ज्ञान र विज्ञानका कुरा

by • • मनका कुरा (ब्लग)Comments (0)945

Print Friendly, PDF & Email
 माधव प्रसाद अधिकारी

माधव प्रसाद अधिकारी

प्रमाणित ज्ञान नै विज्ञान हो । सर्सरी बुझदा ज्ञान र विज्ञान एउटै कुरा जस्तो पनि लाग्दछ तर यी फरक कुराहरू हुन् । विज्ञान पक्की ज्ञान हो भने ‘ज्ञान’ चाहिं काँचो जानकारी ।
(शिक्षक मासिकको शतांक (साउन, २०७३) मा डा. विद्यानाथ कोइरालाले व्यक्त गर्नुभएको अपेक्षा सम्बोधन गर्न गरिएको प्रारम्भिक प्रयास । – लेखक)

 

विज्ञानलाई परिभाषित गर्ने तरीका विभिन्न हुन सक्दछन् । तर आखिरमा सबै परिभाषाले ‘प्रकृतिको नियमित र व्यवस्थित अध्ययन’ लाई विज्ञान भनेका छन् । छरितो किसिमले भन्नुपर्दा प्रमाणित ज्ञान (Proved knowledge) नै विज्ञान हो । सर्सरी बुझदा ज्ञान र विज्ञान एउटै कुरा जस्तो पनि लाग्दछ तर यी फरक कुराहरू हुन् । विज्ञान पक्की ज्ञान हो भने ‘ज्ञान’ चाहिं काँचो जानकारी । पढे÷लेखेका मानिसहरूलाई सूर्य पूर्वबाट उदाउँछ र पश्चिममा अस्ताउँछ भन्ने कुरा ज्ञान हो कि विज्ञान हो ? भनेर सोधेमा प्रायःजसोले भनिदिन्छन् ‘विज्ञान हो ।’ नभनून् पनि किन ? ‘सूर्य पूर्वबाट उदाउँछ’ लाई अंग्रेजी व्याकरणमा ध्रुवसत्य (Universal truth) मानेर प्रत्यक्ष कथनमा लाँदा इन्भर्टेड कमा भित्रको भनाइलाई जस्ताको तस्तै राखिन्छ । तर यथार्थमा न यो विज्ञान हो न त ध्रुवसत्य नै । बरू यो एक ज्ञान मात्र हो; अनि वैज्ञानिक दृष्टिमा यो ‘ध्रुव झूट’ पनि हो; किनभने विज्ञानका अनुसार सूर्य उदाउने र अस्ताउने गर्दैन, ऊ आफ्नो स्थानमा नै रहिरहन्छ । बरू हामी बसेको पृथ्वीको आफ्नै घुमाइका कारण यो उदाए÷अस्ताए जस्तो देखिएको हो । यो त्यस्तै दृश्य हो— जसरी बसमा यात्रा गरिरहेको यात्रुले बसको गतिका कारण सडक दायाँ÷बायाँका स्थिर घर तथा रूखहरू विपरीत दिशातर्फ गइरहेको देख्छ ।
ज्ञानमा व्यक्तिगत अनुभव, आग्रह, किंवदन्ती तथा अन्धविश्वास मिसिएको हुन सक्दछ तर विज्ञान परीक्षित, प्रशोधित हुने भएकोले त्यस्तो अशुद्धि रहन पाउँदैन । अहिले कतिपय मानिसहरू आफ्ना भाव, मान्यता र पौराणिक भनाइका पछिल्तिर पनि विज्ञान जोडेर विज्ञापन गरिरहेका भेटिन्छन् । त्यो समाजलाई धोखा हो । आधारहीन भावना तथा कल्पनालाई विज्ञानको पगरी गुताउनु सर्वथा अनुचित हुन्छ । विज्ञान त यस्तो विषय हो, जो धेरै प्रयोग, परीक्षण, खोज अनुसन्धान पछि प्राप्त हुने तथ्यमा आधारित निचोड प्रस्तुत गर्दछ र आवश्यक परे फेरि त्यस्तै प्रयोगद्वारा पुनर्पुष्टि गर्न सक्दछ । तर देवी, देवता, भूतप्रेत, बोक्सी, स्वर्ग÷नर्कमा विश्वास गर्नेहरू गफ मात्र दिन सक्दछन्, कुतर्क र मिथकको भरमा यो सत्य हो भन्दछन्, होइन भन्नेलाई सत्तोसराप गर्दछन्, नर्कवासको त्रास दिएर तर्साउन खोज्दछन् ।

Scince
ज्ञानका कोही पनि वास्तविक वारिस वा संरक्षक हुँदैनन्; त्यसैले यो मूलतः बेवारिस नै हुन्छ । लामो टीका, लामा कपाल र पहेंलो बस्त्रमा कतिपय स्वघोषित स्वामीहरू हामी ज्ञानका उत्तराधिकारी हौं भनेझ्ैं नखरा गर्दछन् तर उनीहरूसँग पुराणहरूमा वर्णित कथा प्रसंग र त्यसको मनमोजी व्याख्या बाहेक मौलिक क्षमता, दर्शन र दृष्टिकोण केही हुँदैन । कण्ठाग्र गरिएका संस्कृतका सय÷पचास श्लोक, प्रायः यौनसँग गाँसिएका रोचक कथा, संगीतटोली र स्वयंसेवी नृत्यहरूमार्फत उनीहरू आफ्ना लागि प्रत्यक्ष स्वर्ग अर्थात् पर्याप्त नगद र दानदातव्य जुटाउन सफल हुन्छन् । आफ्नो निम्ति स्वर्ग सुनिश्चित गरेपछि उनीहरू आफ्ना भक्तहरूलाई उदारो स्वर्गको भुलभुलैयामा पार्न रातोदिन अभिनय गर्छन् । अरूका ठेलीका अंश उतार गरेर पुस्तक बनाई आफूलाई लेखक भन्न नलजाउनेहरू जस्तै यी मठाधीशहरू पनि अन्धविश्वासमा बढे–हुर्केका अचेतन सरल प्राणीका अगाडि विदुर नै पो हुन् कि भनेझैं आफूलाई प्रकट गर्दछन् । बडा बडा पढालेखा, डक्टरेट गरेकाहरूसम्म पनि झुमेका हुन्छन् र नतमस्तक बन्दछन् यी स्वामी सद्गुरुहरू प्रति । यस्तो हुनुमा उनीहरूको कत्ति पनि दोष छैन । आखिर आफूले टेकेको पृथ्वी अर्जुनसँगको युद्धमा कर्णले चार अंगुलमाथि उठाए भन्दा मक्ख पर्दै कर्णको बलको तारीफ गर्ने शिक्षकहरूका चेला न हुन् यिनीहरू पनि ! आफू बसेको पिरा कसरी आफैंले उठाउन सकिन्छ ? भनेर प्रश्न गर्ने हिम्मत भएको भए त्यस्ता उडन्ते कुराको तत्काल धज्जी उड्दथ्यो ।
यता, कक्षाभित्र निर्जीव वस्तुमा चेतना हुँदैन, ती वस्तुहरूसँग दुःख, सुखको अनुभूति गर्न सक्ने क्षमता हुँदैन भनेर विद्यार्थीलाई पढायो, अनि बाहिर निस्कियो, मन्दिर पस्यो र त्यहाँ राखिएको ढुंगा, धातु वा काठको मूर्ति वा कागजमा बनेको चित्रलाई दर्शन चढायो ! यहाँनेर, कि उसले निर्जीव वस्तुका गुणहरू नै गलत पढायो, या आफैं चेतनाविहिन बन्दै निर्जीव ढुंगा, धातु वा कागजमा बिन्ती चढायो । यसैगरी भूतप्रेत, बोक्सीका कुराहरू पनि छन् ।
ढुंगाले कसरी देवताको पदवी पायो होला भनेर विचार गर्ने हो भने हजारौं वर्षअघि जुनवेला मानिस घुमन्ते जीवन बिताउँथ्यो, त्यतिवेला उसलाई ढुंगाले ठूलो गुन लगाएको थियो । ऊ भोक लाग्दा अग्ला रूखमा फलेका फलहरू ढुंगाले नै झरेर भोक मेट्दथ्यो, आहाराको लागि जीवजन्तु ढुंगाले नै मार्दथ्यो र खानको लागि टुक्र्याउँथ्यो पनि ढुंगाले, ढुंगा हानेर नै बाघभालु जस्ता हिंस्रक पशुहरूबाट बच्दथ्यो । आँधीहुरी, असिना, हिउँ परेका बेला त्यसबाट बच्न ढुंगाका गुफा तथा ओडारहरूमा आश्रय लिन्थ्यो, शिकारका क्रममा एउटा ढुंगा अर्कोमा बज्रँदा त्यसबाट झ्ल्किा निस्किएको पनि उनीहरूले देखे र ठाने यसमा त आन्तरिक ज्योति पनि रहेछ ! अनि कुनैवेला ढुंगाकै पहिरो आएर आफ्ना परिवारका सदस्यहरू मारिदिंदा उनीहरूले सोचे हुन्— हिजो अनेक किसिमले हामीलाई मद्दत गर्ने यो ढुंगा आज किन रिसायो ? त्यसपछि त्यसलाई खुशी पार्न एउटा प्रतिनिधि ढुंगा ल्याए ठड्याए होलान् र आफूले खाने, प्रयोग गर्ने कुराको केही अंश शुरूमै त्यो ढुंगालाई दिने गरे होलान्, जुन पछि परम्परा बन्यो होला ।
निरक्षर र अन्धविश्वास ग्रसितहरू मात्र होइन अझै पनि अनेक विद्वान समेत देवता, भूतप्रेत, बोक्सी, झँक्रीमा विश्वास गर्दछन्, कतै टाढा निस्कँदा साइत हेराउँछन् । हिंड्दाका वेला रित्तो गाग्री देखियो भने अशुभ मान्दछन् । किन यसो गर्नुभएको भन्यो भने, ‘सबैले यस्तै गर्दछन्’ भन्ने जवाफ दिन्छन् । तर यस्तो नहुनुपर्ने हो । यदि रित्तो गाग्री अशुभको प्रतीक हो भने विवाहका बेला गोडधुवामा किन रित्ता गाग्री दिन्छन् त दुलहीलाई ? के उनको घरजम नराम्रो होस् भनेर हो त ? कि चाँडै सम्बन्धविच्छेद होस् भनेर ? अर्कोतर्फ तामा–पित्तल तथा माटाका गाग्रा–गाग्री बेच्नेहरूका घरमा हर्दम दर्जनौंको संख्यामा रित्ता गाग्रा–गाग्री रहेका हुन्छन् । खै ! उनीहरूलाई त कुसाइत पर्दैन त ! झ्न् उनीहरू नै राम्रो कमाइ गरेर धनधान्य र खुशी भेटिन्छन् । अर्कोतर्फ अचेत मस्तिष्कमा मात्र नभई प्रमाणपत्री पढे÷लेखेका दिमागमा पनि बोक्सीले अड्डा जमाएकी छे । अनि धारा पँधेरामा आफूलाई बोक्सीले चुसेको भन्दै पाखुरा तथा कम्मरमा नीलो टाटो देखाउँदै जीउ फतक्क गलेको बताउँदै अमूक महिलालाई सराप्नेहरू पनि जताततै छ्याप्छयाप्ती भेटिन्छन् । यसको अझ् कडा चपेटामा छ मधेश ।
विज्ञानका दृष्टिमा शरीरमा आक्कलझुक्कल देखिने नीला टाटाहरू बोक्सीले चुसेर नभई मानसिक तनाव, सुत्दा बिछ्यौनाको असजिलो, शरीरकै आफ्नो बोझ्का कारण कुनै सूक्ष्म रक्तनली फुट्नु र त्यसमा भएको थोरै रगत छाला भित्रै सीमित ठाउँमा फैलनु हो । नली फुटेका कारण फोक्सोबाट आएको अक्सिजन त्यो रगतसम्म पुग्न पाउँदैन, रगतको रंग बदलिन्छ र यही कारणले नीलो देखिन्छ । हामी सबैलाई थाहा छ, शरीरमा कतै जोडले ठोक्कियो तर खुल्ला घाउ भएन र रगत बग्न पाएन भने त्यो ठाउँ नीलो देखिन्छ । अनि, के त्यो नीलोलाई पनि बोक्सीले चुसेको भन्ने ?
लेखान्ततिर, समाजमा धेरै प्रकारका अन्धविश्वास थुप्रिएका छन् । जहाँ धेरै अन्धविश्वास छ त्यसको असर त्यहाँको सभ्यता र जीवनस्तर तथा शैलीमा पनि परिरहेकै हुन्छ । शिक्षित व्यक्तिहरू जो शैक्षिक प्रमाणपत्रका भरिया मात्र होइनन्, वैज्ञानिक चेतनाले नै जागरूक छन् र अझ् खासमा भन्नुपर्दा विद्यालय शिक्षकहरू जो समाजको मार्गदर्शक पनि हुन्, उनीहरू यो सामाजिक रुढिवाद विरुद्धको मोर्चामा दरिलोसँग उभिंदा मात्र देशलाई प्रगतिपथमा अघि बढाउन सम्भव हुन्छ । त्यसका निम्ति हामी अलि दह्रो ढंगले लागौं ।
(अवकाश प्राप्त विज्ञान शिक्षक, काभ्रे)
प्रकाशितः २०७३ असोज, शिक्षक मासिक

Related Posts

/*sign up form*/