँलेको बारी, पाखामा जान्थे । त्यसैको निहुँमा गाउँलेहरू आएर विद्यालयमा झ्गडा गर्थे । त्यसपछि उनले छात्र, छात्रा अनि शिक्षकको लागि विद्यालयमै अलग अलग शौचालय बनाए । गाउँपारिको मूलबाट पिउने पानी ओसार्नुपथ्र्याे । उनले विभिन्न निकायबाट बजेट मिलाएर विद्यालयमै पिउने पानीको ट्याङ्की ल्याए, त्यसमा धारा जोडे । अहिले विद्यालयकै आँगनमा चौबीसै घण्टा पिउने पानी छ । विद्यार्थी घट्दै थिए, भर्ना भएकाहरू पनि विद्यालय आउन मन गर्दैनथे । ‘पढाइ राम्रो भएन’ भनेर, अभिभावकहरूले त्यहाँका बालबालिकालाई निजी स्कूलतिर लगेको देख्दा डाँगीको मन चसक्क हुन्थ्यो । तर, अहिले निजी विद्यालयबाट वर्षेनि निकै विद्यार्थी शिवशक्ति माविमा भर्ना हुन आउँछन् ।

यी सबै प्रयत्नको परिणामस्वरुप शिवशक्ति मावि जिल्लाकै नमूना पाँच विद्यालयमध्येको एउटा बन्न पुगेको छ । जिशिकाले प्रोत्साहनस्वरूप दिएको रु.१ लाखको थप अनुदान उनका लागि सफलताको अर्काे खुट्किलो भयो । गाविसले
उनलाई उत्कृष्ट प्रअ भनेर सम्मान ग¥यो । डाँगीले यसलाई आफूमा थप जिम्मेवारी आएको ठाने ।

२०५६ सालदेखि उनी आउँदासम्म शिवशक्तिका कुनै पनि विद्यार्थी एसएलसीमा पहिलो श्रेणीमा उत्तीर्ण भएका थिएनन् । तर २०७१ पछि हरेक परीक्षामा केही न केही विद्यार्थी पहिलो श्रेणीमा पास हुन थाले । ग्रेडिङमा संचालित गत सालको एसईईमा विद्यालयले १.९७ जीपीए नतिजा हासिल ग¥यो । त्यतिबेलासम्म विद्यार्थीले कम्प्युटरबारे किताबमा मात्रै पढेका थिए । अहिले विद्यालयमा कम्प्युटर ल्याब छ । विज्ञानका सिद्धान्त कण्ठस्थ पार्ने शिवशक्ति माविका विद्यार्थी अहिले आफ्नै विज्ञान प्रयोगशालामा ती सिद्धान्त ‘प्रयोग’ गरिरहेका हुन्छन् । एसएलसीका लागि ट्यूसन पढ्न सारा विद्यार्थी गाउँ छोडेर शहर जाँदा स्कूल सुनसान हुन्थ्यो । अहिले विद्यालयमै छात्रावास छ । एसईईको तयारीमा रहेका विद्यार्थीले अहिले साँझ्–बिहान शिक्षकहरूसँग स्कूलमै पढ्न पाएका छन् ।

“बाहिर हेर्दा हाम्रो स्कूल रंग उडेको, थोत्रो लाग्छ तर, स्कूलभित्र हरेक कुरा बदलिएको छ” शिवशक्ति माविका विव्यस अध्यक्ष ज्ञानेन्द्रराज शर्मा भन्छन्, “हाम्रो स्कूल धेरै फेरिइसकेको छ, नेतृत्व राम्रो भयो र सबै मिलेर काम गरियो भने सफल भइँदोरहेछ ।”

शिवशक्ति मावि, भौवा
अब दाङ जिल्लाकै भारतसँग सिमाना गाँसिएको राजपुर गाउँपालिकाको भौवा नाकामा रहेको शिवशक्ति मावि नै नाम गरेको अर्को विद्यालयको कुरा गरौं । यो ठाउँमा नेपाली फोन लाग्दैन, नेपाली नोट चल्दैन । यहाँका बासिन्दासँग नागरिकता र नेपाली भाषाबाहेक नेपालीको झल्को  दिने अर्काे चिज केही छैन । यस्तो ठाउँको विद्यालयमा पहिलोपटक स्थायी नियुक्ति

लीलाधर विक, प्रअ, शिवशक्ति मावि, राजपुर, दाङ

लिएर जाँदै गर्दा लीलाधर विकको मनमा ‘के होला’ भन्ने मनमा लागेको थियो । न अभिभावकमा जागरुकता थियो, न शिक्षकहरूमा नै नयाँपन । उनी सीधै ‘हेडमास्टर’ भएर त्यहाँ गए ।

प्रअ विकको कार्यकालको शुरूआतसँगै स्कूलमा कम्प्युटर भित्रिए, विज्ञान प्रयोगशाला बन्यो । पढ्ने र पढाउने तरिका पनि बदलियो । शिक्षक, विद्यार्थी र अभिभावकलाई एकअर्काप्रति उत्तरदायी बनाउन पटकपटक कार्यक्रम गरे । अहिले उनले सबैको साथ र सहयोग पाएका छन् । “आखिर गरेपछि के नै हुँदैन र, इच्छाशक्ति भयो भने परिवर्तनका लागि धेरै ठूलो पहाड फोड्नुपर्दैन, स–साना कामहरू गर्दा नै काफी हुन्छ” प्रअ लीलाधर भन्छन्, “पुराना पुस्ताको अनुभवसँगै नयाँ युवाको जोश र जाँगरको मेल भयो भने धेरै राम्रा काम गर्न सकिन्छ ।” त्यतिबेलासम्म ३६ प्रतिशतमा सीमित विद्यार्थीको सिकाइ उपलब्धिलाई लीलाधरले दुई वर्षमै ४६ प्रतिशतमा उकाले ।

चार वर्षअघिकै ब्याचमा सेवा आयोग पास गरेका अर्का युवा शिक्षक हुन्, राजीव ओझा  । ३२ वर्षे ओझ गत असारमा मात्र तुलसीपुरस्थित मावि, कालाखोलाको प्रअ भएका हुन् । उनले पनि विद्यालय सुधारका योजना बुनिरहेका छन् । विद्यार्थीको अनियमितता तथा शैक्षिक, प्रशासनिक क्षेत्रको अस्तव्यस्तता र पढाइको खस्कँदो अवस्थामा सुधार्नै पर्ने अठोट लिएका छन् ओझले । सबैको साथ र सहयोग पाउनेमा ढुक्क रहेका प्रअ ओझ भन्छन्, “एक शैक्षिक सत्रभित्र तपाईंहरूले केही न केही परिवर्तन देख्नुहुनेछ ।”

अहिले दाङका अरू पनि थुप्रै विद्यालयमा नयाँ जोश र उमंग भरिएका युवाहरू विद्यालय सम्हाल्न आइपुगेका छन् । तिनले विद्यालयमा नयाँ सिकाइ र पढाइ अवधारणा प्रयोग गरिरहेका छन् । जनज्योति मावि, तुहिरनियापुरका विव्यस अध्यक्ष हुमबहादुर नेपाली भन्छन्, “नयाँले के गर्न सक्लान् र भन्ने होइन, उनीहरूले नयाँ नयाँ कुरा सिकेका हुन्छन्, नयाँ संसार देखेर आएका हुन्छन्, पुरानाको अनुभव र नयाँको विचार मिलाएर परिवर्तन गर्न सकिन्छ ।”

राजीव ओझा, प्रअ, मावि कालाखोल, तुलसीपुर, दाङ

यी युवा प्रअ र शिक्षकहरूले विद्यालय कसरी फेरेका छन् त्यसको साक्षी हुन्, दाङका जिशिअ रमेश मैनाली । मैनाली भन्छन्, “शिक्षक सेवा आयोगले नियमित परीक्षा लिइरहेको भए सामुदायिक विद्यालयको हविगत यस्तो हुने थिएन होला ।” समयको परिपालना, विषयवस्तुको उच्चतम जानकारी भएका नयाँ युवा शिक्षकले यो क्षेत्रमा धेरै सुधार गरिरहेको उनको अनुभव छ । “उहाँहरू विद्यार्थीको शिक्षण सिकाइसँग कुनै सम्झैता गर्नुहुन्न” मैनाली भन्छन्, “पूरै समय विद्यालयमै बिताउनु, अभिभावकसँग निकटतम सम्बन्ध राख्नु, व्यवस्थापन समितिसँगको सुमधुर समन्वय, स्रोतको परिचालन र व्यवस्थापनमा दक्खल जस्ता क्षमताले अहिले विद्यालयमा सुधार आएको छ ।”

२०७१ सालको शिक्षा सेवा आयोगको परीक्षाबाट माध्यमिक तहको शिक्षक परीक्षा उत्तीर्ण गरेका यी चार जना बाहेक, पुष्करनाथ अधिकारी दाङकै मावि दूधरास, राधा चौधरी देउखुरीमा अनि सरस्वती गौतम सिद्धरत्ननाथ उमावि नारायणपुरमा पढाइरहेका छन् । तर उनीहरू ‘हेडमास्टर’ भइसकेका छैनन् ।

‘ठिटा’ हेडमास्टरहरूले हाँकेका दाङका केही सामुदायिक विद्यालयमा पुग्दा लाग्छ, ती कुनै निजी विद्यालयभन्दा कम्ती छैनन् । पढेका र सिकेका कुराहरू उनीहरू आफ्ना विद्यालयमा स्थापित गराइरहेका छन् । जसले गर्दा अभिभावक, शिक्षक अनि विद्यार्थीले परिवर्तनसँगै थुप्रै उपलब्धि हासिल गरेको अनुभव तिनको अनुहारमै झ्ल्किन्छ । पुराना पुस्ताका शिक्षकबाट अनुभव लिने र आफ्नो ताजा ज्ञान, जोश र मिहिनेतको सम्मिश्रणले हिजोका दिनमा खस्किंदै
गएका केही सामुदायिक विद्यालयको मुहार फेरिएको छ ।

२०७४ चैत अंकमा प्रकाशित । 

 

Related Posts

/*sign up form*/